हिजो जसको भाग्यको पाना,
आँसुले मात्रै लेखिएको थियो।
आज उसकै हातको औँलाले,
उपकारमाथि धूलो छरेको छ।
अँध्यारो बाटोमा,
दीपशिखा बनेर जसले गन्तव्य देखायो,
जुन हातलाई सहारा बनाई उठ्यो,
आज त्यही हात चपाउन खोज्यो।
झुपडी फेरियो, घर फेरियो,
फेरिए लुगा, फेरियो व्यवहार।
तर मनको ऐना कहिल्यै फेरिएन,
उस्तै रह्यो स्वार्थको व्यापार।
फल खाएर जरा काट्ने,
छायाँ दिएको रुखै ढाल्ने।
यस्तै कृतघ्न प्रवृत्तिले,
आफ्नै भविष्य आफैं जलाउने।
दुई पैसाले उचालिएको घमण्ड,
आकाश छोएको भ्रम पाल्छ।
तर समयको एउटा झोक्काले,
त्यही घमण्डलाई धुलिसाँध गराउन सक्छ।
धनले पेट भरिदेला,
तर विवेक कहिल्यै किनिदैन।
पदले परिचय बढाउँला,
तर चरित्र चुलिदैन।
उपकार बिर्सने मानिस,
इतिहासको आँखामा सानै हुन्छन।
सत्य बोल्ने समय आएपछि,
उसको मुख आफैं कालो हुन्छ।
समय मौन छ भनेर,
न्याय मरेको ठान्नु भूल हो।
कर्मको लेखा राख्ने अदालतमा,
न कुनै सिफारिस चल्छ,
न कुनै घमण्डको फूल ।
त्यसैले— मानिस ठूलो घरले होइन,
हृदयले हुन्छ।
सम्पत्तिले होइन,
संस्कारले हुन्छ।
उपकार बिर्सनेहरूको नाम
समयसंग क्षीण भएर जानेछ।
(कविताका लेखक- लामो समय देखि न्याय कानुनको क्षेत्रमा काम गर्दै डडेल्धुरा जिल्ला अदालतका तहसिलदार हुनुहुन्छ)
प्रतिक्रिया