सिद्धान्तविहीन एकताको अर्को अध्याय- राजनीतिमा कहिल्यै पनि सिद्धान्तबिनाको एकता क्रान्तिकारी हुँदैन। आज नेपालमा फेरि चलेको छ, “ नौ दलिय एकता ” को कुरा यो एकता देश र जनताको पक्षमा होइन, यो पूँजीवादी संसदवादीहरूको भ्रष्टाचार ,लुट , कमिशन र राष्ट्रघात गर्ने नयाँ गठबन्धन हो, जसले रुपमा समाजवादी क्रान्तिको कुरा र सारमा गद्दारी गर्नेहरुको नयाँ रुपरंगको तरङ्ग मात्र हो।
क्रान्तिकारीहरूको एकता वर्गसंघर्ष र जनमुक्तिका सिद्धान्तमा आधारित हुन्छ। तर प्रचण्ड, माधव, लगायत र उनका ९ दलहरूको एकता भने सत्तालिप्सा, पदलोलुपता र विदेशी स्वीकृतिको खोजमा आधारित छ। जुन बिगतमा यीनिहरुको बिभाजन र आजको एकताले देखाउछ।यिनिहरु बिगतमा जे थिए आज पनि त्यही छ्न।
पार्टी एकताको नाममा नौ दलिय अवसरवादी गठबन्धन -नौ दलिय गठबन्धनलाई प्रचारमा “ कम्युनिस्ट पार्टीहरुको एकता ” भनेर प्रस्तुत गरिएको छ। तर वास्तवमा यो क्रान्तिकारीहरूको एकता होइन, पूँजीवादी संसदवादीहरूको गठबन्धन हो। यो गठबन्धनले देश र जनताको पक्षमा होइन, निम्न वर्ग र श्रमजीवीहरूको आन्दोलनलाई निष्क्रिय पार्ने योजनामा काम गर्ने छ।
यसको प्रमुख उद्देश्यहरू -सत्ता बाँडफाँट र दलाल ठेकेदार–दलाल व्यापारीको एवं साम्राज्यवादी सुरक्षा र उनिहरुका लागि काम गर्नु । विदेशी शक्तिलाई सन्तुष्ट पार्नु दूतावास धाउनु र राष्ट्रघाती राजनीति कार्य गर्नु। जनताको बीचमा “ स्थायित्व ” र “ समृद्धि ” को भ्रम फैलाउनु।क्रान्तिकारी आन्दोलनलाई कमजोर बनाउनु।
दलाली र चाकडीको राजनीति -दलाली भनेको विदेशी शक्तिको आदेशमा आफ्नो देश बेच्नु हो, चाकडी भनेको त्यसलाई जनताको हितको रूपमा चित्रण गर्नु हो।आजका नौ दलका नेताहरू गठबन्धन पछि यही काममा व्यस्त हुनेछ्न। प्रचण्ड र माधव जनयुद्ध र जनआन्दोलनको नाम बेचेर पुनः संसदीय पूजीवादको दलाली गर्दै साम्राज्यवादको ढोकामा स्तुति गर्दै उभिएकाछन्, अरु ( झर्ला र खाउला ) को लाइनमा त छाड र म छाड गरिरहेकाछ्न। खान नपाउनेहरुले फेरि पार्टी फुटाउने छ्न। विदेशी निकायका स्वार्थ पूरा गर्न गठबन्धनको “ संयोजक ” र सह-संयोजक पुरानै ठेकेदारहरु बनेका छन,।नयाँ ठेकेदारहरुले बिश्वास प्राप्त गरीसकेका छैनन। अन्य दलहरूको नाममा खान दगुरेका ब्यक्तिहरु आफ्नो अस्तित्व जोगाउन यो अवसरवादी मेलामा (जात्रा ) सामेल भएका छन्। यो कुनै ऐतिहासिक एकता होइन, यो जनताको सपना बेच्ने राजनीतिक सौदाबाजीको बजार हो।
ऐतिहासिक निरन्तरतामा गद्दारीका वंशजहरू-नेपालको राजनीतिक यात्रा लगातार अवसरवाद र गद्दारीले ग्रस्त रह्यो। २०४६ सालको जनआन्दोलनपछि संसदीय दलहरू जनताको अधिकारको नाममा सामन्त र पूँजीवादी परस्त हुदै साम्राज्यवादको सेवक बने। २०६२ र ६३ को जनआन्दोलनपछि प्रचण्ड लगायतका माओवादीनेताहरूले जनयुद्धका उपलब्धि,सहिद,घाइते र बेपत्ताहरुको सपना बेचेर संसदीय भेष धारण गरे। आजको नौ पार्टी एकताको नाममा दलिय गठबन्धन त्यही परम्पराको विस्तारित रुप हो।संसदवादी पूँजीवादीहरूको पुनर्मिलन, जसको उद्देश्य क्रान्तिको विरासतलाई अन्त्य गर्नु हो।
वर्तमान गठबंधन सत्ता सौदाबाजीको मिलनबिन्दु होस-नौ दलिय एकता नामको गठबन्धन सिद्धान्तमा होइन, सत्ता र कुर्सी केन्द्रित गठबन्धन हो। उनीहरूको व्यवहारमा कम्तीमा पाँच साझा प्रवृत्ति देखिन्छ ,ती हुन- विचारभन्दा माथि व्यक्तिगत स्वार्थ,पार्टीभन्दा अगाडि ठेकेदार र व्यापारीको सिफारिस,नीतिभन्दा प्राथमिकता विदेशी दबाब र चाकरी , श्रमिकभन्दा नजिक दलाल र बिचौलिया, सिद्धान्तभन्दा बलियो सत्ता–सञ्जाल,अवसरवादी गठबन्धन ।यसैले उनीहरूको हरेक नारा जनताको लागि होइन, सत्ता,पद र कुर्सी प्राप्त गर्ने र जोगाउने नाटक मात्र हो।
भविष्यको अनुमान नौ दलहरू, नौ दिशाका यात्री- इतिहासले प्रमाणित गरिसकेको छ ,सिद्धान्तविहीन गठबन्धन सधैं अस्थायी हुन्छ। नौ दलका नेताहरू अहिले एउटै मञ्चमा उभिएका छन्,तर भोलि सत्ताको बाँडफाँट बिग्रिनासाथ ती नौ दल नौ दिशामा छुट्टिनेछन्। यो गठबन्धनको भविष्य यही हो, थप भ्रष्टाचार,थप राष्ट्रघात, थप निराशा, थप देश-जनता माथी गद्दारी र अन्ततः जनताको अर्को महान विद्रोह।
जनताको बाटो : नयाँ क्रान्तिकारीहरुको सैद्धान्तिक एकता-क्रान्तिकारी एकता भनेको वर्गीय सिद्धान्तमा आधारित एकता हो।यो दलाल संसदवाट होइन,जनताको सडक र मजदुरहरुको कारखानामा बगेको रगत र पसिना अनि खेतवारी बिहिन श्रमिक किसान,घरेलु महिला कामदार ,मिटर ब्याज लगायत आर्थिक शोषणको भयावह स्थितिबाट जन्मिन्छ। अब आवश्यक छ,मालेमाको सिद्धान्तमा दृढ उत्पीडित वर्गको सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको पुनर्गठन, सबै उत्पीडित र श्रमिक वर्गको राजनीतिक एकता र पूँजीवादी संसदको विकल्पमा जनसत्ताको निर्माण। यस्तो क्रान्तिकारी एकताले मात्रै स्वाधीन राष्ट्रको निर्माण र जनताको मुक्ति सम्भव बनाउँछ।
नौ दलहरूको एकता-जनताको भ्रम, पूँजीवादी उत्सव-आजको यथार्थ स्पष्ट छ, नौ दलहरूको एकता क्रान्तिकारीहरूको एकता होइन, पूँजीवादी संसदवादीहरूको एकता र उत्सव हो। यो गठबन्धन जनताको आशा होइन, अवसरवादी उत्साह हो।जनताको मुक्ति संसदबाट होइन, संघर्ष र संगठनबाट आउनेछ। अब देशलाई चाहिएको छ , विचारमा दृढ र स्वार्थमुक्त नेतृत्व, जनताको रगत र पसिनालाई बचाउने वर्गीय पार्टी, र जनवाद र वैज्ञानिक समाजवादको दिशामा तुफानी बेग सहितको अग्रगामी आन्दोलनमादलाली, चाकडी र गद्दारीको अन्त्य गरेर नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी आजको पुस्ताले लिनुपर्छ।
प्रतिक्रिया