कुनै पनि मुलुकको मुख्य उद्वेश्य, आफ्नो मुलुकमा शान्ति सुरक्षा कायम गराउने, नागरिकका हक अधिकारको रक्षा गर्ने, उल्लंघन भएका हक अधिकार प्रचलन गर्न लगाउने, कानूनले निदृष्ट गरेका अपराध घटाउने व्यक्तिलाई कानूनको दायरामा ल्याई कानून उल्लंघन गर्ने गराउनेलाई सजाय गराई उनिहरुबाट पीडित पक्षलाई क्षतिपूर्ति समेत भराई नागरिक अधिकारको रक्षा गर्न लगाउने पनि हो ।
सामान्य अर्थमा जाहेरी दरखास्त FIR अर्थात ( First Information Report ) भन्नाले कसैले कुनै घटना घटाएमा वा घटना घटाउँदै गरेको वा घटना घटाउन खोजेको अवस्थामा त्यस्तो कुरा देख्ने थाहा पाउने ब्यक्तिले सम्बन्धित निकायमा कानूनी कारवाहीका लागि दिइने निवेदन हो ।
बिस्तृत अर्थमा कसैले प्रचलित कानूनको उल्लंघन गरि कुनै घटना घटाएको, घटना घटाईरहेको र घटना घटाउन खोजेको अवस्थामा त्यस्तो घटना घटाएको वा घटना घटाइरहेको वा घटना घटाउने संभावना रहेको देख्ने थाहा पाउने ब्यक्तिले सम्बन्धित जिल्लाको ईलाका तथा जिल्ला प्रहरी कार्यालयमा दिइने निवेदन या जाहेरी दरखास्तलाई सम्झनु पर्दछ । जाहेरी दरखास्त दर्ता भएपछि मात्र अनुसन्धान शुरुवात भई कसुर गरे नगरेको कुरामा अनुसन्धान प्रकृया अघि बढ्ने र कसूर गरेको देखिएमा निज उपर मुद्वा चली अदालतबाट न्याय निरोपण सम्मका कार्यहरू हुने गर्दछन् ।
पिडितलाई अन्याय भएको र पिडकले कसूर गरेको भन्ने कुराको शुरुवाती प्रकृयाको मुख्य प्रवेशद्वार रित पूर्वकको जाहेरी दरखास्त लिई सम्वन्धित प्रहरी कार्यालयमा दर्ता गराई भरपाई लिनु हो । जाहेरी दरखास्त दिने ब्यक्ति कोही नभएमा कसूरबारे थाहा पाउने प्रहरी वा सरकारी कर्मचारी वा निकायले प्रतिवेदन दिई दोषि उपर कार्यवाही अगाडि बढाउनु पर्ने हुन्छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ आउनु पूर्व सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को अनुसूची १ मा कुनै पनि अपराध कहिँ कतै भएको वा भइरहेको वा हुन लागेको छ भन्ने थाह पाउने व्यक्तिले उक्त अपराधको जाहेरी दरखास्त दिन सक्ने व्यवस्था गरिएको थियो । जाहेरी दरखास्त आफ्नो अधिकार क्षेत्रको नभएपनि लिई अधिकार क्षेत्र पुग्ने अड्डामा त्यस्तो जाहेरी र सम्बद्व प्रमाण पठाई दिनु पर्नेछ।समाज बिरोधि कार्यलाई कसूर भनि व्यापक अर्थमा र फौजदारी कानूनको उल्लंघन गर्नुलाई सिमित रुपमा बुझ्न सकिन्छ । नेपाल कानून व्याख्या सम्बन्धि ऐनको दफा २ ( थ ) मा प्रचलित कानून बमोजिम गरेमा वा नगरेमा सजाय हुने कार्य कसूर भन्ने सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २(ङ) मा कसुर भन्नाले अपराध संहिता वा अन्य ऐन बमोजिम सजाय हुने काम सम्झनु पर्छ भनिएको छ । दफा ३ ( ग ) मा कसुर भन्नाले यस संहिता वा कानून बमोजिम सजाय हुने काम सम्झनु पर्छ भनिएको छ । यसैगरी कसूरलाई कसूर गर्दाको अवस्थाको गाम्भिर्यता हेरी सामान्य कसूर गम्भीर कसूर र जघन्य कसूरको रुपमा बर्गिकरण गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २( छ ) मा गम्भीर कसूर भन्नाले तीन बर्ष भन्दा बढी दस बर्षसम्म कैद सजाय हुने कसूर , जघन्य कसूर भन्नाले जन्मकैद हुने वा दस बर्ष भन्दा बढी कैद सजाय हुने कसूर सम्झनु पर्छ भनिएको छ । यस बाहेक सामान्य कसूर भन्नाले तीन बर्ष सम्म कैद सजाय र तीस हजार रुपैयाँसम्म जरीवाना हुने सजायलाई सम्झनु पर्दछ भनेर बुझ्न सकिन्छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २(ङ) मा कसूर भन्नाले अपराध संहिता वा अन्य ऐन बमोजिम सजाय हुने काम सम्झनुपर्छ भनिएको छ भने सोही संहिताको परिच्छेद(२ मा कसूरको सूचना तथा अनुसन्धान सम्बन्धि व्यवस्था गरिएको छ ।यसैगरी दफा ४ को उपदफा १ मा अनुसूची १- मा उल्लिखित कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको सबुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना अनुसूची-५ बमोजिमको ढाँचामा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र दिनु पर्नेछ भन्ने व्यवस्था भएबाट समेत यसैलाई जाहेरीको अर्थ र परिभाषाको रुपमा बुझ्दा पनि सान्दर्भिक हुनेछ ।
यथासिघ्र भन्नाले घटना घट्ने बित्तिकै एवं थाहा पाउने बित्तिकै सकेसम्म लिखित, नभए मौखिक वा बिधुतिय माध्यम बाट( gmail ) पठाउन सकिनेछ । सो उजुरी प्रहरीले लेखिदिएकोमा पढिबाँची सुनाई सहिछाप गर्नु गराउनु पर्नेछ । हुलाकबाट पठाएको सूचनालाई प्रहरी कार्यालयमा पछि गई सनाखत गरिदिनु पर्नेछ भन्ने कानूनी व्यवस्थाले यथासिघ्रको अर्थ स्पस्ट पारेको देखिन्छ ।जाहेरी दरखास्त वा कसूरको सूचना परेपछि त्यस्तो प्रहरी कार्यालयले दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दरखास्त वा सूचना दर्तागरि निजलाई कानूनमा तोकिएको ढाँचामा भरपाई दिनु पर्नेछ । साथै विद्युतीय माध्यमबाट सूचना दिएकोमा सोही माध्यमबाट त्यस्तो सूचना पाएको जानकारी गराउनु पर्नेछ । हुलाक वा विद्युतीय माध्यमबाट प्राप्त हुन आएको सूचनाको विश्वसनीयता एकिन गर्नु पर्ने भएमा त्यस्तो सूचना दिने व्यक्तिलाई झिकाई प्रहरी कार्यालयले सनाखत गराउन सक्नेछ ।
जाहेरी दरखास्त अपराध भएको ठाउँको सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पर्न आएमा या प्रहरीले कुनै स्रोतबाट आफैले प्राप्त गरेमा अनुसन्धान गर्ने अधिकार प्राप्त कार्यालयले कानून बमोजिमको ढाँचाको दर्ता कितावमा दर्ता गरी राख्नु पर्नेछ ।जाहेरी दरखास्त वा सूचना वा बिधुतिय माध्यमबाट प्राप्त हुन आएको सूचनाको सम्बन्धमा कानूनद्वारा छुट्टै अनुसन्धान गर्ने अधिकारी तोकिएकोमा त्यस्तो अधिकारी समक्ष पठाउने र कानूनद्वारा छुट्टै अनुसन्धान गर्ने अधिकारी नतोकिएको जाहेरी दरखास्त वा सूचना प्राप्तहुन आएमा सम्बन्धित प्रहरी कार्यालयमा पठाईदिनु पर्दछ भन्ने उल्लेख छ।
मुलुकी अपराध संहिता २०७४ को अनुसूची २ मा उल्लेखित कुनै कसूर सम्बन्धि सूचना दिन चाहने व्यक्तिले अनुसन्धान गर्ने अधिकार प्राप्त कार्यालय वा अधिकारी समक्ष उक्त संहिताको अनुसूची ५ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ ।यदि जाहेरी दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा, जाहेरी दरखास्त वा सूचना गर्ने व्यक्तिले यस्तो व्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालय भन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचना सहित उजुर गर्न सक्नेछ । जाहेरी दरखास्त प्राप्त भएमा सम्बन्धित जिल्ला सरकारी वकील कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी त्यस्तो जाहेरी दरखास्त आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमै पठाउनु पर्नेछ । जिल्ला सरकारी वकिल कार्यालयबाट प्राप्त जाहेरी दरखास्तलाई दर्ता गरि सम्वन्धित प्रहरी कार्यालयले यथासिघ्र आवश्यक कार्यवाही अगाडि बढाउनु पर्नेछ ।
सम्बन्धित अपराधको कानूनले तोकेको हदम्यादभित्र यथासक्य चाँडो जाहेरी दरखास्त दिनुपर्दछ । अपराधको सूचना वा जाहेरी दरखास्त तत्काल दिँदा लिखित, मौखिक जेजस्तो रुप वा ढाँचामा दिए पनि सम्बन्धित प्रहरी कार्यालयले बुझी लिनु पर्नेछ । जाहेरी दरखास्त वा सूचना दिने व्यक्तिले त्यस्तो सूचना लिखित रुपमा नदिएमा निजले दिएको सूचनाका आधारमा सबै कुरा सम्बन्धित प्रहरी कर्मचारीले आफूले लेखी कानूनको ढाँचामा खुलाई निजलाई सो पढी देखाई सुनाई निजको सहीछाप समेत गराई राख्नु पर्नेछ ।
जाहेरी दरखास्तमा अपराध गर्नेको नाम, थर, वतन तथा हुलिया किटान नभएकै कारण त्यस्तो जाहेरी दरखास्त अस्वीकार्य हुने छैन । यद्यपि जाहेरी दरखास्तमा सकेसम्म कसूर तथा कसूरदारको नाम थर वतन हुलिया लेख्न भने छुटाउन हुँदैन।कुनै व्यक्ति मार्फत वा विद्युतीय माध्यम वा अन्य कुनै माध्यम बाट प्राप्त भएको जाहेरी दरखास्त वा सूचनाको विश्वसनीयतामा शंका भएमा त्यस्तो दरखास्त वा सूचना बाटोको म्याद बाहेक सात दिन भित्र सम्बन्धित व्यक्तिबाट सनाखत गराउनु पर्नेछ ।
फौजदारी कार्यबिधि संहिताको दफा ११ बमोजिम दरखास्त वा सूचना भ्रमपूर्ण, झुट्टा र काल्पनिक भई अनुसन्धान आवश्यक नपर्ने वा निरर्थक देखिएमा सम्बन्धित अनुसन्धान अधिकारीले सोही कुरा खुलाई सामान्यतया तिन दिन भित्र सम्वन्धित सरकारी वकिल कार्यालयमा प्रर्तिवेदन पठाउनु पर्नेछ । सरकारी वकीलले पनि मिसिल जाँचबुझ गरि सूचना झुट, भ्रमपुर्ण र काल्पनिक लागेमा तामेलीमा राख्ने निर्णय गर्नेछ । यस प्रावधानले अनावश्यक कोही कसैलाई दुःख हैरानी र सास्ति दिन नहुने अवधारणालाई अवलम्बन गरेको पाईन्छ ।
यदि कसैले कुनै कसूरको सम्बन्धमा जाहेरी दिएकोमा सो जाहेरी अनुसार मुद्दाको कार्यवाही अगि बढ्यो बढेन, मुद्दा चल्यो या चलेन थाहा पाउनुपर्ने उसको अधिकारको कुरा हुन्छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३१ को उपदफा ( ३ ) बमोजिम सरकारी वकीलबाट मुद्दा नचलाउने निर्णय भएमा त्यस्तो निर्णय सहितको सक्कल मिसिल सम्बन्धित अनुसन्धान अधिकारी कहाँ पठाउनु पर्ने र सम्वन्धित अधिकारीले मुद्दा नचल्नुको कारण सहितको सूचना जाहेरवाला वा पीडितलाई यथासिघ्र दिनुपर्नेछ भन्ने ब्यवस्था मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ मा गरिएको छ ।
निस्कर्ष कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने ब्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको आफूले देखेजाने सम्मको सबुद प्रमाण खुलाई वास्तविक लिखित वा मौखिक सूचना यथासिघ्र नजिकको आफ्नो प्रहरी कार्यालयमा दिनुपर्ने र प्रहरी कार्यालयले पनि जाहेरवालालाई जाहेरी दरखास्त दर्ता गरेको भरपाई तत्कालै दिनुपर्नेछ । जाहेरी दर्ता भएपछि प्रमाण लोप वा नास हुन नदिन र कसूर गर्ने व्यक्ति भाग्न उम्कन नपाउने व्यवस्था सम्बन्धित प्रहरी कार्यालय वा प्रहरी कर्मचारीले यथासिघ्र गर्नुपर्नेछ ।
( लेखक-नरेन्द्र देवकोटा प्रशान्त जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालयखलंगा, प्यूठानमा कार्यरथ हुनुहुन्छ)
प्रतिक्रिया