वर्तमान नेपालका घटनाहरुलाई हेर्ने सही दृष्टिकोणबारे

कुनै एक पार्टी, संगठन, संयन्त्र वा कमिटीमा युवा, प्रौढ र बृद्ध यी तीन उमेर समूहलाई आवश्यकता र सम्भाव्यताका आधारमा सन्तुलित रुपमा राखेर संयोजन र परिचालन गर्नु सही, वस्तुसम्मत, विज्ञानसम्मत, न्यायसम्मत र क्रान्तिसम्मत भएको कुरा स्मरणीय हुन आउँछ।

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र २९ १०:५१ बजे
नारायण शर्मा

मूल्यांकनका विभिन्न तरिकाबारे कुनैपनि वस्तुको, व्यक्तिको, घटनाको वा कार्यको मूल्यांकन गर्ने आ-आफ्नै अध्ययन, आस्था र विचारमा आधारित दृष्टिकोण, तरिका वा विधि हुन्छन् । त्यसरी गरिएका मूल्यांकनमध्ये केही मनोगत, केही सतही, केही छिपछिपे, केही अर्धसत्य, केही अल्पकालीन सत्य र केही लोकपृय सत्य हुन्छन् त केही कटु र अपृय लागे पनि पूर्ण सत्य, दीर्घकालीन सत्य र शाश्वत सत्य पनि हुन्छन् । जे होस् सही पद्धतिले मूल्यांकन गरेर सही निष्कर्षमा पुग्नको लागि केही निश्चित आधार, विधि, दृष्टिकोण र मान्यता हुन्छन् । तीमध्ये माओले भनेझैं तथ्यमा आधारित भएर सत्य पत्ता लगाउने विधि प्रमुख विधि हो । यसरी नै दार्शनिक भाषामा एकलाई दुईमा विभाजन गरेर अर्थात् विश्लेषण गरेर संश्लेषणमा पुग्ने अर्को सही विधि हो । यस्तै, लेनिनले भनेझैं ठोस वस्तु (देस, काल र परिस्थिति) को ठोस विश्लेषण गरेर गरिने मूल्यांकन पनि सही हुन्छ । यसैगरी रुप र सार, अंश र समग्र, आन्तरिक र बाह्य दुवैपक्षलाई हेरेर मूल्यांकन गर्ने अनि आगमनात्मक र निगमनात्मक तरिकाले वस्तु वा घटनालाई यससँग अन्तर्सम्बन्धित विविध पाटापक्षको आधारमा बहुआयामिक ढङ्गलेअवलोकन गरेर गरिएका मूल्यांकन वस्तुवादी, वैज्ञानिक र सही हुन्छन् ।

तर हचुवा, होहल्ला र हवादारी रुपमा हल्काफुल्का तरिकाले एकपक्षीय वा एकाङ्गी ढङ्गले गरिएका मूल्यांकन गलत हुन्छन् । यसरी नै गुण, सार र समग्रमा आधारित नभएर रुपमा, अंशमा र संख्यामा मात्र आधारित भएर गरिएका मूल्यांकन तत्काललाई सही देखिएपनि अन्ततः ती असत्य मात्र नभएर घातक समेत हुन सक्छन् । हामीकहाँ यो एउटा विडम्बना छ कि सुरुसुरुमा गलत अथवा अर्ध, अपूर्ण वा अस्थायी सत्यमात्र भएका मूल्यांकन र निष्कर्षहरु पनि सहजै, छिटै र धेरै पत्याइने तर जो पूर्ण सत्य वा चिरस्थायी सत्य साबित हुने मूल्यांकन र निष्कर्षहरु जतिसुकै सही, सुन्दर र समाजोपयोगी भए पनि सबैले, सजिलै र छिटै नपत्याउने गरिन्छ । त्यसो हुनाले ती गलत निष्कर्षलाई गलत सावित गर्न र सही निष्कर्षलाई सही सावित, प्रमाणित वा स्थापित गर्न अर्थात् राज्य र समाजको दिल-दिमागमा तीबारेको यथार्थ मूल्यांकन बोध गराउन वा सबैलाई मान्य हुने गराउन धेरैथोरै समय, श्रम, शक्ति, साहस, समर्पण, पुँजी र बुद्धि आदि चाहिन्छ । तथापि, हामी गलतलाई गलत र सहीलाई सही सावित गर्न निरन्तर लागिरहनु पर्दछ ।

तथ्य, कारण र आधारको पहिचानबारे -सामान्यतया माथि भनिएझै तथ्यमा आधारित भएर गरिएका मूल्यांकन सही हुन्छन् । तर ती तथ्यहरु, कारणहरु र आधारहरु के हुन् र कस्ता हुन् भनेर छुट्टाउनु मुख्य र कठिन कार्य पनि हो । नेपालको विशिष्ट स्थितिमा आन्तरिक र बाह्य घात र प्रतिघात, राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल र हस्तक्षेप, भूराजनीतिक र हवाई (गैरभौगोलिक) राजनीतिक प्रभाव र दवाव, छिमेकी र विश्वशक्तिका रिजनल र ग्लोबल इन्ट्रेष्ट र ग्रान्ड डिजाइन र रणनीति, देसका दलाल र नोकरशाहहरुको भूमिका र गतिविधि अनि राजनीतिक पार्टी र नेताहरुको चिन्तन र चरित्र आदिसँग ती घटनाको इतिहासदेखी वर्तमानसम्म रहेको अन्तर्सम्बन्ध र अन्तरविरोध नै नेपालका राजनीतिक घटना र उथलपुथललाई मूल्याङ्कन र निष्कर्ष निकाल्नको लागि लिइने उपयुक्त र आवश्यक तथ्य, कारण र आधारहरु हुन् । यिनको समग्र अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण नगरी आजको नेपालका राष्ट्रिय राजनीतिक घटनाक्रमहरुबारे धारणा बनाउने, निष्कर्ष निकाल्ने र कार्यान्वयन गर्ने गरिएमा भूल मात्र होइन महाभूल पनि हुन सक्छ । त्यसैले बडो वस्तुनिष्ठ र विज्ञानसम्मत भएर उपरोक्त तथ्य, कारण, प्रमाण र आधारहरुमा टेक्दै गरिने आजको नेपालका मुख्य-मुख्य घटनाक्रम( जेनजी विद्रोहदेखि बालेन सरकार निर्माण र यस्ले गरेका सुरुवातका केही गम्भीर र संवेदनशील कामहरुसम्म)को मूल्यांकन वा निष्कर्ष सही, वस्तुवादी र दूरदर्शितापूर्ण हुनेछ । त्यसैले सामाजिक संजाल, संचारमाध्यम र प्रायोजित व्यक्ति, समूह र संघसंस्था आदिका केही समय देखिका आकर्षक, आक्रामक र उत्तेजक कामकुरालाई हचुवा, हल्का र हावादारी रुपमा लिने र पूरै विश्वास गरिहाल्ने सोंच, शैली, संस्कार र संस्कृति गलत हुनसक्ने कुराप्रति सचेत रहनु जरुरी छ । यसरी नै कतिपय विचार, शक्ति, व्यक्ति र प्रवृत्ति विशेषप्रति आग्रह-पूर्वाग्रह राख्ने र प्रतिशोध-निषेध गर्ने चिन्तन-प्रवृत्ति र सोअनुसारका मूल्यांकन र निष्कर्षहरु पनि अन्ततः र परिणामतः आत्मघाती नै हुनसक्ने खतराप्रति पनि एउटा सचेत, शिक्षित, दीक्षित र अनुभवी मानिसमात्र होइन, सिङ्गो समाज र राज्यव्यवस्था नै सतर्क रहनु पर्दछ ।

विचित्र र विडम्बनापूर्ण मूल्यांकन र निष्कर्षबारे - उल्लेख्य छ कि नेपालका वर्तमानका घटनाबारे बडो स्वतन्त्र भएर वा देसविदेसका पढेलेखे भनिएका आफ्ना वा अरुका मानिसहरुका सुझाव-दवाव वा आधुनिक-अत्याधुनिक प्रविधि, पैसा र पावरको प्रभावमा परेर मूल्याङ्कन गर्ने वा निष्कर्ष निकालेर कामकार्वाही गरिएका छन् । यसरी मूल्यांकन गरी निष्कर्षमा पुगेर अत्यधिक मानिसहरुले आफ्नो जिन्दगीभरिको आस्थाविपरीत, आफू प्रतिबद्ध संघसंस्थाका नायक, नीति, निर्णय र निर्देशनविपरीत, आफ्ना सहयोद्धा-सहकर्मीहरुका सल्लाह-सुझाव र साझा कार्यका विपरीत र आफैले अवलम्बन गर्दै आएको नैतिकता, आचारसंहिता र अनुशासनको खुला वा गुप्तरुपमा उल्लंघन समेत गरेका छन् । नेपालमा भएका पछिल्ला विद्युतीय गतिका रहस्यमय र तिलश्मी घटनाक्रमहरुलाई कसैले आफ्नो स्वतन्त्र विचार, इच्छा र आत्ममूल्यांकनको नाममा एकपक्षीय रुपमा अन्धभक्त बनेर अन्धविश्वासजस्तो गरी हेर्नु, मूल्याङ्कन गर्नु, निष्कर्ष निकाल्नु र सो निष्कर्षअनुसार कामकुरा गरेर आत्मरती लिनु हदैसम्मको विचित्रतम मात्र होइन दुखदतम विडम्बना हो, जो सकेसम्म त केही समयपछि तुरुन्तै देखिने छ, नभएपनि केही लामो समयपछि त अवश्य नै देखिने छ र त्यसको दुष्परिणाम भोग्नसमेत पर्ने हुनसक्छ । यस्तो कुरा नेपालको इतिहासमा बारम्बार हुँदै आएको अनुभवसिद्ध निष्कर्ष पनि हो । त्यसैले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुभन्दा राम्रोसँग सोंचेर, नापेर, तौलेर बोल्दा वा गर्दा राम्रो हुन्छ । त्यसैले त  माओले भन्नुभएको छ  सातपटक नाप एकपटक काट । यस्तो गरेर गरिएको कामकुराको परिणाम गलत, पश्चात्तापपूर्ण र दुखद हुँदैन ।

उमेरसमूहले क्रान्ति गर्ने भाष्यबारे ःविचार र वर्गबिना अनि लक्ष-उद्देश्य र एजेन्डा-कार्यक्रमबिना भावनालाई पक्रेर कुनै एक विशिष्ट उमेरसमूहले वा उमेरले नै क्रान्ति गर्नेजस्तो आज जुन भाष्य निर्माण गरिएको छ, त्यो आंशिक र तात्कालिक सत्य भए वा देखिए पनि पूर्ण र दीर्घकालीन सत्य होइन र हुन सक्तैन । यहाँनेर आफ्नो विशाल जनसंख्या र भूगोल भएको देसमा परिवर्तन ल्याउनको निम्ति गरिएको क्रान्तिकारी पार्टी निर्माण र भीषण युद्धमय लामो क्रान्तिकारी आन्दोलन संचालनका क्रममा  माओले भन्नुभएको र लागू गरी सत्य साबित गर्नुभएको एकमा तीनको सिद्धान्तू अर्थात् कुनै एक पार्टी, संगठन, संयन्त्र वा कमिटीमा युवा, प्रौढ र बृद्ध यी तीन उमेर समूहलाई आवश्यकता र सम्भाव्यताका आधारमा सन्तुलित रुपमा राखेर संयोजन र परिचालन गर्नु सही, वस्तुसम्मत, विज्ञानसम्मत, न्यायसम्मत र क्रान्तिसम्मत भएको कुरा स्मरणीय हुन आउँछ । त्यसैले उमेरगत वर्गीकरण गरी कुनै एक निश्चित उमेर समूहका मानिसबाट मात्र वा निश्चित उमेरले मात्र क्रान्ति वा परिवर्तन हुने र गर्ने तर अन्य उमेरसमूहले नगर्ने भाष्य सिद्धान्ततः गलतै हो । युवा उमेरका सबै सही र परिवर्तनकारी हुने तर प्रौढ र पाका उमेरका सबै गलत र परिवर्तन विरोधी हुने भन्ने यसप्रकारको भाष्य सही नहुने मात्र होइन कि हास्यास्पदसम्म पनि हुन सक्छ । हो, युवा उमेरका मानिसमा हुने सिर्जनशीलता, साहस, सकृयता र शक्ति तुलनात्मक रुपमा पाको उमेरका मानिसमा कम हुन्छ तर सही र गलत, असल र खराब भन्ने कुरा उमेरले होइन अध्ययन, अनुभव, विचार र व्यवहारले निर्धारण गर्ने कुरा हो । आज दर्शन र सिद्धान्तको अनि विधि र व्यवस्थाको समेत कुनै अर्थ छैन भन्नेजस्तो गरी जुन खालका तर्कवितर्क र कुतर्कहरु मात्र होइन गालीगलौज र धम्कीघुर्कीहरु सामाजिक संजालहरुमा आएका छन्, ती अरुका लागि तत्काललाई भ्रम दिन सफल भएर आत्मरती भएपनि अन्ततः दीर्घकालमा आफ्नैलागि समेत घातक हुन्छन् । यो कुरा व्यापक जेनजी युवा समूह र तिनको लहलहैमा लागेको जनमत लगायत विभिन्न अवयवहरुद्वारा बने-बनाइएको हालको बालेन नेतृत्वको रास्वपाको सरकारका प्रारम्भकै केही गम्भीर र संवेदनशील कामकार्वाहीहरुले संकेत गरेको प्रमाणित पनि भैसकेका छन् । फेरिपनि कामना गरौं जानअन्जानमा दुर्घटनावस ती कामहरु भएका होऊन् र अब ती सच्चिऊन् र थप गल्तीहरु नहोऊन् । यसतर्फ पनि झिनो संकेत देखिंदै छ ।

उमेरको आधारमा विभाजन र पछिल्लो जेन-जी समूहबारे -मानिसलाई उसको उमेरको आधारमा वर्गीकरण गर्न सकिन्छ । माथि भनिएझैं युवा, प्रौढ र बृद्ध पनि उमेरकै आधारमा गरिएको वर्गीकरण हो । निर्णायक र दूरगामी महत्वका दृष्टिले यी तीन समूह उल्लेख्य भए पनि कामकाजी, कामयावी र शीघ्र परिणामदायी दृष्टिले त युवा उमेर नै महत्वपूर्ण मानिन्छ । तथापि मानिस त अन्य उमेरसमूहका पनि हुन्छन् । बालक, किशोर वा बयोबृद्ध पनि अरु समूह नै हुन् । यी उमेरसमूहका मानिसको मान्छेको रुपमा कुनै अर्थ, औचित्य र महत्व नै छैन र हुनुहुँदैन भन्ने सोंच मूर्खतापूर्ण सोंच हो । कतिपय बेला त विभिन्न कामकाजका सन्दर्भमा यी उपेक्षित र नगन्य समूहका मानिसको पनि विशिष्ट महत्वको भूमिका नै हुन्छ । जस्तो कि सुप्रसिद्ध कथा वादशाहको नयाँ कपडा कथामा एक अबोध बालकले खेलेको भूमिका अर्थात् बादशाह नाङ्गै छन्झ भन्ने उद्घोष निर्णायक महत्वको नै छ । त्यस्तै हाम्रो एउटा प्रसिद्ध लोककथा पनि छ जसमा सयजना युवा मात्र जन्ती आउने भनिएको हुन्छ र ती सयजनाले सयपाथी चामलको भात र सयवटा खसी खाएमात्र दुलही लिएर जान पाइने भन्ने हुन्छ । तर त्यो बिहेमा एकजना बृद्धलाई मेकअप गरेर युवा बनाई लुकाएर लगिएकोले त्यहाँ ती बृद्धले उपाय निकालेर त्यो सर्त पूरागरेकोले विवाह सफल भएको भन्ने छ । यसरी यसकथामा पनि ती बृद्ध मानिसको विशिष्ट र निर्णायक नै भूमिका देखिन्छ । त्यसैले सबै समयमा सबै काममा निरपेक्ष रुपले युवाले मात्रै सफलता दिलाउँछन्, तर बूढाले सक्तै सक्तैनन् भन्नु गलत हो । यही भाष्य चीनमा पनि व्याप्त हुन थालेपछी  माओले आफ्नो बृद्धावस्थामा विशाल ह्वाङ हो नदी पौडेर देखाइदिनुभएको थियो । अहिले पनि भारत, चीन, रूस र अमेरिकाजस्ता ठुला, शक्तिशाली र विकसित देसहरुमा पटकपटक दोहोरिई-तेहरिई बूढाहरु नै आइरहेका छन् । उनीहरुको उपादेयता सिद्धिएको भए त्यस्तो नहुनुपर्ने हो । अझ विचित्र त के छ भने अमेरिका-भारत्ले आफ्ना देसमा बूढाहरुलाई बारबार जिताउने तर तिनैले नेपालमा युवाहरु नै सबकुछ हुन् भन्ने भ्रम छरेर आफ्नो कुत्सित स्वार्थ पूर्तिगर्ने षड्यन्त्र रच्ने गरेका छन्, त्यो निन्दनीय छ ।

अर्को कुरा, अहिले त युवा उमेरको अन्तर्राष्ट्रिय मापदण्डलाई खन्डित गरिएको छ र १३ बर्षदेखि २८ बर्षसम्मका उमेरसमूहलाई अर्थात सन् 1997 देखि 2013 सम्म जन्मिएका स्मार्ट फोन चलाउने, डिजिटल युगका युवापुस्तालाई जेन-जी नाम दिइएको छ । जेन जी को अर्थ हो जेनेरेसन जेड अर्थात् यो अन्तिम युवा पुस्ता हो किनकि जेड अङ्ग्रेजी भाषाको अन्तिम अक्षर भएकाले यो अन्तिम पुस्ता हो भन्ने हुन्छ । त्यसो भए के अब यसपछि अर्को पुस्ता छैन, आउन्न र हुन्न ? यस्तो अबैज्ञानिक, अप्राकृतिक र लज्जास्पद झुटको रुपमा यो उमेरसमूहलाई प्रस्तुत गर्ने गरिएको छ । अझ त्यस समूहको नाम पनि नेपाल र विश्वमै आधिकारिकता दिइएको बेलायती अङ्ग्रेजीको अन्तिम अक्षर जेड (Z) लाई अमेरिकीहरुले उच्चारण गर्ने जी को आधारमा जेनरेशन-जी (जेन-जी) नामाकरण गरेर पनि आफ्नो नाम र काममा अमेरिकी प्रभावलाई प्रस्तुत गर्दै अमेरिकी साम्राज्यवादको पक्षधरतालाई संकेत गरिएको छ । यो कुरालाई पुष्टि गर्ने आधारहरु बालेन लगायतका कैयौं मन्त्री, सांसद र नेताहरु नै अमेरिकी फण्डबाट संचालित अमेरिकी युथ काउन्सिल, बारबरा फाउन्डेसन, TOB ( तिब्बेतियन ओरिजिनल ब्लड), हामी नेपाल लगायतका NG0\INGO का संस्थापक र सदस्य भएको खुल्न आएको छ तर पनि यो नाम र यसको कामलाई यत्तिकै ठिक ठोकुवा गरिदिनु कति तर्कसंगत, तथ्यसंगत र सत्यसम्मत होला ? गम्भीररुपले विचारणीय छ ।

यसैगरी स्मार्ट फोन प्रयोग गर्न जान्ने प्राविधिक रुपले उन्नत डिजिटल युगका मानिसहरु नै जेन-जी समूह भन्ने कुरा छ, के यो नै अन्तिम विकास हो र विज्ञान र प्रविधिको ? होइन, पक्कै हुनै सक्तैन, विज्ञान र प्रविधिको निरन्तर विकास हुँदै जानेछ । त्यसैले यो उमेर समूहलाई यसरी मान्यता दिनु कसैले तेरो कान कागले लग्योझ भनिदिंदैमा आफ्नो कान आफैसँग भएको यथार्थ नबुझी लहलहैमा कागका पछि-पछि दौडेजस्तो हास्यास्पद हुँदैन र ? अर्काले भनेकै भरमा सही ठान्ने तर आफूले अध्ययन र अनुभव गरेर बुझेको कुरामा भर नगरी गलत भन्ने यो शैली, सोंच र सिद्धान्त भ्रमपूर्ण छ र षड्यन्त्रपूर्ण पनि छ । त्यसैले विदेसीहरुको यस किसिमको भ्रम र षड्यन्त्रमा फस्नु अन्ततः आफूलाई मात्र होइन नेपाल र नेपालीको हितलाई पनि घात हुनसक्नेप्रति सचेत हुनुपर्छ ।

 विदेसी प्रभाव, दवाव र षड्यन्त्रबारे :सन् १८१६ को सुगौलीसन्धिको वरिपरिदेखि नेपाललाई सताउन सुरु गरेको विदेसी वायुको मात्रा बढ्दै आएको छ । अहिले विभिन्न देसहरुमा समेत यो हवाहुरी यस्तरी आएको देखियो कि सामाजिक संजाल, एल्गोरिदम, सफ्ट पावर, डिजीटल प्रविधिलगायतका पछिल्ला प्रविधि, प्राविधिकहरु र तिनका मालिकहरुको माध्यमबाट साम्राज्यवादले चाहेको आधारमा जनमत बनाउने वृत्ति र प्रवृत्ति शीघ्र र पूर्ण सफल हुने गरेको छ । यससन्दर्भमा हाम्रो देसमा पनि उसले सफलता पाएको सहजै अनुमान गर्न सकिन्छ । छर्लङ्ग छ कि उसले मानिसहरुका दिल-दिमाग, बानी-बेहोरा, सोंच-संस्कार, विचार-आचार र शैली-संस्कृति नै उल्टाउने गरी परिणाम ल्याइदियो । यस्ले गर्दा स्वअध्ययन, स्वबुद्धि, स्वविवेक, स्वदृष्टि, स्वसिद्धान्त र सुसंवाद आदिको आधारमा अध्ययन, चिन्तन, मनन र मन्थन गरेर मत बनाउने कार्यलाई पछि पार्दै निस्काम जस्तै बनाइदियो । भाद्र २३ मा जेन-जीहरुको अत्यन्तै सान्दर्भिक, सही र सामान्य समस्या सम्बोधनको लागि सुरुभएको स्वाभाविक, सरल र शान्तिपूर्ण संघर्ष सुरुमा आवरणमा ठिक ठान्नु सहज ज्ञानको कुरा हो तर त्यसका आधारमा त्यसभित्र रहेको षड्यन्त्रलाई बुझ्न तर्कसंगत र तथ्यसंगत ज्ञान आवश्यक पर्छ । त्यसैदिन सुनियोजित तवरले TOB लेखिएका ज्याकेट लगाएका हरिमुस्ले बन्दुकधारी प्रवेश गरेर आन्दोलनलाई हाईज्याक गरी गलत दिशा दिएर आन्दोलनको शान्तिपूर्ण स्वरुपलाई हिंसात्मक रुप दिए । नितान्त शान्तिपूर्ण आन्दोलनको फूलसम्म पनि न चुंड्ने र गमला पनि नफोड्नेझ स्वरुपलाई १२\१ बजेतिरबाट अस्वाभाविक र अवांछित तरिकाले विकृत पारिएको त्यो बीभत्स स्वरुप र भाद्र २४ को महाविध्वंशलाई समेत जे पायो सो खायो गरेझैं अथवा नेपाली उखान भगवान जे गर्छन् असलै गर्छन् भनेझैं गरेर ठिक ठहराउनु के विवेकसम्मत होला र ? आफ्नै अगाडि यस्ता ताण्डव नृत्य र राष्ट्रिय महाविध्वंस हुँदा पनि तिनको रक्षार्थ बसेको नेपाली नामको सेनालगायतका सुरक्षा निकाय र कर्मचारीतन्त्रका नेतृत्वहरुका गैरजिम्मेवारी र गडबडी पनि एकदमै ठिक ठहराउनेहरु हावी हुनु र अझैपनि ती हावी-प्रभावी नै हुनु के स्वाभाविक नै हुन्छ र ?

वास्तवमा यी सबै हुनु-गराउनुका पछाडि एउटै वैदेशिक शक्तिकेन्द्रको सुनियोजित षड्यन्त्र रहेको छ । जुन शक्तिले एकातिर सरकारलाई सामाजिक संजाल दर्ता नगरी संचालन गर्न दिनुभनेको आफ्नो देसको अस्तित्व, स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने भएकाले रोक लगाउनुनै उचित हुनेझ भन्दै सामाजिक संजाल बन्द गर्न उक्सायो उसैले अर्कोतिर सामाजिक संजालका संचालकहरुलाई चलिआएका यस्ता सूचना संजाल रोक्ने संवैधानिक अधिकार सरकारमा नभएको र भ्रष्टाचारको भयावह स्वरुप भएको यस्तो देसमा भ्रष्टाचार गर्नको लागि कर तिर्नु भनेको भ्रस्टाचारलाई प्रोत्साहन दिनु हुने भएकोले दर्ता नविकरण नगर्न सुझाव-दवाव दिएर उक्सायो । यसरी सरकार र सामाजिक संजाल संचालकहरु बीचमा द्वन्द्व बढाएर धमिलो पानीमा माछा मार्ने खेल भएको छर्लङ्ग छ । अन्यथा पढ्न स्कुल गएका बालबालिकालाई स्कुल समयमै, स्कुल ड्रेसमै, स्कुले ब्यागसहित आन्दोलनमा जान दिने विद्यालय (पृन्सिपल) र लिएर जाने र हिंसात्मक आन्दोलनमा प्रयोग गर्ने सुधन गुरुङ लगायतका जुलुसको रुट-परमिट लिने जेनजी आन्दोलनका आयोजकहरुले मात्र कसरी आँट गर्नसक्थे र ? त्यसैले यसप्रकारको शान्तिपूर्ण आन्दोलनको बहानामा हत्या, आगजनी र विध्वंश मच्चिनुबाट नेपालमा साम्राज्यवादीहरुद्वारा लामोसमयदेखि बढाउँदै लगिएको प्रभाव र दवावकाबीच रचिएको हाल यो षड्यन्त्र सफल गरिएको स्वत: स्पष्ट छ । भन्ने नै हो भने भाद्र २३-२४ को यस महाअपराधका लागि विदेसी शक्तिकेन्द्रको पैसा, पावर र प्रोत्साहन पाई प्यादा बनेर विध्वंसकारी जत्था तयार पारी प्रशिक्षण-तालिम दिएर प्रत्यक्षरुपमा विध्वंसको नेतृत्व गरेकाहरुलाई पहिलो कार्वाही हुनुपर्छ । आफ्नो स्वार्थको रोटी सेक्ने त्यस्तो जालसाजीपूर्ण र अराजक राजनीतिक आन्दोलनमा १३ बर्षे स्कुले बालबालिकालाई हिंसात्मक होइन, फूल चुँड्ने र गमला फोड्नेसम्म पनि गरिंदैन भन्दै लगेर अन्ततः महाहिंसात्मक अग्निकुण्डमा होमिदिने जघन्य अपराध पनि त्यसै इन्डो-अमेरिकी शक्तिकेन्द्रका पालन-पोषण र डिजाइन-निर्देशनमा रविहरुका अन्धभक्तहरु, दलाई लामाका सन्तती-अनुयायीहरु, नेपालका गुम्बामा अमेरिकी र भारतीय पैसामा हुर्केका तालिमप्राप्त TOB वालाहरु, अमेरिकी युथ काउन्सिलका सदस्यहरु र बारबरा फाउन्डेसनजस्ता अमेरिकी साम्राज्यवादी ngo\ingo लगायतमा कार्यरतहरुबाट भएकोमा के शंका छ र ? स्मरणीय छ कि यो शक्तिकेन्द्रले आफ्नो मुख्य प्रतिस्पर्धी-दुश्मन विचार र राष्ट्र नेपालको अनन्य मित्रराष्ट्र चीन र कम्युनिज्मलाई बताउँदै टार्गेट बनाएर षड्यन्त्रमूलक गतिविधिहरु गर्दै आएको छ । त्यसैक्रममा यस्ले नेपालमा निरन्तर अस्थिरता र अराजकताको खेती गरी नेपाललाई असफल राष्ट्र नै बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने दाउ गर्दै आएको थियो । यससन्दर्भमा कुख्यात खम्पा विद्रोह पनि यसै शक्तिकेन्द्रद्वारा गराइएको स्मरणीय छ ।आज पनि त्यही शक्तिकेन्द्रको नै यी सब घटनाहरु घटाउनुमा सुनियोजित षड्यन्त्र रहेको कुरा उपरोक्त तथ्यहरुले पुष्टि गर्दछन् ।

 वातावरण बनाउने संसदवादी दल र मुख्य नेताहरु : यो कुरा निश्चितै रुपमा सत्य हो कि वैदेशिक शक्तिकेन्द्र र तिनका दलालहरुलाई यसप्रकारको गतिविधि गर्ने सहज वातावरण बनाइदिने नेपालकै संसदवादी दल र तिनका मुख्य नेताहरु नै हुन् । उनीहरुले एकातिर देसमा जनविरोधी र राष्ट्रहितविरोधी कामहरु गरी आमजनतामा व्यापक असन्तुष्टि बढाउने गरेका थिए भने अर्कातिर ती विदेसी शक्तिहरुलाई दलाली, गुलामी र सलामी गर्दै आफ्ना सत्ता र भत्तादातालाई मातापिताका रुपमा भक्ति-स्तुति समेत गरेका थिए । यसक्रममा उनीहरुले नवउदारवादी अर्थनीति अवलम्बन गर्ने र समाजवादी मित्रराष्ट्रहरुले अनुदानमा बनाइदिएका सरकारी उद्योगधन्दासमेत कौडीको भाउमा बिक्री गर्ने र कमिसन हसुर्ने गरेका थिए । यतिमात्र होइन, उपरोक्त अनावश्यक संस्थाहरुलाई दर्तागर्ने, चलखेल गर्नदिने र तिनबाट मिलेसम्म आफू र आफ्नालाई पालनपोषण र शिक्षित-दीक्षित गर्नेदेखि राष्ट्रघाती mcc र खुकुलो नागरिकता नीति पास गर्नेजस्ता ब्लन्डरहरु गरेका थिए ।

सरकार र संसदमा पटकपटक रहने-खाने गरेका नेका, एमाले, माओवादी (प्रचण्ड ) र मधेशकेन्दृत राजनीतिक दल र तिनका शीर्षपंक्तिका नेताहरुका यसप्रकारका भ्रष्ट, दुष्ट र निकृष्ट क्रियाकलापले गर्दा देस र जनताको हालत दिनानुदिन बदतर बन्दै-बनाइँदै गरिएको थियो । आफूलाई समाजवादी र साम्यवादी भन्ने यी दल र यिनका नेताले दुई तिहाईसम्मको बलियो मत पाई सरकार बनाएर पनि सामान्य सुधार र राहतसम्मका काम गर्न नचाहनु बरु आफूहरुले जे गरे पनि हुने दम्भ गर्नाले आफ्नै पार्टीभित्रका र बाहिरका आम जनसमुदायहरु असन्तुष्ट र आक्रोशित बन्ने र विद्रोह र विष्फोट हुने अवस्थामा पुराएका थिए । फलस्वरुप जेनजी समूहका भ्रष्टाचारको अन्त्य र सुशासन, नेपोटिज्म (आफन्तवाद)को अन्त्य र सामाजिक संजालमाथिको रोकको अन्त्य जस्ता जायज मागहरु लिएर सल्केको आगो भीषण, भयावह र भस्मासुरे डढेलोको रुपमा फैलियो र देससँगै उनीहरु स्वयंलाई नै डढाउने हदसम्म विकसित भएको-गराइएको थियो ।क्रमश

 २०८२ चैत्र २८ह्युस्टन टेक्सास


२०८२ चैत्र २९ १०:५१ बजे

प्रतिक्रिया