हाम्रो विदेश मोहको परम्परा र साँस्कृतिक मनोविज्ञान

युवाहरुले विदेशमा पसिना बगाएका कुनै पनि मुलुकले काँचुली फेर्न सकेका छैनन् । देश आत्मनिर्भर नभइकन जति सम्पन्न भए पनि हाम्रो घर आत्मनिर्भर हुन सक्दैन । आत्मनिर्भर नभएको घर जतिसुकै भव्य र विशाल किन नहोस् यो सुन्दर हुँदैन"

bimbonline शशिधर भण्डारी
२०७९ माघ ११ ०९:२३ बजे
शशिधर भण्डारी

सोह्रौं शताब्दीको दोस्रो दशकबाट भारतमा मुगलहरुको शासन शुरु भएको थियो । त्यतिबेला नेपालीहरु भारतमा जाने आउने गरेको इतिहास भेटिन्छ । त्यतिबेला भारतलाई विशेषतः मुगलान भन्ने प्रचलन थियो । भारत पुगेर फर्केकालाई मुग्लानिया भनिन्थ्यो । जुम्लाको राडीपाखी र जडीबुटी मुगलहरुको दरवारमा पुग्थ्यो भन्ने भनाइ छ । सत्रौं शताब्दीको शुरुमा भारतमा अंग्रेजहरु प्रवेश गरे । विस्तारै तिनीहरुले समग्र भारतको ठूलो भागमा आफ्नो साम्राज्य कायम गरे । अंग्रेजकालीन भारतमा पनि नेपालीहरु भारतमा जाने काम गर्ने र फर्कने गरेको कुरा इतिहासमा भेटिन्छ । नेपालीहरु सिन्धु र लाहोरसम्म पुग्थे । त्यतिबेला लाहोर जाने भन्ने प्रचलन थियो । लाहोर पुगेर फर्केकालाई लाहोरे भन्दा भन्दै लाहुरे शब्दको उत्पति भयो । त्यसकालमा नेपालीहरु पत्थर खोज्न वा पत्थर खानीमा काम खोज्न पूर्वमा वर्मा वा आजको म्यानमार सम्म पुग्थे । कैयौं नेपालीहरुले त्यतै घरजम गरेर बसे । आज वर्मामा लाखौं नेपाली भाषीहरु छन् । तिनले आजसम्म नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाएर बसेका छन् । त्यो धेरै खुशीको कुरा हो । त्यतिबेला समस्याहरुमा पर्दा नेपाल गयो कपाससँगै र वर्मा गयो कर्मसँगै भन्ने प्रचलन थियो । त्यो एउटा उखानका रुपमा नेपाली समाजमा आज पनि प्रचलित छ । राजा राम शाहको पालामा तत्कालीन भुटानका राजाको अनुरोधमा कालीगडीदेखि लिएर विभिन्न कामका लागि ५० घर नेपालीहरु भुटान गएका थिए । तिनीहरु विभिन्न जातजातिका थिए । आज भुटानमा रहेका नेपालीहरुलाई आफ्नो भाषा, धर्म, पहिचान र संस्कृति संरक्षण गर्न कठिन भइरहेको छ । भुटानी शरणार्थीहरु पनि त्यस अन्तर्गत नै पर्दछन् । यसरी हेर्दा नेपालीहरु चलायमान र देशविदेश घुम्ने काम गरेर खाने स्वाभीमानी संस्कृतिका अनुयायी मानिन्छन् । आज भारतको श्रम बजारमा पचासौं लाख नेपालीहरु छन् । भारतमा नेपाली र सिखहरुले मागेर खाँदैनन् कामै गरेर खान्छन् भन्ने मान्यता स्थापित छ । यो नेपाली कर्मशीलताको परिचय हो । नेपालीहरुको अर्को वीरताको पहिचान छ । हाम्रा पुर्खाहरुले विश्व हल्लाएको अंग्रेजी साम्राज्यवादसित घनघोर लडाइँ लडेर देशलाई गुलाम बन्न दिएनन् ।

 

अंग्रेजी साम्राज्यवादका विरुद्धमा जीवन मरणको लडाइँ लडेका नेपालीहरु सन् १८१६ को सुगौली सन्धिसँगै अंग्रेजको पल्टनमा भर्ति हुने कालक्रम शुरु भयो । प्रथम र द्वितीय विश्वयुद्धमा नेपाल अंग्रेजको त्यस्तो हितैषी भयो कि लाखौं युवाहरुले अंग्रेजको पक्षमा लडेर ज्यान गुमाए । त्यसपछि भारतमा नोकरी गर्न जाने सिलसिलामा बढोत्तरी आउँदै गयो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतस्थित छ गोर्खा पल्टनमा चारवटा भारतमा रहे भने दुईवटा अंग्रेजहरुले लगेर गए । गोर्खा पल्टन मलाया र फोकल्याण्डमा खतरनाक युद्धहरुमा निर्मम लडाईं लड्यो । जनतालाई निचोर्ने सामन्ती व्यवस्थाका कारण पिछडिएको अवस्थामा रहेका नेपालीहरुको नुन तेलको गर्जो टार्ने गन्त्व्य भारत बन्न गयो । सन् १९९० पछाडि नेपालका लागि खाडी लगायत तेस्रो संसारमा श्रम बजार खुल्यो । त्यसपछि नेपालीहरु खाडी मुलुकदेखि अफ्रिकाको अल्जेरिया युरोप अमेरिका एशियाका विकसित देश तथा भारतभरि लाखौंको संख्यामा छरिएर सस्तो मूल्यमा श्रम बेचिरहेका छन् । आज त नेपाली अर्थतन्त्रको मेरुदण्ड नै रेमिट्यान्स भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुईहजारको अनुपातमा नेपालीहरु विदेश उड्छन् र दैनिक दुईजनाको अनुपातमा विदेशमा मृत्यु भएका नेपालीको शव बाकसमा प्याक भएर स्वदेश आउँछ । भारतमा काम गर्न जाने र त्यहाँ मृत्यु हुनेको त लेखाजोखा नै छैन । आज विदेशी श्रम बजारमा नेपालीको व्यापक उपस्थिति नेपाली समाजको व्यथा, पीडा, चिन्ता, वेदना र वैरागको पर्याय बनेको छ । राज्य शोषणप्रधान छ र नागरिकप्रतिको उत्तरदायित्व वहन गर्दैन । त्यसकारण नेपाली युवाहरु विदेशलाई आफ्नो गन्त्व्य बनाउने मनस्थितिमा पुग्न विवश छन् । युवाहरुले देशमा खास भविष्य देख्दैनन् । त्यो एउटा पक्ष हो । अर्कोतिर हाम्रो परम्परागत संस्कृति पनि लाहुरे संस्कृतिका रुपमा स्थापित हुँदै आएको छ । हामीले दशैंमा मान्यजनहरुबाट टीका थाप्दा अमेरिका, युरोप गएर पैसा कमाउनु, डिवी परोस, भारत र व्रिटिश आर्मीमा भर्ति हुन पाउने सौभाग्य मिलोस् आदि भन्ने आशिष थाप्दछौं । त्यसो त चार सय वर्षको इतिहासमा विदेशमोह हाम्रो एक प्रकारको संस्कृति बनिसकेको देखिन्छ । सरकारले विदेश जानै पर्ने परिस्थिति निर्माण गराइदिनु एउटा कुरा हो । अर्को कुरा देखासिकीमा विदेशमोहको मनस्थिति बनाउनु अर्को कुरा हो । वैचारिकरुपमा विदेशमोही मनस्थिति राम्रो कुरा होइन ।

 

देशको युवाशक्तिको पसिना विदेशमा बगाउने कुनै पनि मुलुक आत्मनिर्भर र समृद्ध नभएको तथ्य इतिहास बोल्दछ । रुस, चीन र युरोप अमेरिकाका विकसित मुलुकहरुले रेमिट्यान्सबाट समृद्धि प्राप्त गरेका होइनन् । युवाहरुलाई सरकारले विदेश पठायो । विदेशमा युवाहरुले काम प्रविधि, लगन र अनुशासन सिके अनि आफ्नो मुलुकमा आएर लागु गरे । जापान, कोरिया, मलेसिया, चीन र सिंगापुर त्यसरी समृद्ध भएका हुन् । आज नेपालका सस्तो श्रम बेच्ने युवाहरु मात्र विदेशमा छैनन् । कृषि विशेषज्ञ, जलस्रोतविद, वैज्ञानिक, प्राध्यापक, विकासविद र कैयन चिन्तकहरु देशमा काम नपाएर विदेशमा काम गरिरहेका छन् । उदाहरणका लागि लाओस र थाइल्याण्डमा जलस्रोतको सेक्टरमा काम गर्ने अधिकांश विशेषज्ञ नेपालीहरु छन् । सरकारले सस्तो श्रम बेच्ने युवाहरुदेखि लिएर विदेशमा रहेका विज्ञ प्राविधिक, चिन्तक र विकासविदहरुलाई देशमा काममा लगाउने वातावरण बनाउने योजना बनाउनु पर्दछ । राष्ट्रघाती सन्धि सम्झौता गर्ने, विदेशी लगानी र विदेशी ठेकेदार भित्रयाउने, विदेशी बैंकहरुबाट ऋण लिने, चर्को व्याज तिर्ने, विकासको खराव मोडेल अपनाउने, उदारीकरणको नीति मार्फत अर्थतन्त्र दलाल पूँजीपतिलाई सुम्पने, राष्ट्रिय उत्पादन शून्यमा झार्ने, सबै आयात गर्ने युवाको पसिना मात्रै निर्यात गर्ने अनि रेमिट्यान्सले गर्जो टार्ने गरेर देशले कदापि काँचुली फेर्न सक्ने छैन । त्यसैले हामीले सर्वप्रथम विदेशमोही परम्परा र सांस्कृतिक चेत बदल्न नितान्त जरुरी छ । सर्वेक्षणहरुले नेपालीहरु दक्षिण एशियाका खुशी अवस्थामा रहेका जाति हुन् भन्ने देखाएका छन् । तर यथार्थमा नेपाली समाजको चुसाहा भ्रष्ट र राष्ट्रको ढुकुटी लुट्नेहरु मात्र खुशी छन् । समाजको निम्न र तल्लो तहमा रहेका जनताको जीवन अत्यन्त संघर्षमय, विछोड तथा वियोगले भरिएको छ । साँझ बिहानको गर्जो र एक सरो ओरापरीकै निमित्त हाम्रो नेपाली समाजमा बाउछोरा, आमा छोरा, दाजुभाई, दिदी बहिनी मात्र होइन श्रीमान् श्रीमतीहरु समेत वर्षौंसम्म एउटै परिवारमा बस्न पाइरहेका छैनन् । तिनीहरु केही महिना अलग भएर एउटै देशमा बस्न पाउनुलाई विविध कारणले सामान्य रुपमा लिन सकिएला तर श्रीमान् श्रीमतीका युगल जोडी वर्षौंसम्म एउटै देशमा बस्न सक्ने परिस्थिति छैन । युगल जोडीका यौवनहरु त्यत्तिकै ओइलाएर गएका छन् । यो सामान्य पीडादायी जीन्दगी होइन । कोरोनाको प्रकोप कालमा लाखौंको संख्यामा भारतबाट नेपालीहरु घर फर्के । तिनीहरु चार महिना मात्र गाउँमा बस्दा सुदूरपश्चिम पहाड र कर्णालीमा ठूलो संकट उत्पन्न भइहाल्यो । ती वस्तीहरु भोक र अभावले हल्लिन थाले । कोरोना प्रकोपको अवस्थामा थोरै मात्र सुधार हुँदासाथ लाखौं नेपालीहरु भारततिरै ओरालो झर्न विवश भए ।

 

नेपालमा अहिलेसम्म जसको र जुन पार्टीको सरकार निर्माण भएता पनि त्यसको समग्र चरित्र निकै भ्रष्ट र विलासी नै हुँदै आएको छ । जन्मिदै प्रत्येक नेपालीको थाप्लोमा सत्तरी हजार ऋणको भार पर्दछ । अठार खर्वको राष्ट्रिय बजेट बन्छ । उन्नाइस खर्व विदेशी ऋणले देशलाई थला पारिरहेको छ । अनियन्त्रितरुपले लगातार व्यापार घाटा बढ्दै गएको छ । देश परनिर्भर र लगभग शून्य उत्पादनको अवस्थाबाट गुज्रदैछ । यु्वा बेरोजगारी समस्या देशको डरलाग्दो समस्या बनेर उभिएको छ । यो संसदीय व्यवस्थामा दलाल तथा नोकरशाही पूँजीपति र सामन्तहरुले रिमोट समातेर सञ्चालन गर्ने व्यवस्था हो । यो व्यवस्थामा निम्न र तल्लो वर्गका जनताको अवस्थामा कदापि सुधार हुन सक्दैन । त्यसकारण यो व्यवस्थाको अन्त्य र नयाँ जनवादी गणतन्त्रको स्थापना नभइकन जनताको अवस्था र जीवनपद्धति फेरिन्न । त्यसका निमित्त संघर्ष अनिवार्य हुन जान्छ । प्रथमतः नेपाली युवाले विदेशलाई गन्त्व्य बनाउनु यो व्यवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति हो । द्वितीयः हाम्रो परम्परागत लाहुरे संस्कृतिको मनोवैज्ञानिक परिणाम पनि हो । आज युवाहरुमा विदेशमोह बढ्दै जाँदा पहाड र गाउँका वस्तीरु उजाड भइरहेका छन् । खेतवारीहरु बाँझै छन् । तराई र शहरमा जनघनत्व केन्द्रित हुँदै गएको छ । यसले मुलुकमा आवाशीय असन्तुलनलाई गम्भीर समस्याका रुपमा उभ्याउँदै जान थालेको छ । विदेशमा खेर गइरहेको पसिना यही देशमै खर्च गर्ने हो भने हाम्रो मुलुक कृषि, उर्जा, पर्यटन र जडीबुटीमा काफी सम्भावना बोकेको मुलुक हो । उत्पादन, विकास र प्रगतिको सम्भावना खोज्दा दलाल पूँजीवाद ठूलो बाधक बनेर उभियो भने त्यसका विरुद्धमा निर्मम संघर्ष गर्नुपर्ने परिस्थिति सिर्जना हुन सक्छ । त्यसका विरुद्धमा संघर्ष गरेर मुलुकमा सुव्यवस्था कायम गर्न पनि विदेश होइन स्वदेशलाई नै कर्मथलो बनाएमा मात्र सम्भव छ । इतिहास साक्षी छ युवाहरुले विदेशमा पसिना बगाएका कुनै पनि मुलुकले काँचुली फेर्न सकेका छैनन् । देश आत्मनिर्भर नभइकन जति सम्पन्न भए पनि हाम्रो घर आत्मनिर्भर हुन सक्दैन । आत्मनिर्भर नभएको घर जतिसुकै भव्य र विशाल किन नहोस् यो सुन्दर हुँदैन । देश सुन्दर नभइकन घर सुन्दर हुँदैन । त्यसैले हामीले सर्वप्रथम विदेशमोही परम्परा र सांस्कृतिक मनोविज्ञान बदल्न जरुरी छ ।

 

२०७९ माघ ११ ०९:२३ बजे

प्रतिक्रिया