काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको मृत्यु भएको हो ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा जंगली हात्तीको बथान पसेको थियो । हात्तीको बथानले डगौंराको घरसमेत भत्काएको छ ।
उनका श्रीमान् मोहन डगौंराले भागेर ज्यान जोगाएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ ।
प्रतिक्रिया