नेपालको कम्युनिस्ट आन्दोलन ७८ वर्ष लाग्दै गर्दा

निर्वाचन परिणामहरूलाई आधार मानेर यो सङ्कटको व्याख्या गरिए पनि वास्तवमा यो गणितीय पराजय मात्र होइन, दशकौँदेखि गुम्सिएका वैचारिक विचलन र सङ्गठनात्मक बेथितिको परिणाम हो ।

bimbonline विमल शर्मा
२०८३ वैशाख ९ ०९:०२ बजे
विमल शर्मा

नेपालको कम्युनिस्ट आन्दोलनबारे विभिन्न व्यक्तिहरू वा सङ्घ संस्थाहरूले इतिहास र वर्तमानको अवस्थाका विषयमा आफ्ना विचारहरू बाहिर ल्याइरहेका छन् । उनीहरूको सार एउटै र विचारमा समानता पाइन्छ – नेपालको कम्युनिस्ट आन्दोलन “जटिल मोडमा” पुगेको छ, कमजोर भएको छ । सबै विश्लेषकका आ–आफ्नै विश्लेषण छन् । कसैले पनि त्यसरी विश्लेषण गर्दा आफ्नो कहाँ गल्ती, कमजोरी भयो त्यसबारे बोल्दैनन् । धेरैजसो गल्ती वा कमजोरी अरूलाई नै देखाएको पाइन्छ । के कारणले त्यसरी कम्जोर अवस्थामा (जटिल मोडमा) पुगेको हो ? त्यो कसरी त्यस्तो हुन पुग्यो त्यसबारे व्याख्या हुनुपर्दछ ।

हामीले पनि भन्दै आएका छौँ, कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा मात्र होइन धेरै नै कमजोर अवस्थामा पुगेको छ । हाम्रो भनाइ, त्यो अहिले आएर कमजोर वा जटिल मोडमा पुगेको होइन यसको इतिहास सैद्धान्तिक वैचारिक विचलन र सङ्गठनात्मक विभाजनका अनेकौँ घुम्तीहरू पार गर्दै यहाँसम्म आइपुगेको हो । त्यसको वस्तुपरक मूल्याङ्कन गर्ने हो भने जब कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने गरी गुटबन्दीहरू हुन थाले, राजावादी विचार देखिए, त्यस विरुद्धको सङ्घर्षको दौरानमा जब नेतृत्वमा व्यक्तिवाद हावी हुन थाल्यो, नेतृत्वमा पुग्ने चाहना र नेतृत्वमा देखिएका व्यक्तिवादी विचारले अन्तर्विरोधको बीजारोपण गरिसकेको थियो । जो नेपालको कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म जरा गाडेर गहिरो गरी बसिरहेको छ । इतिहासको अध्ययनले तेस्रो महाधिवेशन पश्चात् यो आन्दोलन सिद्धान्तभन्दा बढी “जुँगाको लडाइँ” र व्यक्तिगत टकरावतर्फ धकेलिएर क्षतविक्षत भई अस्तित्व विहीन अवस्थामा पुगेको देखिन्छ । हालैका निर्वाचन परिणामहरूलाई आधार मानेर यो सङ्कटको व्याख्या गरिए पनि वास्तवमा यो गणितीय पराजय मात्र होइन, दशकौँदेखि गुम्सिएका वैचारिक विचलन र सङ्गठनात्मक बेथितिको परिणाम हो । हामीले अहिलेको चुनावलाई बहिष्कार गर्‍यौ । त्यसबारे हाम्रो बेग्लै विश्लेषण छ । तर जुन कम्युनिस्ट पार्टी मान्नेहरूले चुनावमा भाग लिए उनीहरूका आफ्नै कार्यकर्ताले उनीहरूलाई मत दिएनन् । सार्वजनिक रूपमा नै उनीहरूका कार्यकर्ताले “हामीले पार्टी छाड्दैनौँ तर तिमीहरूलाई भोट दिदैनौँ” भन्दै साम्राज्यवाद पक्षधर पार्टीलाई मत दिए । त्यसले नेपालको कम्युनिस्ट पार्टीभित्रको स्थिति कस्तो बनेको छ, पार्टीका कार्यकर्ताको स्तर कुन स्तरसम्म गिरेको छ त्यसलाई उजागर गर्दछ । यो स्थितिलाई सुधार गर्न सिद्धान्त, विचार, नीतिहरूलाई व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न प्रयोग गर्ने होइन कि वास्तवमा नै देश, जनता र कम्युनिस्ट आन्दोलनका पक्षमा उपयोग हुने गरी व्यवहारमा सच्चिनु आवश्यक छ । 

कम्युनिस्ट आन्दोलन यो अवस्थामा किन आयो ? इतिहासमा के देखिन्छ भने तत्कालीन समयमा छिन्नभिन्न शक्तिलाई एकीकृत गर्न २०२५ सालमा पुष्पलाल श्रेष्ठले चालेको कदम र अघि सारेको विचारलाई सही ढङ्गले आत्मसात् गर्न नसक्नु आन्दोलनको ठूलो त्रासदी थियो । जेलबाट मुक्त भएका नेताहरूले २०२८ सालमा शिशु अवस्थामा रहेको आन्दोलनलाइ राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिमाथि गम्भीर विमर्श गरी एकीकृत शक्ति निर्माणमा ध्यान दिनुको सट्टा एक अर्काका नीतिलाई केवल “विचलन” को बिल्ला भिराउनमा समय खर्चिए । सानो स्तरमा भएपनि ०२८ सालको उग्र “वामपन्थी” धटनाले नेपाल भरि असर नै गरेको थियो । २०२५ र २०२८ सालका राजनीतिक मोडहरूमा यदि नेतृत्वले “आफ्नै गोरुको बाह्रै टक्का” भन्ने अहङ्कारी मानसिकता त्यागेर सही दिशा निर्देश गर्न सकेको भए एकताको पहलले सार्थक भूमिका खेल्न सक्थ्यो । तैपनि २०३१देखि २०४१ सालसम्म प्रभावशाली देखिएको कम्युनिस्ट आन्दोलन तत्कालीन वैचारिक अस्पष्टता र अनैतिक व्यवहारका कारण अधोगतितिर लाग्यो ।

एकातर्फ सोभियत संशोधनवाद र अर्कोतर्फ २०२८ सालको उग्र “वामपन्थी” हावाको चपेटामा परेर आन्दोलन छिया छिया भयो । सिद्धान्तको लेप लगाउने तर व्यवहारमा नैतिकता र इमानदारीलाई तिलाञ्जली दिने प्रवृत्तिका कारण एकातिर, दक्षिणपन्थी दिशा बलियो हुँदै गयो भने अर्कोतिर, ०५० को दशकमा पुनः उग्र “वामपन्थी” विचारले टाउको उठायो । यो अवस्थाका कुनै पनि घटना वा व्यक्तिलाई कि त पूर्ण सकारात्मक कि त पूर्ण नकारात्मक मात्र देख्ने त्रुटिपूर्ण बुझाइ रह्यो । उग्र “वामपन्थ”को विरोध गर्दा यथास्थितिमा रमाउने र शान्तिपूर्ण मार्गको नाममा संसदीय दलदलमा फस्ने प्रवृत्ति हाबी भयो । प्रतिकृयावादी सत्ताको निर्वाचन आउँदा मात्र “वाम एकता” को नारा अलाप्ने र संसदीय सत्ता प्राप्तिलाई अन्तिम लक्ष्य मान्ने रणनीतिक कार्डले जनतामा कम्युनिस्टहरूप्रति अविश्वास बढ्यो । मुखले क्रान्ति ओकल्ने तर व्यवहारमा भ्रष्ट, पूँजीवादी विलासिता र गुटबन्दीमा लिप्त हुने नेतृत्वले गर्दा नयाँ पुस्ता यसबाट टाढिँदै गएको देखिन्छ ।

पछिल्लो समय कतिपय विश्लेषकहरूले २०८२ सालको निर्वाचन परिणामलाई आधार मानेर कम्युनिस्ट आन्दोलन “जटिल मोडमा” पुगेको टिप्पणी गर्ने गरेका छन् । तर कम्युनिस्टको नाममा सरकारमा सामेल भइसकेका र उग्र “वामपन्थी” बाटो समाएकाहरू कम्युनिस्ट आधारभूत सिद्धान्तहरूबाट पहिले नै विचलित भइसकेका थिए । उनीहरूले कम्युनिस्टको नाम भजाएर आन्दोलनलाई सङ्कटमा पारेका हुन् । अब ती पक्षहरू एउटै हुन जरुरी छ । उनीहरूले प्रगतिशील आस्था राख्न सके भने पनि कम्युनिस्ट आन्दोलनलाई सहयोग नै पुग्नेछ ।

विशेष गरी अहिले मुख्य वाम शक्ति भनिनेहरूको चुनावी नतिजा खुम्चिनुलाई एउटा पक्ष बाटमात्र हेर्न सकिँदैन । यो सङ्कट निर्वाचनको गणित मात्र नभएर सैद्धान्तिक विचलनका साथै विगतका जनआन्दोलन र सामाजिक रूपान्तरणका मुद्दाहरूलाई व्यवहारमा लागू गर्न नसक्दा पैदा भएको नीति “नेतृत्व र विश्वासको सङ्कट” हो । जब–जब निर्वाचन आउँछ, तब मात्र “वाम एकता” को नारा अलाप्ने प्रवृत्ति जोडतोडले हुने गरेको छ । अहिले त झन् उनीहरूको गम्भीर पराजय भएकोले वर्तमानमा चर्चामा रहेको एकताको बहस सरकारका लागि भर्‍याङ चढ्ने रणनीतिक कार्डका रूपमा प्रयोग हुन सक्दछ ।

वामपन्थी एकता केवल प्राविधिक रूपमा सङ्गठनहरू गाभिनु मात्र होइन यो त वैचारिक स्पष्टता र साझा लक्ष्यमा आधारित सहकार्य हुनुपर्छ । इतिहासका गल्तीहरू स्वीकार गर्दै सबै पक्षबाट कहाँनिर बाटो बिराइएको हो भन्नेबारे गम्भीर समीक्षा जरुरी छ । सकारात्मक र नकारात्मक पक्षलाई प्रष्ट नपारी गरिने एकता बालुवाको जगमा ठड्याइएको घर जस्तै हुन्छ ।

बलपूर्वक सत्ता प्राप्त गर्ने सैद्धान्तिक प्रशिक्षण सही नै छ । शान्तिपूर्ण तरिकाले प्राप्त गरिने सत्ताबारे जोडतोडले व्याख्यागरिनु कम्युनिस्ट पक्षधरताको आन्दोलनलाई धोका भएको छ । साथै सबै पार्टीको नेतृत्वमा हाबी “व्यक्तिवादी अहङ्कार” ले पनि आन्दोलनलाई क्षति पुर्‍याएको छ । मुखले सिद्धान्त ओकल्ने तर व्यवहारमा भ्रष्ट, पूँजीवादी विलासिता र गुटबन्दी गर्ने प्रवृत्ति नत्यागेसम्म नयाँ पुस्तालाई आकर्षित गर्न सकिँदैन । 

कम्युनिस्ट पार्टीको प्राण मानिने “जनवादी केन्द्रीयता”लाई नेतृत्वले आफ्नो अनुकूलतामा दुरूपयोग गर्ने गरेको छ । आफू नेतृत्वमा हुँदा “केन्द्रीयता”लाइ बलियो बनाउने नाममा निरङ्कुशता लाद्ने र अल्पमतमा पर्नासाथ “जनवाद” कमजोर भएको नाममा गुटवन्दीगर्ने प्रवृत्ति आन्दोलनको ठूलो बाधक बनेको छ । एकातर्फ, सिर्जनशील विचारहरू निरुत्साहित गर्ने, अर्कोतर्फ, व्यक्तिवादी गुटको वातावरणले अन्दोेलनलाई कमजोर बनाएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा कमजोरी मात्र छन् भन्ने होइन । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी र यसले नेतृत्व गरेको आन्दोलनले आम नेपाली जनतामा कम्युनिस्ट आन्दोलन नै शोषित–पीडित जनताको सही नेतृत्व गर्न सक्ने आन्दोलन हो भन्ने विषयलाई स्थापित गरेको छ । विभिन्न आन्दोलनमा हजारौँ शहिदहरूले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन आफ्नो बलिदानमार्फत उदाहरणहरू समेत प्रस्तुत गरेका छन् । निरङ्कुश पञ्चायती तानाशाही व्यवस्थाको अन्त्यका लागि तत्कालीन समयमा चलाइएका आन्दोलनहरूले ठूलो भूमिका खेलेका छन् । 

पञ्चायती तानाशाहीको समयमा बोल्न र लेख्न नपाइने, सङ्गठन बनाउन तथा आफ्ना विचारहरू प्रकट गर्न नपाइने अवस्थालाई परिवर्तन गरी अहिलेको अवस्थामा ल्याउनु पनि सामान्य परिवर्तन होइन । आन्दोलनबाट अढाई सय वर्षदेखिको राजतन्त्रात्मक सामन्ती नेतृत्वको अन्त्य भएको छ र गणतन्त्र तथा धर्मनिरपेक्षता समेत लागू भएको छ । अन्धविश्वास र जातिवादलाई तोड्दै तल्लो वर्गबाट उठेका व्यक्तिहरूले आफ्ना विचारहरू प्रष्टसँग राख्न सक्ने भएका छन् । अहिले कम्युनिस्ट आन्दोलन कमजोर देखिए पनि पूँजीवादी व्यवस्थाले नै आफ्नो खाडल आफैँ खन्ने भएकोले यो कुरा निश्चित छ कि आगामी दिनहरूमा कम्युनिस्ट आन्दोलनले आफ्नो जगलाई बलियो बनाउँदै अगाडि बढ्नेछ । जतिबेलासम्म शोषणमा आधारित व्यवस्था रहन्छ, त्यतिबेलासम्म यसले शोषकहरूका विरुद्धको आन्दोलनलाई अगाडि बढाउँदै लैजानेछ ।

अहिलेको अवस्थामा आन्दोलनलाई पुनर्गठन गर्दा अहिलेसम्म नेपालमा समाजवाद उन्मुख राजनैतिक नाराले भूमिका खेल्न सकेन । कम्युनिस्टहरूको नेतृत्वमा क्रान्तिहुन नसकेकोले अहिले पनि सामन्ती दलाल पूजिंवादको अन्त्य नयाँ जनवादको स्थापना अनिवार्य नै रहेको छ । आगामी दिनमा व्यवस्था परिवर्तनको राजनीतिका साथै सर्वहारा सांस्कृतिक र सामाजिक अभियानलाई व्यवहारिक व्यवस्थापनको रूपमा सञ्चालन गर्नुपर्छ । नेतृत्वमा हाबी व्यक्तिवादी अहङ्कार त्यागेर नयाँ पुस्तालाई नीति र नेतृत्व हस्तान्तरण गर्ने पद्धतिको विकास गर्नुपर्छ । आफुलाइ कम्युनिस्ट बताउने व्यक्ति वा समुहले भ्रष्टआचरण र विलासिता त्याग गरी जनमुखी र पारदर्शी आचरण देखाउन नसक्नु नै आजको मुख्य चुनौती हो । अपेक्षित नेतृत्वले समयमै त्यतातर्फको छलफल र व्यवहारलाई गम्भीरतापूर्वक लिने र नैतिकताको बाटो समात्ने हो भने मात्र कम्युनिस्ट आन्दोलनको भविष्य निर्माणमा निर्णायक भूमिका खेल्न सक्छ । अन्यथा, इतिहासको पाङ्ग्राले कसैलाई पर्खने छैन ।

(लेखक- नेकपा(मशाल)का नेता हुनुहुन्छ)

२०८३ वैशाख ९ ०९:०२ बजे

प्रतिक्रिया