'प्रचण्डपथ'अब 'प्रचण्ड–बाबुरामपथमा'

'प्रचण्डपथ'अब 'प्रचण्ड–बाबुरामपथमा'

bimbonline विन बहादुर कुँवर
२०७९ भदौ १३ २२:३६ बजे
विन बहादुर कुँवर

 विन बहादुर  कुँवर,काठमाडौं  ।   नेपालीमा एउटा उखान ‘घुम्दै फिर्दै फेरि उही रुम्जाटार’ भनेजस्तै डा. बाबुराम भट्टराई पनि फेरि घुम्दै फिर्दै उही आफ्नै पुरानो घरमा फर्केका छन् । प्रचण्डको नेकपा (माओवादी केन्द्र) पार्टीकै उही पुरानो गोलाकार चिन्ह भित्रको हँसिया हतौडा चुनावी चिन्ह नै लिएर आगामी मंसिरमा हुने निर्वाचनमा सामेल हुने भएका छन् । खुसीको कुरा हो यी दुई १० वर्षे माओवादी जनयुध्दका नायकहरु पुनः एउटै पार्टीअन्तर्गत निर्वाचनमा अग्रसर हुने भएका छन् । तर दुःखको कुरा यी दुवैले १० वर्षे माओवादी जनयुध्दको राजनीति विचार र सिदान्त विपरीत यही सामन्ती, दलाल र नोकरशाही बुर्जुवा संसदीय व्यवस्था अन्तर्गत नै यो सबै गर्दैछन् । जुन दिन डा. भट्टराईले प्रचण्डको पार्टी छोडी नयाँ शक्ति पार्टी बनाउँदै हिडिरहेका थिए त्यति बेलै मैले भनेको थिएँ– हुँदा खाँदाको पार्टी छोडी पुनः टिपनटापन गरी नयाँ पार्टी बनाए पनि अन्ततः पुरेतका दानका गाईजस्तै कुनै दिन यी सबै फेरि घुम्दै फिर्दै उही आ–आफ्नै पुराना गोठमा जानेछन् । नभन्दै अहिले त्यही भयो, नयाँ शक्ति पार्टीको विसर्जन । जुन गोठबाट आएका थिए सबै त्यही पुरानै आ–आफ्नै गोठमा ।

बाबुराम यसरी बरालिंदै हिंड्नुका पछाडिका धेरै कारणहरुमध्ये एउटा कारण जसरी हुन्छ नेपालको कम्युनिष्ट आन्दोलनलाई तितर वितर र छिन्नभिन्न पार्नुमा छ । बाबुराम यो कम्युनिष्ट आन्दोलनमा २०३८ सालदेखि जोडिन आएका थिए । भारतीय नेपाली एकता समाजमार्फत् उनी यो आन्दोलनमा जोडिएका थिए । नेकपा चौ.म.) को विभाजन पछि उनी नेकपा (मसाल) मा सामेल भए । पीएचडीको अध्ययन पढाई पूरा गरेपछि उनी काठमाडौं आए । त्यसपछि मसाल पार्टीले उनलाई काठमाडौं जिल्ला संगठनमा म र सिन्धुनाथ प्याकुरेलसहित सामेल गरायो । पार्टी संगठनको काममा उनले पार्टी नेतृत्वको खासगरी क। मोहन विक्रम सिंहको बानी व्यहोरा अनि आचरणमाथि शंका गर्दै अलि असन्तुष्ट भई बसेका थिए ।

त्यतिबेलै उनी अचानक अमेरिका एउटा कुनै गोष्ठीमा सामेल हुन गए । पार्टी नेतृत्वले उनी कसरी, किन र कसलाई सोधी त्यहाँ गए? प्रश्न हामीलाई सोधियो । तर हामी पनि त्यसमा अनविज्ञ नै थियौं । पार्टीले उनीसहित हाम्रो पनि आलोचना गरायो  र  हामीले त्यसमा आत्मआलोचना गर्नु पर्यो । त्यतिबेलै पार्टी नेतृत्वले उनलाई अनुशासनहीन र शंन्दिग्द व्यक्तिको रुपमा चित्रण गर्ने गरेको थियो । तर हामीले त्यसलाई अस्वीकार गर्यौं । पछि पार्टी नै विभाजन भयो । पार्टी विभाजनको मूल कारण संसदीय निर्वाचन थियो । नेतृत्व चुनाव बहिष्कारको पक्षमा भने बाबुरामहरु उपयोगको पक्षमा थिए । बाबुरामलगायत म, हरिबोल गजुरेल, राम कार्की, टोपबहादुर आदि नेकपा (एकता केन्द्र) मा सामेल भयौ । तर त्यहाँ बाबुरामले खास राजनीतिक भूमिका निर्वाह गर्न सकेनन् । खाली प्रचण्ड–वैद्यको सहयोगी मात्र भए ।

एकता केन्द्र विभाजन पछि २०५१ सालमा नेकपा (माओवादी) बन्यो । त्यसैको नेतृत्वमा २०५२ फागुन १ मा माओवादी जनयुद्को थालनी भयो । त्योभन्दा पहिले नै प्रायः सबै उच्च पार्टी नेतृत्व भारत पुगिसकेको थियो । ती नेताहरुको खानपिन बसोबासको जिम्मेवारी बाबुरामको थियो । त्यो किनभने बाबुराम भारतका उच्च सुरक्षा सल्लाहकार तथा उच्च कर्मचारी तन्त्रका व्यक्तिहरुसित परिचित थिए । नेपालको जनयुध्द केवल पार्टी नेतृत्वको राजनीतिक सर्कुलरका आधारमा मात्र पार्टीका तल्ला कार्यकर्ता र लडाकुहरुको भरमा अघि बढ्दै थियो ।

बेला मौकामा पातलो ‘स’ (मसाल) र मोटो ‘श’ (मशाल) गुटबीचको खिचातानी हुँदा बाबुराम र प्रचण्ड–वैद्यबीच पनि पार्टीमा वैमनस्यता देखिने गर्दथ्यो । प्रचण्डको एकमनावादको पराकाष्ट अनि उनको दलालीहरुको हानथाप र होडबाजी । ‘प्रचण्डवाद’, ‘विचार’ अनि ‘पथ’ के भन्ने रु झिनाझम्टी  तर बाबुरामकै प्रस्तावमा ‘प्रचण्डपथ’ भनियो  तर प्रचण्ड यो पथमा मात्रै अडिएनन् । नेतृत्वको केन्द्रीयकरणको नाममा प्रचण्ड झन निरंकुश र एकमनावादी भए । मोहन वैद्यलगायत केही शीर्ष नेताहरुले त्यसको संरक्षण र बढवा गराउने काम गरे  त्यसको असन्तुष्टि बाबुरामबाट हुँदा पार्टीमा पुनः गुटबन्दी र आरोप प्रत्यारोप सुरु भयो ।

यतिसम्मकी एकले अर्कालाई दरबारिया र भारतीय दलालसम्मको आरोप–प्रत्यारोप पार्टीमा चल्यो । त्यही बेलामा भारतका विभिन्न शहरबाट थुप्रै माओवादी नेता कार्यकर्ताहरुलाई भारतीय पुलिस र जासुसहरुले गिरफ्तार गर्दै नेपाल पठाउन थालिरहेको थियो । यसका पछाडि आफ्नै दलभित्रको बाबुराम पक्षधरको हात रहेको पार्टी नेतृत्वले ठहर थियो । त्यतिबेलै नेपालमा राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भयो । तत्काल पार्टीको अनुमतिविना डा. भट्टराईको कान्तिपुर दैनिकमा प्रकाशित एउटा लेखमा उक्त हत्याकाण्ड स्वयं ज्ञानेन्द्रबाट भएको भन्दै नेपालमा राजतन्त्रको अन्त्य भएको जिकिर गरे । त्यतिबेला भित्रभित्रै राजा वीरेन्द्रसँग माओवादी नेतृत्वको वार्ता चलिरहेको चर्चा थियो । त्यसैको कारण वीरेन्द्रको वंशनाश भएको पार्टी नेतृत्वको भनाइ थियो । भारत त्यसको विपक्षमा रहेको कारण उसैको पहलमा त्यो हत्याकाण्ड भएको अनुमान गरिएको थियो । तर त्यसलाई अन्यत्र मोर्डनका लागि भारतको इशारामा बाबुरामले उक्त लेख कान्तिपुरमा प्रकाशित गरेको भनाइ त्यतिबेला माओवादी नेतृत्वको थियो । पछि त्यो वार्ता ज्ञानेन्द्रसित पनि भयो  तर ज्ञानेन्द्रले उक्त पार्टीबाट बाबुरामलाई नहटाएसम्म वार्ता सफल नहुने भनेपछि प्रचण्डले बाबुरामलाई पार्टीबाट कारबाही गरी जनसेनाको घेराबन्दीमा थुनिराख्ने काम भयो ।

त्यसपछि ज्ञानेन्द्रसँग वार्ता गरी माओवादी जनयुध्दलाई दरबारमा बुझाउने प्रचण्डपथको चाहनालाई ज्ञानेन्द्रले तिरस्कार गर्दै झन कडा संकटकाल अनि सेना परिचालन गर्दै माओवादी नेता कार्यकर्ता र जनसेना सबैमाथि झन ठूलो दमन र आक्रमणको थालनी भयो । यतिसम्मकी रोल्पाको कुनै गाउँ जहाँ प्रचण्ड भूमिगत भई बसेका थिए, त्यहीनेर शाही सेनाको हवाई आक्रमण र घेराबन्दी भइसकेको थियो । त्यसले अन्ततः दरबार–माओवादीबीचको वार्ता विफल भयो । त्यसको विकल्पमा प्रचण्डले भारत गुहार्न कृष्णबहादुर महरालाई भारत पठाए । तर भारतले बाबुरामको कारबाही फुक्का नगरी बाबुराम विना कुनै वार्ता र समझदारी नगर्ने जानकारी गराएपछि तत्काल प्रचण्डले बाबुराममाथिको कारबाही फुक्का गरे । त्यसपछि बाबुरामकै नेतृत्वमा भारत गई भारतकै सहमतिको आधारमा चुनवाङ विस्तारित बैठक सम्पन्न भयो । भारतको सहयोग र समर्थनमा नै माओवादी लगायत नेपालका सात दलहरुबीच भारतमै १२ बुँदे दिल्ली समझदारीपत्र भएको थियो । उक्त पत्रको पहिलो लेखन खेस्रा नै बाबुरामबाट भएको भनिन्छ । त्यसैको आधारमा नेपालमा २०६२÷०६३ को जनआन्दोलन सम्पन्न भयो ।

संविधानसभाको निर्वाचन पछि नेपालमा बुर्जुवा संसदीय संविधानसहित गणतन्त्र आयो । प्रचण्डसहित बाबुराम पनि प्रधानमन्त्री बने । तर एकाएक बाबुरामले पार्टी परित्याग गरी नयाँ पार्टी गठनको प्रक्रियामा लागे । नयाँ शक्ति पार्टी हुँदै उपेन्द्र–महन्तको मधेसी दल हुँदै अहिले समाजवादी केन्द्रको नाममा माओवादी केन्द्रसँग गठजोड गर्न पुगेका छन् । यो भयो डा। भट्टराईको राजनीति घुम्दै फिर्दै पुनः रुम्जाटार । यी सबैका पछाडिको मूल कारण र नियत एउटै छ त्यो हो विदेशी इशारा, खासगरी भारतको इशारामा नेपालमा कम्युनिष्ट आन्दोलनलाई सदाका लागि निमिट्यान्न पार्ने र नेपाललाई सिक्किमीकरणमा लैजाने योजना नै हो । प्रचण्डको भारत भ्रमणपछि एकाएक समाजवादी केन्द्र निर्माणको कुरा उठयो । प्रचण्ड–बाबुराम, माधव–खनाल र वामदेवबीच पनि यो कुरा भयो । तर तत्काल निर्वाचनको तिथिमिति तय भइसकेकाले त्यो सम्भव भएन । पार्टी अलग–अलग तर बाबुराम अनि वामदेवले त्यही अनुरुप गोलाकारभित्र हँसिया हतौडा अंकित चुनावी चिन्हलाई निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । अब यसको निर्णय गर्न बाँकी माधव–झलनाथ र मोहनविक्रम– चित्रबहादुरको मसालको छ ।

हिजो मसालदेखि एकताकेन्द्र अनि माओवादीसम्मको प्रचण्ड–बाबुरामबीचको अन्तर्विरोध अनि आरोप–प्रत्यारोपको मूल कारण दरबार र भारत नै थियो । तर आज प्रचण्डको भारत भ्रमणपछि त्यसको अन्त्य भएको छ । दुवैको उद्देश्य अब एउटै भएको छ । जसरी हिजो भारतीय विस्तारवादी शासकहरुको इशारामा सम्पन्न चुनवाङ विस्तारित बैठकपछि यी दुवै रुँदै एक भएका थिए । त्यस्तै फेरि यी दुई अहिले पुनः एक भएका छन् । हिजो प्रचण्डपथको केन्द्र दरबार थियो भने अब प्रचण्ड –बाबुराम पथको केन्द्र भारत बनेको छ । एमालेको विकल्पमा समाजवादी केन्द्र र प्रचण्ड–बाबुराम पथ भएको छ । प्रचण्ड र देउवा पत्नी आरजुबीचको आलोपालो अबको सरकार समझदारी यसैको उपज हो । प्रधानमन्त्रीदेखि राष्ट्रपति अनि सभामुखदेखि मन्त्री–संसद् सबैको बाँडफाँडका लागि कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन अनि बाबुराम–महन्त सबै बीच घनीभूत छलफल वार्ता भइरहेको छ । यो सबै भारतकै चाहना र इशाराकै उपज भइरहेको छ ।


२०७९ भदौ १३ २२:३६ बजे

प्रतिक्रिया