मानिसको जीवनमा केही घटना यस्ता हुन्छन्, जो समय बित्दै जाँदा पनि स्मृतिबाट हराउँदैनन्। ती घटना व्यक्तिगत सम्झनामा मात्र सीमित हुँदैन्न तिनले आफू बाँचेको समाज, समय र परिवर्तनको इतिहाससमेत बोकेका हुन्छन्। मेरो जीवनमा २०४६ र ४७ सालतिर सुवर्णपूर बाघमोर्चा गाउँका प्रगतिशील नाटकका अनुभव र २०४८ साल माघमा कक्षा आठमा पढ्दै गर्दा आफै लेखेर निर्देशन गरेको ‘समाज बदलिनेछ’ नाटक त्यस्तै एउटा अविस्मरणीय घटना हो। त्यो एउटा नाटकको मञ्चन मात्र थिएन, समाजका पुराना मान्यता र महिलामाथि थोपरिएका बन्देज विरुद्ध गरिएको सांस्कृतिक हस्तक्षेप थियो।
मेरो जन्म सिन्धुपाल्चोकको लिसंखुमा भएको हो। दुई खोलाको संगम, दोभान र खलडाँडासँग जोडिएको त्यो धरातलबाट मेरो जीवनको यात्रा सुरु भयो। पछि बुबाको जागिरका कारण हाम्रो परिवार पर्साको सुवर्णपुरमा आएर बसोबास गर्न थाल्यो। त्यहीँ घरजग्गा जोडियो, त्यहीँ मेरो बाल्यकाल बित्यो र त्यहीँको सामाजिक परिवेशले मेरो विचार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यो। आजको ठोरी गाउँपालिकाभित्र पर्ने सुवर्णपुर त्यतिबेला आफ्नै सामाजिक, सांस्कृतिक र भौगोलिक विशेषता भएको गाउँ थियो। चुरे र भावर क्षेत्रको प्रकृति, वनजङ्गल, खेतबारी, खोला र गाउँले जीवनका विविध अनुभवबीच मेरो बाल्यकाल बित्यो।
मैले प्रेमनगर निम्न माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएँ। त्यो निम्न माध्यामिक विद्यालय २०४६ सालपछि ज्ञान बाटिका माध्यमिक विद्यालय बन्यो र मेरो अध्ययन अघि बढयो। पढाइमा म कक्षाको अग्रस्थानमा रहने विद्यार्थी थिएँ,सधै कक्षाको प्रथम हुन्थे। तर मेरो रुचि पाठ्यपुस्तकमा मात्र सीमित थिएन। समाजमा मानिसहरू किन असमान छन्, महिलामाथि किन विभेद हुन्छ, गरिब र श्रमजीवी मानिसहरूले किन दुःख भोग्नुपर्छ र समाजलाई बदल्न के गर्नुपर्छ भन्ने प्रश्नले मलाई सानैदेखि तान्न थालेका थिए।
२०४४ र ४५ सालतिर विद्यार्थी आन्दोलन र प्रगतिशील विचारसँगको सम्पर्कले मभित्र वामपन्थी चेतना विकसित हुन थाल्यो। २०४६ सालको जनआन्दोलनले त्यस चेतनालाई थप ऊर्जा दियो। प्रगतिशील शिक्षक दामोदर अधिकारी, रेवतीप्रसाद घिमिरे, प्रीतम लामा र युधिष्ठिर खड्काजस्ता व्यक्तिहरूको प्रभाव तथा संगतले सामाजिक प्रश्नहरूलाई हेर्ने मेरो दृष्टिकोण निर्माण गर्न मद्दत गर्यो। विद्यार्थी अग्रणी साथीहरू लोकनाथ बस्तोला, गणेश पाण्डे, निरञ्जन तिमल्सिना, केशव खड्का, रामचन्द्र कार्की,प्रेम श्रेष्ठ र राजु राईलगायतसँगको सम्पर्कले पनि त्यस समयको वातावरणलाई जीवन्त बनाएको थियो र प्रगतिशील विद्यार्थी आन्दोलनसंग जोडेको थियो। पितृराज अधिकारी, धनकुमार श्रेष्ठ, देवशरण चौधरी, भक्तबहादुर बोम्जन, युगेश्वर शर्मा, मिलन कार्की, ज्ञानदीप लामा, श्याम मोक्तान, पासाङ बल, सन्त पौडेल, रमा न्यौपाने,बिन्दा घिमिरे ,देव ब।बस्नेत,विश्वराज घिमिरे,रीता उप्रेती, राजु उप्रेतीलगायत साथीहरूको साथ र सहकार्य मेरो जीवनका महत्त्वपूर्ण पक्ष हुन्। त्यस क्रममै २०४५ र ०४६ देखि नै राजनीतिक ब्यक्तित्वहरु भैरव रेग्मि,रवीन्द्र श्रेष्ठ (प्रभाकर),शिव तिवारी,बैद्यनाथ ठाकुर, हिमालचन्द्र गौतम,अक्षलाल साह लगायतको समिपमा रहेर बामपंथी आन्दोलनवारे बुझ्ने अवसर पनि प्राप्त भयो।
त्यस समय राजनीति र सामाजिक चेतना भाषण र बैठकमा मात्र सीमित थिएनन्। गाउँमा नाटक, सांस्कृतिक कार्यक्रम र सार्वजनिक बहस पनि विचार फैलाउने माध्यम थिए। प्रगतिशील नाटकले समाजका विकृति, शोषण, अन्धविश्वास र विभेदलाई जनतासमक्ष पुर्याउन सक्थ्यो। यही क्रममा २०४६ र ४७ सालतिर गोविन्द उप्रेती (काका), नारायण विश्वकर्मा, हरिचन्द्र खड्कालगायतसँग प्रगतिशील नाटकहरूमा सहभागी हुने अवसर पाएँ। म त्यतिबेला बालकलाकार थिएँ। नाटकमा अभिनय गर्दै जाँदा समाजलाई मञ्चमा उतार्न सकिने र मञ्चबाट उठाइएको प्रश्नले दर्शकको सोचमा प्रभाव पार्न सक्ने कुरा त्यहीवेला देखि बुझ्न थालेँ।
तर त्यतिबेलाको समाजमा एउटा गम्भीर प्रश्न थियो,महिलाहरूलाई सार्वजनिक मञ्चमा उभिने अधिकार किन थिएनरु नाटक खेल्नु, नाच्नु वा सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति दिनु महिलाका लागि सहज मानिँदैनथ्यो। कतिपय अवस्थामा मञ्चमा देखिनु नै सामाजिक मर्यादा विरुद्धको काम ठानिन्थ्यो। त्यसैले महिलाका भूमिका पनि पुरुष कलाकारले महिलाको भेषमा अभिनय गरेर पूरा गर्नुपर्ने अवस्था थियो। महिलाको जीवन र मुक्तिका विषयमा नाटक बन्न सक्थ्यो, तर महिलाहरू स्वयं मञ्चमा उभिएर आफ्ना कुरा भन्न पाउँदैनथे। यो आफैँमा ठूलो सामाजिक अन्तर्विरोध थियो।महिलाको स्वतन्त्रताबारे कुरा गर्ने तर महिलालाई नै बोल्न नदिने समाजलाई प्रश्न नगरी परिवर्तनको कुरा पूरा हुन सक्दैनथ्यो। यही प्रश्नले मेरो मनमा गहिरो प्रभाव पारेको थियो।
२०४८ साल माघमा हाम्रो विद्यालयमा श्रीपंचमीका दिन एउटा प्रगतिशील नाटक मञ्चन गर्ने योजना बन्यो। नाटकले महिलाको मुक्ति र सामाजिक परिवर्तनको विषय उठाउनुपर्ने थियो। आदरणीय प्रगतिशील शिक्षकहरु एवं समाजका अग्रणीहरुलाइ नाटक लेखिदिन अनुरोध गरियो तर त्यसलाई लेख्ने र निर्देशन गर्ने जिम्मेवारी लिन कोही तयार भएनन्। किनकी विषय संवेदनशील थियो, सामाजिक प्रतिरोधको सम्भावना थियो र परम्परागत सोचसँग ठोक्किने निश्चित थियो। त्यसबेला म कक्षा आठमा पढ्थेँ। उमेरले सानै भए पनि मैले त्यो जिम्मेवारी लिनुपर्छ भन्ने ठानेँ। त्यसपछि नाटक लेख्ने र निर्देशन गर्ने काम आफैँले सम्हालेँ।
मैले नाटकको नाम राखेँ,‘समाज बदलिनेछ’।
यो नाम राख्नुको अर्थ भविष्यमा समाज आफैँ बदलिन्छ भनेर पर्खनु थिएन। समाजलाई बदल्ने चेतना, साहस र सामूहिक प्रयत्न आवश्यक हुन्छ भन्ने मेरो बुझाइ थियो। नाटकले पनि यही कुरा भन्नुपर्थ्यो। समाजमा जरा गाडेर बसेका मान्यता प्राकृतिक वा अपरिवर्तनीय हुँदैन्न मानिसले बनाएका सामाजिक सम्बन्ध मानिसकै प्रयत्नबाट बदलिन सक्छन् भन्ने विचारलाई कथाको केन्द्रमा राखेँ।
नाटकका चौबीस दृश्य थिए। कथा, पात्र, संवाद र दृश्यहरूको क्रम मिलाउँदै जाँदा यो मेरो लागि लेखनको अभ्यास मात्र रहेन। समाजमा देखेका असमानता र महिलामाथिका बन्देजलाई नाटकीय घटनामा रूपान्तरण गर्ने प्रयास बन्यो। मञ्चमा पात्रहरूबीच हुने संवादमार्फत पुरानो सोच र नयाँ चेतनाबीचको अन्तर्विरोध प्रस्तुत गर्न खोजेँ। महिलाले आफ्नै जीवनबारे निर्णय गर्न पाउनुपर्छ, शिक्षा लिन पाउनुपर्छ, सार्वजनिक जीवनमा सहभागी हुन पाउनुपर्छ र अन्यायविरुद्ध बोल्न पाउनुपर्छ भन्ने विचारलाई नाटकको कथाभित्र राखेँ।
तर नाटक लेख्नु एउटा कुरा थियो, त्यसलाई मञ्चमा उतार्नु अर्को कुरा। सबैभन्दा ठूलो चुनौती महिलाका भूमिका छात्राहरूबाटै अभिनय गराउनु थियो। समाजले सहज रूपमा स्वीकार नगरेको काम गर्नुपर्ने थियो। कसैले यसलाई परम्पराविरुद्धको कदम ठान्न सक्थे, कसैले सामाजिक मर्यादामाथिको प्रश्नका रूपमा लिन सक्थे। विरोध र अवरोधको सम्भावना हुँदाहुँदै पनि हामीले नाटक मञ्चन गर्ने निर्णय गर्यौँ।
नाटकका पात्रहरूलाई कलाकारहरूले जीवन्त बनाउने क्रममा रमा न्यौपानेले रजनीको भूमिका निर्वाह गरिन्। रजनी नाटककी मुख्य महिला पात्र थिइन्। उनी महिलामाथि थोपरिएका सामाजिक बन्देजसँग जुध्दै आफ्ना अधिकार र आत्मसम्मानका लागि अघि बढ्ने पात्र थिइन्। उनको जीवनमार्फत महिलाको मुक्ति कुनै दया वा कृपाबाट प्राप्त हुने वस्तु होइन, आफ्नै चेतना र संघर्षबाट स्थापित गर्नुपर्ने अधिकार हो भन्ने विचार प्रस्तुत गरिएको थियो।
रीता उप्रेतीले रजनीकी आमाको भूमिका निर्वाह गरिन्। यो पात्रले पुरानो सामाजिक संस्कारभित्र हुर्किए पनि छोरीको स्वतन्त्रता र विद्रोहको पक्षमा उभिन सक्ने महिलाको चेतनालाई प्रतिनिधित्व गर्थ्यो। आमाको साथले महिलाको मुक्ति नयाँ पुस्ताको चाहना मात्र होइन, पुरानो पुस्ताभित्र पनि परिवर्तनको चेतना विकसित हुन सक्छ भन्ने अर्थ दिन्थ्यो।
बिन्दा घिमिरेले विद्यार्थीबाट शिक्षिका बन्ने पार्वतीको पात्रको भूमिका निर्वाह गरिन्। उनको यात्राले शिक्षाले महिलाको जीवनमा ल्याउन सक्ने परिवर्तनलाई प्रस्तुत गर्थ्यो। महिला शिक्षा र आत्मनिर्भरता व्यक्तिगत उन्नतिका साधन मात्र होइनन्, समाजलाई बदल्ने आधार पनि हुन् भन्ने विचार यस पात्रमा व्यक्त हुन्थ्यो । टिकामाया श्रेष्ठ र उर्वशी खड्का,सीता श्रेष्ठ ,लक्ष्मी खडकाले पनि नाटकमा महिला मुक्ति र सामूहिक चेतनासँग जोडिएका साहायक भूमिकाहरू निर्वाह गरेका थिए। उनीहरूको सहभागिताले महिलाको संघर्ष कुनै एउटा व्यक्तिको एक्लो प्रयास होइन, सामूहिक आवाजबाट अघि बढ्ने प्रक्रिया हो भन्ने भावलाई बल दिएको थियो।
मैले आफैँ रजनीको भाइ सुदीपको भूमिका निर्वाह गरेको थिएँ। नाटक लेख्ने र निर्देशन गर्ने जिम्मेवारीसँगै म मञ्चमा पनि उभिएको थिएँ। सुदीपको पात्रले महिलाको स्वतन्त्रताको प्रश्न परिवारसँग पनि जोडिएको छ भन्ने पक्षलाई प्रतिनिधित्व गर्थ्यो। महिलाको मुक्ति महिलाको मात्र सरोकार होइनस त्यसलाई बुझ्ने र साथ दिने पुरुषको चेतना पनि सामाजिक परिवर्तनका लागि आवश्यक हुन्छ भन्ने अर्थमा यो भूमिका महत्त्वपूर्ण थियो।
ज्ञानदीप लामाले उदीपको भूमिका निर्वाह गरेका थिए। उदीप प्रगतिशील सोच बोकेको युवा पात्र थिए। पुराना सामाजिक मान्यतालाई जस्ताको तस्तै स्वीकार गर्नुको सट्टा प्रश्न गर्ने र परिवर्तनको पक्षमा उभिने युवाको प्रतिनिधित्व उनले गर्दथे। रजनीको संघर्षसँग जोडिएको उसको भूमिका महिलाको मुक्ति र सामाजिक रूपान्तरणका लागि प्रगतिशील युवाहरूको जिम्मेवारीसँग सम्बन्धित थियो।
युगेश्वर शर्माले अजय शर्मा तथा शिक्षकको भूमिकासँग सम्बन्धित पात्र निर्वाह गरेका थिए। देवशरण चौधरीले पनि शिक्षकको भूमिका निर्वाह गरेका थिए। शिक्षकका पात्रहरूले शिक्षा र सामाजिक चेतनाबीचको सम्बन्धलाई जोड्थे। शिक्षकको काम पाठ्यपुस्तकको ज्ञान दिनुमा मात्र सीमित हुँदैनस विद्यार्थीलाई समाजका अन्यायपूर्ण मान्यतामाथि प्रश्न गर्न सिकाउनु पनि हो भन्ने विचारलाई यी भूमिकाले अभिव्यक्त गर्थे।
धनवीर गाउँको सामन्त र सामाजिक भेदभाव अन्यायसँग जोडिएको पात्र थियो जसको भुमिका मिलन कार्कीले निभाएका थिए। धनवीरको छोरी पार्वतीको भूमिकाले अध्ययनपछि प्रगतिशील शिक्षिका बन्ने र सामन्त बाबु र गुण्डा नाइके आफ्नै दाजु अमितको बिरुद्ध बिद्रोह गरेकी महिलाको सम्भावना प्रस्तुत गर्थ्यो।अमितको भुमिकामा राजु उप्रेती थिए,जो एसएलसि पास गरेपछी शहरमा कलेज पढ्न गएर लागू औषध र कुलतमा फसेर मृत्यु भएको र त्यस पछि सम्पूर्ण परिवारको जिम्मेवारी पार्वती माथी आइपरेको थियो, उनको जीवनयात्राले महिलाको भविष्य घरको चारदिवारभित्र मात्र सीमित हुनु हुँदैन, अवसर पाएमा उनीहरू पनि शिक्षित, आत्मनिर्भर र समाज परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने सन्देश दिन्थ्यो। अमित पात्र पार्वतीको भाइका रूपमा कथासँग जोडिएको थियो। यी पात्रहरूले परिवार, गाउँको सामाजिक संरचना र महिलाको जीवनबीचको सम्बन्धलाई नाटकमा स्थान दिएका थिए।
नाटकमा गुण्डागर्दी र सामन्ती प्रवृत्तिसँग सम्बन्धित पात्रहरू धनवीर र उनका एकमात्र छोरा अमित थिए। उनीहरूले सामाजिक परिवर्तनको बाटोमा अवरोध खडा गर्ने शक्ति र पुरानो प्रभुत्व कायम राख्न खोज्ने प्रवृत्तिको प्रतिनिधित्व गर्थे। धनवीर मिलन कार्कीको भूमिका सामन्ती पात्रसँग जोडिएको थियो। त्यस्ता पात्रको उपस्थितिले महिलाको स्वतन्त्रता र सामाजिक रूपान्तरणको कुरा गर्दा पुरानो व्यवस्थाको प्रतिरोधलाई पनि सामना गर्नुपर्ने हुन्छ भन्ने पक्षलाई नाटकीय रूपमा प्रस्तुत गर्थ्यो।
विश्वराज घिमिरेले कुसुण्डेको हास्य पात्र निर्वाह गरेका थिए। सामाजिक विषयवस्तु गम्भीर भए पनि नाटकमा हास्यरसको स्थान थियो। कुसुण्डेको भूमिकाले दर्शकलाई सहज बनाउनुका साथै दृश्यहरूको प्रवाहलाई जीवन्त राख्न मद्दत गर्थ्यो। यसरी नाटकका पात्रहरू फरक–फरक स्वभाव, सोच र भूमिकासहित कथाभित्र जोडिएका थिए। कोही परिवर्तनको पक्षमा उभिन्थे, कोही पुरानो सामाजिक सोचसँग गाँसिएका थिए, त कोही गाउँले जीवनको स्वाभाविक परिवेशलाई प्रतिनिधित्व गर्थे।
नाटक सफल बनाउन कलाकारहरूको अभिनय जति आवश्यक थियो, मञ्चपछाडिको सहयोग पनि त्यत्तिकै महत्त्वपूर्ण थियो। पितृराज अधिकारी, ध्रुव चौधरी, श्याम मोक्तान, सन्तोष पौडेल र पासाङ बललगायत साथीहरूले व्यवस्थापन, सल्लाह, समन्वय र अन्य व्यावहारिक काममा सहयोग गरेका थिए। नाटकको तयारीदेखि मञ्चनसम्म आइपर्ने समस्या समाधान गर्न, कलाकारहरूलाई जुटाउन र कार्यक्रमलाई व्यवस्थित बनाउन उनीहरूको योगदान स्मरणीय रह्यो। उनीहरूको काम एउटै प्रकारको थिएन्न कसैले व्यवस्थापनमा सहयोग गरे, कसैले सल्लाह र समन्वयमा साथ दिए, त कसैले कठिन परिस्थितिमा हाम्रो पक्षमा उभिएर नाटकलाई अघि बढाउन मद्दत गरे। ती सबै योगदान मेरो स्मृतिमा सुरक्षित छन्।
अन्ततः नाटक मञ्चनको दिन आयो। विद्यालयको प्राङ्गणमा ठूलो जनसमुदाय जम्मा भएको थियो। मेरो स्मृतिमा त्यो दर्शकको उपस्थिति हजारौँको थियो। मानिसहरू नाटक हेर्न आएका थिए, तर उनीहरूले हेर्न लागेको कुरा सामान्य मनोरञ्जन मात्र थिएन। स्थानीय सामाजिक परिवेशमा महिलाहरूलाई सार्वजनिक मञ्चमा उभिनसमेत सहज रूपमा स्वीकार नगरिने अवस्थामा छात्राहरूले नै महिला मुक्तिको आवाज उठाउँदै अभिनय गर्नु असाधारण घटना थियो।
मञ्चमा छात्राहरू उभिए। उनीहरूले संवाद बोले, अभिनय गरे र महिलाको जीवनसँग जोडिएका प्रश्नहरू दर्शकसामु प्रस्तुत गरे। त्यतिबेलाको सामाजिक परिवेशमा यो सामान्य काम थिएन। महिला पात्रको भूमिका पुरुषले निर्वाह गर्ने पुरानो अभ्यासलाई तोड्दै महिलाहरू स्वयं आफ्ना जीवनका प्रश्नसहित मञ्चमा उपस्थित भएका थिए। उनीहरूले अरू कसैको आवाजबाट होइन, आफ्नै उपस्थितिबाट महिलाको सार्वजनिक सहभागिताको अधिकार प्रस्तुत गरेका थिए।
मञ्चमा देखिएको त्यो दृश्य मेरो लागि नाटक सफल भएको क्षण मात्र थिएन। महिलाले बोल्न पाउने कि नपाउने, सार्वजनिक रूपमा देखिन पाउने कि नपाउने र आफ्नै जीवनका प्रश्न उठाउन पाउने कि नपाउने भन्ने सामाजिक प्रश्नमाथि व्यवहारमै हस्तक्षेप भएको क्षण थियो। समाज बदलिने कुरा संवादमा मात्र सीमित रहेनस मञ्चमा उभिएका छात्राहरूको उपस्थितिले नै पुरानो सोचलाई चुनौती दियो।
यस्तो काम गर्दा सामाजिक अवरोध र विरोधको सामना गर्नुपर्ने अवस्था पनि आयो। सामाजिक गुण्डागर्दी र पुरानो सोचको दबाबका बीच नाटकलाई अघि बढाउनु सहज थिएन। तर नाटकको उद्देश्य मनोरञ्जन मात्र नभएकाले हामी पछि हट्न तयार भएनौँ। परिवर्तनको पक्षमा उभिनु भनेको परिवर्तनको कुरा गर्नु मात्र होइन, त्यसका लागि आवश्यक जोखिम र जिम्मेवारी लिनु पनि हो भन्ने अनुभव त्यहीँबाट प्राप्त भयो।
‘समाज बदलिनेछ’ नाटकलाई आज फर्केर हेर्दा त्यसका सीमा र सम्भावना दुवै सम्झन सकिन्छ। म त्यतिबेला कक्षा आठमा पढ्ने विद्यार्थी थिएँ। सामाजिक सम्बन्ध, वर्गीय संरचना र महिलामाथिको उत्पीडनबारे आजजस्तो व्यवस्थित वैचारिक बुझाइ विकसित भइसकेको थिएन। तर आफूले देखेको विभेदलाई प्रश्न गर्ने, त्यसलाई कलामार्फत प्रस्तुत गर्ने र त्यसविरुद्ध सामूहिक पहल गर्ने चेतना भने स्पष्ट थियो। चौबीस दृश्यको नाटक लेख्नु, त्यसको निर्देशन गर्नु, पात्रहरूलाई तयार पार्नु र सामाजिक अवरोधका बीच मञ्चन गराउनु मेरो किशोर जीवनको महत्त्वपूर्ण अनुभव बन्यो।
त्यस अनुभवले मलाई अर्को कुरा पनि सिकायो,समाज परिवर्तनको काम कुनै एक व्यक्तिको साहसमा मात्र निर्भर हुँदैन। विचार उठाउने, त्यसलाई व्यवहारमा उतार्ने, साथ दिने, जिम्मेवारी बाँड्ने र अवरोधको सामना गर्ने मानिसहरूको सामूहिक प्रयत्नबाट मात्र कुनै काम सफल हुन्छ। मैले नाटक लेखेँ र निर्देशन गरेँ, तर त्यसलाई जीवन्त बनाउने कलाकारहरू थिए। त्यसलाई व्यवस्थित बनाउन सहयोग गर्ने साथीहरू थिए। मञ्चमा उभिने साहस गर्ने छात्राहरू थिए। उनीहरू सबैको सहभागिताले नै ‘समाज बदलिनेछ’ लाई एउटा सामूहिक अनुभव बनाएको थियो।
रमा न्यौपाने, बिन्दा घिमिरे, रीता उप्रेती, टिकामाया श्रेष्ठ र उर्वशी खड्का,सीता श्रेष्ठ ,लक्ष्मी खडकाहरुले महिलाका भूमिकामा अभिनय गर्नु त्यतिबेलाको समाजमा आफैँमा अर्थपूर्ण कदम थियो। ज्ञानदीप लामा, युगेश्वर शर्मा, देवशरण चौधरी, मिलन कार्की,राजु उप्रेती,बिश्व राज घिमिरे,ज्ञान् दीप लामा(चिनलाल)लगायत कलाकारहरूले आ–आफ्ना पात्रमार्फत नाटकको कथालाई जीवन्त बनाए। पितृराज अधिकारी, ध्रुव चौधरी, श्याम मोक्तान, सन्तोष पौडेल र पासाङ बलजस्ता सहयात्रीहरूले मञ्चपछाडिबाट दिएको सहयोगले त्यस प्रयासलाई बलियो बनायो। उनीहरूको योगदानलाई सम्झँदा मञ्चमा देखिएका पात्र र पर्दापछाडिका सहयात्रीबीच कुनै ठूलो–सानो भेद देख्दिनँ। नाटकको सफलता सबैको साझा प्रयत्न थियो।
त्यस समय सुवर्णपुरमा देखिएको त्यो घटना मेरो व्यक्तिगत जीवनसँग जोडिएको स्मृति मात्र होइन। यो गाउँको सामाजिक इतिहासको एउटा सानो तर अर्थपूर्ण अध्याय पनि हो। कुनै समाजमा परिवर्तनको चेतना कसरी प्रवेश गर्छ, विद्यार्थीले त्यसलाई कसरी आत्मसात् गर्छन्, कला र संस्कृतिले कसरी सामाजिक प्रश्न उठाउँछन् र परम्परागत मान्यताविरुद्ध सामूहिक साहस कसरी निर्माण हुन्छ भन्ने कुरा यस घटनाले देखाउँछ।
‘समाज बदलिनेछ’ नाम राख्दा मैले भविष्यप्रति एउटा विश्वास व्यक्त गरेको थिएँ,नाटक लेखनमा र निर्देश गर्न ज्ञान् दीप लामाले त्यो अवधिभर मसंगै अहोरात्र बसेर सघाएका थिए। यसरी समयले मलाई सिकायो ,समाज आफैँ बदलिँदैन। त्यसलाई बदल्न मानिसले विद्यमान सामाजिक सम्बन्धमाथि प्रश्न गर्नुपर्छ, अन्यायविरुद्ध उभिनुपर्छ र परिवर्तनका लागि सामूहिक प्रयत्न गर्नुपर्छ। महिलालाई मञ्चमा उभिन नदिने समाजमा महिलालाई नै मञ्चमा उभ्याउनु, उनीहरूलाई आफ्ना कुरा भन्न दिनु र त्यसलाई सार्वजनिक रूपमा प्रस्तुत गर्नु त्यतिबेला हाम्रो लागि त्यही परिवर्तनको एउटा क्रान्तिको रूप थियो।
आज पनि त्यो नाटक सम्झँदा म आफूले लेखेका चौबीस दृश्य मात्र सम्झन्नँ। ती दृश्यलाई जीवन्त बनाउने अनुहारहरू, विद्यालयको प्राङ्गणमा उपस्थित जनसमुदाय, सामाजिक अवरोधका बीच मञ्चनलाई अघि बढाउने साथीहरू र पहिलोपटक मञ्चमा उभिएर आफ्नो भूमिकामार्फत सामाजिक प्रश्न उठाउने छात्राहरूलाई सम्झन्छु। उनीहरू सबैको सामूहिक प्रयासले एउटा विचारलाई व्यवहारमा उतारेको थियो।त्यसैले ‘समाज बदलिनेछ’ मेरो लागि पुरानो नाटकको शीर्षक मात्र होइन। त्यो मेरो किशोरावस्थामा जन्मिएको सामाजिक विश्वास, सांस्कृतिक विद्रोहको प्रारम्भिक अनुभव र त्यस समयमा परिवर्तनप्रतिको प्रतिबद्धताको स्मृति हो। सुवर्णपुरको त्यो मञ्चले मलाई एउटा कुरा स्पष्ट पारेको थियो,समाज परिवर्तनको सुरुआत मानिसले पुरानो मान्यतालाई प्रश्न गर्न थालेपछि हुन्छस र त्यो प्रश्न जब सामूहिक चेतना, साहस र व्यवहारमा रूपान्तरण हुन्छ, तब परिवर्तनको बाटो खुल्न थाल्छ।
त्यस दिन नाटक प्रदर्शन हुनु एकदिन अघिवाटै दिदी बिन्दा घिमिरेलाई घरमै बन्दी बनाएर निस्कन दिइएन,त्यो नदिनुमा विद्यालयकै प्र.अ.रामचन्द्र महतोले गलत रिपोर्ट विद्यालय संचालक समिती अध्यक्ष बिन्दा दिदिकै बुबा भरत कुमार घिमिरेलाइ गरेका थिए।त्यस दिन साझ नै मैले,प्र.अ.र सहायक प्र.अ.खिम बहादुर बस्नेतलाइ लिएर गए र नाटकवारे बिन्दा दिदिको बुबा विद्यालय संचालक समितिको अध्यक्षलाई मैले सबै ब्रीफिङ्ग गरे पछि उहाँ सहमत हुनुभयो र बिन्दा दिदिलाइ नाटक अभिनय गर्ने अनुमती दिनु भयो।उहाँलाई गलत रिपोर्ट पुगेका कारण बिन्दा दिदी घरमै नजर बन्दमा पर्नु भएको थियो।
नाटकको अन्तिम दृश्य दशैको सन्दर्भ जोडिएको छ।महिलाहरुको पढ्नु हुन्न ,समाजमा अगाडि उभिएर बोल्नु हुन्न भन्ने समाज पार्वती शिक्षिका र रज्नी डाक्टर बनेर गाउँमा दशै मनाउन पुगेका हुन्छन् ।दशैको टीका प्रारम्भ हुन्छ।२० र २२ बर्ष पहिलेको समाज ती पार्वती र रज्निको बिरोध गर्दै उनिहरुसङ्ग भेट्न र हिडन आफ्ना छोरी,बैनीहरुलाइ प्रतिबन्ध लगाउने समाज यो अन्तिम दृश्यको दशैमा प्रत्येक घरमा आफ्ना छोरी र बहिनीहरुलाइ डाक्टर रज्नी र शिक्षिका पार्वती जस्तो हुनु भन्दै आशीर्वाद दिएर नाटकको पर्दा बन्द हुन्छ ,जसले समाज बदलिएको आभास ब्यक्त गर्दछ।
समाज बदलिनेछ भन्ने विश्वास त्यस दिन मञ्चबाट सुनिएको संवादमा मात्र थिएन त्यो संवाद बोल्ने पात्रहरूमा, उनीहरूलाई साथ दिने सहयात्रीहरूमा र पुरानो सामाजिक सोचलाई चुनौती दिने हाम्रो सामूहिक प्रयत्नमा जीवित थियो। आज पनि त्यो सम्झना मेरो जीवनको उभिएको धरातल सुवर्णपुरसँग अभिन्न रूपमा जोडिएको छ।
प्रतिक्रिया