जनताले एउटा सुनौलो सपना देखेका थिए
हुलका हुल जनता,
आशाका झोला बोकेर
सडकमा निस्किएका थिए।
हिजोसम्मका सत्ताधारीलाई
कसिङ्गरभन्दा पनि कम ठानी,
रद्दीको टोकरीमा मिल्काएर
नयाँ युगको स्वागत गरेको सोचेका थिए।
उनीहरुलाई लागेको थियो
अब चुल्होमा समृद्धि पाक्नेछ,
भाँडामा विकास उम्लिनेछ,
र भान्साबाट
सपनाको सुगन्ध आउनेछ।
तर समयले
सपनाको रंग फेरिन थालेछ,
सुनौला सपना
बिस्तारै निराश विपनामा
रूपान्तरण हुँदैछन,
र विपनाले
हामीलाई चिमोट्दै सोधिरहेको छ
“खै त त्यो परिवर्तन?”
आज देशभर
संसदमा के हुँदैछ भन्दा
भान्सामा के पाक्दैछ भन्ने ठूलो चिन्ता छ,
राजनीतिक भाषणभन्दा ठूलो
एउटा खाली सिलिण्डर र
घोषणापत्रभन्दा गहिरो
त्यसको रित्तो पेट भएको छ।काँधमा आयातित वस्तुको
भारी बोक्दै आएका हामी,
त्यसमध्येको
एउटा मात्रै वस्तु ग्यास नआउँदा
थाहा पाउँदैछौ
हाम्रो आपुर्ति व्यवस्था
कति कमजोर रहेछ
धेरै चुल्हो निभेका छन,
भाँडा रित्तिएका छन्,
भान्साबाट निस्किने धुवाँ हराएको छ,
तर जनताको आँखा अगाडीको
कुहिरो भने अझै बाक्लिँदैछ।
हिजो परिवर्तनको नारा लगाउनेहरू
सिलिण्डर बोकेर डिलरको ढोकामा
उभिएर सोध्दैछन
“ग्यास कहिले आउँछ?”
र उताबाट उत्तर आईरहेको छ
“छिट्टै
तर त्यो ‘छिट्टै’
कहिले बिहान हुन्छ,
कहिले बेलुका हुन्छ,
कहिले आश्वासन मात्रै ,
तर ग्यास भरिएको
सिलिण्डर भने आउँदैन।
अहिले
चुल्हो अगाडि बसेर
जनता सोच्न बाध्य छन्
देउता फेरिए,
तर चुल्हो किन फेरिएन?
सुनौलो सपनाको
त्यो उज्यालो कहाँ हरायो?
कि त्यो पनि
ग्यासजस्तै
बजारबाटै हराइसक्यो?
आज देशभर
सिलिण्डर खाली छ,
भान्सा अस्तव्यस्त छ,
जनजीवन रन्थनिएको छ।
सपनाबाट ब्युझिएर
विपनामा फर्किएका जनतालाई
एउटा खाली सिलिण्डरले
एउटा कठोर सत्य
सम्झाइरहेको छ,
परिवर्तन केवल
सत्ताको कुर्सीमा होइन,
चुल्होको आगोमा पनि
देखिनुपर्ने रहेछ।
प्रतिक्रिया