भ्रष्टाचारलाई बैधानिकता दिने अभ्यास

दलाल पुँजीवादी व्यवस्था आफैंमा भ्रष्ट व्यवस्था हो । यो व्यवस्थामा भ्रष्टाचारको अन्त्य भ्रम र झुठो कुरा मात्रै हो ।

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख ९ १९:५९ बजे
दिपक पौडेल

व्यक्तिगत सम्पत्तिको उन्मुलन र सामुदायिक सम्पत्तिको विकास नहुदासम्म भ्रष्टाचार कायम रहन्छ । दलालपुँजीवादी व्यवस्था आफैंमा भ्रष्ट व्यवस्था हो । यो व्यवस्थामा भ्रष्टाचारको अन्त्य भ्रम र झुठो कुरा मात्रै हो ।   पैसा जम्मा गर्न सामान्य  किसानले पनि दुधमा पानी मिसाएर बेचेका हुन्छन् ।  खाद्यान्नमा अखाद्य वस्तु मिसाएर बेचिएको हुन्छ ।  पैसाको निम्ति व्यक्तिको हत्या समेत गरिएको हुन्छ । पुजीवादी समाजमा आदर्श , नैतिकता , धर्म , कानुन , संविधान , मानवअधिकार सबैकुरा पैसाको निम्ति लिलाम हुन्छन् ।  शक्ति आर्जनको निम्ति बाबुको हत्या गरेर  राजा बन्ने प्रचलन सामन्ती राजतन्त्रात्मक व्यवस्थामा देखियो । भ्रष्टाचारलाई बैधानिकता दिन पुर्वजन्म , धर्म  ,भाग्यसंग सम्पन्नता र विपन्नता जोडेर व्याख्या गरियो । अन्याय , शोषण बुझ्ने बुझाउने , विरोध गर्ने मानसिकता शिथिल बनाइयो ।  भ्रष्टाचारको क्षेत्र व्यापक हुन्छ । आर्थिक क्षेत्रमा हुने भ्रष्टाचारको  मात्रै विरोध गर्नु पर्दछ ? त्यसो होइन । सबै क्षेत्रमा भएका भ्रष्टाचारको  बिरोध गर्दै बर्तमन भ्रष्ट व्यवस्थामा समेत भ्रष्टाचार नियन्त्रण गर्न प्रयत्न गर्नु पर्दछ । 

नेपाल बढी  भ्रष्टाचारहुने मुलुकको लिस्टमा पर्ने देश  हो । सरकारका मन्त्री प्रधानमन्त्री भ्रष्टाचारको आरोपवाट मुक्त छैनन् ।  कर्मचारी देखि सामान्य कार्यलय सहयोगी समेत भ्रष्ट छन् भन्ने गरिन्छ ।  देशमा  कुनै क्षेत्र छैन जहाँ ढुक्कसँग भ्रष्टाचार भएको छैन भन्न सकिने ?  यस्तो किन हुन्छ ? किनभने संरचना भ्रष्ट छ । भ्रष्ट संरचनाले भ्रष्टहरु उत्पादन गर्छ । कुनै व्यक्ति जन्मदै भ्रष्ट हुदैन ।  सामाजिक मूल्य मान्यता , सामाजिक दृष्टिकोण ,  शिक्षा , रहनसहन ,  चालचलन ,  नैतिक  आदर्श आदि कारणले भ्रष्ट बन्दछ । जब समाजमा  गरीब भएर मर्नु पाप हो  भन्ने मान्यताले वारे वा  पाउछ , मानिस जुनसुकै हालतमा धनी बन्नुपर्ने हुन्छ।  समाजमा एउटा कर्मचारीले साधारणतया जिन्दगी चलाएको छ भने भन्ने गरिन्छ - केही गर्न सकेन ।  कुनै एउटा राजनीतिक कार्यकर्ता  सांसद , मन्त्री हुन सकेन र  गाडी , घर   घडेरी  किनेन भने भन्ने गरिन्छ - राजनीति गरेर केही गर्न सकेन  ,  विचरा ।  यस्ता सामाजिक मान्यताले इमानदार मानिसलाई भ्रष्ट बनाउने गर्दछ।  श्रम गरेर आर्जन गरेको पैसाले साधारणतया जिन्दगी चल्दल , सम्पत्ति थुपार्न सकिन्न । श्रम नगरीकन जम्मा गरेको सम्पत्तिलाई बैधानिकता दिनु भ्रष्टाचारलाई समर्थन गर्नु हो ।  

नेपालमा राजनीतिलाई समाजसेवा पनि भन्ने गरिन्छ ।  समाजसेवा आफैमा भ्रष्टाचार हो ।  समाजसेवा भन्ने अकुत सम्पत्ति जम्मा गर्ने कार्यलाई समाजसेवा भन्न सकिन्न ।  समाजसेवा भन्ने , श्रम नगर्ने अनी सुविधा सम्पन्न जिन्दगी चलाउने ?  यसलाई बैधानिकता दिनु हुदैन ।  यो समाजसेवाको नाममा भएको लुट हो ।  राजनीतिक कार्यकर्ताले सार्वजनिक पद धारण नगर्दासम्म आफुले क्षमता अनुसारको श्रमलाई पैसामा रुपान्तरण गरेर जिन्दगी चलाउन पर्दछ ।  सार्वजनिक पद धारण गरेपछि राज्यको तर्फबाट निर्धारण गरिएको काम गर्नु पर्दछ र वैधानिक रुपमा प्राप्त हुने रकमले जिन्दगी चलाउन पर्दछ । समय परिस्थिति अनुसार सुविधा उपयोग गर्नु पर्दछ । अहिलेको परिस्थितिमा मन्त्रीले गाडी लिन्न , तलव लिन्न , भन्न पनि भ्रष्टाचार हो ।  जनतालाई उल्लु बनाउने एउटा  तरिका हो ।  जेनजी विद्रोहको सन्दर्भमा एउट कुरा उठेको थियो   नेपो बेवीज  बाबुले जम्मा गरेको सम्पत्तिमा छोराछोरीको भड्किलो जीवन शैली   त्यसको विरोध गरिएको थियो ।  अहिले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा  नेपो बेबीजको झल्को देखियो । यसरी अब पैत्रिक सम्पत्ति कसरी जम्मा भयो छानबिनको माग गर्दछ ।  सरकारले सुशासनको शुरुआत  तथा भ्रष्टाचार नियन्त्रण गर्नेहो भने आम्दानीको श्रोत के हो छानबिन गर्नुपर्दछ र कारबाही प्रक्रिया अगाडि बढाउन पर्दछ ।  स्वतन्त्र भन्दाभन्दै रास्वपा भएका र कांग्रेस , एमाले , नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्तालाई झोले भन्दाभन्दै रास्वपाका अन्ध झोले भएकाहरुले  मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई द्वन्दात्मक तरिकाले नहेरेर सार्वजनिक पदमा थिएनन् ,  कमाउन त  पाउनपर्यो नि ?  पैत्रिक सम्पत्ति हो  , दाईजो हो ।  कसको छैन यति सुन ? सस्तो हुँदा किनेको सुन हो  । यस्तै यस्तै कुराहरु गरेर बैधानिकता प्रदान गर्ने प्रयत्न भइरहेको छ ।  कसैले छानबिन गर्नुपर्छ भन्दा अपशब्दको बर्षा नै हुन्छ ।  सार्वजनिक पदमा नरहेका व्यक्तिले वर्तमान भ्रष्ट व्यवस्थाले निर्धारण गरेका भ्रष्टाचार नियन्त्रण सम्बन्धि नियम मान्न पर्दैन ?  सार्वजनिक पदमा भएका नभएका सबैले नियम पालना गर्नु पर्दछ । नियम पालना नगर्नु भ्रष्टाचार हो ।  

अहिले कतिपय व्यक्तिले पहिेले पहिले जुत्ता  लगाउने हैसियत नभएकाहरु चप्पल पड्काउदै सरकारमा पुगे त्यसकारण भ्रष्टाचार भयो , अहिले सरकारमा गएकाहरु सम्पन्न छन् भ्रष्टाचार गर्न पर्दैन भन्ने तर्क गरेको पनि सुन्न सकिन्छ ।  के यो सत्य हो  ? सत्य होइन । भ्रष्टाचार भ्रष्ट मानसिकताका कारण हुने गर्दछ ।  सम्पत्ति भएकाहरु ठुलाठुला भ्रटाचारका कान्डमा फँसेका हुन्छन् ।  यो व्यवस्थामा गरीब व्यक्ति अपवाद बाहेक सरकारको मन्त्री बन्न सक्दैन ।  हिजोको परिस्थिति सबैले जुत्ता लगाउन सक्ने   थिएन । चप्पल नलगाउने जनताको बाहुल्यता थियो ।  तत्कालीन अवस्थामा काठमाडौं बसेर पढ्न सक्ने व्यक्ति सामान्य व्यक्ति थिएन । विदेश पढ्नेहरू सम्पन्न वर्गकै थिए ।  हिजोको परिस्थितिको मुल्यांकन नगरी चप्पल पड्काउने भनेर जुन भाष्य निर्धारण गरिएको छ  तथ्यसंग मेल खादैन ।

शेरबहादुरको विवाह आरजु राणासंग त्यसै भएको होइन ।  अहिलेका मन्त्री प्रधानमन्त्रीको सम्पत्ति स्वभाविक देख्नेहरुले आरजु शेरबहादुरको सम्पत्ति माथि प्रश्न उठाउन मिल्दैन । यो अवस्थामा विगत र वर्तमानका सबै उच्चपदस्थ नेतृत्व , कर्मचारी सबैको सम्पत्ति छानबिन गरि भ्रष्टाचार गरेर जम्मा गरेको सम्पत्ति राज्यको मातहतमा ल्याउन पर्दछ । नयाँ वा पुरानाको नाममा जम्मा गरेको  अबैध सम्पत्तिलाई बैधानिकता प्रदान गर्न हुदैन ।  हाम्रा बोली र व्यवहारले भ्रष्टाचारलाई बैधानिकता दिने  काम त भएको छैन ? ख्याल गर्नु पर्दछ ।

भ्रष्टाचार गरेर जम्मा गरेको सम्पत्ति राज्यको मातहतमा ल्याउन पर्दछ । नयाँ वा पुरानाको नाममा जम्मा गरेको  अबैध सम्पत्तिलाई बैधानिकता प्रदान गर्न हुदैन ।  हाम्रा बोली र व्यवहारले भ्रष्टाचारलाई बैधानिकता दिने  काम त भएको छैन ? ख्याल गर्नु पर्दछ ।

(लेखक - क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नेता हुनुहुन्छ)


२०८३ वैशाख ९ १९:५९ बजे

प्रतिक्रिया