अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाली महिला आन्दोलन

श्रमिक महिलाहरूले पूँजीवादी शोषण, सामन्ती उत्पीडन र राज्यसत्ताको दमनविरुद्ध उठाएको विद्रोहको प्रतीक हो। यसको सार वर्गसंघर्ष हो।

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २४ ०८:४७ बजे
लक्ष्मण उप्रेती

मानव समाजको इतिहास सभ्यता, संस्कृति र विकासको इतिहास मात्र होइन, यो वर्गसंघर्षको इतिहास पनि हो। समाजको प्रत्येक चरणमा उत्पादनका साधनमाथि नियन्त्रण राख्ने वर्ग र श्रम गरेर जीवन धान्ने वर्गबीच संघर्ष हुँदै आएको छ। यही ऐतिहासिक संघर्षको क्रममा महिलाहरूले पनि दोहोरो उत्पीडन भोग्दै आएका छन्,एकातिर वर्गीय शोषण र अर्कोतिर पितृसत्तात्मक दमन।

हरेक वर्ष मार्च ८ मा संसारभर मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यही ऐतिहासिक संघर्षको स्मरणसँग जोडिएको दिन हो। तर आजको यथार्थ हेर्दा यसको मूल क्रान्तिकारी अर्थलाई विकृत पारेर यसलाई औपचारिक सम्मान, मनोरञ्जन र बिदाको दिनमा सीमित गराउने प्रयास भइरहेको छ।वास्तवमा यो दिवस कुनै उत्सवको दिन मात्र होइन, यो दिन श्रमिक महिलाहरूले पूँजीवादी शोषण, सामन्ती उत्पीडन र राज्यसत्ताको दमनविरुद्ध उठाएको विद्रोहको प्रतीक हो। यसको सार वर्गसंघर्ष हो।

ऐतिहासिक उत्पत्ति र यसको वास्तविक अर्थः१९औ शताब्दीको अन्त्यतिर जब औद्योगिक पूँजीवाद तीव्र गतिमा विस्तार हुँदै थियो, त्यस समय कारखानाहरूमा काम गर्ने मजदुरहरूको अवस्था अत्यन्त दयनीय थियो। विशेष गरी महिला मजदुरहरू अत्यन्त कम ज्यालामा लामो समयसम्म काम गर्न बाध्य थिए।कारखानामा दिनको चौधदेखि सोह्र ,अठार घण्टासम्म काम गराइन्थ्यो, श्रमिक अधिकारको कुनै व्यवस्था थिएन, गर्भवती महिलाहरूलाई पनि कठोर श्रम गर्न बाध्य पारिन्थ्यो।यही अमानवीय परिस्थिति विरुद्ध श्रमिक महिलाहरूले आन्दोलन सुरु गरे। उनीहरूले समान ज्याला, कामको समय घटाउने र श्रमिक अधिकारको माग गर्दै आन्दोलन गरे।सन् १९१०मा डेनमार्कको कोपनहेगनमा समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन भयो। त्यस सम्मेलनमा जर्मन क्रान्तिकारी नेतृ क्लारा जेट्किनले संसारभरका श्रमिक महिलाहरूलाई एउटै दिन सङ्गठित गरी उनीहरूको संघर्षलाई बलियो बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखिन्।यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भयो। त्यसपछि यो दिन श्रमिक वर्गको संघर्षको प्रतीकका रूपमा स्थापित भयो।यसैले यसको वास्तविक सार उत्सव होइन, वर्गसंघर्ष हो।

महिला उत्पीडनको ऐतिहासिक सार महिला उत्पीडनलाई सांस्कृतिक वा पर्वका दृष्टिकोणबाट मात्र बुझ्न सकिँदैन। यसको सार समाजको आर्थिक संरचनासँग गहिरो रूपमा जोडिएको छ।महान् क्रान्तिकारी चिन्तक फ्रेडरिक एङ्गेल्सले आफ्नो प्रसिद्ध कृति “परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति” मा लेखेका छन् कि निजी सम्पत्तिको उदयसँगै महिलाको स्वतन्त्रता क्रमशः खोसिँदै गयो।मानव समाजको प्रारम्भिक चरणमा महिलाहरू समाजको उत्पादन र सामाजिक जीवनमा महत्त्वपूर्ण भूमिकामा थिए। तर जब निजी सम्पत्ति र वर्गीय समाजको विकास भयो, तब परिवार संरचना परिवर्तन भयो र महिलालाई पुरुषको अधीनमा राखियो।यसलाई उनले महिलाको ऐतिहासिक पराजय भनेका छन्।यसैले महिला उत्पीडन सामाजिक संस्कारको परिणाम मात्र होइन, यो वर्गीय समाजको संरचनासँग जोडिएको समस्या हो।

पूँजीवाद र महिला श्रमःपूँजीवादी व्यवस्थाले महिलालाई श्रम बजारमा ल्यायो, तर समान अधिकारको आधारमा होइन।पूँजीवादले महिलालाई सस्तो श्रमिकका रूपमा प्रयोग गर्‍यो।कारखाना, सेवा क्षेत्र, घरेलु श्रम, कृषि उत्पादन,सबै क्षेत्रमा महिलाको श्रम प्रयोग गरियो तर त्यसको मूल्यांकन न्यूनतम स्तरमा गरियो।यसरी महिलाहरू दोहोरो श्रममा परे,पहिलो, उत्पादन क्षेत्रमा सस्तो श्रमिकका रूपमा काम गर्ने।दोस्रो, घरभित्र निःशुल्क घरेलु श्रम गर्ने।यसरी पूँजीवादी समाजले महिलाको श्रमबाट अधिकतम नाफा कमाउने संरचना बनायो।

महिला दिवसको पूँजीवादी विकृतिःआज पूँजीवादी शक्तिहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई आफ्नो हितअनुसार प्रयोग गरिरहेका छन्।सरकारी निकाय, गैरसरकारी संस्था, बहुराष्ट्रिय कम्पनीहरू र उदारवादी विचारधाराले यसलाई एउटा “महिला सम्मान दिवस” का रूपमा प्रचार गरिरहेका छन्।कार्यक्रमहरू गरिन्छ, भाषणहरू गरिन्छ, फूल गुच्छाहरु दिइन्छ, शुभकामना आदानप्रदान हुन्छ।तर यी सबै औपचारिकता मात्र हुन्।किनकि त्यही प्रणालीले लाखौँ महिलालाई गरिबी, बेरोजगारी, हिंसा र शोषणमा राखेको छ।यसरी पूँजीवादी शक्तिहरूले यस दिवसलाई यसको क्रान्तिकारी सार बाट अलग गरेर एउटा निष्क्रिय सांस्कृतिक उत्सव र स्मरणको दिनमा रूपान्तरण गर्न खोजिरहेका छन्।

समाजवादी आन्दोलनको दृष्टिकोणःसमाजवादी आन्दोलनले महिला प्रश्नलाई वर्गसंघर्षसँग जोडेर हेर्छ।महिला मुक्ति बिना श्रमिक वर्गको मुक्ति सम्भव छैन।महान् क्रान्तिकारी नेता भ्लादिमिर लेनिनले स्पष्ट रूपमा बताएका थिए कि महिलाको सक्रिय सहभागिता बिना कुनै पनि समाजवादी क्रान्ति सफल हुन सक्दैन।यसैले समाजवादी आन्दोलनको लक्ष्य महिला अधिकार मात्र होइन, महिला मुक्ति हो।महिला मुक्ति भनेको वर्गीय शोषणको अन्त्य,पितृसत्तात्मक संरचनाको अन्त्य,उत्पादनका साधनमाथि सामूहिक स्वामित्व र समाजवादी समाजको निर्माणहो।

नेपाली महिला आन्दोलनःनेपालको महिला आन्दोलन पनि यही ऐतिहासिक प्रक्रियासँग जोडिएको छ।सामन्ती समाज, पितृसत्तात्मक संस्कार र आर्थिक शोषणका कारण नेपाली महिलाहरू लामो समयसम्म दमनमा राखिए।तर इतिहासका विभिन्न चरणमा महिलाहरूले अन्याय विरुद्ध संघर्ष गरेका छन्।राणा शासनको समयमा महिलाहरूले शिक्षा र सामाजिक अधिकारका लागि आवाज उठाए।लोकतान्त्रिक आन्दोलनहरूमा महिलाहरू सक्रिय सहभागी भए।नेपालका जनआन्दोलनहरू र क्रान्तिकारी आन्दोलनहरूमा महिलाहरूले महत्त्वपूर्ण भूमिका खेले।विशेष गरी नेपाली जनयुद्धको समयमा हजारौँ महिलाहरू प्रत्यक्ष रूपमा राजनीतिक, सामाजिक र सैन्य मोर्चामा सहभागी भए।यसले नेपाली समाजमा महिलाको राजनीतिक चेतना र सहभागितालाई नयाँ उचाइमा पुर्‍यायो।

निष्कर्ष,

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एउटा स्मरण दिवस मात्र होइन।यो श्रमिक महिलाहरूको ऐतिहासिक विद्रोहको प्रतीक हो।यसलाई मनोरञ्जन र औपचारिकतामा सीमित गर्नु यसको वास्तविक अर्थलाई नष्ट गर्नु हो।यसैले यस दिवसलाई वर्गसंघर्षसँग जोडेर क्रान्तिकारी आन्दोलनको शक्तिशाली साधन बनाउनु आवश्यक छ।जब श्रमिक महिलाहरू सचेत, संगठित र संघर्षशील हुन्छन्, तब मात्र समाजको वास्तविक परिवर्तन सम्भव हुन्छ।महिला मुक्ति महिलाको मात्र प्रश्न होइनरुयो सम्पूर्ण मानव समाजको मुक्ति आन्दोलनको अभिन्न अंग हो।


२०८२ फागुन २४ ०८:४७ बजे

प्रतिक्रिया