जुम्लाको सदरमुकाम खलंगा बजारबाट करिव पैदल चार घण्टा पूर्व मणीसाँगु नपुग्दै यता डोल्पा जिल्ला जाने बाटोको दायाँतर्फ भेडा फाराम रहेको छ । उक्त भेडा फाराम गोठीचौर भन्ने विशाल उपत्यका जस्तो देखिने पर्यटकिय क्षेत्रमा पर्दछ । गाडी एवं मोटरसाईकलमा जाँदा करिव १ सवा एक घण्टा लाग्छ यो ठाउँमा पुग्न ।
बिगतमा पंञ्चाय कालदेखि यो भेडा फाराम कर्णाली भेडा फाराम गुठिचौरका नामले परिचित थियो । शाहीकालमा कर्णाली अञ्चलको गरिबी घटाउने उद्देश्यले यस ठाउँमा भेडा पालनको लागि सरकारी संयन्त्रको रुपमा स्थापना भएको थियो । दुः खका साथ भन्नै पर्छ सुन फलाउने उद्देश्यले स्थापना भएको यो फाराम सुनको प्लेट नै बोकेर सरकारसँग अभावको गित गाउनु पर्ने अवस्था द्वन्द्वकालले समेत निम्त्यायो । नेकपा माओबादीबाट शुरु गरिएको दशबर्षे बिद्रोहका समयमा यस भेडा फर्मले पटक पटक हस्तक्षेप नभोगेको होइन ।
उन उत्पादन गर्ने कार्य लगाएत घर घरमा भेडा पालेर फाईदा लिन सक्नु पर्थ्यो तर लिन सकेनौँ । कमजोरी स्विकार्नैपर्छ । यदि बेफाइदा भएको भए यसको ठाउँमा अरु कुनै जिल्ला र अञ्चलकै हित हुने कुनै संरचनाको माग गर्न सक्नु पर्दथ्यो । मानव निर्मित बस्ति, अफिस, घट्ट, गाई खरक, गोठ आदि बाहेक बर्षा याममा चारैतिर डाँडाकाँडा लेख पाटन र बेशीमा हरियाली चौर खोला नाला रूख बृक्ष एवं सिमसार विभिन्न प्रजातिका फूल फूलेर सिंगारिएको यो ठाउँ प्रकृतिको अदभूत उपहार एवं स्वर्गको टुक्रा मानिन्छ ।
खासगरी बर्षामा यो ठाउँ बादलका सेता गुच्छाहरु भित्र लुकामारी खेल्दै घरी कतै सल्लाघारी देखिन्छ । घरी कतै अग्ला अग्ला डाँडाकाँडा कतै पाखा पखेरा कतै पाखाहरूमा भूँई काफलहरूले राताम्य देखिन्छन् । गाईगोरुका घाँटीमा लगाएका घँडाहरु बजेर बिछ्टै आनन्द आउने संगित पनि सुन्न पाईन्छ ।
मानव निर्मित संरचना नभएको यस ठाउँमा प्राकृतिक सौन्दर्यहरूको थुप्रै रसोस्वादन गर्न निशुल्क पाइन्छ । पूर्वमा डोल्पा जिल्ला, पश्चिममा चन्दननाथ नगरपालिका, उत्तरमा पातरासी गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्ला यति यीँ क्षेत्र बिच हालको गोठीचौर गाउँपालीका पर्दछ । साविकका देपालगाउँ गाउँ बिकास समिति, गर्ज्याङकोट गाउँ बिकास समिति र गोठीचौर गाउँ बिकास समिति मिलेर हालको गुठीचौर गाउँपालिका बनेको छ ।
बिगतमा गोठीचौर गा.बि.स.मा पर्ने गोठीगाउँ नजिक हालको कर्णाली भेडा फर्म रहेको छ । भेडाफार्म रहेको ठाउँ गोठीगाउँका बोहोरा परिवारले भेडा फर्मलाई दिएका हुन् । सो भेडाफर्म भएको स्थानको चारैतिर पाखा डाँडा र लेक छन् । बिचमा समथर ठुलठुला चौर रहेका छन् । यिनै गोठीगाउँको नजिक रहेका ठुलाठुला चौरमा भेडा गाई भैंसी र घोडाघोडीका गोठहरू बनाई यस क्षेत्र लाई चरन क्षेत्र बनाईएकाले यस ठाउँको नाम गोठीचौर रहन गएको हो ।
संवैधानिक एवं कानूनी रुपमा हाल कायम भएको गुठीचौर गाउँपालिका साबिकको गोठीचौर गाबिस, देपालगाउँ गाबिस र पातरासि गाबिस मिति २०७२ सालमा नेपालको संविधान आइसके पश्चात् र स्थानिय निकायको स्थापना हुनु अघि अर्थात आम निर्वाचन २०७४ अघि २०७३ सालमा यी गा.बि.स.हरुलाई गाभेर नयाँ गाउँपालिकाको नाम दिई गोठिचौर गाउँपालिकाको नामाकरण गरिएको हो ।यस गाउँपालिकाको पूर्वतर्फ डोल्पा जिल्ला पश्चिमतर्फ चन्दननाथ नगरपालिका उत्तर तर्फ डिल्लिचौर गाउँपालिका र दक्षिणतर्फ जाजरकोट जिल्ला रहेका छन् । यस पालिकामा पाँचवटा वडा रहेका छन् ।
गोठिचौर गाउँपालिकाको संरचनाः साबिकको गोठीचौर गाबिस बाट वडा नं १ र २ बनेका छन् । वडा नं १ र २ अन्तरगत चोत्र गढीगाउँ गोठीगाउँ, मणीसाँगु समेत पर्दछन् । साविकको गर्ज्याङ्कोट गाबिस बाट वडा नं. ३ र ४ बनेका छन् । वडा नं ३ र ४ अन्तरगत चौरबिँगारे सुम्पुवाडा, दशौँदिवाडा, थामीगाउँ, बाहुलीगाउँ, सार्कीवाडा, डाँडाबाडा, धवलपुर, प्याकुरेलबाडा र गर्ज्याङ्कोट निवासि पर्दछन् । देपालगाउँ गाबिसबाट पुरै वडा नं. ५ बनेको छ । वडा नं ५ मा धिँतागाउँ हुँदै देपालगाउँ, फोई कुम्डी र गर्ज्याङकोट लाई समेट्दछ ।
जनप्रतिनिधिको बनावट र संरचनाः नेपालमा संघिय गणतन्त्रात्मक शासन व्यवस्था २०६५ सालमा लागू भैसके पश्चात संघिय सरकार प्रदेश सरकार र स्थानिय तह समेतको निर्वाचन भई संघिय गणतन्त्रात्मक शासन व्यवस्था समेत लागू भैसकेको छ । संघिय गणतन्त्रात्मक शासन व्यवस्था लागू भई तत् तत् ठाउँमा निर्वाचित जनप्रतिनिधिहरु रही शासन संचालन समेत हुँदै आईरहेको छ ।
२०७४ सालको आम निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी पार्टीबाट कुम्डी गाउँका हरीबहादुर भण्डारी निर्वाचित भएका थिए । उपाध्यक्ष पदमा जानदेबि ऐडी निर्वाचित भएकी थिइन् । २०७४ पछि २०७९ सालमा भएको दोर्षो स्थानिय निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट अध्यक्ष पदमा गर्ज्याङकोट गाउँका दानबहादुर बुढा निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्ष पदमा नेकपा एमाले पार्टीबाट ए. समाजवादी पार्टीबाट कुम्डी गाउँकी शान्ति भण्डारी निर्वाचित भएकी छन् ।
पर्यटनमा गुठीचौर गाउँपालिकाःगुठीचौर गाउँपालिका अन्तर्गत गुठिचौरमा साविकमा नेपाल सरकारले कर्णाली भेडा फारामको कार्यालय स्थापना गरेको थियो । राजा बिरेन्द्र वीर बिक्रम शाहदेवको पालामा कर्णाली अञ्चलको गरिबी न्यूनिकरण गरी रोजगारीमा बृद्वि गर्न जुम्लामा भेडा फाराम र डोल्पामा चौँरीगाई फाराम स्थापना गरिएका थिए । दस बर्षे द्वन्द्वकालमा भने यो भेडाफर्म सशस्त्र बिद्रोहीहरुको नजरमा परिरह्यो ।यो भेडाफर्मका कर्मचारीहरु कहिले आन्दोलनकारीबाट बच्न र कहिले सुरक्षा फौँजबाट जोगिन निकै शास्ति खेप्नु परेको थियो ।
कहिलेकाहीँ गाई खरकका गोठालाहरुले गाईभैँसि छाडा छाडेर हत्तु हत्तु बनाउने गर्दथे । एकान्तमा खरक लेकतर्फ रहेको यो भेडा फर्म वरीपरीको शुन्दर वातावरण र दृश्य हेर्न भने जुम्ला जाने पर्टक कर्मचारी व्यापारी कलाकार कोही छुट्दैनन् ।गोठीचौरको बिचमा बग्ने खोलाको कर्णप्रिय कलकल आवाज, चराचुरुङ्गीको कर्णप्रिय सुमधुर चिरविर संगित, अग्लो ठाउँमा चलिरहने शिरशिरे बतास, बर्षामा भुँई काँफलले रंगिएको चौर, साउन भदौमा फल्ने गुईँयादरलीफल, कार्तिक मंसिरका महिना बाटोको दायाँबाँया भेटिने मेहेल फल, हिउँदमा सेताम्य पहाड चौर र डाँडाकाँडाले योठाउँ बिछट्टै रमाइलो लाग्दछ ।
डोल्पामा चौँरी गाई र चौँर पालेर व्यवसायिकता बढाउन, चौँरीको उनबाट राडीपाखी फेरुवा उत्पादन र बेचबिखन गर्न सहज हुने र जुम्लामा भेडाको उन बिक्री गरि स्थानिय ठाउँमै स्विटर टोपी राडीपाखि उत्पादन गरि स्थानियलाई लुगा कपडामा परनिर्भर नहुन यस प्रकारको उद्वेश्य राखिएको पाइन्छ । यसैगरी उक्त क्षेत्रको बन, वातावरण पशुपंक्षी जडीबुटी समेतको संरक्षण होस् भन्ने मनशायले समेत यिँ फाराम स्थापना गरिएका थिए ।
जुम्लाको गुठिचौर गाउँपालिकाले यस क्षेत्रको पर्यटनलाई प्रवर्द्धन गर्न आफ्नै गाउँपालिका क्षेत्रभित्र पर्ने गुठीचौर क्षेत्रमा २०८१ भाद्र २५ गतेदेखि ३० गतेसम्म ६ दिन, प्याराग्लाइडिङ महोत्सवव सहित पुरुष र महिला भलिबल र देउडा गित प्रतियोगिता समेत आयोजना गरी नयाँ कार्यको थालनी गरेको पाइन्छ ।गुठिचौैरमा उक्त प्याराग्लाइडिङ उडान गरी शुरु हुने महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भए । महोत्सव अघिनै गुठिचौर गाउँपालिकाको डाब भन्ने स्थानबाट प्याराग्लाइडिङ्गको परीक्षण उडान भई सकेको थियो । गुठिचौर क्षेत्र जडिबुटीको हिसावले, तालतलैया, भाषा, संस्कृति, चाडवाड, शिक्षा, साहित्य क्षेत्र सबैको प्रचतिनिधित्व गर्ने एक बहुमुखि पर्यटनको नयाँ गन्तव्य मान्न सकिन्छ ।यिनै बिबिध क्षेत्रको पर्यटनलाई पर्यटन क्षेत्रकै रुपमा विकास गर्ने उद्देश्य लिएर महोत्सवको आयोजना गरिएको थियो । यही उद्देश्यलाई जोड दिँदै आयोजना गरिएको भन्दै गुठिचौर गाउँ पालिकाका बर्तमान युवा अध्यक्ष दान बहादुर बुढाले बताएको पाइन्छ ।
बि. सं. २०८१ को महोत्सवको पहिलो दिन भाद्र २५ गते बिभिन्न कार्यक्रम गरि प्याराग्लाइडिङ्ग महोत्सवको उद्घाटन भयो । महोत्सवमा खुल्ला पुरुष भलिबल, खुल्ला महिला देउडा प्रतियोगिता समेत सम्पन्न भए । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने खेलाडी टिमलाई रु ५० हजार नगद सहित प्रमाणपत्र, द्वितिय हुने टिमलाई रु ३० हजार नगद सहित प्रमाणपत्र र तृतिय हुने टिमलाई रु२० हजार नगद सहित प्रमाणपत्रको ब्यवस्था गरिएको थियो जुन अत्यन्तै खुसीको कुरा हो ।उक्त भलिबलमा खेलमा प्रथम हुने टिम बाट २ जना, द्वितिय हुने टिमबाट २ जना र तृतिय हुने टिमबाट १ जना खेलाडीलाई प्याराग्लाइडिङ्ग उडानमा सहभागी गराइएको थियो ।
खुल्ला महिला देउडा प्रतियोगिताकामा प्रथम हुने टिमलाई रु २० हजार, द्वितिय हुने टिमलाई १५ हजार र तृतिय हुने टिमलाई रु१० हजार नगदसहित प्रमाणपत्रको व्यवस्था गरिएको पाइन्छ । यस भलिवल प्रतियोगितामा पुरुषको तुलनामा महिलालाई केही भेदभाव भएको अनुभूति गरेँ । कम्तिमा प्रथम हुने टिमलाई ३०,०००।र द्वितीय हुनेलाई २५०००।र तृतिय हुनेलाई २०,०००। रुपैयाँको व्यवस्था गरि अतिरिक्त खेलाडी र प्रशिक्षक समेतलाई कम्तीमा रू १२०० देखि १३०० सम्म पर्नेगरी त दिनु पर्थ्यो भन्ने यस पंक्तिकारको मत रहेको छ।
यस महोत्सवमा खुल्ला महिला देउडा प्रतियोगिता समेत आयोजना गरिएबाट गाउँपालिका लगायत जिल्ला भित्रका थुप्रै दर्शकहरूको बाख्लो उपस्थिती भएको पाइनुले बिछट्टै रमाइलो माहोल बनेको उपस्थित दर्शकहरुले अनुभूति गरे पुनः यस बर्ष २०८२ भाद्र २५ गतेदेखि ३० गते सम्म पनि पर्यटन क्षेत्रको बिकासका लागि प्याराग्लाईडिङ, पुरुष तथा महिला भलिवल तथा देउडा गित प्रतियोगिताको आयोजना गरिने खवरले मन प्रफुल्लित भएको छ।
गुठीचौर प्रचुर मात्रामा सम्भावनाको पर्यटक स्थल भएकोले शुन्दर पार्क निर्माण लगायत बनभोज स्थल बनाउँदा पनि स्थानीय पालिकाको आन्तरिक आयस्रोतमा बृद्वि गर्न सकिन्छ । गोठीचौरमा बगेर खेर गएको पानीमा मत्स्य पालन व्यवसाय स्विमिङ पुल सञ्चालन गर्न गर्न सकिने संभावना छ । विशाल पोखरी निर्माण जल बिध्धुत उत्पादन गरि आय आर्जन गर्न सकिने उत्तिकै संभावनाका ढोकाहरू छन् । जुम्लालाई झलमल पारी खपत हुने बिध्धुत, जुम्लाका अन्य गापा र नपा लगायत जाजरकोट र डोल्पामा पनि बिस्तार गरि बिक्रि बितरण गर्न सकिने अवस्था यहाँको जलको सोतबाट देखिन्छ ।
गुठीचौर क्षेत्र जडीबुटीको खानी क्षेत्र हो । सम्बन्धित डिभिजन बन कार्यालय र वातावरण संरक्षणसँग सम्बन्धित निकायसँग समन्वय गरि यहाँ रहेका जडिबुटीको अध्ययन अनुसन्धान गरि जडिबुटी सँकलन केन्द्र, प्रसोधन केन्द्र र निकास क्षेत्र आकर्षणको केन्द्र स्थल बनाउन सकिने देखिन्छ ।यसैगरी यस गाउँपालिकासँग जोडिएका जुम्लाकै शुन्दर तालहरू, ठाकुरज्यू ताल बिष्टज्यू ताललाई चन्दननाथ नगर पालिका र जाजरकोट जिल्लासँग समेत आवश्यक समन्वय गरि व्यवस्थित बनाउन सकियो भने रारा र सेफोक्सुण्डो ताल पछिको तेर्षो आकर्णका ताल बन्न सक्ने र नेपाल बाहिरका मुलुकका पर्यटक समेतलाई लगातार आकर्षण गर्न सकिने प्रवल संभावना देखिन्छ ।
चन्दननाथ नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठिचौर र पातारासीका पाटनमा सबै भन्दा धेरै जडिबुटी पाइन्छ। गुठिचौर गाउँपालिकाले आफ्ना नागरिकलाई जडिबुटी संकलन र प्रसोधन गर्न तालिम दिई रोजगारी र आयमा बृद्वि गर्न सके गरिबी निवारणमा टेवा पुग्न सक्ने देखिन्छ ।जुम्ला खलंगा बजारबाट गुठिचौर सम्म पक्की सडक बनाई गुठीचौरबाट पातरासी हिमाल जाने बाटो जोड्दै, पातरासी गाउँपालिका हुँदै चन्दननाथ र सिंजा जाने बाटो लगायत मुगु रारा, डोल्पा र जाजरकोट पुग्न सकिने सडक समेत जोड्न सकियो भने पर्यटकहरूको बाह्रै महिना घुँईचो लाग्ने सम्भावना देखिन्छ ।
नरेन्द्र देवकोटा (प्रशान्त)
प्रतिक्रिया