असोज २३\२४ गतेको जेन जेड युवाहरुको आन्दोलनको सुरुवात नितान्त साधारण र सिमित मागहरु जस्तो कि देसलाई ध्वस्त गरेको चौतर्फी चरम भ्रष्टाचार र सामाजिक संजाल उपयोगबाट बन्चित हुँदाको पीडा, असन्तुष्टि र आक्रोशको स्वाभाविक अभिव्यक्तीको रुपमा भएको थियो । तर युवा मनोविज्ञान, जेन जेड पुस्ताको चाहना र जनताको असन्तुष्टिलाई दुरुपयोग गरेर विदेसी योजनामै सुरुकै दिनमा आन्दोलनलाई अर्कै दिशामा लागिएको थियो । यो योजना वा षड्यन्त्र जेन जेड पुस्तालाई थाहै भएन । उनीहरुको चाहना र योजना पहिलो दिन त्यसरी प्रहरी ब्यारिकेड तोड्ने, संसद भवनमा छिर्ने भन्ने थिएन । आन्दोलनमा जेन जेडका नाममा नकावधारण गरेर विदेसीहरु स्वयं, तिनका एजेन्ट, भरौटे, भाट र भँडुवाहरु घुसेर आन्दोलनलाई उत्तेजक र अराजक हुने गरी भड्काएपछि रक्तपातपूर्ण अवस्था ल्याइयो । त्यसको आक्रोशस्वरुप उर्लेको जनविरोधलाई दोस्रो दिन पनि त्यसरी नै सुनियोजित रुपमा विध्वंसात्मक बनाउने सुनियोजित रुपमै दुस्प्रयास भयो । तत्पश्चात् पनि युवा पुस्ताको माग र मर्म अनि राष्ट्रको पुनर्निर्माण र सुशासनको आवश्यकता अनुसार होइन कि विदेसी खासगरी भारत र अमेरिकाका इच्छा र योजनामै सरकार बनाउने र चलाउने दुस्साहस भैरहेकै लागेको छ । वास्तविकता पछिपछी पुष्टि होला हेर्दै जाऔं र सक्दो खबर्दारी व्यक्तिगत, सामूहिक, सांगठनिक र संयुक्तरुपमा समेत गर्दै जाऔं र यो आन्दोलनलाई सही दिशा दिन र अग्रगामी परिवर्तनसम्ममा पुराउन कोसिस पनि गरौं यही नै अहिलेको हाम्रो देस, जनता र क्रान्तिप्रतिको दायित्वबोधको अभिव्यक्ति हो ।
स्मरणीय छ फेसबुक आदि सामाजिक संजाललाई दर्ता नगर्न तिनै विदेसी शक्तिकेन्द्रहरुले निर्देशन दिई उक्साउने अनि यता दर्ता नगरी संचालन गर्न नदिन सरकारलाई सल्लाह र ढाडस दिने गरेर यो असन्तुष्टि चुल्लिने स्थितिको सिर्जना गराउने काम तिनै विदेसी तत्वहरुबाट भएको थियो । अनि त्यही चरम युवाअसन्तुष्टिको अवसर छोपेर आफ्ना बारबरा फाउन्डेसन, यु एस काउन्सिल र युरोपियन क्लबजस्ता स्कुल, संघसंस्था, ग्याङ र व्यक्तिविशेषहरुलाई सुनियोजितरुपमै परिचालित गरिएकै देखियो । उल्लेख्य छ कि २३ गतेको विरोध प्रदर्शनमा कयौ विदेसी र प्राइभेट स्कुल र कलेजहरुका विद्यार्थीहरुलाई स्कूलबाटै युनिफर्ममै ब्यागसहित जान दिइएको र लगाइएको थियो भने सुदन गुरुङजस्ताबाट आन्दोलन भड्काउने र उत्कर्षमा पुराउने गराइएको कुरा स्वयं गुरुङकै भिडियोहरुबाट देखाइएका थिए । यसैबीच बालेनका पूर्ववर्ती अभिव्यक्तिसँग मिल्दाजुल्दादा आन्दोलनलाई भड्काउने अभिव्यक्ति र गतिविधिहरु पनि देखिए । यतिमात्र होइन, त्यो असन्तुष्टिलाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भनेर २३ गतेको आन्दोलनलाई दुरुपयोग गर्न राप्रपा र रास्वपा जस्ता संसदवादी र राजावादी राजनीतिक दलले घोषित र खुल्ला रुपमै दुस्साहस गरेका थिए भने अघोषित र गुप्त रुपमा आफूलाई अग्रगामी र क्रान्तिकारी बताउने साना-ठुला दलका केही कार्यकर्ताहरु समेत सचेत वा स्वतस्फूर्त रुपमा आफ्नो आक्रोश शमन गर्दै केही गर्न सकिन्छ कि भनी सहभागी भएका थिए ।
फलस्वरुप यो विद्रोहलाई दमन गर्न पहिलो दिन त्यसरी गोली हान्ने आदेश दिन लगाउने र दोस्रो दिन आन्दोलन त्यसरी अराजक र विध्वंसक बन्दै गर्दा रमिते बनेर सुरक्षाकर्मीहरुलाई बस्न र लडाइबिना नै आत्मसमर्पण गर्न लगाइयो । देसका सरकारी तथा निजी सम्पदा र संरचनाहरु त्यसरी ध्वस्त पारिंदा तिनैको संरक्षण गर्नभनी जनताको खुनपसिनाबाट जम्मा भएको राज्यकोशबाट तलबभत्ता खाएर बाँचेका र परिवार्न पालेका सुरक्षा संयन्त्र र सुरक्षाकर्मीहरु यसरी मूकदर्शक भएर बस्ने गरेको यो घटनाले त्यही दुखद विडम्बनापूर्ण षड्यन्त्रको सम्झना गराएको छ ।जुन २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड गराई तुलनात्मक रुपले देसभक्त र उदार राजा वीरेन्द्र र उनको पूरै उत्तराधिकारी-सन्ततीको समेत हत्या गरिएको थियो । यसरी हत्या हुँदा पनि सुरक्षाको जिम्मा लिएको सेनाका तत्कालीन प्रधान सेनाति प्रज्वल शमशेर राणाले दरबारको सुरक्षाको अर्थात् आफ्नै परमाधिपतिको सुरक्षाको जिम्मा आफ्नो सेनाको नभएको लज्जास्पद जिकिर गरेका थिए । विचारणीय छ कि आज पनि राष्ट्रिय धरोहरलगायत देसको शासनसंचालनको मुख्यालय सिंहदरवार, सर्वोच्च अदालत र संसदभवनजस्ता व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका शासकीय संरचना र सम्पदाहरु ध्वस्त पार्दा कुनै प्रतिरोध नगरेर हतियार समेत लुटेर लान दिइयो । यस्तै विध्वंसहरु देसव्यापी रुपमा मुख्यतः तराईमा हुँदा पनि सुरक्षाकर्मीहरुबाट कुनै प्रतिरोध भएन । तर जब गृहमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिए तब सुरक्षा निकाय खास गरी नेपालीसेना सकृय भयो सरकार निर्माणको लागि । देसका कर्णधार युवा मारेर अनि राज्य संचालनका केन्द्र देखि वडासम्मका धेरैजसो संरचना, सम्पदा र पूर्वाधारहरु ध्वस्त पार्न दिने र त्यसपछि सरकार निर्माणको लागि सेनाको सकृयतासम्मका हर्कतहरु अस्वाभाविक, अवांछित, रहस्यमय र सन्देहास्पद समेत छन् । यतिमात्र होइन, २३ गते प्रयोग गरिएका गोली प्रहरीले प्रयोग गर्ने नभै सेनाले प्रयोग गर्ने गोली भएको, दङ्गा नियन्त्रण गर्ने प्रयासस्वरुप लाठी चार्ज, पानीको फोहरा, वार्निङ फायर, रबर गोली र बन्दुकको गोली पनि घुँडामुनि हान्नुपर्ने जस्ता विधिप्रकृयाहरुको पालना नगरेका कुराहरु पनि त्यत्तिकै शंकास्पद र गम्भीर छन् ।
यसैगरी बूढा नेताहरुले युवालाई पार्टी सत्ता र राज्य सत्ताको हस्तान्तराण नगरेर पुस्तान्तरण नभएको र पार्टी र राज्यमा युवा पुस्ताले नेतृत्व नपाएर पार्टी र राज्य मतिहीन र गतिहीन भएको भन्दै ूनो नट अगेनू को नारा दिंदै आएका युवाहरुहरुको प्रतिनिधित्व र नेतृत्व गरेर ७० बर्ष कटेकी पूर्व प्रधान न्यायाधीश समेत भैसकेकी बृद्धा सुशीला कार्की प्रधानमन्त्री बन्नु(बनाइनु विचित्रै भएको छ । युवाहरु, त्यसमा पनि १४(४० बर्षका होइन कि १३(२८ वर्षका जेन जेड पुस्ताका युवाहरुको आन्दोलनले गर्दा विद्यमान संविधानभन्दा बाहिरबाट विद्रोहका कारण बनेको यो सरकारका हालसम्मकाअन्य मन्त्रीहरु पनि ४० भन्दा माथिकै हुनु पनि एउटा विचित्र विडम्बनाको विषय भएको छ । सुशीला प्रधानमन्त्री भैसकेपछि उनलाई भारत, अमेरिका, दलाई लामा आदिले तत्कालै बधाई तथा शुभकामना दिनुले पनि यो आन्दोलनमा विदेसी प्रभुहरु खास गरी इन्डो-अमेरिकीहरुको सुनियोजित षड्यन्त्र भएकै पुष्टि गर्ने आधार दिन्छन् ।
यसको पृष्ठभूमिमा रहेका केही कारणहरुले पनि यस विद्रोहलाई विदेसी शक्तिकेन्द्रहरुले सुनियोजित रुपले घुसपैठ गराई अराजकता मच्चाउने र मासलाई उत्तेजित पारेर त्यो सेन्टिमेन्टलाई दुरुपयोग गरेकै पुष्टि गर्छन् । खासगरी नेपालको कालापानी क्षेत्रको सामरिक भूभाग, जहाँ सन् १९६२ देखि भारतले जबर्जस्ती कब्जा गरेर सैन्य क्याम्प राखेको छ, यिनै ओली प्रधानमन्त्री भएको बेला विगतमा चुच्चेनक्सा संसदबाटै पास गरी संविधानकै अङ्ग बनाउनु एउटा कारण हो । अझ त्यहींबाट लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो बनाएको र भारतले लिपुलेकलाई आफ्नो भूभाग भनी चीनसँग व्यापारिक नाका बनाउने सम्झौता गरेकोमा अहिले पनि ओली सरकारले नै विरोध जनाउनु दोस्रो कारण हो भन्ने देखिन्छ । फेरि यो भूभाग अमेरिकाको चीनलाई घेर्ने र फोर्ने रणनीतिको लागि पनि महत्वपूर्ण नाका भएकाले यहाँ उसको समेत आँखा गढेकोले यसमा भारतसँग अमेरिकाको पनि स्वार्थ मिलेकोले यसमाथि दावी गर्ने ओली सरकारलाई तारो बनाउनमा भारत र अमेरिका दुवैको सहमति भएको हुन सक्ने स्पष्ट छ । उपरोक्त केही कारणले भारत वेखुस भएको थियो र अहिले पछिल्लोपटक ओली प्रधानमन्त्री भएपछी उनलाई भारत भ्रमणमा बोलाइएको थिएन । नेपालका प्रधानमन्त्री जो पनि पहिले भारत गएर मात्र अन्यत्र खासगरी चीन जाने प्रचलनका विरुद्ध ओली भारतको प्रतिद्वन्द्वी चीनमै गए । गएमात्रै होइन कि GSI नेपाल पनि सहभागी हुने सहमती दिए अनि मुख्य कुरा त चीनको राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्वको सैन्य परेड प्रदर्शनीमा अमेरिका विरोधी शक्तिहरु रुस र उत्तर कोरियासँग काँधमाकाँध मिलाएर सीजिङ पिङसंग उभिएर आफू पनि एकताबद्ध भएको सन्देश दिए । यो कुरा पनि अमेरिका र भारतलाई अप्रिय लागेकोले पनि ओलीलाई जसरी पनि सत्ताच्युत गर्ने कुरामा भारत र अमेरिकाको सहमति नै थियो र यो घटनाको मंचन गरिएको थियो भन्ने लाग्दछ ।
यसको अर्थ यो होइन कि जेन जेड उमेर समूहका युवाहरुको माग, आन्दोलन र बलिदान गलत थियो । मतलब यो हो कि स्वच्छ भावना, पवित्र विचार र उच्च लक्षसहित सामान्य मागहरु लिएर गरिएको युवा विद्यार्थी विद्रोह र बलिदान सही, सान्दर्भिक, आवश्यक र महान् नै थियो । दुखद विडम्बना यो भयो कि यो विद्रोह साम्राज्यवादीहरुको शिकार भयो यसबाट एउटा गम्भीर शिक्षा लिने कुरा यो हो कि सचेत, संगठित र योजनाबद्ध विद्रोह मात्रै सफल र सार्थक हुन्छ, विजयी बन्छ र गन्तव्यमा पुग्छ । त्यसैले त्यस्तो जनविद्रोहको पूर्ण तयारी गरेर जानुपर्छ अन्यथा स्वस्फूर्त विद्रोह र विष्फोटलाई गलत तत्वहरुले दुरुपयोग गरेर सकारात्मकभन्दा नकारात्मक परिणाम ल्याउन सक्ने आजको जस्तो खतरा आइलाग्न सक्छ ।
ललितपुर १४
प्रतिक्रिया