नेपालमा वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । स्थापनापश्चात नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा अग्रमोर्चामा रहेर संघर्ष गरेको गौरवपूर्ण इतिहास रहेको छ । सन् १९५० को दिल्ली सम्झौताको विरोध, विराटनगरको मजदुर आन्दोलन, क्रान्तिकारी भूमि सुधारको नारा तथा जमिन कसको जोत्नेको र घर कसको पोत्नेको आदि नाराको नेतृत्व गर्ने पार्टी कम्युनिष्ट पार्टी थियो । स्थापनाकालको कम्युनिष्ट पार्टीको घोषणापत्र तथा वि.स. २०१० सालमा सम्पन्न प्रथम महाधिवेशनपछिको घोषणापत्रमा देशका जमिन्दारहरुको भूमि कब्जा गरेर गरिब किसानहरुलाई वितरण गर्ने कुरा उल्लेख गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनका रुपमा वि.स. २००८ सालमा अखिल नेपाल किसान संघको स्थापना भएको थियो । त्यसपछि किसान संघको नेतृत्वमा मोहियानी हक दिलाउने, वेठवेगारी अन्त्य गर्ने अभियानले काठमाडौं उपत्यकालाई ततायो ।
सुदुरपश्चिममा भीमदत्त पन्तको नेतृत्वमा सामन्तवादविरोधी सशक्त आन्दोलन चल्यो । वि.स. २००९ सालमा रौतहटलगायत पूर्वी तराईका जिल्लाहरुमा ठूला ठूला किसान आन्दोलनहरु भएका थिए । वि.स. २०११ सालमा पूर्वी तराईमा जयगोविन्दशाह र सूर्यनाथ यादवको नेतृत्वमा कृषि मजदुरको ज्याला बृद्धि, तमशुक फुका, मोहियानी हक, भूमिहीन किसानलाई जमिन आदि माग राखेर आन्दोलनहरु भएका थिए । वि.स. २०१० सालमा प्युठानको रातामाटामा तीन महिने जनता प्रशिक्षण कार्यक्रम चलेको थियो । त्यसैको परिणाम प्युठानमा कम्युनिष्ट पार्टीको आधार निर्माण भएको हो । वि.स. २०१४ को भद्र अवज्ञा आन्दोलन, २०२८ को झापा विद्रोह, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ को पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, वि.स. २०५२ बाट शुरु भएको माओवादी जनयुद्ध, नौ वामको आन्दोलन, २०६२–६३ को आन्दोलनलगायतका सबै आन्दोलनहरुमा नेपालको समग्र कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण देन रहेको छ । यीआन्दोलनमा सरिक हुँदा हजारौं नेता कार्यकर्ताहरुले रगतको आहुति दिएका छन् । पसिना बगाएका छन् । घरबार बिगारेका छन् । वर्षौं जेल बसेका छन् । यातना खेपेका छन् । बृद्धबृद्धा र सहिद परिवारका सदस्यहरुले आँसुको नदी बगाएका छन् । नेपाली भूमि जनमुक्तिको महान सपना बोकेर संघर्षमा होमिएका कम्युनिष्ट वीर विरांगनाहरुको रगत, आँसु र पसिनाले सिंचित भूमि हो । त्यसो त नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा रहेको भए तापनि यसको ऐतिहासिक विरासत निकै गौरवशाली र सौन्दर्यले भरिपूर्ण छ । नेपालको राजनीतिक आन्दोलनमा कम्युनिष्टहरुको प्रवाह नभएको भए नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन सक्ने थिएन ।
चुनावमार्फत प्रतिक्रियावादी व्यवस्थामा प्रवेश गरेर जनविरोधी व्यवस्थाको भण्डाफोर गर्नु र जनमुखी सुधारका काम गर्नु पनि कम्युनिष्टहरुको संघर्षको एउटा मोर्चा हो । तत्कालीन नेकपा (माले), क. निर्मल लामा नेतृत्वको नेकपा (चौम), मजदुर किसान पार्टी लगायतले जनपक्षीय उम्मेदवारका रुपमा पञ्चायती चुनावको पनि उपयोग गरेका थिए । नेकपा (माले) समर्थित केही उम्मेदवारहरुले विजय पनि प्राप्त गरेका थिए । त्यस सिलसिलामा जनपक्षीय नेताहरु जागृतप्रसाद भेटवाल, पद्मरत्न तुलाधर द्रोणप्रसाद आचार्य, थाहा आन्दोलनका नेता रुपचन्द्र विष्टलगायतले राष्ट्रिय पञ्चायतमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
पञ्चायतको अन्त्यपश्चात गठन भएको राजा, कांग्रेस र वामगठबन्धनको सरकार बनेको थियो । सो सरकारमा वाममोर्चाभित्रको नेकपा (चौम) तथा संयुक्त राष्ट्रिय जनआन्दोलन समूहका पातलो र मोटो मशाललगायत घटकहरु सामेल भएनन् । सरकारमा गएका नेताहरुले अपेक्षाकृत राम्रो काम गर्न नसकेतापनि खराव काम गरेनन् । वि.स. २०५१ मा नेकपा (एमाले) को अल्पमतको सरकार गठन भयो । सो सरकारले आफ्नो गाउँ आफै बनाउँ, बृद्ध भत्तालगायतका केही कार्यक्रमहरु ल्यायो । त्यति सामान्य पपुलिष्ट कार्यक्रम ल्याउँदा पनि नेपाली जनतामा जनआकर्षण बृद्धि भएको थियो । त्यसबाट नेपाली कांग्रेस हतोत्साहित भएर अन्य वामहरुको समर्थन रहेको एमाले नेतृत्वको सरकार ढाल्ने खेतीमा लाग्यो । यद्यपि तत्कालीन अवस्थामा नै नेकपा (एमाले) बहुदलीय जनवादमार्फत प्रतिक्रियावादी संसदीय व्यवस्थाप्रति रणनीतिक स्वीकृति जनाउने दक्षिणपन्थी मार्गमा गइसकेको थियो । त्यस पश्चात नेपालका कम्युनिष्टहरुको मूलधारले पटक–पटक सरकारमा जाने मात्र होइन सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्दै आएको छ । त्यसमा एमाले, माओवादी केन्द्र हुँदै मोहनबिक्रमले नेतृत्व गरेका मसालसम्म पर्दछन् । तर सरकारी वामहरुले गरेको कर्मलाई अगाडि राखेर हेर्दा हाम्रा अगाडि एउटा कुरुप र भद्दा तस्विर उभिन्छ । अब इतिहासको गौरवगाथा र सौन्दर्यपूर्ण विरासतले यो भद्दा तथा कुरुप तस्विरलाई ढाक्न सक्दैन ।
वि.सं. २०४६ यता नेपालमा कम्युनिष्टहरु पटक–पटक सरकारमा रहँदै आएका छन् । वि.सं. २०६२–६३ को ऐतिहासिक जनआन्दोलन पश्चात नेपालका कम्युनिष्टहरुले बहुमतको सरकारको नेतृत्व गर्ने अवसर पाए । वि.सं. २०६५ मा गठन भएको माओवादी नेतृत्वको सरकारसँग तीन चौथाई बहुमत थियो । दशवर्षे जनयुद्धको एउटा ताप थियो र जनतामा अब केही हुन्छ कि भन्ने आशाका किरणहरु थिए । वि.सं. २०७४ मा केपी ओली नेतृत्वको सरकारसँग संसदमा झण्डै दुई तिहाई बहुमतको समर्थन थियो । अधिकांश स्थानीयतहहरुमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्चश्व थियो । सातवटा प्रदेशमा छ वटामा नेकपा नेतृत्वकै सरकार थियो । प्रतिक्रियावादी संरचनाको भए पनि राष्ट्रिय सहमतिमा घोषणा भएको नेपालको इतिहासको सबभन्दा प्रगतिशील संविधान थियो । त्यही संविधानलाई ठीक ढंगले सदुपयोग गरेर कार्यसम्पादन गरेको भए कैयन प्रगतिशील सुधारका कार्यक्रमहरु ल्याएर देश र जनताको अनुहार बदल्ने दिशा तय गर्न सकिन्थ्यो ।
तर एउटा कर्पोरेट, दलाल, क्रोनी र भूमण्डलीकृत पूँजीवादको जोडदार समर्थन गर्ने पार्टीले भन्दा फरक काम कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गर्न सकेन । उदेकलाग्दो कुरा त यो भयो कि केपी ओली नेतृत्वको सरकारबाट पशुपतिमा सुनको जलहरी बनाउने, राम जन्मभूमि सम्बन्धी मिथक इतिहासलाई राजनीतिकरण गर्ने जस्ता काम भए । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले मुलुकको आर्थिक सामाजिक वर्गीय संरचनालाई बदल्ने सामान्य महत्वको कार्यक्रमसम्म ल्याउन सकेन । नवउदारवादको थप बाक्लो बर्को ओढेर बस्यो । सरकारी कम्युनिष्ट पार्टीका शक्तिमा पुगेका नेताहरु तथा नेतृत्वका वरिपरि घुम्ने कार्यकर्ताहरु नवधनाड्य अभिजात र भ्रष्ट वर्गमा परिणत भए । यो नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएको सामान्य मजाक होइन । आजको नेपालको संसदीय वामपन्थको झण्डा र नाम जनतालाई झुक्याउने टेडमार्कका रुपमा मात्र बाँकी रहेको छ । कम्युनिष्ट पार्टीको झण्डा फहराएको र कम्युनिष्ट पार्टीको साइनबोर्ड टाँसेको कार्यालयभित्र चुनाव, पदको भागवण्डा राजनीतिक नियुक्ति, ठेक्का पठ्ठा आदिको विषयमा मात्र विमर्श हुने गर्दछ । बाहिर माक्र्सवाद लेनिनवादका कुरा गरे पनि भित्रभित्र तिनीहरुको काम विश्व पूँजीवाद, डनहरु, दलाल तथा नोकरशाही पूँजीपति र महाधनकुवेरहरुसँग सम्बन्ध विस्तार गर्ने र फाइदा लिने नै हुन्छ । नेपालको संसदीय वामपन्थको यति ठूलो रुपमा मूल्यविघटन र भ्रष्टिकरण भएको छ कि तिनीहरु लोकतान्त्रिक समाजवादी वा न्यूनतम सुधारवादीको धरातलमा समेत उभिन सकेका छैनन् । नेपालको संसदीय वामपन्थ किसान मजदुर आन्दोलनका कुरा उठाउन समेत नसक्ने गरी थला परेको देखिन्छ । आफ्नो वर्गप्रतिको यतिसम्मको गैरजवाफदेहीता सानो दुःखको कुरा होइन । नेपाली जनता र देशको पक्षमा निर्भिकतापूर्वक काम गर्न नेपालका संसदीय कम्युनिष्टहरुलाई वि.सं. २०६५ र २०७४ मा दुई–दुई पटक अवसर प्राप्त भएको थियो तर त्यो जनताले दिएको अमूल्य अवसर गुमिसकेको छ । आज नेपाली कांग्रेसको समर्थन र भरोसामा सञ्चालन भइरहेको प्रचण्ड नेतृत्वको सरकारबाट आशा गर्ने आधारै छैन । प्रतिगमनको खतराको घण्टी बजाउनु, यो व्यवस्थाको रक्षा, संस्थागत विकास तथा हेरचाहको कुरा गर्नु लाभका पदहरुमा नेपाली कांग्रेससित मिलेर भागवण्डा लगाउनु र त्यसैमा रमाउनु राष्ट्रिय जनमोर्चा देखि नेपाली कांग्रेससम्म मिलेर बनेको सत्तागठबन्धनको राजनीतिक खेती भएको छ ।
समग्र नेपालको राजनीति र संसदीय वामपन्थको यति डरलाग्दो मूल्यविघटन तथा भ्रष्टिकरणबाट उत्पन्न एउटा निराशाजनक परिस्थितिप्रति अत्यन्त चिन्ता गर्ने नेपाली कम्युनिष्ट आन्दोदनको गैरसंसदीय इमानदार पंक्ति पनि हाम्रा अगाडि छ । सरकारी वा संसदीय वामपन्थभित्र गैरसंसदीय इमानदार पंक्तिलाई आशापूर्ण नजरले हेर्ने थिचिएको तर जे भए पनि माउ पार्टीलाई छोड्न नसकेको इमानदार पंक्तिको एउटा जमात पनि छ । यो एउटा बैरागीहरुको जमात हो । यसको पनि महत्व छ । नेपालमा आज पनि क्रान्ति र परिवर्तनको सपना बोकेका आधादर्जन भन्दा धेरै गैरसंसदीय कम्युनिष्ट घटकहरु छन् । एकताबद्ध भएको खण्डमा तिनीहरुले देश हल्लाउने र कम्युनिष्ट आन्दोलनलाई सही क्रान्तिकारी दिशा प्रदान गर्ने ल्याकत राख्दछन् । गैरसंसदीय क्रान्तिकारी कम्युनिष्टहरुको एकताबाट निर्माण हुने भौतिक शक्ति भ्रष्टिकरण र मूल्यविघटनको शिकार भएको संसदीय वामपन्थका लागि एउटा ठूलो चुनौती बन्न सक्दछ । तर दुःखको कुरा गैर संसदीय घटकहरुमा संसद, संसदीय क्रियाकलाप र दलाल पूँजीवादको प्रतिनिधित्व गर्ने संसदीय व्यवस्थाप्रति घृणा छ । यसको वैकल्पिक रणनीतिक विषय मिल्दाजुल्दा छन् । तर कतिपय वैचारिक अस्पष्टताका कारण कार्यनीतिमा केही समस्याहरु जटिल प्रकारका छन् । त्यसैले न रणनीतिक संयुक्त मोर्चा सफल हुन सक्छ न त कार्यगत एकता नै सुचारु ढंगले अगाडि बढ्न सक्छ । यस्तो परिदृश्यमा सैद्धान्तिक र वैचारिक हिसावले नजिक रहेका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (मशाल) का बीचमा पार्टी एकताकालागि लामो समय एकता वार्ता चल्यो । त्यस सिलसिलामा क्रान्तिकारी माओवादी र बहुमतका बीचमा पार्टी एकता भएपश्चात क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जन्म भएको छ । यो नाम तीनवटा पार्टीका बीचमा एकता वार्ता हुँदाखेरी नै सहमतिमा तय भएको नाम हो । आजभोलि नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बीचमा पार्टी एकताका लागि वार्ता र सम्वाद चलिरहेको छ । अब केही सीमित विषयका मतभेदहरु मात्र बाँकी रहेका छन् । ती मतभेदलाई समाधानको विन्दुमा पुर्याउनु र पार्टी एकता प्रक्रियालाई पूरा गर्नु ऐतिहासिक दायित्व आवश्यकता तथा इतिहास अनि समयको माग हो । क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउने सिलसिलामा विश्व र नेपाली कम्युनिष्ट आन्दोलनको सकारात्मक नकारात्मक पाटाहरुको सही र वस्तुसंगत मूल्यांकन तथा समीक्षा नगरिकन हामीले भावी दिनमा कम्युनिष्ट आन्दोलनलाई सकारात्मक संक्रमणको मार्गमा अगाडि बढाउन सक्दैनौं । त्यसका लागि हामी इतिहासका कतिपय परिघटनाका विषयमा निर्मम र गम्भीर भएर यथार्थ निष्कर्षमा पुग्न जरुरी हुन्छ । त्यसका साथ साथ पार्टी एकता प्रक्रियामा भएका निर्णयहरुको पालना र कार्यान्वयनमा इमानदार बन्न पनि जरुरी छ । दुबै पक्ष पूर्वघटकीय चिन्तन, आफ्ना स्कूल र विरासतबाट माथि उठ्नपर्छ । दुबै पक्ष आआफ्ना इतिहास आआफ्ना पुराना परिभाषाभन्दा माथि उठेर भावी क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको उज्ज्वल भविष्यको सिर्जनालाई केन्द्रमा राखेर विनम्र र लचक हुन जरुरी छ । अभिमान होइन । क्रान्तिको सपना, निर्देशक सिद्धान्त र गन्तव्य मिल्दामिल्दै पनि एकता हुन सकेन भने त्यो नेपाली कम्युनिष्ट आन्दोलनको अर्को दुर्भाग्य हुनेछ । यी दुई पार्टीको एकता प्रक्रियालाई भाँ‘जो हाल्न बाहिरबाट निकै ठूलो भाँडभैलोरुपी प्रयत्न भइरहेको अवस्थामा उत्तरसत्यवादी हठ बोकेर भाँजो हाल्न चाहनेहरुलाई मलजल गर्ने काम गर्र्दै नगरौं । मिल्ने बिन्दुलाई भन्दा नमिल्ने बिन्दुलाई प्राथमिकतामा राख्ने चिन्तनगत जोखिमबाट हामी माथि उठ्न र बच्न जरुरी छ ।
संसदीय कम्युनिष्ट पार्टीहरुले राम्रो काम गरेनन् भनेर आलोचना गर्दा गैरसंसदीय कम्युनिष्ट पार्टीहरुले के गरे ? भन्ने प्रश्न पनि अगाडि आउँछ । किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, जनजाति सबै वर्ग, तह र तप्काका जनता निरास र आक्रोशित भएको अवस्थामा तिनका समस्यालाई उठाएर देशव्यापी आन्दोलन उठाउन र विकल्प प्रस्तुत गर्न गैरसंसदीय कम्युनिष्टहरु पनि सफल भएनन् । आन्दोलन वैकल्पिक शक्ति निर्माण र जनतामा आशा सिर्जना गर्न भौतिकशक्ति चाहिन्छ । सही विचार सहितको भौतिक शक्ति निर्माण गरेर अगाडि बढ्न पनि क्रान्तिकारी पार्टीहरुकाबीचको एकता अनिवार्य आवश्कयता बनेको छ । त्यसकारण क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (मशाल) एकता प्रक्रियाबाट अगाडि बढ्नपर्छ, पछाडि फर्कन हुन्न ।
प्रतिक्रिया