नेता, नेतृत्व र कार्यशैलीबारे

नेता, नेतृत्व र कार्यशैलीबारे

bimbonline गौरीलाल कार्की
२०७९ भदौ ६ २०:५६ बजे
गौरीलाल कार्की

गौरीलाल कार्की, नेता र नेतृत्व एउटै कुरा होइन । हामीले नेता र नेतृत्व बीचमा के फरक हुन्छ त भन्ने कुरामा खासै छलफल गरेका छैनौँ । त्यसैले हामीले नेतालाई नै नेतृत्व ठान्दै आएका छौं वा नेतृत्वबारे गोलमटोल बुझाइ राख्दै आएका छौं । नेता र नेतृत्व एउटै कुरा हो भनेर बुझ्नेहरू पनि समाजमा प्रशस्तै छन् । नेता र नेतृत्व फरक कुरा हो र सबै शीर्ष नेता नेतृत्व बन्न सक्दैनन् भन्ने कुराले यस विषयको सन्दर्भमा महत्त्वपूर्ण अर्थ बोकेको छ । अझै हाम्रो समाजमा नेता र नेतृत्वको कुरा राजनीतिसँग मात्रै जोडेर बुझ्ने संस्कारसमेत बसेको देखिन्छ । नेता र नेतृत्वलाई यति साँघुरो प्रकृति र क्षेत्रको परिधिभित्र राखेर प्रशिक्षण दिइएको र बुझिएको छ कि स्वयं नेता वा नेतृत्व कहलिएका व्यक्तित्वले आफूले प्रशिक्षण दिइएको विषयमा के सन्देश प्रवाह भइरहेको छ भन्ने हेक्का समेत राख्ने अवस्था छैन । नेता र नेतृत्वको सवाल अत्यन्तै जटिल, संवेदनशील र महत्त्वपूर्ण सवाल हो । यस सवालले नै हरेक क्षेत्र सफलता, सम्पन्नता र उत्कृष्टता हुने वा नहुनेमा मुख्य भूमिका खेलेको हुन्छ ।

नेपाली शब्दकोश अनुसार नेता भन्नाले कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने, कुनै समाजको नेतृत्व गर्ने, अगुवा, नाइकेलाई जनाउँदछ भनेको छ । शाब्दिक अर्थ हेर्दा नेता व्यक्ति विशेष हुन्छ । नेता विभिन्न प्रक्रियाबाट जन्मन्छ वा जन्माइन्छ । काम गर्दै जाँदा उसको कार्य, विचार र व्यवहारबाट प्रभावित भई नेता मान्ने तथा नेता बन्ने वा बनाउने  परम्परागत अवधारणा देखिन्छ । धार्मिक तथा सामाजिक प्रकृतिका संस्थाहरूमा यस प्रकारको अभ्यास बाक्लै देखिन्छ । योग्यताको परीक्षणद्वारा नेतृत्व तहमा पुग्ने वा नेता बन्ने अर्को अभ्यास खासगरी प्रशासनिक क्षेत्रमा बढी देखिन्छ भने राजनीतिक क्षेत्रमा नेताको रूपमा निर्वाचित हुने परिपाटी पनि छ । यस प्रकारको अभ्यास खासगरी राजनीतिक दल तथा राजनीतिक प्रकृतिका संघ-संगठनहरूमा बढी अभ्यास भएको देखिन्छ ।

नेपाली शब्दकोशकै अनुसार नेतृत्व भनेको कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्न गरिने मार्ग प्रदर्शन हो । नेताको मुख्य काम नै नेतृत्वदायी गुण हो भनी नेपाली बृहत् शब्दकोशले शाब्दिक अर्थ लगाएको छ । नेतृत्व व्यक्ति नभएर गुण, नीति, काम र व्यवहारसँग सम्बन्धित विषय हो । हाम्रो जस्तो निम्न पुँजीवादी चिन्तन र सामन्ती प्रवृत्ति भएका समाज, संगठन, संस्था वा निकायमा सबैतिर नेता हुँदैमा नेतृत्व र नेतृत्वको गुण हुँदैमा नेता बन्ने अवस्था नै हुन्छ भन्ने पनि हुँदैन । माथि उल्लेख गरिएका विधि र प्रक्रियाबाट आएको नेताको सफलता वा असफलता यही नेतृत्वदायी भूमिका र कार्यशैलीको कसीमा परीक्षण हुने गर्दछ र गर्नुपर्दछ ।

नेतृत्वमा हुनुपर्ने थुप्रै गुण र तत्वहरु हुन्छन् । नेतृत्व सम्बन्धी प्रतिपादित सिद्धान्त र अनुसन्धानहरूले सफल नेतृत्वको लागि सहनशीलता अनिवार्य तत्व मानेको देखिन्छ । अरूका कुरा सुन्ने, आलोचनालाई सुधारको लागि सुझावको रूपमा बुझ्ने, भिन्नमत र विवादलाई द्वन्द्वात्मक तरिकाले समाधान गर्ने, कार्यक्षमता प्रभावकारी रूपमा प्रदर्शन र कार्यान्वयन गर्ने र सामुहिकतामा निर्णय लिनसक्ने कार्य महत्त्वपूर्ण तत्वहरु हुन् ।

अधिकार र शक्तिको प्रयोगमा चाहना राख्नु मानवीय स्वभाव नै हो । आफू अधिकारविहीन भएर बस्न शायद कोही पनि चाहँदैन । मानिसमा व्यक्तिवादी सोच हावी भयो भने आफू र आफ्नो समूहलाई केन्द्रमा राखेर सोच्ने गर्दछ । यसो हुँदा उसले आफ्नो मात्र नभई परिवारको सदस्य वा परिवार बाहिरको सदस्य लगायत आफू निकटका मानिसको भविष्यको चिन्ता गर्न थाल्दछ । आफू रहुन्जेल आफैं, आफू हट्नु परेको अवस्थामा आफ्नो परिवारको उत्तराधिकारी वा नजिक रहेको सदस्यलाई उत्तराधिकारी बनाउने निम्छरो चाहनाबाट ग्रसित नेताले जतिसुकै आलोचना भए पनि पद छाड्न चाहँदैन । यो प्रवृत्ति नेतृत्वको सिद्धान्त एवं प्रणालीविरुद्धको सबैभन्दा खराब प्रवृत्ति हो ।

त्यसैगरी नजिकका व्यक्ति वा स्वार्थ समूहले पनि निजलाई पदमा कायमै रहिरहन निरन्तर दवाब समेत सिर्जना गरिरहेको पाइन्छ । पद वा शक्ति नै मान सम्मान वा शानको एक मात्र आधार ठानिंदा पनि नेता र नेतृत्वको सवालमा समस्या पैदा भएको देखिन्छ । त्यसैगरी आफूले छाडेमा दल वा देशको भविष्य के होला? भन्ने व्यक्तिवादी चिन्ता सहितको साँघुरो मानसिकताको उपजको रूपमा अर्को समस्या देखिन्छ यो पनि नेतृत्व प्रणालीविरुद्धको अवगुण नै हो । आफ्ना कुरा लाद्न चाहने तर अरूका कुरा सुन्नै नचाहने जुन प्रवृत्ति हो त्यो व्यक्तिवादी र तानाशाही प्रवृत्ति हो । यो नेतृत्व सिद्धान्तविरुद्धको अर्को खराब गुण हो ।

कम्युनिस्ट आन्दोलनको सन्दर्भमा पार्टीको नेतृत्व भनेको सामूहिक नेतृत्वलाई सुरक्षित राखी कार्य सञ्चालन गर्नु प्रमुख कार्य हो । साथै कसैको व्यक्तिगत एकलौटी नेतृत्व हुन नदिने कार्य महत्वपूर्ण पक्ष पनि हो । व्यक्तिगत रूपमा एकलौटी नेतृत्व त कम्युनिस्ट पार्टीमा होइन, कुनै अध्यात्मिक संस्थाहरुमा प्रभु पादरीको प्रतिक स्वरुप हुनसक्छ । तर कम्युनिष्ट पार्टीका केही नेतृत्वदायी समितिहरूमा के समस्या देखा पर्दछ भने पार्टीको नीति र काममा एकजना व्यक्तिको मात्र बोलवाला कायम हुने, कार्य सञ्चालन गर्ने र महत्वपूर्ण समस्याहरू बारे एक जना नेताले निर्णय गर्नु स्वभाविक चलन हुँदै गइरहेको छ र नेतृत्वदायी समितिका अन्य सदस्य वा नेताहरू नाउँ मात्रका सदस्य वा नेताहरू बन्न पुगेका हुन्छन् । यो प्रवृत्ति सामुहिक नेतृत्व प्रणालीविरुद्धको भयंकर ठुलो गल्ती हो । तसर्थ यस्तो कमजोरी हटाउनको लागि सिंगो पार्टी र जनवर्गीय संगठनहरूका समितिले सबै खालका महत्वपूर्ण समस्याहरूको समाधानको लागि बैठकहरूमा छलफल गरी सही निचोड निकाल्नु पर्दछ । उक्त बैठकहरूमा समितिका सदस्यहरूलाई आफ्नो दृष्टिकोण पूरा तवरबाट राख्न दिनुपर्दछ । उचित निर्णयमा पुगिसकेपछि उक्त निर्णयहरूलाई सबैले कार्यान्वयन गर्नुपर्दछ । साथै उक्त समितिका बैठकहरू दुई तहमा विभाजित गरी स्थायी र प्लेनमको रुपमा राखी सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदयित्वको आधारमा नीति तर्जुमा र कार्यान्वयन गरिनु पर्दछ ।

यस सम्बन्धना अर्को महत्त्वपूर्ण पक्ष पार्टी समितिको मुख्य नेताले अवश्य पनि दल वा पार्टीको नेता बन्न सिपालु हुनुपर्दछ । भन्नुको तात्पर्य के हो भने कुनै पनि समितिमा निश्चित संख्यामा नेता वा सदस्यहरू रहेका हुन्छन् । त्यो सिंगो समितिले नै पार्टीको नेतृत्वदायी भूमिका खेल्नुपर्छ र त्यसमध्ये एक प्रमुख पदीय जिम्मेवारी भएको व्यक्ति नै दल वा पार्टीको मुख्य नेता बन्ने गर्दछ । कुनै पनि समितिको अर्थात् दलको नेतृत्व परिचालन गर्न नेता बन्ने कुरा त्यति सजिलो भने अवश्य छैन । सर्वप्रथम त पार्टी वा दलको प्रमुख नेता बन्नुको अर्थ आफू नै नेतृत्व हुँ भन्ठान्नु गलत प्रवृत्ति हो । नीति निर्माण वा तर्जुमाको सन्दर्भमा प्रस्ताव प्रस्तुत गर्दा नेताको महत्त्वपूर्ण भूमिका रहन्छ तर प्रस्तावित नीति निर्माण र समिति वा नेतृत्व चयन गर्ने काममा भेला, सम्मेलन र महाधिवेशनको उत्तरदायित्व रहने हुनाले नेतृत्व सधैं सामुहिक अपनत्वमा आधारित हुन्छ तर पार्टीको प्रमुख नेता भने व्यक्तिगत अपनत्वमा आधारित भएर नेतृत्वको नियन्त्रणमा वा नेतृत्वप्रति उत्तरदायी भएर बस्नुपर्ने हुन्छ । त्यसकारण नेतृत्व गर्नु वा नेतृत्वदायी भूमिका निर्वाह गर्नुको अर्थ सामान्य तथा विशेष नीतिहरूको निर्धारण गर्नु मात्र नभएर कार्य पद्धतिहरूको सही उपायहरू निकाल्नु समस्याको सामुहिक समाधान खोज्नु पनि हो ।

सामान्यतः विशेष नीतिहरू सही भए पनि कार्य पद्धति र कार्यशैलीहरूको वास्ता भएन वा ती नीति एवं नेतृत्वमुखि नभएर नेतामुखी हुँदै गए भने विभिन्न खालका बाधा अड्चनहरू आउन पनि सक्छन् । नेतृत्वले कार्य सञ्चालन गर्नका लागि आफ्ना पार्टी सदस्यहरू वा नेताहरुसँग पूरापुर भर पर्नुपर्दछ न कि एउटा नेताको भरमा होइन । काम अगाडि बढाउनको लागि उनीहरू सबैलाई सामर्थ्यवान बनाउनै पर्दछ । पार्टीको असल नेता बन्नको लागि प्रत्येक सदस्यले नेतृत्व विकासको प्रयत्न गर्नैपर्छ । सबैले व्यक्तिगत रूपमा कडा मेहनतका साथ अध्ययन र जाँचबुझ कार्य अनिवार्य रूपमा आफै अगाडि बढाउनु पर्दछ । नेता वा नेतृत्वले अगाडि सारेको विचार ठिकै त होला भन्ने विश्वासको भरमा त्यसको आधारमा सदस्यले आफ्नो धारणा निर्माण गर्नु नै सक्षमताको बाधक हो । नेता वा नेतृत्वले के प्रस्ताव ल्यायो रु कस्तो प्रस्ताव ल्यायो रु सदस्यहरुले यसबारे आफ्नो स्वतन्त्र रूपमा अध्ययन नगरिकन धारणा बनाउने चलन राम्रो होइन । आफूले अध्ययन गर्नैपर्छ र प्रस्तावित नीति गलत वा सहि के छ त्यसबारे सत्यतथ्य धारणा बनाउनुपर्छ । यसो गर्नाले सबै नेताकार्यकर्ताको नेतृत्व विकासमा मद्दत पुग्दछ ।

अर्को महत्त्वपूर्ण के हो भने नेतृत्वले आफ्ना सदस्यहरू वा नेताहरुको माझमा नीति तर्जुमा गर्ने, त्यसको कार्यान्वयन गर्ने र कामको बारेमा प्रचार तथा संगठनात्मक काम गर्न ध्यान दिइएन भने तथा समितिका सदस्यहरूसहितको नेतृत्वको सम्बन्धलाई कसरी सफलतापूर्वक सञ्चालन गर्ने भनि अध्ययन गर्दैन भने स्वयं नेतृत्व अप्ठ्यारोमा पर्दछ र असफल हुन्छ । आज नेपालको कम्युनिस्ट आन्दोलनभित्रको मुख्य समस्या यहीँनीर जोडिएको छ । तसर्थ माओले भनेका छन्, “त्यस प्रकारका समस्याहरू आफ्नो समिति अघिल्तिर राख्नुपर्दछ । यो काम केवल नेतृत्वले मात्र होइन कि समितिका नेता वा सदस्यहरूले पनि गर्नु पर्दछ । समस्याहरू आइसकेपछि बैठक बोलाउने, छलफल गर्ने, त्यसैको आधारमा केही निर्णय लिने र समस्याको समाधान गर्नुपर्दछ ।” यदि उक्त समस्याहरू बैठकमा राखिदैन भने नेतृत्व र पार्टी सदस्य वा नेताहरूबीच अविश्वास पैदा हुन पुग्दछ । अझ लामो समयसम्म त्यसै रहिरह्यो भने त्यसले पार्टीको काम, कारवाही अगाडि बढ्न नै सक्दैन । तसर्थ आफ्नो समितिमा समाधान नभए माथिल्लो समितिमा पेश गर्नुपर्दछ र आपसमा पारस्परिक सिकाइ र समझदारीको वातावरण सृजना गरी अगाडि बढ्नु पर्दछ ।

नेतृत्वको अर्को महत्वपूर्ण कार्य भनेको माओको उक्ति अनुसार, “सूचनाहरूको आदानप्रदान गर्नु पनि एक हो ।” यसको आशय भनेको समितिका नेता तथा पार्टी सदस्यहरूले आफूले थाहा पाएका विषयहरूमा विचार विमर्श गर्नुपर्दछ । समान खालको बुझाई बनाउन र एक अर्कोले विषयवस्तुप्रति समान धारणा बनाउनको लागि पनि यो अत्यन्त आवश्यक पर्दछ । यदि आफूले नबुझेका अथवा थाहा नपाएको विषयवस्तु आफ्नो मातहतका काम गर्नेहरूसँग सोध्ने कार्य गर्नुपर्दछ । आफुलाई थाहा नभएका कुरा पनि जानेको जस्तो कहिल्यै गर्नुहुँदैन । नेतृत्वले आफूभन्दा मुनिकासँग सोध्ने र तिनीहरूबाट सिक्न संकोच मान्ने पटक्कै गर्नुहुँदैन । नेतृत्वले तल्लो तहमा भएका कार्यकर्ताहरूको दृष्टिकोणलाई ध्यान दिएर उनीहरुको सबै कुरा सुन्नु पर्दछ । कम्युनिस्ट आन्दोलनमा गुरुचेला संस्कृति त हुँदैन तैपनि गुरु हुनुभन्दा अगाडि चेला बन्नु पर्दछ यो सार्वभौम सत्यतामा आधारित सिद्धान्त हो । यो सिद्धान्त नेतृत्व र नेता दुबैले अवलम्बन गर्नुपर्दछ । सबै पार्टी सदस्यले समेत एकापसमा पहिले सिक्नुपर्छ र आफुले सिकेका कुरा अरुलाई सिकाउनु पर्छ । आफूले आदेशहरू दिनु भन्दा अघि तल्ला तहमा भएका कार्यकर्ताहरूको मनोभावना, कार्यक्षमता र वस्तुगत अवस्थाबाट अवश्य सिक्नु पर्दछ । तल्लो तहका कार्यकर्ताले भनेका कुरा सही वा गलत जे पनि हुन सक्छन् तर यसलाई नेतृत्वले सबै सुनिसकेपछि विश्लेषण गर्नुपर्दछ । सहि कुराबाट सिक्नुपर्ने र गलत कुरा सच्याउन प्रशिक्षण दिनुपर्छ । तल्लो तहका कार्यकर्तालाई सम्पुर्ण रूपमा तयारी बनाएको अवस्थामा मात्रै आदेश दिनुपर्छ होइन भने आदेश होइन उसले के गर्न सक्छ, के रुचि छ त्यो बुझेर जिम्मेवारी दिनुपर्छ । उसले नजानेका उसका लागि जटिल कुरा आदेश र निर्देशको भरमा कार्यान्वयन हुन सक्दैनन् । उसले सिक्नुपर्ने र सिकाइको प्रक्रियामा रहेका विषयमा नेता वा नेतृत्व तहका कामरेडहरु स्थानीय नेताकार्यकर्ता सँगसँगै फिल्डमा खटिएर जोतिन सक्नुपर्छ ।

माओको के कुुरामा जोड छ भने, नेतृत्वले “पियानो बजाउन सिक” भनेका छन् । यसको अर्थ के हो भने जसरी पियानो बजाउँदा दशवटै औंलाले एकैचोटी थिचेमा राग निस्कदैन । मिठो संगीत निकाल्न दशवटै औंलाले सामान्जस्यता राखेर ताल अनुसार चल्नु पर्दछ । पार्टी समिति वा नेतृत्वले आफ्नो सबै कामलाई राम्ररी बुझ्नु पर्दछ र साथसाथै केन्द्रीय कार्यका वरिपरि भएका अरु क्षेत्रका कामलाई सँगसँगै चलाउनु पर्दछ । नेतृत्वले एकैपटक धेरै क्षेत्रमा ध्यान दिनुपर्दछ । सबै समितिहरू, क्षेत्र, जिल्ला, एरिया र विभिन्न विभागहरूको कामको हेरविचार अवश्य गर्नुपर्दछ । सबै क्षेत्रमा एकैपटक सँगसँगै सामन्जस्यता मिलाएर काम परिचालन गर्न सिपालु हुनुपर्छ ।

लेनिनको भनाइ छ, “नेताले जनसाधारण वा पार्टी सदस्यहरूलाई मात्र सिकाउने होइन, बरु तिनीहरूबाट सिक्ने पनि गर्नुपर्दछ ।” यसको के आशय हो भने नेतृत्व पंक्तिमा रहेकाहरू घमण्डी हुनुहुँदैन र नेतृत्वले बुझ्ने कुरा के हो भने नेतृत्व हुने वित्तिकै सबै प्रकारको ज्ञान र क्षमता पूर्णता हुन्छ भन्नु सत्य होइन । त्यस्तै अर्को कुरा के पनि हो भने नेतृत्वमा भएका अनुभव पर्याप्त नहुन पनि सक्दछ । तसर्थ आफ्नो अनुभवलाई सर्वसाधारणको अनुभवद्वारा, साधारण पार्टी सदस्यहरूको अनुभवद्वारा, मजदुर, किसान, अन्य जनवर्गीय संगठन र जनताको अभुनवद्वारा परिपूर्ति गर्नुपर्दछ । साथै नेतृत्वको कार्य केवल कार्यालयहरूमा बसेर निर्देशनहरू दिने मात्र नभएर समस्याहरूको सही समाधान पत्ता लगाउनु पनि हो । आफू स्वयं जनताको बीचमा खट्नु जरुरी छ । जनताका समस्यासँग जुझ्नु पर्छ र सिक्नुपर्छ । माक्र्सवादी नेतृत्वले केवल कार्यसम्पादन गर्न समस्याहरूको सही समाधानको उपाय पत्ता लगाउनुको साथै गरिएको निर्णय कामको परिणाम निरीक्षण गर्न, आम जनताको पनि सहायता अवश्य लिनु पर्दछ । कुनै पनि चिज र घटनाहरूलाई एक पक्षबाट अर्थात माथिबाट मात्र हेर्ने र तलबाट मात्र हेर्नाले पनि उक्त विषयमा हेराई सीमित हुन पुग्दछ । तसर्थ कम्युनिष्ट पार्टीको नेतृत्वले त्यसलाई सही ढङ्गबाट दुवै प्रकारले हेर्ने गर्नुपर्दछ । तसर्थ जनतालाई सिकाउने मात्र होइन जनताबाट सिक्नु पनि पर्दछ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा नेता र नेतृत्वबीच फरक वा यीनिहरुको गुणको बिकास हुनुपर्नेमा ढोंगी प्रकारको रहेको पाइन्छ । कम्युनिस्ट नेता वा नेतृत्वमा रहेको छ तर चरीत्र पुरापुर व्यक्तिवादी र सामन्तवादी प्रवृत्तिको रहेको छ । कम्युनिस्ट नेतृत्व वा नेता बनेको छ तर रुढीग्रस्त पनि छ, प्रगतिशील संस्कृतिको अवलम्बन गर्ने प्रयत्न नै गर्दैन । कम्युनिस्ट नेता बनेको छ, दलालका अखाडा कार्यालयमा सामेल भइ बिचौलिया काममा लागेर पैसा कमाउछ । कम्युनिस्ट नेतृत्व पंक्तिमै छ तर घरजग्गा दालाली गर्छ, सुदखोरी, कालोबजारी र भ्रष्टाचार सबै गलत कार्यमा संलग्न रहेको हुन्छ अब भन्नुहोस्, कम्युनिस्ट आन्दोलन कसरी मजबुत हुन्छ रु कम्युनिस्ट नेतृत्व र नेताको विकास कसरी हुन्छ त्यसैले अब नीति सिद्धान्त अनुसारको व्यबहार अनिवार्य हुनुपर्छ र आन्तरिक एवं बाह्य दुबै प्रकारका परिणाममुखि संघर्षद्वारा नै कम्युनिस्ट आन्दोलनको पुनः निर्माण र विकास संभव छ ।

२०७९ भदौ ६ २०:५६ बजे

प्रतिक्रिया