महाकाली हक संरक्षण-साइकिल र्‍यालीको प्रारम्भको सम्झना

bimbonline इश्वरी प्रशाद खरेल
२०८३ कात्तिक १३ १२:५७ बजे
साइकल र्यालीको फोटो

२०४९ साल आश्विन २४ गते सुदूरपश्चिम क्षेत्रको जनआन्दोलनको इतिहासमा एउटा स्मरणीय दिन बनेर अंकित भयो। यही दिन महेन्द्रनगरबाट काठमाण्डौतर्फ महाकाली हक संरक्षणको उद्देश्यसहित साइकिल र्‍याली प्रारम्भ गर्ने कार्यक्रम तय गरिएको थियो।

सोही दिन बिहान ठीक ६ बजे हामी नौ जना र्‍यालीकर्ता “महाकाली हक संरक्षण समिति” अर्थात एमाले पार्टी  कार्यालयमा भेला भयौं। कार्यालय परिसर त्यस बिहान असामान्य रूपमा चहलपहलयुक्त थियो।  नेताहरू,कार्यकर्ता,आन्दोलनप्रति सहानुभूति राख्ने साथीहरू तथा शुभेच्छुकहरू हाम्रो विदाइका लागि उपस्थित हुनुहुन्थ्यो।हामी र्‍यालीकर्ताहरू भने यात्राको तयारीमा तल्लीन थियौं।  लामो र कठिन यात्रा हाम्रो प्रतीक्षामा थियो, तर सबैको अनुहारमा आत्मविश्वास र दृढ संकल्प स्पष्ट देखिन्थ्यो।

र्‍यालीको विदाइ कार्यक्रममा महाकाली हक संरक्षण समितिका संयोजक प्रेमसिंह धामी,  भोजराज जोशी ,ऋषिराज लुम्साली (उप संयोजक)लगायत अन्य जिम्मेवार व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। उहाँहरूको उपस्थितिले हाम्रो यात्रालाई नैतिक बल र ऐतिहासिक गम्भीरता प्रदान गरेको अनुभूति भयो।




बिहान ठीक ७ बजेर २० मिनेट जाँदा हामी कार्यालयबाट औपचारिक रूपमा प्रस्थान गर्‍यौं। प्रस्थानपूर्व त्यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूले हामीलाई अवीर र फूलमालाले सम्मानपूर्वक विदाइ गर्नुभयो। ती क्षणहरू भावुक थिए। विशेषतःविभिन्न व्यक्तित्वहरुले फुलमाला १  रुपियाँको  माला गाँसेर बनाएको माला हामी सबै र्‍यालीकर्ताको घाँटीमा पहिराइ दिनुहुँदा, त्यो केवल माला होइन—आशीर्वाद, भरोसा र संघर्षप्रतिको समर्थनको प्रतीक बनेर हाम्रो हृदयमा बस्यो।

“महाकाली साझा हो—पानी आधा–आधा हो” र “महाकाली हक संरक्षण—साइकिल र्‍याली महाकालीदेखि काठमाण्डौतर्फ”

अंकित ब्यानर बोकेर अगाडि दुई जना सहभागी, त्यसपछि हामी नौ जनाको साइकिलको लामबद्ध पंक्ति र पछाडि शुभेच्छुक साथीहरूको साथ—र्‍याली एउटा सानो तर अर्थपूर्ण जुलुसका रूपमा अघि बढ्यो। नारा गुञ्जाउँदै हामीले महेन्द्रनगर नगरपरिक्रमा गर्‍यौं।उक्त साइकल र्‍यालीको नेतृत्व टोलि नेता उर्वादत्त पन्त र उपनेता ईश्वरीप्रसाद खराल हुनुहुन्थ्यो ।(अन्य सहभागीको नाम क्रमश राखिने छ)

नगरपरिक्रमा पश्चात् उक्त जुलुस महेन्द्रनगरकै बसपार्क पुगौ । त्यहाँ हाम्रै केही व्यापारी मित्रहरूको पहलमा स्थापित “खोका–छाप्रा उद्धार समिति” द्वारा एउटा सानो होटलमा नास्ताको व्यवस्था गरिएको थियो।सबै र्‍यालीकर्ता साथीहरू त्यहाँ भेला भई नास्ता गर्‍यौं। अगाडि लामो दूरीको यात्रा थियो, त्यो पनि साइकिलमार्फत—त्यसैले पहिलो दिन शरीर र मन दुवैलाई ऊर्जा दिनु आवश्यक थियो। त्यस बिहानको नास्ता केवल भोजन थिएन। त्यो संघर्षको यात्राका लागि जुटाइएको सामूहिक संकल्प र आत्मबलको प्रारम्भिक घडी थियो।


२०८३ कात्तिक १३ १२:५७ बजे

प्रतिक्रिया