म उभिएको धरातल : सुवर्णपुरको सम्झना

सुवर्णपुरको वनजंगल, खोला, खेतबारी र गाउँले जीवनले दिएको अनुभवलाई म आज समाज र प्रकृतिको सम्बन्धका दृष्टिले पनि सम्झन्छु

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ५ ०७:२२ बजे
लक्ष्मण उप्रेती

मानिसको जीवन कहाँबाट सुरु हुन्छ र उसको विचारको यात्रा कहाँबाट अघि बढ्छ? यी दुई प्रश्नको उत्तर सधैँ एउटै ठाउँमा भेटिँदैन। मानिस जन्मेको माटो एउटा हुन्छ, हुर्केको परिवेश अर्को हुन सक्छ, तर उसको चेतना निर्माण गर्ने अनुभवमा यी दुवै भूगोल मिसिएका हुन्छन्। जन्मभूमिले उसको अस्तित्वको पहिलो परिचय दिन्छ, कर्मभूमिले जीवनका नयाँ अनुभव दिन्छ र समाजसँगको अन्तर्क्रियाले उसको विचारलाई आकार दिन्छ। पछाडि फर्केर आफ्नो जीवनको यात्रा हेर्दा मलाई यस्तै लाग्छ। मेरो जन्म सिन्धुपाल्चोकको लिसंखुमा भयो, तर मेरो बाल्यकाल, औपचारिक शिक्षाको सुरुआती यात्रा र प्रगतिशील राजनीतिक चेतनाको बीजारोपण पर्साको सुवर्णपुरमा भयो। त्यसैले मेरो जीवनको कथा लेख्दा लिसंखुलाई बिर्सन मिल्दैन, सुवर्णपुरलाई छोड्न पनि मिल्दैन। एउटा मेरो जन्मको धरातल हो, अर्को मेरो चेतनाको निर्माण भएको धरातल।

सिन्धुपाल्चोकको लिसंखु गाउँ पन्चायत २०४६ पछि गाउँ  विकास समितिमा जन्मिएको म आजको लिसंखुपाखर गाउँपालिकाअन्तर्गत पर्ने दोभान, खलडाँडा र दुई खोलाको संगमसँग जोडिएको सुन्दर  भूगोलको स्मृति बोकेर हुर्किएको हुँ। बाल्यकालमा मानिसले भूगोलको अर्थ बुझ्दैन, तर उसले जन्मेको ठाउँको प्रकृति, घरपरिवार र वरिपरिको परिवेशसँग एउटा अदृश्य सम्बन्ध गाँसिसकेको हुन्छ। पछि जीवनले अर्कै दिशा समात्छ, मानिस टाढा पुग्छ, तर जन्मको त्यो प्रारम्भिक सम्बन्ध उसको अस्तित्वभित्र कतै रहिरहन्छ।

बुबाको जागिरको सिलसिलामा हाम्रो परिवारले पर्साको सुवर्णपुरमा जग्गा किनेर घर वनाइ बसाइँ सर्‍यो। त्यसपछि मेरो बाल्यकालको संसार सिन्धुपाल्चोकबाट पर्सातिर विस्तार भयो। नयाँ ठाउँ, नयाँ मानिस, नयाँ परिवेश र नयाँ सामाजिक सम्बन्धसँग परिचित हुँदै मैले जीवनका प्रारम्भिक अनुभवहरू बटुलेँ। सुवर्णपुर मेरो निम्ति बसाइँ सरेर पुगेको एउटा गाउँ मात्र रहेन। यहीँ मैले पढ्न सिकेँ, यहीँ साथी बनाएँ, यहीँ शिक्षकबाट शिक्षा पाएँ र यहीँबाट समाज तथा राजनीतिलाई बुझ्ने मेरो प्रारम्भिक यात्रा अघि बढ्यो।

त्यतिबेला सुवर्णपुर गाउँ पन्चायत २०४६ पछि गाउँ  विकास समितिका रूपमा चिनिन्थ्यो। अहिले यो ठोरी गाउँपालिकाको अङ्ग बनेको छ र गाउँपालिकाको केन्द्रीय भाग सुवर्णपुरनै रहेको छ। प्रशासनिक नाम र संरचना फेरिएका छन्, समय बदलिएको छ, गाउँको स्वरूप पनि बदलिएको छ। तर मेरो स्मृतिमा सुवर्णपुर एउटा यस्तो धरातलका रूपमा उभिएको छ, जहाँ मेरो बाल्यकालका अनुभव, विद्यार्थी जीवनका संघर्ष, मित्रता, अध्ययन र राजनीतिक चेतनाका प्रारम्भिक सूत्रहरू गाँसिएका छन्।

सुवर्णपुरको प्राकृतिक परिवेश पनि मेरो जीवनको स्मृतिबाट अलग छैन। वनजंगल, खेतबारी, खोला र खोल्साहरूले घेरिएको तराईको यो भूगोलमा प्रकृति र मानिसको जीवनबीचको सम्बन्ध नजिकबाट देख्न सकिन्थ्यो। गाउँको जीवन बुझ्न त्यहाँका बाटाघाटा, खेतबारी र बस्ती हेरेर मात्र पुग्दैन प्रकृतिमा निर्भर श्रम, जीविकाका आधार र मानिसहरूबीचका सामाजिक सम्बन्ध पनि बुझ्नुपर्छ। बाल्यकालमा यी सबै कुरा सिद्धान्तका रूपमा बुझेको थिइनँ। तर पछि अध्ययन र अनुभवले दृष्टिकोण विकसित हुँदै जाँदा ती पुराना दृश्यहरूको अर्थ फरक ढङ्गले खुल्दै गयो।

मेरो औपचारिक शिक्षाको सुरुवात श्री प्रेमनगर निम्न माध्यमिक विद्यालयबाट भयो। विद्यालय मेरो लागि अक्षर चिन्ने र पाठ्यपुस्तक पढ्ने ठाउँ मात्र थिएन। त्यहाँबाट ज्ञानको ढोका खुल्यो, सिक्ने बानी विकास भयो र आफू वरिपरिको संसारलाई बुझ्ने आधार तयार भयो। म कक्षाको प्रथम विद्यार्थी थिएँ। पढाइप्रतिको रुचि, लगन र प्रतिस्पर्धाले मलाई अध्ययनमा अगाडि बढ्न प्रेरित गर्थ्यो। तर आज फर्केर हेर्दा लाग्छ, विद्यार्थी जीवनको वास्तविक उपलब्धि परीक्षामा प्राप्त अङ्क वा कक्षामा हासिल गरेको स्थानमा मात्र सीमित हुँदैन। पढाइले मानिसलाई प्रश्न गर्न, तर्क गर्न, तथ्य खोज्न र आफ्नो धारणालाई परीक्षण गर्न सिकायो भने त्यसको महत्त्व अझ गहिरो हुन्छ।

२०४६ सालपछि मैले पढेको विद्याल निमाबि वाट ज्ञान् वाटिका माबि बन्यो र ज्ञान बाटिका माध्यमिक विद्यालयमा अध्ययन अघि बढाएँ। जीवनको त्यो समय नेपालको राजनीतिक इतिहासका दृष्टिले पनि असाधारण थियो। देशमा पञ्चायती निरङ्कुशता विरुद्ध असन्तोष बढिरहेको थियो। राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र बहुदलीय व्यवस्थाको मागले समाजका विभिन्न तहलाई प्रभावित गरिरहेको थियो। विद्यार्थीहरू पनि त्यसबाट अलग थिएनन्। विद्यालय र कलेजका विद्यार्थी संगठनहरू राजनीतिक चेतना विस्तार गर्ने महत्त्वपूर्ण माध्यम बनिरहेका थिए। यस्तो ऐतिहासिक परिवेशमा हुर्कनु र अध्ययन गर्नु मेरो जीवनको वैचारिक निर्माणसँग जोडिएको महत्त्वपूर्ण पक्ष बन्यो।

मेरो हकमा प्रगतिशील विचार र वामपन्थी संगतको सुरुआत २०४४ र ४५ सालतिर विद्यार्थी आन्दोलनसँग जोडिएर अघि बढ्यो। त्यसबेला मैले राजनीतिलाई आजको जस्तो विकसित सैद्धान्तिक बुझाइका साथ ग्रहण गर्न सक्ने कुरै  थिएन। तर विद्यार्थी जीवनका प्रश्न, राजनीतिक बहस, शिक्षकहरूको प्रभाव र वामपन्थी विचारसँगको सम्पर्कले मेरो सोचमा नयाँ ढोका खोल्न थालेका थिए। २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनु मेरो जीवनको त्यही यात्राको महत्त्वपूर्ण मोड थियो। राजनीतिक स्वतन्त्रताका लागि उठेको जनआन्दोलनलाई नजिकबाट अनुभव गर्दा समाज बदल्ने चाहना र सामूहिक संघर्षको महत्त्वलाई बुझ्ने अवसर पाएँ।

त्यो आन्दोलनलाई आज फर्केर हेर्दा म त्यसलाई कुनै एक राजनीतिक दल वा व्यक्तिको उपलब्धिमा सीमित गरेर बुझ्न सक्दिनँ। त्यो नेपाली जनताको लामो संघर्ष, राजनीतिक चेतना र निरङ्कुश शासनविरुद्धको सामूहिक प्रतिरोधको परिणाम थियो। विद्यार्थीका रूपमा त्यसमा सक्रिय हुनु मेरो निम्ति राजनीतिक जीवनको प्रारम्भिक अनुभव मात्र थिएनस त्यसले जनताको शक्ति, संगठित संघर्ष र राजनीतिक परिवर्तनको सम्बन्धबारे सोच्ने आधारसमेत तयार गर्‍यो।

मेरो वैचारिक निर्माणमा विद्यालयका शिक्षकहरूको भूमिका विशेष स्मरणीय छ। आदरणीय दामोदर अधिकारी र रेवतीप्रसाद घिमिरे मेरा लागि शिक्षक मात्र हुनुहुन्थेन। उहाँहरूमा रहेको प्रगतिशील र वामपन्थी दृष्टिकोणले विद्यार्थीका रूपमा मेरो सोचलाई प्रभावित गरेको थियो। शिक्षकको प्रभाव पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित हुँदैन। उहाँहरूको व्यवहार, समाजलाई हेर्ने दृष्टिकोण, अन्यायप्रतिको संवेदनशीलता र विद्यार्थीलाई सोच्न प्रेरित गर्ने शैलीले पनि गहिरो प्रभाव पार्छ। मेरो जीवनमा उहाँहरूको योगदान सम्झँदा आज पनि सम्मानको भाव जाग्छ।

विचारको बीउ रोपिनु र त्यसले विकसित रूप लिनु फरक कुरा हुन्। कसैले देखाएको बाटोमा हिँड्न सुरु गर्नु एउटा चरण होस पछि आफ्नै अध्ययन, अनुभव र आलोचनात्मक चेतनाका आधारमा त्यस बाटोको अर्थ बुझ्नु अर्को चरण हो। दामोदर अधिकारी र रेवतीप्रसाद घिमिरेजस्ता शिक्षकहरूसँगको सम्बन्धले मेरो वैचारिक यात्रामा प्रारम्भिक आधार तयार गर्न मद्दत गर्‍यो। त्यसपछि अध्ययन, राजनीतिक संगत र व्यवहारले त्यसलाई विस्तार गर्दै लगे।

विद्यार्थी जीवनको अर्को महत्त्वपूर्ण पक्ष मेरा सहपाठी र साथीहरू थिए। लोकनाथ बास्तोला, गणेश पाण्डे, निरन्जन तिमल्सिना, केशव खड्का, रामचन्द्र कार्की, राजु राई र प्रेमबहादुर श्रेष्ठजस्ता साथीहरू मेरो विद्यार्थी जीवनका स्मृतिसँग जोडिएका छन्। विद्यालयका ती दिनहरू सम्झँदा मित्रता, अध्ययन, बहस र सामूहिक अनुभवको एउटा संसार आँखा अगाडि आउँछ। विद्यार्थी जीवनको महत्त्व पाठ्यक्रम र परीक्षाले मात्र निर्धारण गर्दैन। त्यस समयमा बनेका सम्बन्ध र साझा अनुभवहरूले पनि मानिसको व्यक्तित्व निर्माणमा योगदान पुर्‍याउँछन्।

त्यसैगरी मलाई प्रत्येक पल साथ दिने कक्षाका साथीहरू पित्रीराज अधिकारी, धनकुमार श्रेष्ठ, देवशरण चौधरी, भक्तबहादुर बोम्जन, युगेश्वर शर्मा, मिलन कार्की, ज्ञानदीप लामा, श्याम मोक्तान, पासाङ बल, सन्त पौडेल, रमा न्यौपाने, रीता उप्रेती र राजु उप्रेतीलाई सम्झँदा विद्यार्थी जीवनको आत्मीय पक्ष जीवन्त हुन्छ। उनीहरू मेरो जीवनको त्यस्तो समयका सहयात्री हुन्, जब भविष्यको स्पष्ट चित्र तयार भइसकेको थिएन, तर सम्भावनाहरू खुला थिए। कक्षाकोठा, पढाइ, आपसी सहयोग र युवावस्थाका सपनाहरूबीच हामीले बिताएका ती दिनहरू आज विगतका पानामा सीमित भए पनि तिनको भावनात्मक अर्थ हराएको छैन।

राजनीतिक चेतनाको निर्माणमा व्यक्तिगत अध्ययन र विद्यालयको वातावरणसँगै बाहिरी राजनीतिक सम्पर्कको पनि महत्त्व थियो। त्यसबेलाको वामपन्थी राजनीतिक परिवेशमा नेकपा (मशाल) र नेकपा (मसाल) जस्ता धाराहरूका विचार तथा गतिविधिबारे चासो राख्ने क्रमसँग मेरो राजनीतिक बुझाइ पनि विस्तार हुँदै गयो। तत्कालीन नेकपा (मशाल) का रवीन्द्र श्रेष्ठ तथा नेकपा (मसाल) का शिव तिवारी र भैरव रेग्मी र तात्कालिक नेकपा(माले) का वैद्यनाथ ठाकुर र पृतम लामाजस्ता राजनीतिक व्यक्तित्वहरूको स्मरण मेरो प्रारम्भिक राजनीतिक संगत र वैचारिक यात्रासँग जोडिन्छ।

त्यो समय नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न वैचारिक धारा, संगठनात्मक अभ्यास र राजनीतिक कार्यदिशाबीच बहस तथा संघर्षको प्रक्रियाबाट अघि बढिरहेको थियो। विद्यार्थीका रूपमा त्यस्ता धारासँग परिचित हुनु भनेको राजनीतिक संगठनका नाम जान्नु मात्र थिएन समाज परिवर्तन कसरी सम्भव हुन्छ, राजनीतिक स्वतन्त्रता र सामाजिक मुक्ति कसरी सम्बन्धित छन्, जनताको संघर्षलाई कुन विचारले दिशा दिन सक्छ भन्ने प्रश्नसँग परिचित हुँदै जानु पनि थियो। त्यतिबेला बुझेका सबै कुरा अन्तिम सत्य थिए भन्न मिल्दैन। राजनीतिक चेतना पनि जीवनसँगै विकसित हुन्छ। पछि अध्ययन र व्यवहारले प्रारम्भिक धारणालाई परिमार्जन गर्न सक्छ। तर कुनै विचारसँगको पहिलो परिचय र त्यसले मनमा जगाएको जिज्ञासाको आफ्नै ऐतिहासिक महत्त्व हुन्छ।

मेरो जीवनमा सुवर्णपुरको यही महत्त्व छ। यहाँ मैले शिक्षा पाएँ, शिक्षकबाट प्रेरणा पाएँ, साथीसँग जीवनका प्रारम्भिक अनुभव बाँडेँ र विद्यार्थी आन्दोलनमार्फत राजनीतिक चेतनाको बाटो समात्न थालेँ। पछि मैले ग्रहण गरेका दर्शन, विचार र राजनीतिक प्रतिबद्धताहरूको विकसित रूपलाई बाल्यकालमै पूर्ण रूपमा उपस्थित थियो भनेर दाबी गर्नु सही हुँदैन। तर ती विचार विकसित हुन आवश्यक प्रारम्भिक अनुभव र वातावरणको खोजी गर्दा सुवर्णपुरलाई छुटाउन सकिँदैन।

सुवर्णपुरको वनजंगल, खोला, खेतबारी र गाउँले जीवनले दिएको अनुभवलाई म आज समाज र प्रकृतिको सम्बन्धका दृष्टिले पनि सम्झन्छु। प्राकृतिक स्रोतको उपयोग कसरी हुन्छ, त्यसबाट कसले लाभ लिन्छ, स्थानीय मानिसको जीविकासँग वन र जमिनको सम्बन्ध कस्तो हुन्छ र विकासका निर्णयले गाउँको जीवनमा कस्तो प्रभाव पार्छन्,यी प्रश्न आजको मेरो अध्ययन र चिन्तनका विषय हुन्। बाल्यकालमा यिनलाई सैद्धान्तिक रूपमा विश्लेषण गर्न नसके पनि त्यही परिवेशमा हुर्किएको अनुभवले पछि तिनलाई बुझ्ने आत्मीय आधार दिएको छ।

समाजलाई बुझ्ने मेरो दृष्टिकोण क्रमशः प्रगतिशील विचार हुँदै मार्क्सवादी दर्शन र वर्गीय विश्लेषणतर्फ अघि बढ्यो। मानिसको जीवनलाई व्यक्तिगत भाग्य वा सफलताको कथामा मात्र सीमित नगरी त्यसलाई उत्पादन सम्बन्ध, सामाजिक संरचना, श्रम, स्वामित्व र ऐतिहासिक परिस्थितिसँग जोडेर हेर्नुपर्ने आवश्यकता मैले अध्ययन र राजनीतिक अभ्यासबाट बुझ्दै गएँ। यस दृष्टिले विगतलाई फर्केर हेर्दा सुवर्णपुरको अर्थ झन् विस्तार हुन्छ। त्यो मेरो बाल्यकालको भूगोल मात्र होइन जीवन र समाजबारे प्रश्न गर्न सिकेको एउटा ऐतिहासिक परिवेश पनि हो।

तर म आफ्नो विगतलाई आजको विचारको प्रमाणका रूपमा मात्र प्रस्तुत गर्न चाहन्नँ। विगतका अनुभवको अर्थ वर्तमानको चेतनाले पुनः व्याख्या गर्न सक्छ, तर त्यसो गर्दा इतिहासलाई मनलाग्दी बनाउनु हुँदैन। जे अनुभव गरियो, त्यसलाई इमानदारीपूर्वक सम्झनु र जे कुरा पछि अध्ययनबाट बुझियो, त्यसलाई त्यही रूपमा प्रस्तुत गर्नु आवश्यक छ। मेरो जीवनको आख्यानमा पनि स्मृति, तथ्य र पछिल्लो वैचारिक व्याख्याबीचको भिन्नता कायम रहनुपर्छ। त्यसैले सुवर्णपुरबारे लेख्दा म त्यहाँको प्रकृति र समाजको चित्र मात्र कोर्न चाहन्नँ त्यस परिवेशसँग जोडिएका आफ्ना अनुभव र विचार निर्माणको क्रमलाई पनि स्पष्ट पार्न चाहन्छु।

आज सुवर्णपुर ठोरी गाउँपालिकाको केन्द्रीय भागकारूपमा चिनिन्छ। तर मेरो लागि त्यसको परिचय प्रशासनिक संरचनाभन्दा धेरै पुरानो र आत्मीय छ। त्यहाँ मेरो विद्यार्थी जीवन छ, मेरा शिक्षकहरूको सम्झना छ, साथीसँग बिताएका दिन छन्, विद्यार्थी आन्दोलनका प्रारम्भिक अनुभव छन् र वामपन्थी विचारसँग परिचित हुँदै गएको समय छ। त्यहाँ मेरो विगतको एउटा ठूलो अंश छ, जसलाई सम्झनु भनेको आफूलाई सम्झनु हो।

म जन्मेको सिन्धुपाल्चोकको लिसंखु मेरो जीवनको पहिलो भूगोल हो। बुबाको जागिरका कारण बसाइँ सरेर पुगेको पर्साको सुवर्णपुर मेरो बाल्यकाल र प्रारम्भिक चेतनाको महत्त्वपूर्ण भूगोल बन्यो। यी दुई ठाउँलाई एकअर्काको विकल्पका रूपमा होइन, मेरो जीवनका दुई परिपूरक धरातलका रूपमा बुझ्नुपर्छ। जन्मले मलाई एउटा स्थानसँग जोड्यो, बसाइँसराइले अर्को समाजसँग परिचित गरायो र अनुभवले मेरो दृष्टिकोणलाई विस्तार गर्‍यो।

जीवनमा मानिस जहाँ पुगे पनि उसको विगत हराउँदैन। तर विगतलाई सम्झनुको अर्थ पुरानो समयमा फर्किनु मात्र होइन। त्यसलाई बुझ्नु, त्यसबाट सिक्नु र वर्तमानलाई अझ स्पष्ट रूपमा हेर्नु हो। म सुवर्णपुरलाई सम्झँदा आफ्नो बाल्यकालको स्मृतिमा मात्र फर्किरहेको हुँदिनँस म आफ्नो विचार निर्माणको सुरुआती आधार खोजिरहेको हुन्छु। त्यहाँबाट सुरु भएको अध्ययन, संगत र राजनीतिक चेतनाको यात्राले पछि कुन रूप लियो भन्ने कुरा मेरो जीवनको विस्तृत इतिहासको विषय हो।

आज म यति भन्न सक्छु,मेरो वैचारिक यात्राको सबै उत्तर सुवर्णपुरमा भेटिँदैनन्, तर त्यस यात्राका धेरै प्रारम्भिक प्रश्नहरू त्यहीँको जीवन र परिवेशसँग जोडिएका छन्। त्यहाँ मैले अक्षर चिनें, ज्ञानको ढोका खोलें, शिक्षकबाट प्रेरणा पाएँ, साथीसँग जीवन बाँडेँ र विद्यार्थी आन्दोलनमार्फत सामाजिक परिवर्तनको प्रश्नसँग परिचित भएँ। त्यसैले सुवर्णपुरलाई सम्झनु मेरो लागि एउटा गाउँको स्मरण मात्र होइन आफू कसरी बनेँ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास हो।

मेरो लागि सुवर्णपुर एउटा ठाउँ मात्र होइन,मेरो बाल्यकालको पाठशाला, प्रगतिशील चेतनाको बीजारोपण भएको परिवेश र जीवनभरि फर्केर हेर्नुपर्ने मेरो वैचारिक धरातल हो। धन्यवाद।


२०८३ कात्तिक ५ ०७:२२ बजे

प्रतिक्रिया