मैले कसरी लेख्न सिकें ?

मानिसहरूलाई अघिल्तिर बढ्न बाटो देखाउने र त्यो बाटामा हिंड्न प्रेरित गर्ने विद्रोहीहरूले नै श्रमजीवी जनतामा लोभ, द्वेष, अल्छीपन र श्रमप्रति विरक्तिजस्ता दुर्गुणहरू फैलाउने वर्गसमाज र बुर्जुवासमाजले सृजना गरेका घृणित अवस्थाहरूसँग लोलोपोतो र मेलमिलाप गर्नुपर्छ भनी प्रचार गर्नेहरूले भन्दा माथिल्लो स्थान हासिल गरेका छन्।

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख २२ २०:०१ बजे
माक्सिम गोर्की

स्कुल क्याम्पस विश्वविधालयको मुख समेत नदेखेका एक  मजदुर कसरी विश्वविख्यात प्रगतिशिल लेखक वन्न सफल भए भन्ने उनको मैलेे कसरी लेख्न सिके ? भन्ने रचना विम्व अनलाईनले क्रमश  प्रकाशन गर्दै आउने छ। यसको अध्ययन पठन पाठनले कुनै पनि व्यक्तिको जिवनमा महत्वपुर्ण प्रभाव छोड्ने छ। पढ्न नछुटाउ-(सम्पादक)

तपाईंहरूसँग कुराकानी गर्ने जे जति मौका पाएको छु, ती मौकाहरूमा तपाई धेरैले मलाई मुखैले वा लेखेर मैले कसरी लेख्न सिकें सोध्नुभएको छ । यही सवाल समाजवादी सोभियत गणतन्त्र संघका सबै ठाउँबाट मसँग पत्राचार गर्ने मजदुर, किसान तथा सैनिकहरू र सामान्यतया भर्खर-भर्खर लेख्न सुरु गरेका युवाहरूले पठाएका चिठ्ठीहरूमा सोधिएको छ । धेरैले मलाई ‘कथाहरू कसरी लेख्नुपर्छ भन्ने सम्बन्धमा एउटा किताब लेख्न’ वा ‘साहित्यको इतिहास विकास गर्न’ वा ‘साहित्यका बारेमा पाठ्य-पुस्तक प्रकाशित गर्न’ अनुरोध गरेका छन् । म त्यस्तो पाठ्य-पुस्तक लेख्न सक्तिनँ र त्यसो गर्न सक्षम पनि नहुँला, यस अतिरिक्त, यस्ता किताबहरू पहिलेदेखि नै छन् र ती ज्यादै राम्रा नभएको खण्डमा पनि उपयोगी भने छन् नै ।

लेख्न सुरु गर्नेहरूका लागि साहित्यको इतिहासको ज्ञान जरुरी हुन्छ । यसका लागि मास्को राज्य प्रकाशन गृहले प्रकाशित गरेको भी. केल्तुयालको ‘साहित्यको इतिहास’ नामक पुस्तक उनीहरूका लागि सहयोगी हुनेछ । मौखिक (‘लोक’) र लिखित (‘साहित्यिक’) सृजन कसरी विकास भएर आयो, यस सम्बन्धमा यो पुस्तकले एकदमै राम्रो विवरण दिएको छ । कुनै मानिसको रचना-शिल्प जस्तो भए पनि उसले यसको विकासको इतिहास भने जानेकै हुनुपर्दछ । यदि कुनै उद्योगधन्दा वा कलकारखानामा संलग्न मजदुरहरूले उद्योगधन्दाहरूको कसरी उत्पत्ति भयो, क्रमश कसरी यसको विकास भयो र कसरी उत्पादनले पूर्णता पाउँदै गयो भन्ने सम्बन्धमा पूरा जानकारी पाएको खण्डमा उनीहरूले संस्कृतिको इतिहासमा आफ्नो श्रमको महत्त्वलाई अझ पूरा समझदारीका साथ बुझेर अरू बढी उत्साहका साथ राम्ररी काम गर्ने थिए ।

विदेशी साहित्यको ज्ञान पनि आवश्यक हुन्छ । किनभने आफ्नो सारमा साहित्यिक सिर्जनशीलता सबै ठाउँमा र सबै जनताका लागि उस्तै नै हुन्छ । यो केवल रूपगत र बाहिरी सम्बन्धहरूको कुरो होइन । जस्तो कि पश्किनले गोगोललाई मृत आत्माहरूको कथ्य दिनुभएको थियो भने पुश्किन आफैले चाहिँ सम्भवत यो कथ्य अङ्ग्रेज लेखक लरेन्स स्टर्नको एक भावुक यात्राबाट लिनुभएको थियो । यस्तै, मृत आत्माहरू र अङ्ग्रेज उपन्यासकार डिकेन्सको पिकविक कागजपत्रहरूको विषयवस्तुमा भएको समानताले त्यति महत्त्व राख्तैन । कुन तथ्यको बोध चाहिँ महत्त्वपूर्ण छ भने धेरै पहिलेदेखि मानिसका आत्माहरूलाई कैद गर्न सबैतिर एउटा जालो बुनिएको थियो र अर्कातिर सधैं र जहाँतहीं अन्धविश्वास, द्वेषभाव र पूर्वाग्रहहरूबाट मानिसहरूलाई मुक्त पार्न आफ्ना कृतिहरूको उद्देश्य बनाउने मानिसहरू थिए । के कुरो जान्नु महत्त्वपूर्ण छ भने जसरी यहाँ सधैंभरि मानिसलाई खुसी पार्ने तुच्छ र निष्कृष्ट भोगविलासमा लाग्न उत्प्रेरित गर्नेहरू थिए र छन्, त्यसरी नै समाजमा चारैतिर रहेका जीवनका तुच्छ र बेकम्मा कुराहरूका विरुद्ध उभिएका विद्रोहीहरू पनि छन् । के अनुभूत गर्नु पनि महत्त्वपूर्ण छ भने अन्तिम विश्लेषणमा मानिसहरूलाई अघिल्तिर बढ्न बाटो देखाउने र त्यो बाटामा हिंड्न प्रेरित गर्ने विद्रोहीहरूले नै श्रमजीवी जनतामा लोभ, द्वेष, अल्छीपन र श्रमप्रति विरक्तिजस्ता दुर्गुणहरू फैलाउने वर्गसमाज र बुर्जुवासमाजले सृजना गरेका घृणित अवस्थाहरूसँग लोलोपोतो र मेलमिलाप गर्नुपर्छ भनी प्रचार गर्नेहरूले भन्दा माथिल्लो स्थान हासिल गरेका छन् ।

मानवश्रम र सृजनशीलताको इतिहास मानिस स्वयंको इतिहासभन्दा कता हो कता बढी चाखलाग्दो र महत्त्वपूर्ण छ । किनभने मानिस एक सय उमेर पुग्नु अघि नै मर्दछ भने उसका रचनाहरू चाहिँ शताब्दियौंसम्म बाँचिरहन्छन् । विज्ञानका विस्मयजनक उपलब्धिहरू र यसको तीव्रतर बृद्धिलाई आफ्नो विशेषताको विकासको इतिहासलाई जानेबुझेका वैज्ञानिकहरूले नै ठीकसँग व्याख्या गर्न सक्तछन् । विज्ञान र साहित्यमा धेरै समानता छ । दुवैमा निरीक्षण, तुलना र अध्ययनले नेतृत्वदायी भूमिका निर्वाह गर्दछन् । लेखक र वैज्ञानिक दुवैसँग कल्पना र अन्तर्प्रज्ञा हुनैपर्दछ ।

कल्पना र अन्तर्प्रज्ञाले तथ्यहरूको शृङ्खलामा रहेका खाली ठाउँहरू भर्न सहयोग पुऱ्याउँछन र यसरी वैज्ञानिकहरूलाई प्राकतिक शक्तिहरू र सङघटनाका बारेमा मस्तिष्कमा रहेका सवालहरूलाई कमबेसी प्रभावकारी तरिकाले पथप्रदर्शन गर्ने प्राक्कल्पना र सिद्धान्तहरू विकास गर्न सक्षम बनाउँछन् । क्रमश प्राकृतिक शक्ति र सङ्घटनाका अधीनमा रहेर मानिसको मस्तिष्क र इच्छाशक्तिले मानवीय संस्कृतिको सृजना गर्दछ, जुन वास्तवमा हाम्रो ‘दोस्रो प्रकृति’ हो।

यस भनाइलाई दुईवटा तथ्यद्वारा पुष्टि गर्न सकिन्छ । त्यतिखेर थाहा भएका आधारभूत तत्त्वहरू- फलाम, सीसा, गन्धक, पारो आदिको आफ्नो अध्ययनको आधारमा प्रसिद्ध रसायनशास्त्री दिमित्री मेन्देलेयेभले आधारभूत तत्त्वहरूको एउटा आवधिक तालिका तयार पारे, यसले के उल्लेख गर्यो भने प्रकृतिका थुप्रै आधारभूत तत्त्वहरू अझै पत्ता नलागेका तत्त्वका रूपमा अस्तित्वमा छन् । उनले ती अपरिचित तत्त्वहरू प्रत्येकको विशिष्ट गुरुत्वाकर्षणका बारेमा पनि सङ्केत गरे, त्यतिखेरदेखि नै तिनको आविष्कार हुँदै आएको छ र यस अतिरिक्त मेन्देलेयेभको पद्धतिले अन्य थुप्रै तत्त्वहरू पत्ता लगाउन सहयोग पुयाएको छ, जसको अस्तित्वमा उनी आफूले कहिल्यै सन्देह गरेनन् ।क्रमश


२०८३ वैशाख २२ २०:०१ बजे

प्रतिक्रिया