हामी सबैलाई एकता चाहिएको छ,
एकताको नाममा ठूलो प्रचार चाहिएको छ,
कम्युनिष्टको नाममा जसलाइ ताण्डव चाहिएको छ,
उसैलाई सबैभन्दा ठूलो एकता चाहिएको छ।
तर,
विश्वासबिनाको एकता,
भरोसाबिनाको एकता,
षड्यन्त्रभित्रको एकता,
टालटुले गरिएको एकता,
कति दिन टिक्छ?
बुर्जुवाहरूलाई
एकताको हल्ला चाहिएको छैन।
उनीहरू कार्यमा एकताबद्ध छन्,
स्वार्थमा एकताबद्ध छन्,
गुणमा एकताबद्ध छन्,
परिणाममा एकताबद्ध छन्।
उनीहरूलाई
देखाउने एकता चाहिएको छैन।
उनीहरूलाई थाहा छ,
नाराले होइन,
कार्यले शोषणको संसार थामेको छ।
उनीहरूलाई थाहा छ,
देखावटी एकताको पर्दा उघ्रियो भने
उनीहरूले थामेको संसार
गर्ल्यामगुर्लुम ढल्ने छ।
तर,
कथित कम्युनिष्टहरूलाई
गुमाउनु केही छैन।
उनीहरूको संसार
अर्धबुर्जुवा सुविधाले थामिएको छ,
र त्यो सुविधा
बुर्जुवा व्यवस्थाले नै जोगाइदिएको छ।
त्यसैले
सारमा बुर्जुवा,
रूपमा कम्युनिष्ट,
एकताको कोलाहल मच्चाउँछन्,
तर श्रमजीवीहरूको
वास्तविक एकताको मर्ममा
विष घोल्छन्।
हामी भने
विष पिएर पनि
एकता–एकता भनिरहेका छौँ,
बेहोसीमै
एकताको गीत गाइरहेका छौँ,
एकताको नाटकभित्र
आफ्नै विघटन लुकाइरहेका छौँ।
एकता,
मञ्चमा उभिएर हात मिलाउनु होइन,
मनमा शङ्का बोकेर एउटै तस्वीर खिचाउनु होइन,
स्वार्थ फरक राखेर एउटै नारा लगाउनु होइन।
एकता त,
विचारको स्पष्टता हो,
उद्देश्यको समानता हो,
विश्वासको आधार हो,
कार्यको सामञ्जस्य हो,
संघर्षमा एउटै दिशा हो,
र श्रमजीवी वर्गको मुक्तिका लागि
आफ्नो स्वार्थभन्दा माथि उठ्ने प्रतिबद्धता हो।
जहाँ विश्वास छैन,
त्यहाँ एकता हुनेछैन।
जहाँ साझा उद्देश्य छैन,
त्यहाँ एकता हुनेछैन।
जहाँ कार्य एउटै छैन,
त्यहाँ एकताको नारा
मात्र आवरण बन्ने छ।
त्यसैले,
हामीले पहिले सोच्नुपर्छ,
हामी एकताको पक्षमा छौँ
कि एकताको प्रचारको पक्षमा?
हामी एउटै ठाउँमा उभिएका छौँ
कि एउटै ताण्डवमा रमाएका छौँ?
यदि विचार अलग छ,
दिशा अलग छ,
उद्देश्य अलग छ,
कार्य अलग छ भने,
हामीले जति नै ठूलो स्वरमा
एकताको नारा लगाए पनि
सत्य एउटै हुन्छ
हामी एकताबद्ध छैनौँ।
र यही सत्यलाई स्वीकार नगरी
साँचो एकताको निर्माण सम्भव छैन।
प्रतिक्रिया