काठमाडौं । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।
प्रिन्स विलियम काउन्टीको अदालतमा मङ्गलवार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।
जुरीले फैसला सुनाइएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ । उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ ।
फैसलापछि कमनवेल्थका अभियोजनकर्ता एमी एशवर्थले ममताको जीवन अन्त्य गर्ने नरेशविरुद्धको फैसलाले न्यायको महत्त्वपूर्ण पक्ष पूरा गरेको बताइन् । उनले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि पीडा र अनिश्चितता भोग्नुपरेको उल्लेख गरिन् ।
मङ्गलवार भएको सुनुवाइमा अभियोजन पक्षले प्रतिवादका लागि विषविज्ञान विशेषज्ञ डा। अबिगेल केर्न्स र नरेशका पूर्वरूममेट आकाश रचलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो ।
विशेषज्ञ केर्न्सले ममताले आत्महत्या गर्न प्रयोग गरेको भनिएको सेल्फोस नामक कृषि विषादीमा हुने एल्युमिनियम फस्फाइडको असरबारे अदालतमा बयान दिएकी थिइन् । उनका अनुसार उक्त पदार्थ शरीरमा प्रवेश गरेपछि फस्फिन ग्यास उत्पादन हुन्छ । यसले पेटमा तीव्र दुखाइ, बान्ता, मुटुसम्बन्धी समस्या र श्वासप्रश्वासमा कठिनाइ गराउन सक्छ । गम्भीर अवस्थामा विष सेवन गरेको केही घण्टाभित्रै ज्यान जान सक्ने उनले बताएकी थिइन् ।
नरेशका पूर्वरूममेट आकाश रचले सन् २०२१ मा उनीसँगै बस्दा भएको विवादबारे बयान दिएका थिए । उनका अनुसार विवादका क्रममा नरेशले बन्दुक निकालेर आफू र आफ्नी पत्नीलाई धम्क्याएका थिए ।
त्यस्तै, ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको र उनले आफूलाई कहिल्यै आत्महत्या गर्ने इच्छा व्यक्त नगरेको बयान दिएकी थिइन् । उनले सन् २०२३ को डिसेम्बरमा ममताको अनुहारमा चोटसमेत देखेको बताएकी थिइन् ।
अभियोजन पक्षले मुद्दामा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको जनाएको थियो । तर, प्रतिरक्षा पक्षले अभियोजन पक्षले आरोप पुष्टि गर्न नसकेको दाबी गर्दै नरेशले अदालतमा दिएको बयान सत्य भएको जिकिर गरेको थियो । नरेशले ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए ।
ममता सन् २०२४ मा बेपत्ता भएपछि उनको खोजी र घटनाको अनुसन्धान सुरु भएको थियो । नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो ।
प्रतिक्रिया