प्रेम र गौँथैली बिच गहिरो मायाप्रेम बसेपछि आजभन्दा १० बर्ष पहिले धार्मिक सामाजिक रित अनुसार गाउँमै बिवाह भएको थियो । उनिहरूबाट ७ बर्षकी छोरी जुनु र ५ बर्षको छोरा प्रगतीको जन्म भइ स्कुल जाने आउने गर्छन् ।
समयसँगै उनिहरू दुबै जनासँग राम्रै खालका दुइवटा स्क्रिन टचवाला मोबाइल पनि छन् । प्रेम जागीर गर्छन् । उनलाइ बिहान १०.०० बजेदेखि बेलुकी ५.०० बजे सम्म फुर्सद हुँदैन ।
बिहान सबेरै अफिस जानुपर्छ । बेलुकी अफिस टाढा भएकोले घरपुग्दा सम्म करिव १ घण्टा बितिहाल्छ । प्रेमको अफिसमा जिम्मेवारी बढी भएकोले बाँकी काम घरमा ल्याएर पनि भ्याउने गर्छन् । घरमा दुई लोग्ने स्वास्नी र छोराछोरी मात्र छन् । गौँथली केटाकेटीलाई पढाउने र घरव्यवहार हेर्ने गर्छिन् ।
केटाकेटी बोर्डिङमा जाने भएकोले बेलैमा खाना बनाउनु पर्ने जिम्मेवारी गौँथलीको भएपनि जहिले ढिला भएर प्रेमले बाइकमा स्कुल पुर्याई मात्र अफिस पुग्ने गर्छन् । बच्चा बच्चिलाई स्कुल पुर्याउनु पर्दा उनको अफिसमा पुग्न पनि ढिला हुन्छ । प्रेम, गौँथली लाई धेरै मोबाइल नहेर्न सुझाव दिन्छन् । तर पनि गौँथली टिकटक हेर्न र बनाउनमा बढी ब्यस्त हुन्छिन् । यसैमा कहिलेकाहीँ यी दुईको ठाकठुक पर्छ ।
एकदिन अफिसको व्यस्तताले प्रेम अलि ढिला घरमा आएका थिए ।अँध्यारो भैसकेको थियो । गौँथलीले भान्साको सुरसारनै गरेकी थिइनन् । उनी टिकटक बनाउँदै थिइन् । अँध्यारो हुञ्जेलसम्म पनि भान्सा शुरु नभएकोले प्रेमले मोबाइल थुतेर आफ्नो साथ राखे । यसैमा बादबिवाद र भनाभन भयो । त्यो दिन प्रेमलेनै खाना बनाई केटाकेटी सुताए ।
गौँथली भने भोलिपल्ट माइत गएर पर्सिपल्ट प्रेमले दिनु पर्ने आवश्यक माया नगरेको कारण देखाउँदै सम्बन्ध बिच्छेदको फिरादपत्र लिएर अदालत गइन् । अदालतले फिराद दर्ता गर्नै पर्ने भयो, दर्ता गर्यो । प्रतिउत्तर पत्रका लागि म्याद गयो प्रेमलाई । प्रेमले आफुबाट गल्ति नभएकोले मिलेर बस्ने भन्दै प्रतिउत्तर लगाए । न्यायाधीशले साक्षी पेश गर्न आदेश गरे । दुबै पक्षले साक्षी पनि पेश गरे । अदालतले मेलमिलाप गराउन प्रयत्न गर्यो । मिलापत्र गर्न सफल भएन ।
अन्ततः प्रेम र गौँथली बिच सम्बन्ध बिच्छेद भयो । यिनीहरू बिच अवदेखि लोग्ने -स्वास्वास्नीको नाता रहेन । गौँथली प्रेमबाट अलग भएर आफ्नो बाटो लागिन् । छोराछोरी आमा-आमा भन्दै कुर्ता र कम्मर समाई रोइरहेका थिए । गौँथली भने तिम्रा बाबुसँग जाउ भन्दै आफुबाट छुटाएर आफ्नो बाटोतर्फ अघि बढिरहेकि थिईन् । प्रेम भने मोबाइल किन खोसे हुँला भन्दै गौँथलीलाई हेर्दै छोराछोरी लाई फकाईरहेका थिए ।
(प्रशान्त) २०८१।१०।४ शुक्रबार ।
प्रतिक्रिया