मानव इतिहासको क्रान्तिकारी धारा बुझ्नका लागि अक्टोबर समाजवादी क्रान्ति एउटा निर्णायक र अत्यन्त महत्त्वपूर्ण घटना हो। यो यस अर्थमा ऐतिहासिक छ कि यसले शोषित–पीडित श्रमजीवी वर्गले पहिलो पटक आफ्नो राज्यसत्ता स्थापना गर्ने अभूतपूर्व उपलब्धि हासिल गर्यो। यस क्रान्तिका महान् प्रणेता व्लादिमिर इल्यिच लेनिन वास्तवमै महान हुनुहुन्छ, अमर हुनुहुन्छ, किनकि उहाँले वैज्ञानिक समाजवादलाई व्यवहारमा उतारेर मानव मुक्ति सम्भव छ भन्ने प्रमाणित गर्नुभयो।
लेनिन र मार्क्सवादको विकास-
कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले प्रतिपादन गर्नुभएको मार्क्सवादलाई लेनिनले खाली दोहोर्याउनु भएन, बरु त्यसलाई नयाँ ऐतिहासिक चरणअनुसार सिर्जनात्मक रूपमा विकास गर्नुभयो। उहाँले पूँजीवादको विकसित स्वरूपलाई गहिराइका साथ विश्लेषण गर्दै Imperialism, the Highest Stage of Capitalism “साम्राज्यवाद पूँजीवादको उच्चतम चरण” नामक कृतिमा विश्व अर्थतन्त्रको असमान संरचना, एकाधिकार पूँजी र उपनिवेशवादको चरित्र स्पष्ट पार्नुभयो।
यस विश्लेषणले देखायो कि पूँजीवाद अब स्वतन्त्र प्रतिस्पर्धामा आधारित छैन, बरु विश्वव्यापी शोषणको यंत्रमा परिणत भइसकेको छ। यही कारणले कमजोर उत्पीडित देशहरूमा पनि क्रान्ति सम्भव हुन्छ भन्ने निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो। यस अर्थमा लेनिन महान हुनुहुन्छ, अमर हुनुहुन्छ,किनकि उहाँले सिद्धान्तलाई यथार्थसँग जोडेर विकास गर्नुभयो।
अग्रदस्ता पार्टी र क्रान्तिको रणनीति-
लेनिनको अर्को ऐतिहासिक योगदान कम्युनिस्ट अग्रदस्ता पार्टीको अवधारणा हो। उहाँले स्पष्ट रूपमा देखाउनुभयो कि स्वतःस्फूर्त जनआन्दोलन मात्रले समाजवाद सम्भव हुँदैन। एक अनुशासित, वैचारिक रूपमा स्पष्ट र क्रान्तिकारी संगठन आवश्यक हुन्छ। यही सिद्धान्तका आधारमा बोल्सेभिक पार्टीले क्रान्तिको नेतृत्व गर्यो।यो खाली संगठन निर्माण मात्र थिएन, वर्गीय चेतनालाई विकसित गर्ने वैज्ञानिक प्रक्रिया पनि थियो। त्यसैले लेनिन महान हुनुहुन्छ, अमर हुनुहुन्छ,किनकि उहाँले क्रान्तिलाई भावनात्मक मात्र होइन, संगठित र योजनाबद्ध प्रक्रिया बनाउनुभयो।
सोभियत राज्यको स्थापना-
१९१७ को अक्टोबरमा बोल्सेभिकहरूको विजयसँगै सोभियत संघ स्थापना भयो। यो विश्वकै पहिलो श्रमिक–किसान राज्य थियो, जसले उत्पादनका साधनहरूमा निजी स्वामित्वको अन्त्य गर्दै सामाजिक स्वामित्वको आधार निर्माण गर्यो।यस राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा व्यापक सुधार ल्यायो। यसले प्रमाणित गर्यो कि समाजवादी व्यवस्था सैद्धान्तिक कल्पना मात्र होइन, व्यवहारमा सम्भव र प्रभावकारी प्रणाली हो।
नयाँ आर्थिक नीति
क्रान्तिपछि उत्पन्न भएका कठिन आर्थिक र सामाजिक परिस्थितिहरूलाई ध्यानमा राख्दै लेनिनले New Economic Policy “ “नयाँ आर्थिक नीति” लागू गर्नुभयो। यो नीति पूर्ण समाजवादी संरचनाबाट अस्थायी रूपमा केही बजारमुखी तथा सीमित निजी कारोबारलाई अनुमति दिने रणनीति थियो, जसको उद्देश्य उत्पादन वृद्धि गर्नु, आपूर्ति प्रणाली सुधार गर्नु र समग्र अर्थतन्त्रलाई स्थिर बनाउनु थियो।यसले देखायो कि लेनिन यान्त्रिक सोचका पक्षधर हुनुहुन्थेन। उहाँले परिस्थितिअनुसार नीतिमा लचकता अपनाउँदै समाजवादको दीर्घकालीन लक्ष्यलाई सुरक्षित राख्नुभयो। यही व्यवहारिकता उहाँको महानताको अर्को प्रमाण हो।
स्तालिन र समाजवादी आधारको सुदृढीकरण-
लेनिनको निधनपछि जोसेफ स्तालिनले औद्योगिकीकरण, कृषि सामूहिकीकरण र योजनाबद्ध अर्थतन्त्रमार्फत समाजवादी आधारलाई अझ सुदृढ बनाउनुभयो। एक पिछडिएको कृषिप्रधान देशलाई शक्तिशाली औद्योगिक राष्ट्रमा रूपान्तरण गर्नु ऐतिहासिक उपलब्धि थियो।ग्रेट प्याट्रियटिक वार मा प्राप्त विजयले समाजवादको सामर्थ्यलाई विश्वसामु स्थापित गर्यो। यसले श्रमजीवी वर्गको शक्ति कति महान हुन्छ भन्ने प्रमाणित गर्यो।
विघटन र त्यसका पाठ
१९९१ मा सोभियत संघको विघटनले विश्व कम्युनिस्ट आन्दोलनलाई गम्भीर धक्का दियो। यसको कारणहरूमा सैद्धान्तिक विचलन, नेतृत्वको कमजोरी र बाह्य दबाब रहेका थिए। मिखाइल गोर्बाचेभका नीतिहरूले समाजवादी संरचनालाई कमजोर बनायो।तर यस विघटनले लेनिनको विचारलाई समाप्त गर्न सकेन। बरु यसले देखायो कि क्रान्तिकारी सिद्धान्तको निरन्तर रक्षा र विकास अनिवार्य हुन्छ।
आजको विश्वमा लेनिनको सान्दर्भिकता
आजको विश्वमा पूँजीवादले गहिरो संकट निम्त्याएको छ,आर्थिक असमानता, बेरोजगारी, युद्ध र वातावरणीय विनाश। यस्तो अवस्थामा लेनिनका विचारहरू अझ सान्दर्भिक बनेका छन्।उहाँको वर्गीय विश्लेषण, संगठनात्मक सिद्धान्त र अन्तर्राष्ट्रिय एकताको दृष्टिकोण आज पनि मार्गदर्शक सिद्धान्तका रुपमा छन्। लेनिन महान हुनुहुन्छ, अमर हुनुहुन्छ,किनकि उहाँका विचारहरू समयसँगै अझ सशक्त रूपमा जीवित छन्।
नेपाली सन्दर्भ
नेपालको वर्तमान अवस्था,आर्थिक निर्भरता, राजनीतिक अस्थिरता र सामाजिक असमानताले आमूल परिवर्तनको आवश्यकता देखाउँछ। लेनिनले देखाउनुभएको मार्ग संगठित संघर्ष, सैद्धान्तिक स्पष्टता र जनतासँग प्रत्यक्ष सम्बन्ध,आज पनि उत्तिकै महत्वपूर्ण छ।
निष्कर्ष,
लेनिनको जीवन र योगदान एउटा इतिहासको विषय मात्र होइन, वर्तमान र भविष्यको मार्गदर्शन हो। उहाँले देखाउनुभएको वैज्ञानिक समाजवाद मानव मुक्तिको लागि अझै पनि सबैभन्दा यथार्थपरक विकल्प हो।
अन्ततः,लेनिन महान हुनुहुन्छ, अमर हुनुहुन्छ।उहाँका विचारहरू अमर छन्, उहाँका आदर्शहरू अमर छन्।जबसम्म शोषण र अन्याय रहन्छ, तबसम्म लेनिनको आवश्यकता रहिरहन्छ।लेनिन महान हुनुहुन्छ, अमर हुनुहुन्छ।
प्रतिक्रिया