बीसौँ शताब्दीको विश्व राजनीतिक परिदृश्यमा होचि मिन्हको उदय केवल एक राष्ट्रिय मुक्तियोद्धाका रूपमा मात्र भएको थिएन, उनी मूलतः द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको वैज्ञानिक धरातलमा उभिएर साम्राज्यवाद र सामन्तवादविरुद्ध लड्ने महान् माक्र्सवादी-लेनिनवादी रणनीतिकार थिए।सन् १८९० मे १९ मा भियतनामको न्गे आन प्रान्तको एक सामान्य परिवारमा जन्मिएका गुयन सिन्ह कुङ (पछि होचि मिन्ह) ले बाल्यकालदेखि नै फ्रान्सेली औपनिवेशिक शासनको क्रूर, अमानवीय र दोहनकारी चरित्रलाई नजिकबाट नियालेका थिए। तत्कालीन भियतनाम एकातर्फ हजारौँ वर्ष पुरानो सामन्ती उत्पादन सम्बन्धको बन्धक थियो भने अर्कातर्फ फ्रान्सेली औद्योगिक पुँजीवादको प्रत्यक्ष औपनिवेशिक लुट र शोषणको सिकार बनिरहेको थियो। किसानहरूमाथि लादिएको चर्को कर, जमिनदारहरूको अत्याचार र फ्रान्सेली पुँजीपतिहरूले प्राकृतिक स्रोतहरूको गरेको अन्धाधुन्ध दोहनले गर्दा बहुसंख्यक श्रमजीवी वर्ग चरम गरिबी, भोकमरी र दासतामा बाँच्न बाध्य थिए। समाजको यो वस्तुगत अन्तर्विरोधले युवा होचि मिन्हलाई केवल भावुक विद्रोही मात्र बनाएन, बरु समस्याको वैज्ञानिक जरो पहिल्याउन विश्वव्यापी खोजतर्फ डोर्यायो।
विश्वव्यापी सर्वहारा सम्पर्क
आफ्नो देशलाई औपनिवेशिक दासताको साङ्लोबाट मुक्त गर्ने ठोस वैचारिक मार्गको खोजीमा होचि मिन्हले सन् १९११ मा एक फ्रान्सेली जहाजमा भान्सेको सहायक मजदुरका रूपमा काम गर्दै देश छोडे। झन्डै तीन दशक लामो प्रवास र विश्व भ्रमणका क्रममा उनले फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका, सोभियत संघ र चीन पुगेर पुँजीवादी व्यवस्थाको आन्तरिक संकट, मजदुर वर्गमाथिको शोषण र औपनिवेशिक उत्पीडनको अन्तर्राष्ट्रिय जालोलाई प्रत्यक्ष देखे।
सन् १९१९ को भर्साइल्स शान्ति सम्मेलनमा उनले भियतनामी जनताको आत्मनिर्णयको अधिकारका लागि पेस गरेको मागपत्रलाई पश्चिमा साम्राज्यवादी शक्तिहरूले ठाडै अस्वीकार गरिदिएपछि उनलाई पुँजीवादी लोकतन्त्रको ढोँग र सीमाबारे स्पष्ट ज्ञान भयो। सन् १९२० मा लेनिनको औपनिवेशिक तथा राष्ट्रिय मुक्ति आन्दोलन सम्बन्धी प्रस्थापना अध्ययन गरेपछि उनी माक्र्सवाद-लेनिनवादतर्फ दृढतापूर्वक आकर्षित भए।
उनले लेखेका थिए— सुरुमा मलाई लेनिन र तेस्रो अन्तर्राष्ट्रियतर्फ तानेको कुरा साम्यवाद होइन, गहिरो देशभक्ति थियो तर लेनिनको सिद्धान्त पढेपछि मैले बुझेँ कि राष्ट्रिय मुक्ति र समाजवाद एकअर्काबाट अलग हुन सक्दैनन्। सोही वर्ष उनी फ्रान्सेली कम्युनिस्ट पार्टीको संस्थापक सदस्य बने र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा औपनिवेशिक देशका जनताको मुक्तिको मुद्दालाई सशक्त रूपमा स्थापित गरे।
अग्रदस्ता पार्टी निर्माण
सोभियत संघ र चीनमा संगठन र सिद्धान्तको थप अनुभव बटुलिसकेपछि होचि मिन्हले भियतनाममा छरिएर रहेका विभिन्न कम्युनिस्ट समूहहरूलाई एकीकृत गर्ने ऐतिहासिक पहलकदमी लिए। सन् १९३० मा उनले हङकङमा एक गुप्त भेला आयोजना गरी भियतनामी कम्युनिस्ट पार्टी (पछि इन्डोचाइनिज कम्युनिस्ट पार्टी) को स्थापना गरे।
लेनिनवादी संगठनात्मक ढाँचामा आधारित यो अग्रदस्ता पार्टी नै पछि गएर भियतनामी क्रान्तिको मुख्य चालक शक्ति बन्यो। सन् १९४१ मा लामो प्रवासपछि स्वदेश फर्केर उनले भियत मिन्हु (भियतनाम स्वतन्त्रता लिग) नामक व्यापक संयुक्त मोर्चा गठन गरे, जसले मजदुर, किसान, देशभक्त बुद्धिजीवी, साना पुँजीपति र उत्पीडित समुदायलाई एउटै झण्डामुनि गोलबद्ध गर्यो।
सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानी साम्राज्यवादी कब्जा र फ्रान्सेली औपनिवेशिक शासन दुवै कमजोर भएको अनुकूल परिस्थितिमा भियत मिन्हले देशव्यापी अगस्ट क्रान्ति सम्पन्न गर्यो। सन् १९४५ सेप्टेम्बर २ का दिन हनोईको बा दिन्ह चोकमा हजारौँ जनताका अगाडि होचि मिन्हले भियतनामलाई स्वतन्त्र गणतन्त्र घोषणा गरे।
माक्र्सवादको सिर्जनात्मक प्रयोग
होचि मिन्हको वैचारिक श्रेष्ठता केमा थियो भने उनले माक्र्सवाद-लेनिनवादलाई युरोपेली औद्योगिक समाजमा लागू भएको ढाँचामा मात्र सीमित राखेनन्, बरु भियतनामको अर्ध-सामन्ती, कृषिप्रधान र औपनिवेशिक धरातलअनुसार सिर्जनात्मक रूपमा विकास गरे।
औद्योगिक मजदुर वर्गको संख्या निकै न्यून रहेको देशमा उनले गरिब तथा सुकुम्बासी किसान वर्गलाई क्रान्तिको मुख्य सेना र सर्वहारा वर्गलाई त्यसको राजनीतिक नेतृत्वदायी शक्तिका रूपमा परिभाषित गरे। उनले क्रान्तिका तीन प्रमुख शत्रुहरू—साम्राज्यवाद, सामन्तवाद र दलाल पुँजीवाद—विरुद्ध स्पष्ट वर्गीय मोर्चाबन्दी गरे।
माओ त्सेतुङको जनयुद्धको सिद्धान्तलाई भियतनामको भूगोल र जनआकांक्षासँग जोड्दै उनले दीर्घकालीन जनयुद्धको सैन्य नीति लागू गरे। यस नीतिअनुसार सेना केवल लड्ने साधन मात्र थिएन, त्यो जनतासँग एकाकार भएर उत्पादन गर्ने, संगठन गर्ने र राजनीतिक चेतना जगाउने औजार थियो।
साम्राज्यवादविरुद्धको सशस्त्र प्रतिरोध
स्वतन्त्रता घोषणापछि पनि फ्रान्सले पुनः भियतनाम कब्जा गर्ने दुस्साहस गर्यो, जसको विरुद्ध भियतनामी जनताले नौ वर्ष लामो कठोर गुरिल्ला युद्ध लडे। सन् १९५४ को ऐतिहासिक दिएन बिएन फुको युद्धमा जनरल भो गुयन गियापको प्रत्यक्ष नेतृत्व र होचि मिन्हको रणनीतिक मार्गदर्शनमा भियतनामी सेनाले फ्रान्सेली साम्राज्यवादी सेनालाई पूर्ण रूपमा परास्त गर्यो। यस विजयले विश्वभरका औपनिवेशिक आन्दोलनहरूलाई अभूतपूर्व ऊर्जा प्रदान गर्यो। तर, जेनेभा सम्झौतापछि भियतनाम उत्तर र दक्षिणमा विभाजित भयो र दक्षिणमा अमेरिकी साम्राज्यवादले आफ्नो कठपुतली सरकार खडा गर्यो।
त्यसपछिका वर्षहरूमा उत्तर भियतनाममा समाजवादको निर्माण गर्दै दक्षिणको मुक्तिका लागि अमेरिकी सेना, अत्याधुनिक हतियार, रासायनिक बम (एजेन्ट ओरेन्ज) र घातक आक्रमणका विरुद्ध भियतनामी जनताले लडेको प्रतिरोध युद्ध विश्वकै इतिहासमा अनुपम मानिन्छ। होचि मिन्हले अमेरिकी शक्तिको अगाडि सम्झौताहीन अडान लिँदै घोषणा गरेका थिए— स्वतन्त्रता र स्वाधीनताभन्दा मूल्यवान् केही छैन। सन् १९६९ मा उनको निधन भए तापनि उनकै वैचारिक मार्गदर्शनमा सन् १९७५ मा अमेरिकी सेना पूर्ण रूपमा पराजित भई भियतनाम एकीकृत भयो।
सर्वहारा संस्कृति र नैतिकता
कम्युनिस्ट आन्दोलन र समाजवादी सत्ताभित्र प्रायः देखिने नोकरशाही विकृति, बुर्जुवा व्यक्तिवाद र पदलोलुपताका विरुद्ध होचि मिन्हले कठोर सांस्कृतिक रूपान्तरणको नमुना प्रस्तुत गरे। देशको सर्वोच्च राष्ट्रपति भइसक्दा पनि उनले फ्रान्सेली गभर्नरको भव्य दरबारमा बस्न अस्वीकार गरे र परिसरकै एउटा सामान्य काठको झुपडीमा सादा जीवन बिताए। उनीसँग केवल दुई जोर साधारण कपडा र पुराना गाडीका टायरबाट बनेका रबरका चप्पल हुन्थे।
उनले कम्युनिस्ट कार्यकर्ताहरूलाई पुँजीवादी विलासिता र उपभोक्तावादी संस्कारबाट जोगाउन चार आधारभूत सर्वहारा नैतिक गुणहरू—परिश्रम मितव्ययिता इमानदारी र निष्पक्षता —लाई अनिवार्य बनाए। उनले राज्यसत्तालाई जनतामाथि शासन गर्ने औजार नभई सर्वहारा वर्गको निःस्वार्थ सेवा गर्ने साधनका रूपमा स्थापित गरे।
आर्थिक र सामाजिक रूपान्तरण
होचि मिन्हले उत्तर भियतनाममा समाजवाद निर्माण गर्दा उत्पादनका साधनहरूको सामाजिकीकरण र भूमिसुधारलाई पहिलो प्राथमिकतामा राखे। सामन्त र दलालहरूको जमिन खोसेर वास्तविक जोत्ने गरिब किसानहरूलाई वितरण गरियो। सहकारी खेती प्रणालीको विकास, आधारभूत उद्योगहरूको स्थापना, निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको विस्तारमार्फत समाजवादी अर्थतन्त्रको बलियो आधार तयार गरियो।
महिलाहरूलाई उत्पादन र युद्ध दुवै मोर्चामा समान अधिकार र नेतृत्व दिइयो। युद्धको विनाशकारी अवस्थामा पनि जनताको जीवनस्तर, साक्षरता र सांस्कृतिक चेतनालाई उकास्न उनले चलाएको अभियानले समाजवादी व्यवस्थाको जनमुखी चरित्रलाई व्यवहारमै प्रमाणित गर्यो।
कम्युनिस्ट आन्दोलनलाई मार्गदर्शन
समकालीन विश्व कम्युनिस्ट आन्दोलनका लागि होचि मिन्हको विचार र कार्यशैली एक सशक्त दिशाबोध हो। आज धेरैजसो कम्युनिस्ट पार्टीहरू संसद्वादी दलदल, अवसरवाद, सैद्धान्तिक विचलन र विलासी जीवनशैलीमा फसेर जनताबाट विमुख भइरहेका छन्।
यस्तो अवस्थामा सिद्धान्त र व्यवहारबीचको पूर्ण तालमेल, भुइँमान्छेको वर्गीय मुद्दामा आधारित संगठन निर्माण र सामूहिक नेतृत्व प्रणालीको अभ्यास कसरी गर्ने भन्ने कुरा होचि मिन्हबाट सिक्न सकिन्छ। केवल क्रान्तिकारी भाषण गरेर होइन, सर्वहारा जीवनशैली र निष्कलङ्क आचरणमार्फत मात्र जनताको विश्वास जित्न सकिन्छ भन्ने उनको सन्देश आज झन् सान्दर्भिक बनेको छ।
ऐतिहासिक शिक्षा
निष्कर्षतः होचि मिन्ह बीसौँ शताब्दीका त्यस्ता महान् माक्र्सवादी नेता हुन्, जसले द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिक हतियार प्रयोग गरेर विश्वका दुई शक्तिशाली साम्राज्यवादी महाशक्तिहरूलाई परास्त गर्न सकिन्छ भन्ने ऐतिहासिक तथ्य प्रमाणित गरिदिए। उनको जीवनले सिकाउँछ कि क्रान्ति कुनै कोरा नारा होइन, यो ठोस परिस्थितिको ठोस विश्लेषण, व्यापक जनएकता, अटुट वर्गीय निष्ठा र उच्च नैतिक चरित्रको जीवन्त अभ्यास हो।
जबसम्म विश्वमा पुँजीवादी दोहन, साम्राज्यवादी थिचोमिचो र वर्गीय असमानता रहिरहनेछ, तबसम्म होचि मिन्हको क्रान्तिकारी विचार, सर्वहारा संस्कृति र वैज्ञानिक समाजवादप्रतिको समर्पण सम्पूर्ण न्यायप्रेमी र श्रमजीवी वर्गका लागि अनन्त प्रेरणाको स्रोत बनिरहनेछ।
प्रतिक्रिया