आगामि निर्वाचनमा विभिन्न ५०३ थरी मतपत्र

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ ०७:४५ बजे
मतपत्र

काठमााडौं ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५०३ प्रकारका मतपत्र हुने भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० क्षेत्रका फरकफरक मतपत्र 

 हुने भएको हो । समानुपातिकतर्फ प्रतिनिधिसभाको देशभर एउटै र सात प्रदेशका लागि सात थरी मतपत्र हुने भएको छ । निर्वाचन आयोगले प्रदेशअनुसार फरकफरक मतपत्रको ढाँचा बनाई छापिरहेको छ ।

आयोगका अनुसार समानुपातिकका लागि ४ करोड मतपत्र छपाइसकेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ जारी छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक मतपत्र उम्मेदवारको बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर छापिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताएका छन् । अन्य प्रदेशको समानुपतिकतर्फको मतपत्र भने दल दर्ताका लागि निवेदन दिएको आधारमा छापिएको छ । मतपत्रको कागज सेतो हुनेछ तर प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ रातो र समानुपातिकतर्फ कालो रङको चुनाव चिह्न  रहने उनले बताएका छन् । 

प्रतिनिधिसभाको समानुपातिकतर्फ मतपत्रको पहिलो लहरको सुरुमा एमालेको सूर्य चिह्न छ । यही लहरको दोस्रोमा कांग्रेसको रूख चिह्न, तेस्रोमा माओवादीको गोलाकारभित्र हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता र पाँचौंमा राप्रपाको निर्वाचन चिह्न हलो राखिएको छ ।

आउँदो निर्वाचनमा सबैभन्दा कम दुईवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रदेशसभाका ५ वटा क्षेत्रमा दुई जनाको मात्रै उम्मेदवारी कायम भएकाले त्यहीअनुसार मतपत्र छापिएको हो । प्रतिनिधिसभामा सबैभन्दा कम चिह्न भएका हुम्ला र मनाङ हुन् । त्यहाँका लागि तीनवटा चिह्न भएको मतपत्र छापिएको छ । 

२०७९ कात्तिक १ ०७:४५ बजे

प्रतिक्रिया