ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेको सुन्दा एकछिन खेदेर छाड्लान् भन्ने लाग्थ्यो, तर खेद्न थालेपछि खेदेको खेद्यै पो गर्दा रहेछन् । चार महिनाअघि अर्काको गोठका बाच्छाहरू जाइलागे । अहिले आफ्नै गोठका बाच्छाहरूले टाउकामा भकारो फालिदिए ।
(रात गहिरिँदो छ, निदाउन खोज्छु, तर सक्दिनँ)
अब सकिँदैन भनेर उतिबेलै छोडेको हो । पूर्णबहादुरलाई कार्यवाहक सुम्पेर पन्छेको थिएँ । पन्छेको पन्छियै गर्न पाएको भए अहिलेको दुःख भोग्नुपर्ने थिएन । सबैले हाईहाई गर्थे, आफ्नै केटाहरूले जबरजस्ती बाईबाई गर्ने थिएनन् । तर के गर्नु पूर्णबहादुर अपूर्ण भएपछि ओलीकै भर लाग्यो । ओलीको विश्वास नगर्नु भनेर त सबैले भनेकै थिए, आफूले पनि भोगेकै हो । तर ओलीले आश देखाएपछि पुरानै लोभ पलायो, लोभले मन भरियो । ओलीले फ्याट्ट प्रधानमन्त्री हुने भने । प्रधानमन्त्री भएपछि गुमेको शान, मान सबै फर्किन्छ, किन झोक्राएर बस्नु भनेर मुन्टो घुमाउन थालियो । आफ्नैकाले घोसेमुन्टो बनाइदिए ।
(भित्ताको फोटोमा आँखा पर्छ)
ओहो त्यो ठाँट, त्यो रवाफ । अघिपछि लावालस्कर । शान, मान र सम्मान । आज सबै बिरानो भयो । प्रधानमन्त्रीको कुर्सी ताकेर बस्दा आफू बसेको घर जल्यो, कुर्सी ढल्यो । आड दिने रुख ढल्यो । अढेस लागेर हुर्केको रुखको फल केटाहरूको हातमा गयो । आधा जीवन रुखको अढेस लागेर बिताइयो, त्यही रुख अब अरूकै भयो । मन भारी छ, रात निस्पट्ट भो, तर पटक्कै निद्रा छैन । घर छोड्ने रात । रुख छोड्ने रात । कति दौडधूप र रगत पसिना खर्चेर बनाएको घर । हाँगापात छिमोलेर जोगाएको रुख । तर आफ्नै घरकाले पनि रुखको स्याहार सम्भार गर्न सकिनस् भनेर औँला तेर्साए । जसले जे भने पनि आफू र आफ्ना नजिककालाई सुहाउँदो घर बनाएकै हो । हाँगा, पात सुक्दै गए पनि बुढो रुखको फेदमा अढेस लगाएकै हो ।
(कोल्टो फर्कन्छु)
अब म यो घरको भइनँ, जिन्दगीभरि ओत दिएको रुखको छहारी अर्कैको भयो, म घरको मूली र रुखको माली भइनँ भनेर कसरी पत्याउनु, कसरी स्वीकार्नु ! परिवारलाई कुन मुख देखाउनु, अरूलाई कुन मुख देखाएर हिँड्नु ? एकपटक प्रधानमन्त्रीको कुर्सीमा बस्ने धोको कसरी पूरा गर्नु ? सम्झँदा पनि मन क्वाँ ... क्वाँ ...गर्छ, आँखाबाट कर्णालीको भेल बग्छ ।
तर रोएर, कराएर, उफ्रिएर पनि के गर्नु ? आफ्नै मान्छेले धोका दिए । शत्रु खोज्न टाढा जानु पर्दैन भन्थे । हो रहेछ ।
(फेरि कोल्टो फर्कन्छु)
एक मनमा अशान्ति भए पनि अर्को मनमा शान्तिको पालुवा पलाउन थालेको छ ।
अब म आरजुको पति मात्रै हुँ, सभापति होइन । सभाकै पति हुँदा कति धेरै बोझ थियो ।
सबैको चासो, सबैको रिस, सबैको अपेक्षा—सबै मेरो टाउकोमा । अब एउटा मानिसको पति हुँदा पो जीवन सजिलो हुँदो रहेछ ।
सभाकै पति हुँदा त बिहान उठ्दा पनि डर लाग्थ्यो—आज कसको गुनासो आउँछ ?
(हल्का हाँसो आउँछ, तर दबाउँछु)
पहिले बिहान मोबाइल खोल्दा, ‘देउवाले यसो गरे’, ‘देउवाले उसो गरे’, ‘देउवाले कांग्रेस सिध्यायो’......। गाली नै गाली । गुनासा नै गुनासा ।
अब ?
अब मोबाइल खोल्दा म आफैँ भन्न सक्छु— ‘यी नयाँ केटाले चैँ के लछारपाटो लगाए त ?’
कस्तो अद्भुत स्वतन्त्रता !
यत्रो वर्ष गाली खाएर दिन बित्यो । आज गाली गर्ने लाइसेन्स पाइयो ।
(मोबाइलमा मेसेज आएको सङ्केत बज्छ)
आज जोसुकैले गरोस् । अब कसैको सान्त्वना चाहिएको छैन ।
प्रधानमन्त्री, त्यो पनि पाँचपटक ।
बाहिरका मान्छेले बुझ्दैनन्, प्रधानमन्त्री बन्नु भनेको कुर्सीमा बस्नु होइन । कुर्सी चाहिँ टाउकोमा बसेजस्तो हुनु हो ।
कहिले ओलीको फोन— ‘यो नगर’ । कहिले प्रचण्डको सन्देश— ‘यो गर’
कहिले पार्टीका मान्छेको फोन – ‘दुवै नगर’ ।
कहिले दूतावास, कहिले गठबन्धन, कहिले ज्योतिषी ।
अँ त्यो ज्योतिषीको त नाम सुन्दा पनि पारो तातेर आउँछ । अब त्यसको आश पनि छैन, भर पनि छैन ।
अब सरकार ढल्छ कि भन्ने चिन्ता पनि छैन ।
अब ज्योतिषीलाई सोध्ने हो भने—‘भोलि बिहान हिँड्न राम्रो समय कहिले ?’
(मन अलि हलुका हुन्छ ।)
सबैभन्दा ठूलो कुरा त आन्दोलन हो ।
आन्दोलन शब्द सुन्नासाथ मुटु ढुकढुक हुन्थ्यो । भदौको आन्दोलन, अझै सम्झँदा पसिना आउँछ ।
अब ?
अब आन्दोलन भए पनि मेरो घर जलाउन कोही आउँदैन ।
घरभित्र पैसा जल्दा अब एआईलाई दोष दिनु पर्दैन ।
अब घर, घरजस्तो हुन्छ । कार्यालय होइन । कोही नेता, कार्यकर्ता आउँदैन । कसैले पनि यो ले र त्यो ले भन्दैन । अब आफ्नै दुनियाँ ।
(मनमा थोरै सन्तोष छाउँछ )
इतिहास ! इतिहासले जे लेख्ने थियो, लेखिसक्यो ।
पाँचपटक प्रधानमन्त्री !
कति महाधिवेशन !
कति सम्झौता !
कति आलोचना !
अब इतिहाससँग झगडा गर्नु छैन ।
अब वर्तमानसँग पनि ।
अब म चुनाव जितेँ भने— ‘ल, देउवा अझै छन्’
हारें भने— ‘ल, समयको कुरा’
कुनै भारी अर्थ छैन ।
सायद अब राजनीतिक सन्यास होइन, राजनीतिक आराम ।
भोलि बिहान उठेर चिया पिउँला । अखबार पढुँला ।
अरूको गल्तीमा टाउको हल्लाउँला ।
पहिलोपटक अरूको गल्तीमा मेरो जिम्मा छैन ।
(गहिरो सास फेर्छु ।)
कांग्रेसको रुख, त्यसको छायाँमा धेरै घाम–पानी सहियो ।
अब छायाँ छैन, तर खुला आकाश छ ।
कसले के भन्ला, कसले के लेख्ला—अब त्यसले निद्रा बिगार्दैन ।
यो पलायन होइन, यो त बोझ बिसाएर सुत्न पाएको पहिलो रात हो ।
ओली र प्रचण्डहरूलाई यस्तो शान्ति कहिले मिल्ला ? उनीहरूको भन्दा मलाई छिटो मिल्यो । खुशीको कुरा नै यही हो । रुख छैन भनेर दुःख होइन, सुखैसुख मिलेको छ ।
(आँखा बन्द हुन्छ)
प्रतिक्रिया