काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् । भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका उनलाई उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रतिवादी बनाउने सरकारी वकिलको निर्णयमाथि अदालतले प्रश्न उठाएको छ ।
चोरी पैठारी भएको सुन बरामद नभएको र पूरक अभियोगमा थप प्रमाण संकलन नगरिएको तथ्य केलाउँदै उच्च अदालत पाटनले तत्काल अभियोग दावी नपुग्ने ठहर गरेको हो । न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज २० लाख धरौटीमा थुनामुक्त गर्न दिएको आदेशमा अभियोग दर्तामै कैफियत औंल्याइएको छ ।
महराविरुद्ध जाहेरीमा नाम उल्लेख नभएको, अरु अभियुक्तले पोल गरेको नदेखिएको र मिसिलमा थप प्रमाण संकलन गर्न नसकेको कुरालाई अदालतले उठाएको छ । अहिले प्राप्त प्रमाणले थुनामा राख्न पर्नेसम्मको अवस्था नदेखिएको आदेशमा उल्लेख छ ।
प्रतिक्रिया