आज विसं २०८२ को चैत्र २४ एक महान् र ऐतिहासिक जनआन्दोलनको उत्कर्षको दिन अर्थात् ३६ औं जनआन्दोलन दिवस । २०४६ मा नेपालका सम्पूर्ण राजनीतिक दलहरुले प्रतिबन्धित अवस्थाका बीचबाट प्रत्यक्ष वा परोक्ष रुपले अथवा शान्तिपूर्ण वा सशस्त्र रुपले संघर्ष गर्ने क्रममा तत्कालीन निर्विकल्प भनिएको निरंकुश र निर्दलीय पंचायती व्यवस्थाका विरुद्ध संयुक्त र सशक्त आन्दोलन गर्दा आम जनताले अभूतपूर्व सद्भाव, समर्थन, सहयोग, सहभागिता र समर्पण गरेको अविस्मरणीय दिन । विचारणीय छ कि २०४६ चैत्र २४ को आन्दोलनको वैचारिक, राजनीतिक र सांगठनिक आयोजना र नेतृत्व तत्कालीन नेकपा (मशाल) ले गरेको थियो । आयोजक संयन्त्र र संस्थाको रुपमा थियो तत्कालीन नेकपा (मशाल), नेकपा (मालेमा), नेपाली कम्युनिस्ट लीग र नेकपा (मसाल) अनि डा. बाबुराम भट्टराई, नन्दकुमार प्रसाईं, मल्ल के सुन्दर लगायतका केही स्वतन्त्र वाम व्यक्तित्वहरु सम्मिलित क्रान्तिकारीहरुको संयुक्त राष्ट्रिय जनआन्दोलन नामक तेस्रो संयुक्त मोर्चा । प्राविधिक रुपले त्यसको संयोजक भने चर्चित डा. बाबुराम भट्टराई बनाइएका थिए ।
संयुक्त राष्ट्रिय जनआन्दोलन नामक त्यो क्रान्तिकारी संयुक्त मोर्चा नयाँ जनवादी गणतन्त्रको निम्ति संघर्षरत शक्तिहरुको थियो । अन्य दुई मोर्चाहरुमा नेपाली काङ्ग्रेसका सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा एउटा प्रजातान्तृक मोर्चा र सात वाम दलहरुको अर्को संयुक्त वाममोर्चा थियो। जसको नेतृत्व प्राविधिक रुपले तत्कालीन नेकपा (मार्क्सवादी) की नेता पुष्पलाल पत्नी साहना प्रधानले गरेकी थिइन् भने राजनीतिक नेता थिए मनमोहन अधिकारी र सांगठनिक नेतृत्व तत्कालीन नेकपा (माले) अर्थात् झापाली विद्रोहीहरुको पार्टी र त्यसका नेता मदन भण्डारीले गरेका थिए । यी दुई क्रमशः संसदवादी र सुधारवादी दलका मोर्चाहरुको राजनीतिक लक्ष संवैधानिक राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्था थियो । तीमध्ये पनि नेपाली काङ्रेसको आर्थिक नीति बुर्जुवा उदारवादमा आधारित थियो भने माले लगायतका वाम दलहरुको मोर्चाको आर्थिक नीति मिशृत अर्थतन्त्रमा आधारित थियो । त्यसरी नै हाम्रा क्रान्तिकारी शक्ति र व्यक्तिहरु सम्मिलित तेस्रो मोर्चाको राजनीतिक लक्ष नयाँ जनवादी गणतन्त्रात्मक व्यवस्था थियो भने आर्थिक नीति राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रमा आधारित थियो । यिनै राजनीतिक र आर्थिक नीतिका भिन्नताका कारण त्यतिबेलाको संयुक्त आन्दोलन एउटै संयुक्त मोर्चाद्वारा संचालित नभएर तीनथरी मोर्चाद्वारा संचालित थियो तर यी तीनमध्ये अघिल्ला दुई नेका र वाममोर्चा आधारभूत रुपमा एकै ठाउँमा थिए भने तेस्रो कम्युनिस्ट क्रान्तिकारीहरुको मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन आधारभूत रुपमै फरक थियो । यसरी हेर्दा मूलतः दुईथरी मोर्चा संचालित र संघर्षरत थिए - एउटा संसदवादी मोर्चा र अर्को नयाँजनवादी मोर्चा ।
उल्लेख्य के छ भने वैदेसिक सम्बन्ध, संघर्ष, संगठन र सत्ताका दृष्टिले प्रथम शक्तिशाली मानिएको नेपाली काङ्ग्रेस र दोस्रो शक्तिशाली वाममोर्चाको समग्र नेतृत्वमा यो आन्दोलन आयोजित र संचालित त खुबै जोडतोडले भनिएको थियो तर जनताले ती पार्टीहरुद्वारा अघि सारिएको पुरानै असफलसिद्ध संवैधानिक राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थालाई मन पराएका थिएनन् । त्यसले गर्दा फागुन ७ गते प्रजातन्त्र दिवसको ऐतिहासिक दिनको साइत पारेर सुरु गरिएको उक्त आन्दोलनमा भारतीय शासकवर्गको समेत समर्थन र सहयोगका बावजुद पनि उनीहरुद्वारा संयुक्त रुपमा घोषित चैत्र २६ अघिका कार्यक्रमहरुमा त्यति धेरै जनसहभागिता थिएन जति व्यापक र बृहद जनसहभागिता चैत्र २४ मा थियो । त्यति मात्र होइन, अन्य दिनहरुका कार्यक्रमहरुमा सबै पक्षका जनता-कार्यकर्ताहरुमा चैत्र २४ को जस्तो उत्साह, उमङ्ग, र उत्सर्ग भावस होश, जोश र जाँगर अनि त्याग, बलिदान र समर्पण अभिव्यक्त भएको थिएन । त्यस दिन जनताले स्वीकारेको र लल्कारेको नारा थियो राजतन्त्र मुर्दावाद नयाँ जनवादी गणतन्त्र जिन्दावाद र निशाना थियो दरवार र राजा महेन्द्रको सालिक । स्मरणीय छ त्यही सालिक तोड्दै गर्दा एकपछी अर्को गरी कैयौं योद्धाहरुले वीरतापूर्वक आफ्नो अमूल्य जीवन देस, जनता र क्रान्ति-मुक्तिको लागि उत्सर्ग गरेका थिए ।
विडम्बना के भएको थियो भने चैत्र २४ को त्यो विशाल जनसागर उर्लिएको देखेर दरबार र पंचायतका हिमायतीहरुमात्र होइन काङ्गेस-एमाले र भारतीय विस्तारवाद लगायतका वैदेशिक शक्तिकेन्द्रहरु अत्तालिएका थिए र उनीहरुले चैत्र २४ को आन्दोलनका आयोजकहरुलाई जानकारी नै नदिइ रातारात षड्यन्त्रपूर्वक सम्झौता गरेर चैत्र २६ गते पुरानै प्रतिक्रियावादी संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय व्यवस्था मानेर जान प्रतिबद्ध भए । यसले गर्दा सहिदको बलिदान र जनताको संघर्षप्रती धोका र विश्वासघात भयो भन्दै यो कुराको तत्कालै संयुक्त राष्ट्रिय जनआन्दोलन र तत्कालीन प्रमुख घटक नेकपा (मशाल) लगायत सबैजसोले वक्तव्यहरु प्रकाशन गरेर सम्झौताको निन्दा र भर्त्सना गरे । स्मरणीय छ कि सो अवसरमा सम्झौतालाई धोका करार गर्दै मशालद्वारा निकालिएको रातो पर्चा तातो चर्चाको विषय बनेको थियो । त्यो सम्झौताबाट साँच्चिकै देस र जनतालाई धोका दिएर जबर्जस्ती संसदीय व्यवस्था थोपरिएको हुनाले नै जन आन्दोलन सफल भएको ६ बर्ष पुग्दा नौग्दै उक्त व्यवस्थामा देखिएका विकृती र विसंगतिहरुका कारण असह्य भएर संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाम्मा अघि बढौं भन्दै २०५२ फागुन १ गतेदेखी महान् जनयुद्धको थालनी हुँदा दसौं हजार जनता, योद्धा र नेताहरुको सहादत भएको थियो र कम्तीमा आजको गणतन्त्रको स्थापना गर्नमा सफलता मिलेको थियो । यो कुरा बेग्लै हो कि जनयुद्ध थालनी गर्दाका लक्ष-उद्देश्य र प्रतीज्ञा-प्रतिबद्धतालाई अपूरै, अधुरै र अलपत्रै पारेर बीचैमा नेतृत्वले हठात् र बलात् १२ बुँदे सहमती गर्यो । भारतीय विस्तारवादी शासकवर्गको साथ, सहयोग र समन्वयमा नेपालका सात संसदवादी दल र तत्कालीन युद्धकर्ता नेकपा (माओवादी) नेतृत्वबीच दिल्लिमा भएको उक्त अवांछित १२ बुँदे समझदारी र त्यस आधारमा २०६२\६३ मा १९ दिने ऐतिहासिक जनविद्रोह भयो । फलतः राजा ज्ञानेन्द्रलाई झुक्न कर त लाग्यो तर फेरि उहीँ पुरानै संसद र संसदीय व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र लाई नयाँ नाममा पुनर्स्थापित गरियो । अनि २०६३ मंसिर ५ गते तत्कालीन सरकार र माओवादीबीचमा वृहत् शान्ती-सम्झौता समेत भयो । क्रान्तिकारी आन्दोलनका मुख्य उपलब्धिको रुपमा प्राप्त भएका महान् जनमुक्ती सेना, जनसत्ता, जन अदालत, जनकम्युन आदि सबै महान् दस बर्षे जनयुद्धसंगै विसर्जन गरिए । यसबाट समेत सहिद-बेपत्तालगायतका लाखौं जनता, कार्यकर्ता र योद्धाहरुप्रति अन्ततः र सारतः फेरिपनि धोका र विश्वासघात भयो ।
यसरी ठुला पार्टी र तिनका ठुला नेताहरुको आत्मसुरक्षावाद, क्षुद्र सत्तास्वार्थ तथा राष्ट्रिय र वर्गीय आत्मसमर्पणवादका कारण सम्पन्न सम्झौता वाट जनता र देसलाई अनि क्रान्ती र मुक्तिलाई भएको धोकैधोकाका कारण चैत्र २४ को जन आन्दोलनले देखाएको बाटो अझै गन्तव्यमा पुग्न सकेको छैन । तसर्थ २०४६ चैत्र २४ कै जनआन्दोलनले देखाएको क्रान्तिकारी बाटो, विचार र भावना, जनसहभागिता र समर्पण अनि वीरता र बलिदानको गरिमा र उच्चता एवं गर्व र गौरवलाई अझ थप परिमार्जन र समृद्ध गर्दै अगाडि बढ्नुभन्दा अर्को राम्रो, सही र क्रान्तिकारी विकल्प छैन । त्यसैले चैत्र २४ लगायतका वीरता र बलिदानीले भरिएका ऐतिहासिक संघर्ष र युद्धको स्मरण र सलामी गरौं, वीर सहिदहरुलाई श्रद्धासुमन अर्पण गरौं । २०४६ को चैत्र २४ लगायतका ऐतिहासिक दिवसहरुले देखाएको क्रान्तिकारी बाटोलााई विकसित र विस्तारित गर्दै अवलम्बन गरौं र सहिद, बेपत्ता, घाइते योद्धालगायत आम क्रान्तिकारी नेता-कार्यकर्ता र जनताले देखेका अधुरा र अपूरा रहेका सपना र जपनालाई विपनामा बदलौं ।
प्रतिक्रिया