धूमपान निषेध विश्व

bimbonline सुरेन्द्र नेपाल श्रेष्ठ
२०८० माघ ६ ०८:१३ बजे

सार्वजनिक स्थलमा धूमपान निषेध हुनुभन्दा अघि बेलायतका रेस्टुरेन्ट र पबभित्र प्रशस्त धुवाँ खानु पथ्र्यो । अलि ठुला ठाउँमा भने चुरोट खाने र नखानेका लागि बस्न छुट्टाछुट्टै क्षेत्र तोकिएको हुन्थ्यो । हामीले सञ्चालन गरेको रेस्टुरेन्ट कुमारी नामको थियो । यो सानो थियो । यहाँ आउने एक जना ग्राहक अचम्मको थियो । प्रायः प्रत्येक दिन आउने, पेसाले एकाउन्टेन्ट, घरमा कोही नभएको । बिहान काममा जाँदा चार बट्टा (प्रत्येक बट्टामा २० खिल्ली) चुरोट किन्ने उसको दैनिकी थियो । बेलुकी रेस्टुरेन्टमा आइपुग्दा पुग नपुग दुई बट्टा बाँकी रहने । विभिन्न प्रकारका पेय पदार्थ पिउनु पर्ने । चुरोटको ठुटा फाल्न हामीले चार पटक एस्ट्रे फेरि दिनु पर्ने । दुई खिल्ली घरमा गएर पिउन पर्छ भनेर लाने र बाँकी सबै सल्काउने । एक जोडी थिए– हप्तामा तीन पटक जति आउने । दुवैले पालैपालो भरुवा चुरोट बनाएर तानी रहने । कहिलेकाहीँ भित्र धेरै मानिस भए बाहिर गएर पिउने । सरकारले सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने भएपछि केही स्थानमा अलि पहिलादेखि नै रोक लगाउन थालिएको थियो । हामीले पनि दुई हप्ताअघि नै धूमपान निषेध गर्ने सूचना टाँस गरेका थियौँ । यही जोडी भित्र छिर्न लाग्दा सूचना देखेपछि बडो रिसाएका थिए । हाम्रोमा नबसी अगाडि नै रहेको बङ्गालीको रेस्टुरेन्टमा जान भनेर हिँड्यो । मैले राम्रोसँग बिदा गर्दै थिएँ, “हाम्रो चुरोटले भन्दा बाहिर दौडिने गाडीको धुवाँले मानिसलाई बढी हानि नोक्सानी गरेको हुन्छ, अब एक दिन सरकारले त्यो पनि रोक्छ” भनेर हिँड्यो तर पछि सबैतिर बन्द भएपछि एक-दुई पटक त आए तर खानपिनसँगै धूमपान गर्न नपाएपछि त्यति मजा नआउने रहेछ भनेर घरमा नै ‘टेक अवे’ मगाएर खान थाले । यो घटनाले मलाई कानुनको अर्थ र महìवबारे थप अनुभव प्राप्त गर्ने मौका मिल्यो । मानिसलाई वास्तवमा कानुनको माध्यमले मात्र सभ्य बनाउन सक्छ । त्यसैले एरिस्टोटले मानिस सबै प्राणीभन्दा उत्कृष्ट त छ तर कानुन हटाइदिने हो भने सबभन्दा निच हुन्छन् भनेका रहेछन् । 

इङ्ल्यान्डले कार्यस्थल, बार, रेस्टुरेन्टसहित सार्वजनिक स्थानमा सन् २००७ को जुलाई १ देखि धूमपानमा प्रतिबन्ध लगाएको थियो । अन्य राज्यहरू स्कटल्यान्डमा सन् २००६ मार्च २६, वेल्समा २००७ अप्रिल २ र उत्तरी आयरल्यान्डमा सन् २००७ अप्रिल ३० मा नै धूमपान निषेध गरिएको थियो । सार्वजनिक यातायात मात्र होइन, काम गर्ने गाडीमा आफूबाहेक अरू छ भने धूमपान गर्न पाइँदैन । त्यस्तै आफ्नो गाडीमा १८ वर्षभन्दा कम उमेरका बालबालिका छन् भने पनि धूमपान गर्न पाइँदैन । राजमार्ग संहिताले मुख्यतया निजी प्रयोजनका लागि प्रयोग गरिने सवारीसाधनमा सवारी चलाउँदा धूमपान गर्नुलाई विशेष अपराध मानेको छैन तर कथंकदाचित् दुर्घटना भयो भने चाहिँ लापरबाही तरिकाले सवारी चलाएको मानिने आधारहरू चर्को सङ्गीत सुन्नु, नक्सा पढ्नु, क्यासेट वा सिडी घुसाउँदै वा रेडियो ट्युन मिलाउनु, यात्रुहरू वा अन्य सडक प्रयोगकर्तासँग बहस गर्नु वा खानुपिउनुको साथमा धूमपान गर्नु भनेर उल्लेख गरिएको छ । 

विश्व स्वास्थ्य सङ्घले फ्रेमवर्क कन्भेन्सन अन टोब्याको कन्ट्रोल (एफसीटिसी) लाई अनुमोदन गरेर धूमपानरहित समाजतर्फको यात्रा सुरु गरेपछि संसारका प्रायः सबै देशले सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने कानुन बनाउन सुरु गरेका हुन् । क्रमबद्ध ढङ्गले देश अनुसार थप प्रतिबन्ध लाग्दै आएका छन् । भुटानले त सन् २०१० मा कुनै प्रकारको सुर्ती उत्पादन, प्रचारप्रसार, विज्ञापन, बिव्रि वितरण र देखिने गरी प्रयोगसमेत गर्न नपाउने मात्र होइन, कुनै पनि माध्यमबाट प्रयोग गरेको समेत सार्वजनिक गर्न नपाउने कानुन बनायो तर विशेषतः कोभिड कालमा सुर्तीजन्य पदार्थको तस्करी हुन थालेपछि अहिले पूर्ण बन्देजभन्दा पनि अधिकतम नियन्त्रण हुने कानुन बनेको छ । हालसालै मेक्सिकोले सबैभन्दा कडा कानुन प्रयोगमा ल्याएको छ । गत जनवरी १५ देखि आफ्नो निजी घरबाहेक अन्यत्र धूमपान गरेमा ५० देखि तीन सय डलरसम्म जरिवाना वा जरिवाना तिर्न नचाहेमा ३६ घण्टा जेल बस्नु पर्ने हुन्छ । फ्रान्सले सार्वजनिक स्थलसहित समुद्री किनारमा पनि धूमपान निषेध गरेको छ । आयरल्यान्ड, ग्रिस, हङ्गेरी र माल्टामा यस्तै कडा कानुन छ । स्पेनले बार्सिलोनामा प्रतिबन्ध लगाएको छ । 

चुरोट छुटाउन भनेर प्रयोगमा ल्याइएको भेपले झन् बढी समस्या देखिएकाले यसलाई पनि चुरोट सरह प्रतिबन्ध लगाउने देशको सङ्ख्या बढी रहेको छ । अर्जेन्टिना, ब्राजिल र नेपाललगायत केही देशले ई–चुरोट र भेपहरू पूर्ण रूपमा प्रतिबन्ध लगाएका छन् । कतार, टर्कीमा, ई–सिगरेट खरिद गर्न अवैध छ भने कोलम्बिया र इरानमा सार्वजनिक स्थानमा भ्यापिङ गैरकानुनी छ । थाइल्यान्डमा ई–चुरोट प्रयोग गर्ने पर्यटकलाई १० वर्ष जेल वा तीस हजार भाट जरिवाना पनि हुन सक्छ भने सिङ्गापुरमा दुई हजार डलर जरिवाना हुन्छ । अस्ट्रेलियालमा निकोटिन समावेश भएको इलेक्ट्रोनिक चुरोट प्रयोगका लागि डाक्टरको रिपोट चाहिन्छ । अन्यथा ठुलो जरिवाना भोग्न पर्ने हुन सक्छ । यहाँ केही राज्यहरूले त निकोटिनसहितको ई–लिक्विड आयात गरेमा जेल सजाय पनि दिने गरेका छन् । काठमाडौँ नगरपालिकाले उपत्यकाभित्र प्लास्टिकमा उत्पादित सुर्तीजन्य पदार्थहरू बिक्रीवितरण गर्न नपाउने नीति कार्यान्वयन गर्न सफल भए नागरिक स्वास्थ्यसहित उपत्यकाको फोहोर पनि उल्लेख्य रूपमा कम हुने थियो । नेपालले पनि धूमपान नियन्त्रणमा क्रमिक रूपमा पाइला चलाएको देखिन्छ । यसलाई अझ प्रभावकारी बनाउन खरिदमा उमेरको कडाइ, बालबालिकाको अगाडि खान नपाइने, एक-दुई वटा चुरोट किन्न नपाइने, जताततै बेच्न नपाइने, पसलमा देखिने गरी राख्न नपाइने, जथाभाबी धूमपान गरेर ठुटो फाल्न नपाइने जस्ता अन्य देशमा लागु भइसकेका नियमलाई अवलम्बन गर्ने हो भने पूर्ण रूपमा नियन्त्रण हुन नसके पनि यसबाट हुने हानिलाई रोक्न सकिन्छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले पार्टी अधिवेशनमा देशलाई धूमपान मुक्त बनाउने प्रस्ताव राखेपछि राजा चाल्र्सले आफ्नो घोषणामा यसलाई महìवका साथ प्रस्तुत गरेका थिए । चारमध्ये एकले धूमपान गर्ने र स्वास्थ्य क्षेत्रमा अधिक खर्च हुनाले देश नै बिरामी भएको छ । त्यसैले यसको छिटो उपचार गर्नु पर्ने सरकारको धारणा छ । यसलाई मूर्त रूप दिन सकियो र सन् २०२७ सम्म यसलाई लागु गर्न सकिएको खण्डमा अहिले १४ वर्ष पुगेका बालबालिकाले चुरोट किन्न पाउने छैनन् । न्युजिल्यान्डले गत वर्षदेखि अपनाएको नीति अनुसार सन् २००८ पछि जन्मेका कसैले पनि सुर्तीजन्य वस्तु किन्न पाउने छैनन् । अहिले बेलायत र न्युजिल्यान्डमा १८ वर्ष उमेर पुगेकाले मात्र चुरोट किन्न पाउने कानुन छ । यसलाई प्रत्येक वर्ष एक वर्ष थप गर्दै गएपछि एक बिन्दुमा पुगेर पूर्ण रूपमा बन्द हुने छ । न्युजिल्यान्डले त चुरोट किन्न पाइने आठ हजार पसललाई घटाएर छ सयमा सीमित गरेको छ । इङ्ल्यान्डले पसलमा देखिने गरी चुरोट राख्न नपाइने कानुन सन् २०१२ देखि लागु गर्यो र धूमपानको सुरुवात मेन्थोलबाट हुने तथ्य सार्वजनिक भएपछि सन् २०२० मे २० देखि यसमाथि पनि पूर्ण बन्देज लगायो । कम उमेरकालाई आकर्षण हुने गरी विभिन्न स्वादमा पाइने भेप अधिकांश विद्यालयका विद्यार्थीले प्रयोग गरेको देखिएपछि अहिले त्यसलाई खरिद गर्न पनि १८ वर्ष उमेर तोकिएको छ । सरकारको धूमपानसँग सम्बन्धित रोगको उपचार गर्न साढे तीन अर्ब पाउन्डभन्दा बढी खर्च हुने गरेको छ । एक तिहाइ क्यान्सरको मुख्य कारण धूमपान मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको गत नोभेम्बरको तथ्याङ्क अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट वार्षिक रूपमा असी लाखभन्दा बढी मानिस अकालमै मर्छन् । विश्वका दसमध्ये एकभन्दा कम महिला र एक तिहाइभन्दा बढी पुरुषले धूमपान गर्छन् । धूमपानबाट हुने मृत्युदर एसिया र पूर्वी युरोपमा सबैभन्दा बढी देखिन्छ ।  चीन विश्वमा सबैभन्दा ठुलो सुर्ती उत्पादक र उपभोक्ता देश हो । यहाँका ३० करोडभन्दा बढी नागरिकले धूमपान गर्छन् । आधाभन्दा बढी वयस्क पुरुष चुरोट खान्छन् । विश्वमा प्रत्येक तीन वटा चुरोटमध्ये एक चुरोट चीनमा खाइन्छ । युरोपमा सबैभन्दा बढी धूमपान गर्ने देश बुल्गेरिया हो । यहाँको जनसङ्ख्याको २८.२ प्रतिशतले दैनिक सुर्ती सेवन गर्छन् । त्यसपछि टर्की (२७.३ प्रतिशत), ग्रिस (२७.२ प्रतिशत), हङ्गेरी (२५.८ प्रतिशत) र लाट्भिया (२४.९ प्रतिशत) छन् । स्विडेन संसारको सबभन्दा कम धूमपान गर्ने राष्ट्र हो । विश्वव्यापी रूपमा धूमपान गर्ने औसत १४ वर्षभन्दा माथिका व्यक्तिले प्रतिवर्ष १०८३ खिल्ली चुरोट खाने अनुमान गरिएको छ । यसमा सबभन्दा बढी अन्डोरामा ६,३९८ र लक्जमबर्गमा ६,३३१, बेल्जियम २,९११ अनि सबभन्दा कम ब्रुनाईमा ९.७ खिल्ली खाने देखिन्छ । 

धूमपानको वैध तथा अवैध धन्दा संसारकै एक मुख्य आर्थिक उपार्जन गर्ने स्रोत हो । सन् २०२२ मा विश्वव्यापी सुर्ती बजारको आकार ८६७.५५ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । एसिया र अफ्रिकाका विकासोन्मुख क्षेत्रमा बढ्दो सुर्ती खपतका कारण सन् २०२३ देखि २०३० सम्म वार्षिक २.१ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । धेरै देशमा सरकार बनाउने भत्काउने काम यही व्यवसायमा संलग्नहरूको हातमा हुने गरेको छ । आपराधिक घटनामा पनि यिनीहरूकै वर्चस्व रहेको छ । त्यसैले कानुन बनाएर नियन्त्रण वा निषेध गरिए पनि कुनै न कुनै ढङ्गले समाजमा यसले गहिरो छाप पारिरहेको हुन्छ । त्यसो त कानुनले वर्जित गरेका धेरै काम संसारभरि भइरहेका छन् । जति सभ्य र सुसंस्कृत समाज निर्माण भएका छन्, त्यहाँभित्र हुने गरेका अपराध झन् बढी व्रमर र अमानवीय प्रकारका हुने गरेका छन् । सुर्ती व्यापारको आफ्नै साम्राज्य छ । त्यसैले कानुनको खिलापमा खुल्लमखुला प्रतिकार भइरहेको हुन्छ । 

जीवनयापनको शैली आआफ्नै प्रकारको हुन पाउनु पर्छ र यो नितान्त व्यक्तिगत इच्छा भएकोले एक प्रकारको मानव अधिकारको परिभाषा भित्र पर्ने भनेर यस मुद्दामा पनि वकालत गरिएको देखिन्छ । कतिपय देशमा यसरी आवाज उठाउनका लागि सुर्ती कम्पनीको सहयोगमा विभिन्न प्रकारका सङ्गठनहरू नै निर्माण गरिएका हुन्छन् । उदारहणका लागि बेलायतमा सत्तरीको दशकतिर पहिला टोब्याको अडभाइस सेन्टर (टिएसी) र पछि फ्रिडम अर्गनाइजेसन फर द राइट टु एन्जोय स्मोकिङ टोब्याको (एफओआरइएसटी) नामक सङ्गठन कार्यरत छ । 


२०८० माघ ६ ०८:१३ बजे

प्रतिक्रिया