राजद्रोहको झुठा मुद्दामा रोल्पाको हिरासतमा वस्दाको क्षणको स्मरण

केसीजी त्यहाँबाट निस्कनु भयो हामीलाई थाहा भएन। सांझ मात्र राजकुमार कक्षपतिको घरबाट वहांलाई खाना ल्याउनेले जानकारी दिए पछि थाह पायौं कि वहाँ त हिड्नु भयो भन्ने ।हामी खोरमा थुनिएका कसैलाई नभेटेर वहाँ त रातरात मच्छि पुग्नु भएको रहेछ।त्यो खबर सुने पछि हामी एक छिन् स्तब्ध भयौं।

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १८ ११:२० बजे
नारायण योगी

२०४८ मा आम निर्वाचन पश्चात बनेको नेपाली कांग्रेसको सरकारे कम्यनिष्टहरु माथि दमन गरिरहेको थियो । त्यसै सिलसिलामा रोल्पामा पनि दमन तीव्र पारिएको थियो । त्यसै सन्दर्भमा २०४९ को स्थानीय निकायको निर्वाचनमा रोल्पामा संयुक्त जनमोर्चाको नेतृत्वमा स्थानीय सरकार बनेको थियो ।यता तात्कालीन पार्टीको रूपमा रहेको संयुक्त जनमोर्चा जसले २०४८ को संसदीय निर्वाचनमा ९ स्थानमा प्रतिनिधि सभा र २ सदस्य राष्टिय सभामा विजय हासिल गरेको थियोे ।जसको माउं पार्टी थियो नेकपा (एकता केन्द्र ) जसका नेता थिए पुष्प कमल दाहाल प्रचण्ड ।प्रचण्डको पार्टी लगायत रिममा सामेल पार्टीहरूलाई रिमले तत्काल जनयुद्धको थालनि गर्नु पर्दछ भनेर दवाव दिईरहेको र त्यो कुरा बाहिर प्रकाशमा आई सकेको थियोे ।जसका कारण नेपाली कांग्रेसको सरकारले फासिस्ट सैलिको दमन चलाएको थियोे ।त्यो दमनको भण्डाफोर गर्न नेकपा (मसाल) ले२०४९ साल कार्तिक २८ गते बुटवलमा बसेको के स को बैठकले २०४९ मंसिर ४ गते रोल्पामा भैरहेको राजय आतंक बिरूद्द रोल्पाको सदरमुकाम लिवाङमा बिरोध सभा गर्ने निर्णय गर्यो। उक्त कार्यक्रममा पार्टी प्रबक्ता एवं पिबिएम चित्रबहादुर केसी मुख्य वक्ता र म, भेषबहादुर केसी (जसलाई रोल्पा पार्टीको सचिवको जिम्मेवारी दिएर पुर्णकालिक कार्यकर्ता बनाएर खटाएको थियोे।) जिल्ला पार्टीको प्रबक्तामा राजकुमार कक्षपति हुनुहुन्थ्यो । म त्यतिबेला सांस्कृतिक मोर्चा र,दाङको जिल्ला सचिव र किसान मोर्चाको के. सचिवको पनि जिम्मेवारीमा थिएं।

रोल्पाको उक्त कार्यक्रममा नेकपा मसालका पिबिएम एबं प्रवक्ता कमरेड चित्र बहादुर केसीजी प्रमुख वक्ता बनेर जाने कुरा थियो। चित्रबहादुरजी, म र भेषबहादुर केसी रोल्पाको खुङ्र्गिमा जितेन्द्र सिंहजीको घरमा राति बास बस्यौं । भोलि पल्ट बिहानै सुलिचौर हुँदै हिडेर लिवाङ राजकुमार कक्षपतिको घर बास बस्न पुुयौं । भोली बिहान लिबाघुम्ने काम भयो र खाना खाएर सकेपछि गणेश प्रकाश बुढा मगर , टंक पुन र भेष बहादुर केसी बजारमा वाल पेन्टिङमा जानू भयो। चित्रबहादुर केसी ,म , जितेन्द्र सिंह ,राजकुमार कक्षपति समेत त्यो बेला को लिवाङ को मुख्य बजारमा कार्यक्रमको लागी सहयोग जुटाउन भने चन्दा उठाउन हिडेका थियौं । हामीले खासै धेरै पसलमा सहयोग मागेका थिएनौं ।तर त्यो बेलाको सिडियो रईस खांले निषेध आज्ञा जारी गरि सकेको रहेछ। हामीलाई त कुनै अत्तोपत्तो नै थिएन । हामीहरू आफ्नो तालमा चन्दा उठाउनमा व्यस्त थियौ। हाम्रो वरिपरि पुलिसहरू फैलिएका थिए।

हामीलाई लाग्यो सुरक्षाको लागी आएका छन् ।तर एकै छिनमा थप फोर्सआएर हामीलाई घेरेर डिएसपी कार्यायको प्राङ्गणमा पुर्यायो र केसीजीलाई हाम्रो घेराबाट अलग गरायो र एक्कासि डिएसपी खड्काले कटिबांसको लाठिले कुटपिट गर्दै अश्लील गाली गर्दै लात्ती हान्दै खोरमा थुन्न लग्यो ।हामी ६ जना, म , भेषबहादुर केसी, जितेन्द्र सिंह,राजकुमार कक्षपति,गणेश प्रकाश बुढा र टंक पुनलाई खोरमा थुन्यो। चित्रबहादुर केसीलाई हामी संगै गिरफ्तार गरेर ल्याउने काम गरेन र वहाँ हामी थुनामा रहेको ठाउँमा भेटन पनि आउनु भएन। भोली पल्ट वहाँले केही मानिसहरू जुटाएर कोण सभा जस्तो प्रयत्न गर्न लाग्दा वहाँ लाई पनि गिरफ्तार ल्याएर डिएसपी कार्यालयमा लिएर आयो ।वहाँलाई लिएर आएको कुरा अलि अलि हल्ला भए पछि हामीले खोरबाट हेर्यौ ।त्यहाँ चित्रबहादुर केसीजीलाई केही बेर उभ्याउने काम गर्यो र वहाँ लाई चिया पिउन दियो आफुले पनि चिया पिउंदै डिएसपीले के के कुरा गरिरहे हामीले टाढा बाट देख्यौं । तर कतिबेला केसीजी त्यहाँबाट निस्कनु भयो हामीलाई थाहा भएन। सांझ मात्र राजकुमार कक्षपतिको घरबाट वहांलाई खाना ल्याउनेले जानकारी दिए पछि थाह पायौं कि वहाँ त हिड्नु भयो भन्ने ।हामी खोरमा थुनिएका कसैलाई नभेटेर वहाँ त रातरात मच्छि पुग्नु भएको रहेछ।त्यो खबर सुने पछि हामी एक छिन् स्तब्ध भयौं। सबैले एक अर्कालाई हेरेर मुखामुख गर्यौ ,हामी कोहि बोलेको मलाई खास संझना छैन। हामीलाई थुनेर राखेको कोठा अन्दाजी पाँच हात चौडा र आठ हात लम्बाईको थियोे होला। हामीलाई थुनामा राख्नु अगाडि दुईजना थुनुवा पहिलेनै थिए। एकजना भावाङ गाउँपालिकाका उपाध्यक्ष हुन् मलाई राम्रोसँग संझनाछ। अर्को आफ्नै छोराको भवितव्यं ज्यान केसमा परेका करिब ५२ बर्षका ब्यक्ति थिए। हामी त्यहाँ थुनिनु पुर्व भावाङका संजमोका प्रतिनिधिलाई निकै यातना दिने गरेको थियो ।त्यो रात हामीलाई थुने पश्चात उनलाई यातना दिएन शायद त्यो कुरा सार्वजनिक हुने र बदनाम हुने डरले यातना नदिएको हुनुपर्छ । कटिबांसको लौरोले ठटाउंदै हामीलाई त्यो अंध्यारो कोठामा थुन्यो।कोठामा मधुरो एउटा टुकी बत्ति धिप धिप बलिरहेको थियो ।ढोकानेर नै एउटा सिल्वटको करिब १२–१५लिटर पानी जाने चारैतिरबाट कुच्चिएको बाल्टी रहेछ।जसमा त्यहाँ बस्ने कैदिले त्यहीँ नै दिसा पिसाब गर्नु पर्दो रहेछ। त्यसको नराम्रो गंध ह्वास मुखमा आयो एकछिन त बान्ता आउला जस्तो भयो । हामी सबैले नाकमुख थुन्यौं। केही बेर त हामीले एक अर्कालाई हेर्यौ र कसलाई कति चोट लागेको छ भनेर सोध पुछ गर्यौं। कसैको टाउकोमा टुटुल्को उठेको थियो कसैलाई पिठ्युँमा सुम्ला परेको थियोे ।कसैको तिघ्रामा लाठीको डामथिए। मेरो पनि तिघ्रामा निलडाम थियोे ।हामीले केवल राज्य आतंकको बर्खिलाफमा आवाज उठाउन गएका थियौं तर तात्कालिन नेपाली कांग्रेसको सरकारलाई त्यो सह्य भएन। राजतन्त्र मुर्दाबादको नारा लेखने टंक पुन, गणेश प्रकाश बुढा मगर, र भेष बहादुर केसी जीलाई त पिट्दै अश्लील गाली गर्दै ल्याउने काम गरेको भन्नु भएको थियो । त्यो बेला रोल्पा लिवाङमा बिजुलि बत्ति पुगेको थिएन ।लालटिन र टुकिको भरमा सबैले रहनु परेको थियो।

त्योबेला करिब ४ बजेको हुदो हो। केही समय पस्चात होटलबाट राजकुमार कक्षपतिजीको मिसेसले हो सायद चिया पठाउनु भयो ।त्यो अमिलो धैसे गन्ध आउने चिसो सुरूङ जस्तो कोठामा चिया पिउन पनि कठिन भयो । मरता क्या नै करता भनेझैं भयो । हामी सबैले चिया पियौं। कोठाको बाताबरण नराम्रो भए पनि पेटका तन्तुहरू छट्पटीन थाले।आमासयले ब्रेनलाई छिटो खानाको बन्दो बस्ति गर्न आदेश दियो । त्यहाँ थुनिएका मध्ये राजकुमार कक्षपति बाहेक अरू कोही पनि हामी त्यहाँका थिएनौ।राजकुमार जीहरू पनि प्युठानबाट व्यापारको सिलसिलामा त्यहाँ आउनु भएको रहेछ।त्यहाँ मसालको जिल्ला प्रबक्ता बनेर राजनीतिक काममा पनि सक्रिय हुनुहुन्थ्यो । त्यो दमनको बेलामा कोहि भए पनि शाहस नभएका मानिसहरू डरले पनि लुक्ने बेला थियो । त्यहाँको सिडिओ रइस खां भन्ने निकै व्यभिचारी थियोे । डिएसपी खड्का थरको थियो उसले त निर्वाचित जिल्ला विकास सभापति झग्गु प्रसाद सुबेदिलाई पेस्तोल नै कन्चटमा राखेको कुरा हामीले सुनेका थियौ। हामीले पहिले देखि थुनामा रहनु भएका संग परिचय आदान प्रदान गर्यौं। एकजना त भावाङ गा.वि.स. उपाध्यक्ष हुनु हुदो रहेछ। अर्का चाहिँ ज्यान भवितव्यमा परेका ब्यक्ति थिए।भावाङका उपाध्यक्षको अनुहार सुन्नीएको थियो। शारिरिकरूपमा पनि यातनाले कमजोर भएका थिए। उनी राजनैतिकरूपले केही सचेत नै थिए। बिना कुनै कारण उनलाई सार्वजनिक मुद्दा लगाएको रहेछ।उनलाई राति राति उल्टो झुण्ड्यार यातना दिदो रहेछ। केही समय पश्चात् झम्मक्क सांझ पर्यो । निर्वाचित उपाध्यक्षलाई त्यसरी यातना दिई रहेकोले हामीलाई पनि यातना दिन्छन् भन्ने कुराको संत्रास सबैको मनमा थियो । जति जति अंध्यारो हुदै जान थाल्यो त्यति त्यति हाम्रो व्याकुलता बढदै गएको थियोे । राजकुमारजीको सिगरेट पिउने बानि रहेछ। वहाँले सिगरेट थपेको थप्यै गर्न थाल्नु भयो । एक त त्यो सांघुरो सानो खोर त्यै माथि , सिगरेटको धुंवा। हामीले धेरै अनुुनय विनय गरे पछि पिउन अलिक कम गर्नु भयो। राति हामी पाँच जनाको लागि होटलबाट खाना कक्षपतिजीको जहानले हो, सायद पठाउनु भएको र राजकुमारजीलाई चाहिँ घरबाटनै खाना आएको थियो।हामीले त खाना खायौं । तर राजकुमारजीले त्यो दिन खानु भएन। वहाँको भागको खाना फालियो। सुत्नका लागी केही कपडाहरू वहाँको घरवाट आएका थिए। त्यो यातना पाउने डर कायमै थियोे । हामी ६ जना मध्ये अलि उमेरमा परिपक्व खुङ्गग्रिका जीतेन्द्र सिंह ठकुरी हुनुहुन्थ्यो ।भर्खरै अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिमा रहेर काम गरि सक्नु भएको र हालै नेपालमा आएर राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । न आत्तिनहोला साथीहरू म छदैछु नि भनेर हौसला दिनु हुनुहुन्थ्यो ।।त्यो रात राम्रो संग हामी कसैलाई निन्द्रा परेन। फोहर पनि रहेको त्यो कोठामा उडुसले पालैपालो रगतको स्वाद लिईनै रहे।

थुनामा परिसके पछि धेरै कुरा गर्ने मनस्थितिमा हामी थिएनौ र नजिकै सेन्ट्रि बस्ने भएकोले राजनीतिक कुरा धेरै गर्न भएन। यसैपनि हामी सबैलाई यातना दिने भयले पिरोलि रहेको थियोे । हामी निन्द्रा लाई नलाई खुट्टा खुम्च्याएर फर्काई फर्काई सुत्ने प्रयास गर्यौं। राति कतिबेला हो भेषबहादुर केसी जी र जितेन्द्रजी वाह केले टोक्यो भन्दै शरीर कन्याउदै उठेर बस्नु भएको रहेछ। कुनामा दिसापिसाब गर्नका लागि राखिएको बाल्टिनको फोहर त्यत्तिकै डुङडुङति गन्हाएकोछ। टाउको पनि भारी भएको छ।कस्तो अमानवीय तरिका  भोली त्यो बाल्टिलाई बाहिर राख्न र दिउँसो दिसा पिसाब बाहिर गर्न पाउनु पर्छ भनेर कुरा राख्ने भन्ने सल्लाह भयो ।तर के कारणले हो भोलिपल्ट त्यो काम हामीले गरेनौं ।भोली पल्टको कुरा मैले माथिनै भनि सकेको छु। एक दुई दिन पछि हो सायद दिउँसो त्यो बाल्टी बाहिर राख्ने काम भयो । बाल्टि राति मात्र भित्ररह्यो । हामीलाई यसकार्यले अलि सजिलो बनाउने काम गर्यो। हामीहरू थुनामा परेदेखी भावाङको उपाध्यक्षलाई यातना दिने कुरा रोकियो। हामीहरू छुटेपछि के भयो थाह भएन। हामी १३ दिन थुनामा रह्योै।सायद १०औं दिनमा प्युठानबाट प्युठानका नेकपा मसालका तात्कालिन पार्टि प्रवक्ता केबि गुरूङ, अधिवक्ता रमेश राजभण्डारी र स्वयंसेवक मदन पाण्डेजीहरू आउनु भयो ।

हामी सबैलाई राजद्रोेहको मुद्दा लगाउंछ भन्ने कुरा मलाई अलि बढि जानकारी थियो ।किनकि दाङमा त्यो मुुद्दा चलिसकेको थियो।त्यहिकारणले मैले साथिहरूलाई पुलिसले बयान लिदां, हामी किसान ,जनजाति , आदिमा रहेको र त्यसको बिधानले राजतन्त्र मुदावाद नभनेको हुदा हामी राजा र राजतन्त्र बारे केहि जान्दैनौ भन्नुहोला भनेको थिएं। तर बयान लिदा सरासर आफुलाई जे चाहिएको हो त्यहिलेखेर सहिछाप गराएर पठाएछ।मेरो पालोमा मैले जे भन्छु त्यहि लेख्न लगाएकोले मुद्दा लागेन र ठाडो कागजमा छुटें। अरू पाँच जना साथीहरूलाई मुद्दा लाग्यो। त्यो कागजमा निम्न अनुसारको व्यहोरा थियोे ।

मिति २०४९ –८ –११ गते दिउंसो लगभग २ बजेको समयमा भेष बहादुर केसी समेत ६ जनाको एक समुह भई राजकुमार कक्षपतिको निर्देशनमा कालो मसि समेतको बाल पेन्टिङको सामान ल्याई लिवाङ बजारका घरका भित्तामा र सार्वजनिक स्थल बालमन्दिरको पर्खालमा राजतन्त्र मुर्दावाद जस्ता संबिधान बिपरितका नारा लेखी राज्य बिरूद्द अपराध गरेकोले राज्य बिरूद्द अपराध र सजाय ऐन २०४६ को दफा ४ अनुसार कार्वाही गरिपाउं भन्ने २०४९ –८ –१२को डण्ड पानी आचार्यको जाहेरी दरखास्त।

माथिको जाहेरी अनुसार हामी ६ जना मध्ये एकजना राजकुमार कक्षपतिजीको बयान हेरौं।

मिति २०४९ –८ –१२ गते को दिन दिउंसो लिवाङ बजारको चौरमा जनतन्त्र र जनजिविकाको सवालमा संबोधन भाषण गर्ने योजना बनाएका थियौँ ।म समेतका अन्य साथीहरू कसैले पनि वाल पेन्टिङ गर्ने योजना बनाएका थिएन तर भेष बहादुर के सी, गणेश प्रकाश, र टंक बहादुरले कसको निर्देशनमा बाल पेन्टिङ गरे मलाई थाह छैन। नारायण योगी र म चन्दा संकलन गर्न गएका हौं। नेकपा मसाल बैधानिक मोर्चाहौ हैन थाहछैन । राजतन्त्र प्रती मेरो आस्था छैन भन्ने समेत प्रतिवादी राजकुमार कक्षपतिको जिल्ला प्रहरी कार्यालय रोल्पामा २०४९ –८ –१२ गतेको बयान ।

माथि राजतन्त्र प्रति मेरो आस्था छैन भन्ने भनाइ नै मुद्दा लगाउने मुख्य आधार थियोे ।त्यो बयानको बेलामा साथीहरूले भनेको कुरा नलेखेर सबैको बयानमा माथि लेखिएको व्यहोरा लेखिएको हो । मेरो पालोमा पनि त्यो नै लेख्न थालेको बेला मैले हेर्ने काम गरें र सच्याउन लगाएं। जसमा के थियोे भने मेरो राजपरिवार प्रती कुनै व्यक्तिगत प्रकारको दुश्मनि छैन भनेकोले मलाई राजकाज मुद्दा नलागेकोले तत्कालीन लिवाङका सायद कुनै वार्ड अध्यक्ष वा निर्वाचित प्रतिनिधि जमानि बस्नु भएको थियोे र म ठाडो कागजमा छुटें। अरू छ जना साथीहरूलाई करीव एक महिना जेल बसाइँ पछि अधिवक्ता रमेश राज भण्डारी जी लगायतका वकिलहरूले बहस गरेर जनही एक एक हजारको धरौटिमा छुटनु भयो ।र पछि मुद्दा पनि जित्नु भयो । यस संग जोडिएका थप कुरा कुनै बेला लेख्ने छु ।धन्यवाद ।



२०८३ असोज १८ ११:२० बजे

प्रतिक्रिया