नयाँ पुस्ताले अध्ययन गर्दै माओलाई

bimbonline बाबुराम आचार्य
२०७९ पुष २० २१:१७ बजे
माओ

काठमाडौं । अहिले चीनका युवा पुस्ताले माओलाई अध्ययन गर्न थालेका छन् । माओका संकलित रचनाहरूमा आफूभित्रका प्रश्नहरूको जवाफ पहिल्याउने कोशिश गर्न थालेका छन् । चीनमा ट्विटर जस्तो लोकप्रिय सामाजिक सञ्जाल सिना वेइबोमा माओका संकलित रचनाहरूको अध्ययन, बहस गर्ने समूहहरू बनेका छन् । सञ्जाल प्रयोग गरेर हुने यस्ता बहस, छलफल कर्ताहरूले माओका रचनाहरू उपर गहन छलफल चलाउँदै आएका छन् । उनीहरूले माओका रचनाहरू मध्ये आफुहरुलाइ  मन परेका रचनाहरू  पोस्ट गर्ने गरेका छन् ।

उन्नाइसौं शताब्दीको मध्यसम्म आफ्नोबारेमा अनविज्ञ रहेको चीन आज विश्वको नेतृत्व गर्ने महत्वाकाङ्क्षा बोकेर अगाडि बढेको छ । अहिलेको चीनको सम्वृद्धिको जग बसाल्न माओको नेतृत्वमा स्थापित राजनीतिक आर्थिक व्यवस्थाको नै भूमिका रहेको छ । युरोपेली शक्ति राष्ट्रहरूको क्रिडास्थलका रुपमा चिनिन्थ्यो तात्कालिक चीन । पुरै शहर अस्तव्यस्त थियो । अड्डामा हाकिमहरू त चिनियाँ नै थिए । शासन, प्रशासन चीन कै थियो तर त्यो केवल मुकदर्शकका रुपमा । प्रशासनिक हैकम, शहरमा रजगज, व्यापारमा पकड, साना ठूला तटीय बन्दरगाहहरूमा हालीमुहाली सबै जसो युरोपेली राष्ट्रका सेनाहरूले बाँडीचुँडी कब्जा गरेका थिए । देशको पुरै ब्यापार ब्रिटेन साम्राज्यवादको नियन्त्रणमा थियो । ब्रिटिस सेनासँग लडेर ब्यापार आफ्नो नियन्त्रणमा ल्याउने कुरा चिनियाँ सेनाले कल्पना समेत गर्न सक्दैनथे ।

तात्कालिक बेलायती साम्राज्यवादको प्रभाव यति बलियो थियो कि मानौं चीनले सास फेर्न पनि उसको अनुमति लिनुपर्थ्यो । त्यो अवस्थाबाट गुज्रिएको चीनलाई  थप ध्वस्त पार्नु उसको लागि कुनै कठिनाइ बेहोर्नु पर्ने कुरै थिएन । उसले आफ्नो सीमित स्वार्थको लागि चीनमा अफिमको प्रयोगलाई बढाउँदै गयो र आफ्नो स्वार्थ पुरा गरि छाड्यो ।

इशा पुर्व दोस्रो शताब्दीका राजवंश चीन (छिङ) को कारण नै चीन नामकरण गरी यही नाम मार्फत परिचित रहेको मानिन्छ ।मानवीय समाजलाई आवश्यक पर्ने हातहतियार एवं भाँडाकुँडा सबैभन्दा पहिले प्रयोग चिनियाँहरूले नै गरेको इतिहास पाइन्छ । त्यस्तै करिब सन्ताउन्न सय वर्ष अगाडि जुन बेला संसारमा खेतीपातीको चलन नै थिएन त्यतिबेला चीनमा खेतीपाती र पशुपालन प्रणालीको आरम्भ भएको थियो ।

पंहेलो नदीको तटीय क्षेत्रमा उति बेला गरिएको खेतीपाती र पशुपालनलाई इतिहासविदहरुले लिपिबद्ध गरेको पाइन्छ । इशा पुर्ब २२१/२०७ तिर छिङ राजवंशका प्रथम सम्राट सि हवाङ्दीले केन्द्रिकृत राज्यको स्थापना गरेका थिए । त्यसयता  १९११ को क्रान्ति पूर्व त्यहाँ विभिन्न वंशका राजाहरुले हजारौं वर्ष शासन गरेको इतिहास छ ।

बत्तिस वटा प्रदेश, दुईवटा स्वायत्त प्रदेशमा चीनको प्रशासनिक विभाजन गरिएको छ । सन् २०२१ को गणना अनुसार चीनको जनसंख्या १.४१२ बिलियन रहेको छ । यो देशको क्षेत्रफल ९५ लाख ९६ हजार वर्ग किलोमिटर फैलिएको छ ।

सन् १९११ को क्रान्तिलाई आधुनिक चीनको सुरुवात मानिन्छ । जुन क्रान्तिको नेतृत्व सन यात सेनले गरेका थिए ।१८४० को अफिम युद्ध, १८९४ को चीन जपान युद्ध, सन १९०० मा एक चीनका विरुद्धमा आठ साम्राज्यवादी देशहरुले गरेको हमलाले थलिएको देश हो चीन ।

अफिम युद्ध सङ्गै भित्रिएको अग्रेजले चीनको प्राकृतिक, आर्थिक, सामाजिक सामन्ती अवस्थालाई छिन्नभिन्न बनाएर चिनियाँ समाजलाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा पुर्याइ दियो । यसरी लथालिङ्ग भएको चीन सम्हालेर नयाँ निर्माणका लागि एउटा पुरुषार्थ सहितको युग पुरुषको आवस्यकता थियो । माओको उदयले कालान्तरमा त्यो आवश्यकता पूरा गर्यो । १८९३डिसेम्बर २६ मा माओको जन्म भयो । एउटा सानो गाउँ फराकिलो दुरीमा छरिएका सीमित घरहरु रहेको, चारैतिर पहाडहरु र तिनै पहाडको छातीबाट बगेका जलासयका प्राकृतिक रोमाञ्चकले भरीपूर्ण रहेको यही पहाडै पहाडको तटीय गाउँमा माओको जन्म भएको थियो । चिनियाँ परम्परा आनुसारको ‘माओ’ जातिलाई  अगाडि जोडेर ( त्से–– तुङ्ग) नाम जोडेर उनलाई माओ–त्सेतुङ्ग भनिएको थियो । माता तुङ्ग–चिया –तो र पिता माओ जेन् –– शेग  (शुन–– शेन) थिए ।

माओ सानै उमेरदेखि मिहनेती, उर्जावान,लगनशील थिए ।आधारभूत वर्ग सँगको संगत, प्रत्यक्ष श्रममा सामेल हुँदै अगाडि बढेका उनले आठ वर्षको उमेरबाट शैक्षिक जीवनको सुरुवात गरे अर्थात् विसौं शताब्दीको आरम्भसँगै उनको जीवनमा शिक्षाले प्रवेश पायो ।

१३ औं वर्षको उमेरमा ग्रामीण शिक्षा पुरा गरेका माओले औपचारिक शिक्षा सङ्गै अतिरिक्त अध्ययनमा आफूलाई डुबाउन थाले । विभिन्नशासकहरु र उत्पीडकहरु विरुद्धका बिद्रोहका कथाले भरिएका पुस्तकहरुमा रुची राख्ने उनले त्यस बेलासम्म ताई पिङको कथा पूरै अध्ययन गरिसकेका थिए, जुन कथामा कसरी पश्चिमा शक्तिहरुले चीनमा लुटको राज्य खडा गरेर सारा चीनलाई ध्वस्त बनाएको थियो रु भन्ने बारेमा उल्लेख थियो । उनी १९१३ मा हुपेका राज्यपाल लि युवान हुङ्गद्वार संचालित क्रान्तिकारी सेनामा सामेल भए र कैयौं लडाइहरुमा भाग लिएर सफलतातिर लम्किरहे ।यसैबीच अस्थायी चीन गणतन्त्र सरकारको संघर्ष चल्यो जसको सभापति डा. सन यात सेनलाई बनाइयो ।

साम्राज्यवादको खेलौनाका रुपमा रहेको कुओमीन ताँगका उग्र नेता शि काइको सत्तामा जाने वातावरण बनेपछि छ महिनाको सैनिक जीवनबाट माओ बाहिरिए जतिबेला उनी १८ वर्षका थिए । १९१३ मा कलेज भर्ना भएका उनले सोही कलेजबाट नै आफ्नो सामाजिक लक्ष्य तय गरे । ज्ञान हासिल गरे र एउटा सुन्दर दृष्टिकोण निर्माण गरे ।

नेतृत्वमा हुनुपर्ने न्युनतम गुण जन्म जातै लिएर आएका माओले बिस्तारै ब्यबहारमा निखार ल्याउँदै गए । कलेजमा छात्र संगठन गरेर त्यहाँ रहेका ६०० जना विद्यार्थीको नेतृत्व गरे । “नुतन जनता संघ, नव साँस्कृतिक आन्दोलन, जस्ता संघ, संगठनको माध्यमबाट जनताको बीचमा स्थापित भए ।१९१८ मा उनी ग्रेजुएट बने जतिबेलासम्म रुसमा अक्टोबर क्रान्ति सम्पन्न भैसकेको थियो र त्यसको प्रत्यक्ष प्रभाव चीनमा परेको थियो।
 ।
१९२० मा चीनको विषयमा सोभियत सरकारले वक्तव्य नै निकालेर जारशाहीकालीन विशेषाधिकारका नाउँमा चीनमाथि जमाएको आधिपत्य फुकुवा गरेको घोषणा गर्यो । त्यो आन्दोलनको तागतले जारशाही ढल्नु र नयाँ ब्यवस्था सहितको रुसले जारी गरेको वक्तव्यले चिनियाँ जनतामा संघर्षद्धारा चीनमा कायम ब्यवस्था र साम्राज्यवादको आधिपत्यलाई निमिट्यान्न पार्न सकिन्छ भन्ने कुरामा विश्वास जागृत गर्याे ।

१९२० मा माओले हुवानमा माक्र्सवादी संगठनको स्थापना गरे । त्यही संगठनको प्रतिनिधि बनेर उनी सङ्घायी सम्मेलनमा भाग लिन गए ।
सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टीको संस्थापक सदस्यहरुमध्ये माओ एक जना थिए।

१९२३ को तेस्रो पार्टी काङ्ग्रेसबाट उनी पाँच कमिसार मध्येका एक सदस्यमा चुनिए । १९२१ देखि २७ सम्म प्रथम क्रान्तिकारी युद्ध, १९२७ देखि १९३६ सम्मको दोस्रो पटकको क्रान्तिकारी युद्ध र १९३६ देखि १९४५ सम्मको जापानी साम्राज्यवाद विरुद्धको प्रतिरोध युद्ध, १९४५ देखि १९४९ सम्मको तेस्रो क्रान्तिकारी गृहयुद्ध र नयाँ चीन अर्थात जन– गणतन्त्रको स्थापना । यसरी चार युद्धकालका रूपमा विभक्त गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको जीवनकाल जस्तै माओको जीवन पनि कष्टप्रद , त्याग बलिदान र समर्पणले भरिएको छ ।

उनी निरन्तर सही विचारको पक्षमा थिए । निरन्तर विचार विज्ञानको नियम हो र त्यो पक्रेर उनले “उत्पादन संघर्ष, वर्ग संघर्ष र त्यसको बैज्ञानिक प्रयोग” लाई नै क्रान्तिको निरन्तरता वा बिचारको निरन्तरता बताए । कमरेड माओले  पूरा ५० वर्ष विश्व साम्राज्यवाद, प्रतिकृयावाद र संशोधनवादका विरुद्ध अद्वितीय संघर्ष गरे ।

माओ, माक्र्सवाद, लेनिनवादका सच्चा अनुयायी थिए । उनले चीनको परिस्थितिमा माक्र्सवाद, लेनिनवादलाई प्रयोग गरे । चीन जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकमा नयाँ जनवादको बाटो हुँदै समाजवादमा जाने बाटो तय गरे । माओको योगदानलाई संसारभरीका माक्र्सवादी, लेनिनवादीहरुले आजसम्म माओ विचारधाराका रूपमा ग्रहण गर्दै आएका छन् । पछिल्लो अवधिमा कतिपयले माओको योगदानलाई “माओवाद” पदावली पनि प्रयोग गरेका छन् ।

उनले चीनमा महान सर्वहारा सांस्कृतिक क्रान्ति (१९६६–१९७६) संचालन गरे । आजको विश्वमा  कम्युनिज्मका सिद्धान्त भन्दा वित्तिकै माओ बिचारधाराका जगमा नै जीवित भएर उभिएका छन् । माओका सिदान्त विरुद्ध संशोधनवाद, सामाजिक साम्राज्यवाद चीनमा (सि विचारधारा, पूर्वी समाजवादी मुलुकहरुमा युरो कम्युनिज्म, अमेरिकी, वव अभाकियनको न्यू संश्लेषण र नेपालमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा मसाल) आदि नेतृत्व खडा छ । आज एकातिर माओको देवत्वकरण गरिएको छ भने अर्कोतिर माओको दानवत्वकरण गरिएको छ । यी दुबै तरिकाहरु गलत र निन्दनीय छन् । नेपाली कम्युनिस्ट आन्दोलन साम्राज्यवादको छायाँ संशोधनवाद बन्दै गइरहेको अवस्थामा एकाथरी माओको नाम लिनै डराउने र अर्कोथरीले माओको नाम जपेर नै उहाँका बिचारहरुको हत्या गर्दै आएको हुँदा हामीले त्यो कुरा जनतामा पुर्याउने जिम्मेवारी लिनुपर्ने बेला आएको छ ।

माओविचारधाराको सैद्धान्तिक मार्गदर्शन विना नयाँ जनवादी क्रान्तिमा पुग्न सकिदैन । सर्वहारा अधिनायकत्व क्रान्तिको निरन्तरता विना साम्यवादमा पुग्ने कुरा गर्नु हवाइ कल्पना हो ।  आधुनिक संशोधनवादका पछिल्ला सिद्धान्तकारहरु – टिटो, खु्रश्चोभ व्रेझनेभ, ल्युशाओ ची, देङ्ग – सि जिङ पिङ, वव अभाकियन हुन् । नेपालमा मनमोहन मदन भण्डारी, प्रचण्ड हुँदै मोहन विक्रमहरुले नै मुलधारको संसोधनवादको नेतृत्व गरेका छन्  ।

वर्तमान दलाल नोकरशाही वर्गसत्ताको संविधान, संसद, प्रशासन, चिन्तनको सेवार्थ संसदीय दलहरु खडा छन् ।  आज तिनैको पछि पछि लत्रेका संसदीय कम्युनिष्ट दल झनै उत्पीडक , शोषक बन्ने तर्फ उद्दत छन् । आज नेपालका कथित कम्युनिस्ट दलहरु दलाल साम्राज्यवादी शक्तिका सेवक बन्दै गएका छन् र माओको नाम लिएर अगाडि बढ्दा आफ्ना स्वार्थमा धक्का पुग्ने महशुस गरेर उहाँको बद्नाम गर्न उद्धत छन् । माओले निर्माण गरेका  लालसेना, छापामार युद्ध, गाउँदेखि शहर घेर्ने दीर्घकालीन जनयुद्ध जस्ता माओ विचारधाराका महत्वपूर्ण कडीहरु हुन् । क्रान्तिकारी पार्टी, अनुशासित सेना र संयुक्त रणनीतिक मोर्चालाई क्रान्तिकारी तीन जादुगरी हतियार भन्ने संश्लेषण उनले नै गरे । बन्दुकको नालले नै सत्ता जन्माउने निष्कर्षसहित चिनियाँ नयाँ जनवादी क्रान्तिको नेतृत्व गरे । मजदूर–किसान एकतामा आधारित क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्नुपर्दछ र क्रान्तिको चरित्र नयाँ खाले पुँजीवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको नाम दिए र चीनमा सन् १९४९ मा  माओकै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । उहाँको योगदान माथि हिलो छ्याप्ने छद्मभेसी कम्युनिस्टहरुको कमी छैन अहिलेको विश्वमा ।

हो, अमेरिकी लेखक एड्गर स्नोले भनेजस्तै माओ ‘चिनियाँ आकाशका रातो तारा’ हुन । माओले संसारलाई क्रान्तिकारी विचार प्रदान गरे । उनले संसारको व्याख्याको साथै संसार बदल्ने एक सूत्रधारका रुपमा आफुलाई उभ्याए । एक अभियन्ता, एक लडाकु, एक कुशल नेतृत्वकर्ता बनेर संसारलाई चकित मात्रै पारेनन, एक कुशल रणनीतिकार पनि थिए उनी । एक कुशल राजनीतिज्ञ, लेखक तथा साहित्यकार आदि विशेषणबाट विभूषित छन् उनी । माओलाई माक्र्सवादलाई चिनियाँ भूमिमा सही एवं सफल प्रयोग गर्ने क्रान्तिकारी नेताको रूपमा विश्वले सम्झिरहने छ र उनले छोपेको क्रान्तिकारी झण्डा अब सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले छोप्नुपर्ने बेला आएको छ ।  
 (लेखक-नेकपा(मशाल)को नेता हुनुहुन्छ)

२०७९ पुष २० २१:१७ बजे

प्रतिक्रिया