कविता- न्याय पायो, गाउँ गुमायो

bimbonline पुष्पराज जोशि
२०८३ साउन २४ १८:०१ बजे
पुष्पराज जोशि

सिमान्त गाउँमा

एउटा गरिब बस्थ्यो,

आफुले नगरेको अपराधमा

एकदिन उ पक्राउ पर्यो।

 त्यसपछि उसलाई कसैले भन्यो

 नडराऊ 

न्यायको बाटो म देखाई दिन्छु,

तिम्रो निर्दोषिता अदालतको कानमा

म सुनाई दिन्छु

यति सुनेपछि ऊ ढुक्क भयो,

राम्रै चिनजानको मान्छे थियो,

कानुनका अक्षर चिनेको थियो,

र आफुलाई सामाजिक अभियन्ता

पनि भन्थ्यो।

त्यसपछि शुरु भयो

कागजको यात्रा,

तिनका नक्कलको यात्रा,

बहस पैरवीको यात्रा,

साक्षी परिक्षणको यात्रा ।

यात्राको हरेक मोडमा,

उ संग रहेको, 

सानो थैली हलुङ्गो हुँदै जान्थ्यो ।

उसलाई प्रकृयाको नाम सुनाईन्थ्यो

र भनिन्थ्यो  यो खर्च त गर्नै पर्छ

कहिले बहस पैरवी नाममा,

कहिले नक्कलका नाममा,

कहिले प्रमाण परिक्षणका नाममा,

र कहिले अन्य खर्चका नाममा, निरन्तर थैली रित्तिदै गयो।

त्यसपछि उसले बेच्यो

भकारीको अन्न,

गोठको गाई,

बारीको उत्पादन

र अन्तमा आफ्नै निन्द्रा,

तर न्यायको ढोका 

अझै टाढा थियो।

अन्ततः उसको मुद्दामा  निर्णय गर्दै,

एकदिन अदालतले एकदिन भन्यो,

तिमी उपरको आरोप प्रमाणित भएन।

यो सुनेर  उसले मुस्कुराउन खोज्यो

तर त्यो मुस्कान

उसको ओठसम्म आउन सकेन ।

किनकी,

अदालतबाट निर्णय आउदासम्म

ती अभियन्तालाई तिरेको मूल्य,

उसको आफ्नै जिवनभन्दा 

ठुलो भै सकेको थियो।

र त्यसपछि पनि,

एउटा खर्च बाँकी थियो,

फैसलाको नक्कल लिन।

अदालती प्रकृयाको टुङ्गो पछि,

ऋणको लामो छाँया उसको ढोकासम्मै आयो,

ऊ सोच्न थाल्यो

न्याय त पाए तर यसका लागि

सब‌ै थोक गुमाए,

आरोपमा निर्दोष भएपनि,

ऋणको दोषी भए,

 झुट्टा आरोपीमा नाम मेटिएपनि,

साहुको बहीमा ऋणीमा नाम थपियो।

त्यसैले एकदिन बिहान,

उसले आफ्नो गाउँतिर अन्तिम पटक हेर्यो,

त्यो बाटो,

त्यो चौतारी,

त्यो पँधेरो,

सबैलाई आफ्ना आँखाभरी सजाउँदै ऊ परदेशतीर लाग्यो।

ऊ भारततीर लाग्यो

रोजगारी खोज्न होईन,

ऋण चुक्ता गर्न।

पछाडी छुट्यो,

उसको घर,

परिवार,

आफन्त,

र त्यो भुगोल, 

जहाँ उसको बाल्यकालले,

पहिलो पटक संसार चिनेको थियो।

अब,

उसको अगाडि थियो

अपरिचित शहर,

अपरिचित भाषा,

अपरिचित अनुहार,

र काँधमा थियो गह्रुङ्गो ऋणको भारी।

(कविताका लेखक- डडेल्धुरा जिल्ला अदालतका तहसिलदार हुनुहुन्छ)


२०८३ साउन २४ १८:०१ बजे

प्रतिक्रिया