माओत्सेतुङ विचारधाराको पहिलो स्पर्श : बाल्यकालको एउटा संस्मरण

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र २८ १२:३८ बजे
लक्ष्मण उप्रेती

म सानै थिएँ, करिब सात–आठ वर्षको। जीवनको त्यो समय २०३९ र ०४०साल तिर , संसारलाई बुझ्ने आँखा खुल्दै थिए, बुझाइ निर्दोषी जिज्ञासामै सीमित थियो। हामी भर्खरै पहाडबाट मधेश झरेका थियौँ। नयाँ ठाउँ, नयाँ परिवेश, र नयाँ अनुभूति,सबै कुरा मेरो लागि अनौठो थियो।

त्यो दिन घरमा सबित्रा दिदी आफ्नै घरमा सामान मिलाउँदै हुनुहुन्थ्यो। पुराना, धुलोले ढाकिएका किताबहरूको ठूलो थुप्रो उहाँले एक ठाउँबाट अर्को ठाउँमा सार्दै हुनुहुन्थ्यो। म पनि सानो सहयोगी बनेर भर्याङको छेउबाट उहाँलाई किताबहरू दिँदै थिएँ। ती किताबहरूलाई हेर्दै गर्दा मेरो मनमा एउटा प्रश्न बारम्बार उठिरहेको थियो,“यति धेरै किताब कसले पढेको होला?”

अन्ततः मैले सोधिहालेँ “दिदी, यी किताब कसका हुन्र कसले पढेका?”

दिदीले सहजै उत्तर दिनुभयो,“काकाहरूको हो,रामु काका र बुद्धिकाकाको । बुद्धि काकाले ल्याउनु भएको, उहाँले पढ्नु भएको।”

रामुकाका थोरै बोल्ने ,अरुको कुरामा चासो कम राख्ने ,आफ्नो काममा लाग्ने र बुद्धि काका‘ उहाँको नाम सुन्नासाथ मेरो मनमा एउटा चित्र उभियो, नयाँ नयाँ कुरा गर्ने, सबैसँग घुलमिल हुने, गफ गाफ धेरै गर्ने,फरक सोच भएका मान्छे। उहाँ पहाडमै शिक्षक हुनुहुन्थ्यो र कहिलेकाहीँ बिदामा मधेश आउनु हुन्थ्यो। उहाँको व्यक्तित्वमा केही यस्तो आकर्षण थियो, जसले सानै उमेरमा पनि मलाई प्रभावित बनाएको थियो।

त्यसै क्षण मेरो मनमा एउटा अनौठो भावना जाग्यो “यी किताबहरू पढ्नुपर्छ।”

सायद त्यो भावना बुझाइभन्दा बढी अनुभूति थियो।

किताबहरू मिलाउँदै जाँदा ठूला–ठूला ग्रन्थहरूको बीचमा एउटा सानो, पातलो किताब मेरो हातमा आयो। पहेँलो कभर, सेता स्केचजस्ता रेखाहरूले बनाएको एउटा ठुलो निधार भएको ब्यक्तिको एक साइडको फोटो, डिमाइ साइजको पुस्तिका अन्य किताबहरूको तुलनामा अत्यन्तै साधारण देखिने। तर किन हो, त्यो किताबले मलाई तान्यो।

मैले दिदीलाई भनेँ,“यो किताब म लैजाउँ?”

उहाँले हल्का नजर लगाएर भन्नुभयो,“लैजाऊ।”

म त्यो किताब बोकेर हिँडेँ। पन्ना पल्टाएँ, हेरेँ, तर पढ्न सकिनँ। कभरमा लेखिएको थियो,

माओ त्से तुङ विचारधारा।

त्यो शब्दको अर्थ त्यतिबेला मलाई थाहा थिएन, तर त्यो नाम मेरो मनमा कतै गहिरो गरी बस्यो।

केही वर्षपछि म कक्षा ६ मा पुगेँ। विद्यालयमा मेरो पहिचान ‘सधैँ प्रथम हुने विद्यार्थी’को रूपमा थियो। तर त्यो वर्ष विद्यालयको वातावरणमा केही नयाँ चहल पहल चलिरहेको थियो। कक्षा ८ का विद्यार्थीहरू,लोकनाथ, गणेश, निरन्जन, केशव, प्रेम, रामचन्द्र,राजु राइ कहिलेकाहीँ छुट्टै समूहमा देखिन्थे। उनीहरूलाई कुनै नयाँ मानिसले भेट्ने(ती मानिस प्रभाकर धैरे पछि थाहा पाए उनी रवीन्द्र श्रेष्ठ ,रहेछ्न), कहिलेकाहीँ शिक्षकहरू( गुरुहरु दामोदर,रेवती,पृतम) पनि त्यहाँ देखिने यो सबै कुरा मेरो लागि रहस्यमय थियो।

मेरो कक्षामा दोस्रो पित्रीराज र तेस्रो साथी भक्ती बोम्जन थिए। त्यही समूहमा भक्ती बोम्जन पनि देखिन थालेपछि मेरो मनमा हल्का ईर्ष्या जाग्यो। “म किन छैन त्यो समूहमा?” भन्ने प्रश्नले मलाई पोल्न थाल्यो।

एकदिन बिहानै मैले भक्तीलाई एकान्तमा समातेर सोधेँ,

“के हो भक्ती? तिमीहरू मात्रै किन जङ्गल, बगर घुम्न जान्छौ? कोठामा जम्मा भएर के गर्छौ? त्यो नयाँ मान्छे को हो?”

ऊ अलमल्ल पर्‍यो। सुरुमा टार्न खोज्यो, तर मेरो जिद्दी अगाडि टिक्न सकेन।

उसले बिस्तारै भन्न थाल्यो,

“हाम्रो देशमा अन्याय छ रे‘ शोषण छ रे‘ सबैले पढ्न पाउँदैनन् रे‘ यो राजाको एकलौटी शासन हो रे‘ विरोध गर्न पाइँदैन रे‘”

उसले थप्यो,

“नमिता  र सुमिता हत्या काण्ड दरवारवाटै भएको रे, सबैलाई थाहा भएर पनि कसैले बोल्न सक्दैन रे‘”

म स्तब्ध भएँ।

उसले फेरि भन्यो,

“यो पञ्चायती व्यवस्था फाल्ने, अनि चीनमा माओ त्से तुङ ले ल्याएको जस्तो व्यवस्था ल्याउने कुरा गर्छ्न,जहाँ सबैले बोल्न पाउँछन्, निशुल्क पढ्न पाउँछन्, गलतको विरोध गर्न पाउँछन् रे।”

तर अन्त्यमा उसले चेतावनी दिदै सम्झायो,

“कसैलाई नभन्नु है‘ मैले तिमीलाई मात्रै भनेको।”

त्यो दिन मेरो मन भित्र धेरै कुराहरु खेले,मन थोरै बदलियो। बाल्यकालको निर्दोष मनभित्र एउटा नयाँ चेतनाको बीउ रोपिएछ।

त्यसै दिन म उनीहरूको गतिविधि पछ्याउन थालेँ। स्कुल छुटेपछि बेलुका ४ बजे उनीहरू एउटा कोठामा जम्मा भए। म भने टाढै बसेर प्रतीक्षा गरिरहेँ। साँझ पर्न लाग्दा, करिब छ बजेतिर उनीहरू बाहिर निस्किए।

घर फर्किने बाटोमा मैले केशव, निरन्जन र गणेशलाई रोकेँ।

मैले सहजै भनिदिएँ,“के हो? अब त यो व्यवस्था बदल्ने रे नि?”

मेरो यति मात्र शब्दले उनीहरू झस्किए। उनीहरूको अनुहारमा डर स्पष्ट देखिन्थ्यो। उनीहरूले तुरुन्तै मलाई सम्झाउन थाले,“यस्तो कुरा जहाँ पायो त्यहाँ भन्न हुँदैन।”

त्यो दिन बिहीबार थियो,हाटबजारको दिन। उनीहरूले मलाई सङ्गै लगे। आमालाई भेटेर लक्ष्क्षु आज हामीसङ्गै वस्छ है माइजू भनेर बिदा मागे केशव र निरन्जनले अनि मलाई सङ्गै लगे। मिठो जेरी किनेर खुवाए। त्यसपछि केशवको घरमा लगे,त्यहाँ आलुचप, पकौडा बनाएर खायौँ, होमवर्क गर्यौँ, र म त्यहीँ रात बसें।

तर त्यो रात, खाली खाना र खेलमै बितेन।

त्यो रात मेरो जीवनमा एउटा अदृश्य मोड आयो,

सानो, पातलो किताबबाट सुरु भएको जिज्ञासा त्यस कितावमा बाहिर लेखिएको माओत्सेतुङ विचारधारा अब विचारमा रूपान्तरण हुन थालेको थियो।

त्यस दिनदेखि म खाली ‘प्रथम हुने विद्यार्थी’ मात्र रहेनँ,

म बिस्तारै प्रश्न गर्ने, सोच्ने, र समाजलाई बुझ्न खोज्ने मान्छे बन्दै गइरहेको थिएँ।

सायद त्यो सानो किताब,

“माओत्सेतुङ विचारधारा”,

मेरो जीवनको सबैभन्दा ठूलो ढोका खोल्ने चाबी बनेको थियो।

       क्रमशः


२०८२ चैत्र २८ १२:३८ बजे

प्रतिक्रिया