यसलाई मैले धेरैपल्ट आफूसँग दाँजेर हेरेको छु । हामी दुवैजना अँध्यारो रङ्गका छौँ, एउटा ‘खास’ विशेषता । यो मान्छे मलाई त्यति मन पर्दैन भन्दाभन्दै घृणाको छेउछाउ पुगेर फर्कन्छ, यससँगको मेरो व्यवहारको डोरी, तर यो सम्बन्ध विच्छेद हुनुको निष्कर्ष होइन ।
निष्कर्ष त्यस दिन पनि हुन सकेको थिएन जुन दिन यसलाई मैले आफ्नो मान्छे स्वीकार गरेँ । पछिबाट थाहा पाएँ यो निकै पापी मान्छे भइसकेको थियो (यसले आफूलाई अहिले पश्चात्तापको आगामा डढाएर मारिसकेको किन नहोस्) ।
हुन सक्छ यसमा पश्चात्ताप नै जम्दैन । एकपल्ट अनायास मैले यसलाई सोधेको थिएँ– “स्वास्नी मरेको कति भयो र?”
“गोडाबीसेक वर्ष ।”
“छोरा मरेको ?”
“मर्यो भन्छन्, कागत आएको छैन ।”
त्यसपछि यसलाई म कुनै पनि प्रश्नले उदाङ्गो पार्न सक्दिनँ । लाग्छ म धेरै कमजोर छु, आफूजस्तै रङ्गरोगन, ढाँचाकाँचा मिल्ने मान्छेको अघि पनि ।म कसैलाई घात गर्न सक्दिनँ चाहेर पनि । कहिलेकाहीँ अनुभव हुन्छ निकै लाछी छु, नपुंसक छु त्यसैले यस्ता कैयन् पापी बूढाहरूका अघि परास्त हुन कर लाग्छ ।
सङ्केत मेरो आफ्नो बाबुप्रति छ (ऊ अपराधी थियो, हाम्रो समाजमा यस्ता कुराहरूलाई निर्धक्क लुकाइन्छ) । म बाबुको विपरीत मानसिकता लिएर हुर्किरहेको मान्छे, एकाएक म उसको अनुकूल नै भइदिएँ । यसमा सधैँ मेरो बाबु जुँगा मुसार्ने गथ्र्यो र म आत्मग्लानिले पानीपानी हुने गर्थें ।
सान्त्वना यही नै थियो कि मसँग एक जमात अरूका छोराहरूले पनि आफ्नो निर्देशन गर्न सक्दैनन्, निर्णयात्मक धारणा राख्न सक्दैनन् । एकपल्ट अर्को मान्छेको स्वास्नीलाई उसले हातपात गरिदियो र मैले पाँच जनाको अघि घाम र आगोको किरिया खाएर उसको सत्चरित्र हुनुलाई बढावा दिएँ ।
हुन सक्छ मैले झूट बोलेँ तर उसले मलाई बनाएकै यस्तै थियो । ऊ मर्दा मेरो निम्ति एउटा पापी बूढो मरेको थियो । कता आफूभित्र हुने रिलिफको अनुभूतिलाई पनि मैले एउटा गोपनीय सुखजस्तै आफैँले मात्र भोगेर हिँडे ।
निस्सन्देह ऊ नभएर अहिले म सुखी छु । अब मलाई रगतको नातामाथि विश्वास छैन । तर यो मेरो मनहुस मान्छे । यसको छोरालाई यसले के बनाउन खोजेथ्यो कुन्नि रु सायद एउटा लाहुरेभन्दा बढी होइन ।
होइन यसको छोरो पनि यसलाई विरोध गर्दागर्दै यसको अनुकूल नै बाँचेको हुनुपर्छ ।प्रत्येकपल्ट जब यो मेरो अघि छर्लङ्ग देखिने गरी घाम ताप्छ अथवा देखा पर्छ, म आफूलाई त्यसको आयतनभरि गाभ्न र त्यसको मान्छेपनभरि कहीँकतै कमबेसी नभएर फिट हुन खोज्छु ।
मलाई जान्न मन लाग्छ म कति अमल र कति बित्ताले फराकिलो छु अथवा सानो छु योभन्दा पनि । एउटा निष्कर्षको भयले म यसको टुङ्गोमा पुग्न खोज्दा नै परास्त भएर फर्किदिन्छु ।
सम्भव छ यो मभन्दा सानो छ र छोटो छ अनि सम्भव छ म योभन्दा सानो र छोटो छु । सम्भवतः मेरो उच्च मानसिकताको निम्ति यो भान्छे बूढो मलाई एकदम नहुने मान्छे तर यसलाई त्यसरी नै अस्वीकार गर्न सक्दिनँ जसरी म आजका बूढा पुस्ताका असंख्य अपराधीहरूलाई अस्वीकार गर्न सक्दिनँ, म आफूलाई कहिल्यै पनि नयाँ मान्छे घोषित गर्न सक्दिनँ ।
एउटा क्षुद्र सन्तुष्टि के भने म यो निसास्सिने वातावरणमा ‘डिसइल्युजन्ड’ भएको छु ।विचार गर्छु यति हुनु मात्र कुनै सन्तोषप्रद परिणति होइन कि यो एक्लो धारणाले मलाई पृथक् गरिदिन्छ भीडदेखि आजभोलि म प्रत्येकसित शंका गर्छु । आक्रान्त छु यस भयले कि आफैँसँग पनि म शंका गरेर बाँच्छु । लाग्छ म निक्कै नै शंकास्पद छु ।
यसको मात्र एउटै उपचार छ । मैले निर्वासित भइदिन पर्छ एउटा निर्जन टापुमा नत्र एउटा निर्बोध मृत्युको अघि आफैंलाई समाप्त गरिदिनुपर्छ ।म यसरी बाँच्दै छु र खिइँदै छु । स्थितिबाट अघोरी हुन अथवा बनाइन मलाई आफूभित्र पनि नयाँ निर्माण चाहिन्छ । यस्तो अवस्थामा एउटा निरीह हाँसोभन्दा बढी मलाई केही पनि अनुभव हुँदैन । बिहान दूध पुर्याउन एउटी तरुनी आउँछे ।
नचाहेरै म सतर्क भएर सुन्छु उनीहरू के गर्छन् । चुरा बजेको सुन्छु, भान्छे बूढा घोक्रे स्वरमा हाँस्छ । त्यो तरुनी भर्खर बिहे गरेर आएकी एउटा ज्यापूको मन परेकी स्वास्नी हो ।
उसमा बिहेप्रति एबनर्मलिटी हुनै सक्दैन । त्यो बेला मेरो स्थितिबोध एउटा कङ्गाल खिन्नता भइदिन्छ ।
सोचाइमा (एउटा विशेष, जो कायम भएर बितेको छ) अँधेरी रात बग्छ । भान्से बूढाको सशंकित बुहारी (विधवा घोषित हुने) आफ्नो एकलास ओछ्यानमा ‘नभस’ भएर पल्टेकी हुन्छे । जान्दै छ अब उसको जबरस्वाँठ ससुरा बाहिरबाटै ढोकाको आग्लो खोलेर कोठामा आउँछ र उसलाई पैतालादेखि चलाउन थाल्छ ।
उसलाई स्वीकार गर्नुपर्छ बूढोको भद्र आक्रमण । यो बलात्कार हो भनी ऊ कहिल्यै पनि परिभाषा लाउन सक्दिन । यसरी अभ्यस्त भएर उसले खुलेआम तर लुकाएर बुहारीलाई स्वास्नी राख्छ ।
दिउँसो चुरा र काइँयो उपहार दिन ल्याउँछ र उसकी बुहारीमा जीवनको बीभत्स भोगाइलाई नियति हो भनी ठम्याउने क्षमता पनि हुँदैन । ऊ ससुरालाई लिइदिन्छे र सहिदिन्छे मात्र । अहँ उसलाई घृणाबोध कहिल्यै हुँदैन ।
एकदिन बूढो आँगनमा निस्केर कुर्लन्छ, “छोराको पो स्वास्नी मेरो को हो र ?”
अनायास बूढो कटु सत्य बोल्छ र सधैँको निम्ति थाकिदिन्छ । तरुनी गइसकेकी हुन्छे, बूढो चिया लिएर पस्दा मलाई उसको आकृति एउटा ठूलो ओडारजस्तो लाग्छ, जहाँ मेरो पनि मौलिकताको सम्बन्ध छ र जसलाई हत्या गर्न गराउनमा म तेस्रो दर्जाको एजेन्ट पनि हुन सक्दिनँ ।
कहिले कस्तो लाग्छ भने एकपल्ट डरलाग्दो आक्रमण गरिदिऊँ यो अपराधीलाई तर पछि हट्छु, शंका लाग्छ त्यो पहिलो आक्रमण आफैँप्रति हुन जान्छ । सय बिन्दुमा आएर जीवन औधी नै विसङ्गतिपूर्ण भइदिन्छ । प्रत्येक मनस्थितिसँग विश्वासको कुनै नाता नै हुँदैन आफूमा मान्छेपनको रहलपहल प्रकृति बाँचिरहन्छ र यसमा रोइदिन पनि चरम निरर्थक ।
एक दिन त्यो बूढो मर्छ यसमा ग्यारेन्टी छैन, योभन्दा पहिले म पनि मर्न सक्छु । विचार गर्छु, हामीभित्रको भयानक जिजीविषा छिन्नभिन्न हुनुमा सोचाइको के कुनै पनि हात हुन सक्दैन ?
हामी बोध हुनुबाट बच्ने कसरी ? र सोचाइबाट भाग्ने कसरी ? हुन सक्छ अबको पन्ध्र वर्ष यो बूढो र म समानान्तर रूपले बाँच्छौँ तर पन्ध्र वर्ष बित्न ?
मलाई हिसाबले अँचेट्छ । तुरुन्त आश्वस्त हुन्छु, जसरी आज तीस वर्षहरू निर्धक्क बितिसकेका छन् ।
कत्राकत्रा शताब्दी बित्छन् के भो र ? तर यसरी परिणतिहीन बित्नु रु म आफूभित्र नयाँपनको अभाव खोज्न थाल्छु । मभित्र केही छैन । सिवाय एउटा आक्रोश ।
रातमा बूढो पानी राख्न आउँछ, भएभरको आक्रोशको एउटा नग्न रूप देखाऊँ भन्ठान्छु तर असमर्थ भइदिन्छु, जसरी यहाँका सबै असमर्थ छन् । बोध पनि एउटा बोध मात्र भएर रहिदिन्छ ।(कथाकार पारिजातको कथाकृति ‘सडक र प्रतिभा’बाट )
प्रतिक्रिया