“लौ हेर काँधमा नेपालको राष्ट्रिय झन्डा ओढेर सिंहदरबारमा आगो लगाइयो, तोडफोड गरियो । सर्वोच्च अदालत, संसद् भवनमा पनि त्यस्तै तोडफोड र आगजनी गरियो । देशको सम्पत्ति खरानी पारेकोमा कति युवा कलाकारहरूले खुसी मनाए, नाचे ।
के यो राष्ट्रिय झन्डाको दुरूपयोग र अपमान होइन ? यिनीहरू पक्कै पनि विदेशीद्वारा परिचालित मान्छेहरू हुनुपर्छ । देशभक्त युवा, कलाकारहरूले त्यस्तो गर्ने सक्दैनन् । यदि यो देशभक्त सरकार हो भने यिनीहरूलाई कानुनको दायरामा ल्याएर जेल कोच्नुपर्छ । त्यस्तो गर्ने गराउने विदेशीलाई औँलो उठाउनुपर्छ । दोषी भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ ।” भदौ २३ र २४ गते देशको सम्पत्ति जलाउँदै गरेको दृश्य चिया पसलको टीभीमा हेर्दै चिया खाँदै गरेका एक देशभक्त युवाले सँगैको अर्को साथीसँग आक्रोश पोखे ।
साथीको विचारलाई समर्थन गर्दै अर्को साथीले भने, “देशको राष्ट्रिय भण्डा भनेको रगतले कोरिएको स्वाधीन र सार्वभौम देशको स्वाभिमान र गौरवको प्रतीक हो । खेलाडीलगायतका नेपाली नागरिकले देशको गौरव, प्रतिस्था बढाउने पदक जित्यो भने अन्य पुरस्कार प्राप्त गर्दा, सगरमाथाको कीर्तिमानी सफल आरोहण गर्दा यो झन्डा ओढ्नु स्वाभाविकै हो ।
अब यसलाई भ्रष्टाचारी, ज्यानमारा, डाँका, अपहरणकारी, देशघातीहरू र अन्य अपराधीहरूले पनि काँधमा, टोपीमा लगाउन थाले । यो भनेको राष्ट्रिय झन्डाको दुरूपयोग र अपमान हो । यस्तो गौरवपूर्ण झन्डाको दुरूपयोग गर्ने, देशको सम्पत्ति तोडफोड र आगो लगाउँदा टुलुटुलु हेरेर बस्ने, लुक्ने, उक्साउने दल, उम्मेदवार आदिलाई फागुन २१ गतेको प्र्तिनिधिसभा सदस्यको निर्वाचनमा सबै देशभक्त युवाहरू मिलेर हराउनुपर्छ । देशभक्त दल र उम्मेदवारहरूलाई देशभरबाट अत्याधिक मत हाली जिताएर पठाउनुपर्छ समाचार पनि सकियो, चिया पनि सकियो । साहुलाई चियाको पैसा दिएर ती दुबै युवा घर गए ।
प्रतिक्रिया