काठमाडौं । अर्थमन्त्री तथा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा दिएको अभिव्यक्तिले नेपाली राजनीति र कूटनीतिक वृत्तमा तीव्र विवाद सिर्जना गरेको छ । कात्तिक ६ गतेको सम्बोधनमा वाग्लेले ‘नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकिएको’ दाबी गर्दै नयाँ पुस्ताको आकाङ्क्षा आर्थिक समृद्धि, सुशासन र असल छिमेकी सम्बन्ध रहेको बताएका थिए ।
उनले भारत–नेपाल सम्बन्ध गहिरो सांस्कृतिक र भौगोलिक रूपमा जोडिएको उल्लेख गर्दै नयाँ नेतृत्वले यसलाई थप सुदृढ बनाउन चाहेको समेत बताए । यो अभिव्यक्तिलाई धेरैले राष्ट्रिय हित र स्वाभिमानको अवमूल्यनका रूपमा लिएका छन् । राप्रपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले यसलाई ‘आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन’ भनेका छन् । थापाका अनुसार नेपालको राष्ट्रवाद कहिल्यै कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन । सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको निष्ठा हो ।
सानो समूहको अपवादमूलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई सङ्कुचित देख्नु पूर्वाग्रही दृष्टिकोण हो भन्दै उनले वाग्लेको अभिव्यक्ति विगतको ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन भनी प्रश्नसमेत उठाएका छन् ।
एमाले नेता गोकुल बाँस्कोटाले यसलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ भनेका छन् । ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन्, तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्’ भन्दै उनले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने भाष्य नै गलत र ऐतिहासिक रूपमा विकृत रहेको आरोप लगाएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव हरिभक्त कडेलले वाग्लेको अभिव्यक्ति भारतीय विस्तारवादको दलालीको पराकाष्ठा भएको बताएका छन् । कार्यवाहक महासचिव हरिभक्त कडेलले भारत देश र भारतीय जनताको नेपालमा कसैले पनि विरोध नगरेको बताए । भारतको हेपाहा विस्तारवादी मिचाहा प्रवृत्तिको नेपाली जनताले विरोध गर्दै आइरहेका उनको भनाइ रहेको छ ।
एमाले प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यले नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले यसको स्वतन्त्र परराष्ट्र नीति रहेको स्मरण गराउँदै भनेका छन्-‘नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन । राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र हितको रक्षा यसको अभिन्न अंग हो । भारतसँग सम्बन्ध सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग जोडिएका प्रश्नलाई गौण बनाउनु उचित हुँदैन ।’
उनले अतिरिक्त चाकडी आवश्यक नरहेको र असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच अतिवादी रहेको स्पष्ट पारेका छन् । सीमा विवादलगायत द्विपक्षीय सरोकारमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको जोड छ ।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र प्राध्यापक डा। तारा भुसालले अझ गम्भीर कूटनीतिक र आर्थिक प्रश्न उठाएका छन् । विश्व बैङ्क र युएनडीपी अनुभव भएका अर्थमन्त्रीबाट तथ्यमा आधारित र आत्मसम्मानपूर्ण कूटनीतिको अपेक्षा गरिएको थियो, दिल्लीलाई खुसी पार्ने भाषणको होइन भन्दै भुसालले लेखेका छन् । गैर–भन्सार अवरोध, व्यापार घाटा, ऊर्जा व्यापारमा भारतीय एकाधिकार र कालापानी–लिपुलेकजस्ता रणनीतिक मुद्दामा मौन रहेर केवल आर्थिक सहकार्य र विपद् व्यवस्थापनजस्ता हलुका विषयमा सीमित रहनुले काठमाडौंको बार्गेनिङ पावर बढाउँदैन । अदानी समूहको स्वामित्वपछि एनडीटीभीको सम्पादकीय झुकाव सर्वविदितै रहेको सन्दर्भमा यस्तो मञ्चमा ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै सर्टिफिकेट दिनु हतारो र आत्मसमर्पणवादी आश्वस्तताजस्तो देखिएको उनको टिप्पणी छ ।
कूटनीतिक प्रोटोकलको पालना भए–नभएको बारेमा समेत प्रश्न उठेको छ । वाग्लेको अभिव्यक्तिले नेपाल–भारत सम्बन्ध सुधार्ने सकारात्मक पक्षलाई अगाडि ल्याएको दाबी गर्न सकिए पनि यसले राष्ट्रिय स्वाभिमान, सीमा मुद्दा र आर्थिक असमानताजस्ता वास्तविक सरोकारलाई ओझेलमा पारेको आरोप लागेको छ ।
विदेश मञ्चमा पुगेर आफ्नै देशको राष्ट्रवादी दृष्टिकोणलाई ‘पुरानो युग’ ठहर्याउने शैलीले स्वतन्त्र परराष्ट्र नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ । सरकार र रास्वपा नेतृत्वले यसबारे स्पष्ट जवाफ दिनुपर्ने छ । राष्ट्रिय हितको रक्षा गर्दै पारस्परिक सम्मानमा आधारित सम्बन्ध कसरी अघि बढ्छ भन्ने कुरा अब व्यवहारमा देखिनुपर्ने माग उठेको छ ।
पहिले नै विवादमा तानिएका थिए वाग्ले
रास्वपाबाट निकालिएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले अहिलेको सरकार बन्नु भन्दा पहिले हिमालय टेलिभिजनको अन्तर्वार्तामा अझ गम्भीर आरोप लगाएका थिए । उनले स्वर्णिम वाग्लेले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनका लागि नेपाललाई भारतको राज्य बनाउने एग्रिमेन्ट गरिदिने प्रस्ताव भारतीय पक्षसँग गरेको दाबी गरेका गरेका थिए ।
यो विषय रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएको दुई–तीन हप्तापछि काठमाडौंको एक होटलमा भएको उनको भनाइ छ । ढकालले आफू कन्फिडेन्ट रहेको र लाइ डिटेक्सन टेस्ट दिनसमेत तयार रहेको बताएका छन्। ‘स्वर्णिम वाग्लेले त नेपाललाई भारतको राज्य बनाउने गरी कुरा गर्नुभयो । त्यही दिनदेखि मैले उहाँलाई पार्टीको उपसभापति मनबाट मानिनँ,’ ढकालले भनेका छन् । वाग्लेको अभिव्यक्ति र यससँग जोडिएका आरोपहरूले नेपाल–भारत सम्बन्ध, राष्ट्रिय स्वाभिमान र स्वतन्त्र परराष्ट्र नीतिको बहसलाई फेरि एकपटक चर्काएको छ ।
प्रतिक्रिया