नेकपा एमालेको ११ औँ महाधिवेशनको नारा तय

पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर ११ १५:३४ बजे

काठमाडौँ। नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि नारा तय गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औँ राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिएका हुन्। 

उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरूले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताए। पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए। 

पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी उनले दिए। आफूहरूले संवैधानिक हिसाबले अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको उनको भनाइ छ।  उनले संवैधानिक अद्यावधिकका लागि निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सम्पन्न गरिएको उल्लेख गर्दै यो नियमित कार्यको भाग भएको स्पष्ट पारे।

शान्ति–सुरक्षाको विषय उठाउँदै गौतमले सरकार आवश्यक संवेदनशीलता देखाउन नसकिरहेको आरोप लगाए। उनले आगामी निर्वाचन निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्न राज्यले प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न आवश्यक रहेको बताए।



२०८२ मंसिर ११ १५:३४ बजे

प्रतिक्रिया