आजको युग वैश्विक पूँजीवादको तीव्र विस्तार, नवउदारवादी नीतिहरूको प्रभुत्व र सांस्कृतिक उपभोक्तावादको चपेटामा परेको छ। यस्तो अवस्थामा वर्गचेतनालाई कमजोर पार्ने, युवालाई व्यक्तिगत सफलताको भ्रममा अल्झाउने र सामूहिक संघर्षबाट टाढा राख्ने प्रवृत्तिहरू तीव्र बन्दै गएका छन्। यही सन्दर्भमा कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ पुस्ताको निर्णायक भूमिका अपरिहार्य हुन्छ।
पहिलो कुरा, आजको आन्दोलनलाई खाली भावनात्मक नाराले होइन, वैज्ञानिक समाजवादको गहिरो अध्ययन र विश्लेषण गर्ने क्षमताले लैस युवाहरू चाहिन्छ। कार्ल मार्कसले प्रतिपादन गरेको सिद्धान्तलाई आजको नेपाली सन्दर्भमा रचनात्मक रूपमा लागू गर्न सक्ने बौद्धिक शक्ति बिना आन्दोलन दिशाहीन हुन सक्छ। त्यसैले अध्ययन, अनुसन्धान र व्यवहारको एकता आजको युवाको पहिलो जिम्मेवारी हो।
दोस्रो, वर्तमान राज्यसत्ता र प्रणालीभित्र रहेको वर्गीय शोषण, असमानता र साम्राज्यवादी हस्तक्षेप विरुद्ध स्पष्ट राजनीतिक धारणा बनाउने साहस चाहिन्छ। आज धेरै युवा सूचना प्रविधिमा जोडिएका छन्, तर त्यो ज्ञानलाई वर्गसंघर्षको दृष्टिकोणबाट रूपान्तरण गर्न नसक्दा उनीहरू निष्क्रिय बन्दै गएका छन्। त्यसैले आवश्यक छ चेतनाको राजनीतिकीकरण।
तेस्रो, संगठन निर्माण र जनतासँगको प्रत्यक्ष सम्बन्ध। कम्युनिस्ट आन्दोलनको शक्ति विचारमा मात्र होइन, जनतासँगको जीवित सम्बन्धमा निहित हुन्छ। गाउँ–बस्ती, कारखाना, कलेज र श्रमक्षेत्रमा पुगेर जनताको वास्तविक पीडा बुझ्ने, उनीहरूसँगै संघर्ष गर्ने र समाधानको बाटो देखाउने युवाशक्ति बिना आन्दोलन खोक्रो हुन्छ ।
चौथो, आजको सन्दर्भमा जुझारु युवाको अर्थ खाली आन्दोलनमा सहभागी हुनु मात्र होइन, अनुशासन, नैतिकता र त्यागको जीवनशैली अपनाउनु पनि हो। व्यक्तिगत स्वार्थ, पदलोलुपता र अवसरवादले आन्दोलनलाई कमजोर बनाएको छ। त्यसलाई परास्त गर्न नयाँ पुस्ताले वैकल्पिक संस्कार निर्माण गर्नुपर्छ।
अन्ततः, देशको वर्तमान परिस्थितिमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन र सुदृढीकरणका लागि वैचारिक स्पष्टता, संगठनात्मक दक्षता र संघर्षशीलताको संयोजन भएको युवाशक्ति नै निर्णायक कारक बन्न सक्छ। इतिहासले देखाएको छ कि जब युवा जाग्छन्, आन्दोलनले गति लिन्छस जब युवा दिशाहीन हुन्छन्, आन्दोलन कमजोर बन्छ।त्यसैले आजको आव्हान स्पष्ट छ“अध्ययनमा गहिरो, संगठनमा सक्रिय र संघर्षमा अग्रपंक्तिमा उभिने नयाँ पुस्ता निर्माण गर्नु।”
शुभ विहानी २०८३ बैशाख २ गते
प्रतिक्रिया