कोदो र तोरीको मिसावट : असँगत एकताको भ्रम र यथार्थ

कोदो र तोरीको मिसावटले एउटा गम्भीर सन्देश दिन्छ,असंगत तत्वहरूको एकता भ्रम मात्र हो। यस्ता एकताले न त उद्देश्य पूरा गर्छ, न त लक्ष्यमा पुर्‍याउँछ। बरु यसले ऊर्जा, समय र सम्भावनालाई नष्ट गर्छ।

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र ९ २०:०७ बजे
लक्ष्मण उप्रेती

जीवनका सामान्य देखिने दृश्यहरू कहिलेकाहीँ गम्भीर  वैचारिक सत्यको ऐना बन्छन्। कोदो र तोरीको मिसावट पनि त्यस्तै एउटा यथार्थ हो ,जहाँ सतहमा देखिने समानताले वास्तविक भिन्नतालाई ढाक्न खोज्छ, तर परिणामले सत्यलाई उजागर गरिदिन्छ।

कोदो र तोरी रंग र आकारमा केही मिल्दा–जुल्दा देखिए पनि, तिनीहरूको सार, उद्देश्य र परिणाम पूर्णतः फरक हुन्छ। कोदो पिस्दा पिठो दिन्छ, जीवन धान्ने अन्न बन्छस तोरी पेल्दा तेल दिन्छ, स्वास्थ्य र स्वादको स्रोत बन्छ। जब यी दुईलाई छुट्याउनुपर्ने ठाउँमा मिसाएर मिलमा हालिन्छ, न त शुद्ध पिठो बन्छ, न त स्वच्छ तेल नै निस्कन्छ। अन्ततः दुवैको गुण नष्ट हुन्छ, श्रम खेर जान्छ, र अपेक्षित परिणाम प्राप्त हुँदैन।

यही यथार्थ विचार, सिद्धान्त र राजनीतिक धाराहरूमा झन् तीव्र रूपमा लागू हुन्छ। पूँजीवादी र समाजवादी दृष्टिकोणबीचको अन्तर खाली नीतिगत होइन,यो वर्गीय आधार, उद्देश्य र अन्तिम लक्ष्यमै भिन्न छ। त्यसैगरी, अध्यात्मवादी दृष्टिकोणले चेतनालाई प्राथमिक ठान्छ भने द्वन्द्वात्मक भौतिकवादले भौतिक यथार्थलाई आधार मान्छ। यी दुई धाराहरूलाई “एकता” को नाममा कृत्रिम रूपमा जोड्ने प्रयास गर्नु भनेको कोदो र तोरीलाई एउटै मिलमा हालेर एउटै परिणाम खोज्नु जस्तै हो,जुन सम्भव छैन।

अवसरवादी र क्रान्तिकारी शक्तिहरूबीचको सम्बन्ध पनि यही नियमभित्र पर्छ। अवसरवाद सधैं तत्काल लाभ, समझदारी र सम्झौतामा टिक्छन जबकि क्रान्तिकारी धाराले दीर्घकालीन परिवर्तन, संघर्ष र रूपान्तरणको मार्ग रोज्छ। यी दुईबीच देखिने अस्थायी सहकार्य पनि अन्ततः लक्ष्यविहीन र परिणामहीन बन्न पुग्छ, किनकि आधार नै फरक हुन्छ।

यहाँ मिल मालिकको भूमिकाले नेतृत्वको चरित्रलाई उजागर गर्छ। यदि मिल मालिकले कोदो र तोरी छुट्याउने जिम्मेवारी बहन गरेन भने, उत्पादन बिग्रन्छ। त्यसैगरी, नेतृत्वले पनि विचार र सिद्धान्तको स्पष्ट सीमारेखा कोर्न सकेन भने, संगठनमा भ्रम, असंगति र विघटन अपरिहार्य हुन्छ। सही नेतृत्व भनेको सबैलाई अन्धाधुन्ध मिलाउने होइन, बरु के मिल्न सक्छ र के मिल्न सक्दैन भन्ने वैज्ञानिक विवेक राख्ने क्षमता हो।

यस सन्दर्भमा कोदो र तोरीको मिसावटले एउटा गम्भीर सन्देश दिन्छ,असंगत तत्वहरूको एकता भ्रम मात्र हो। यस्ता एकताले न त उद्देश्य पूरा गर्छ, न त लक्ष्यमा पुर्‍याउँछ। बरु यसले ऊर्जा, समय र सम्भावनालाई नष्ट गर्छ।

अन्ततः, यथार्थ यही हो कि एकता सम्भव छ,तर त्यो समान आधार, साझा उद्देश्य र मिल्दो दिशामा मात्र। जहाँ आधार नै फरक छ, त्यहाँ एकताको नाममा गरिएको मिश्रण केवल विफलताको सूत्र हो। त्यसैले स्पष्टता, वैज्ञानिक दृष्टिकोण र सिद्धान्तप्रति इमानदारी बिना कुनै पनि नेतृत्वले सही परिणाम दिन सक्दैन।

कोदो र तोरीको सानो उदाहरणले हामीलाई यही ठुलो सत्य सिकाउँछ कि समान देखिनु र समान हुनु फरक कुरा हो, र यथार्थलाई बेवास्ता गरेर बनाइएको कुनै पनि एकता अन्ततः विफल हुन्छ।

       





२०८२ चैत्र ९ २०:०७ बजे

प्रतिक्रिया