संस्कृति, संस्कार प्रवर्धन गर्न माघ महोत्सव

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २९ ०७:१६ बजे

थारू समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको अवसर पारेर कैलालीमा नगरस्तरीय थारू माघ महोत्सव आयोजना हुने भएको छ । मौलिक संस्कृति, संस्कार प्रवर्धन गर्ने उद्देश्यले गोदावरी नगरपालिका–८, मजगाउँस्थित थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो । बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यु खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा माघ १२ देखि १४ गतेसम्म महोत्सव हुने छ ।

सो महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीका साथै थारू कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी, गोदावरी नगरपालिकाको स्थायी बसोबासी थारू समुदायका राष्ट्रसेवक कर्मचारीलाई सम्मान लगायतका कार्यक्रम रहने महोत्सव मूल आयोजक समितिका संयोजक जनकलाल चौधरीले जानकारी दिनुभयो । 

विगत १६ वर्षदेखि माघ महोत्सव आयोजना गर्दै आएको जनाउँदै उहाँले यस महोत्सवबाट लोकसंस्कृति संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीयमा जनचेतनाको विकास पनि भएको बताउनुभयो । 

त्यस्तै थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् माधव थारूले माघ महोत्सवले गोदावरी नगर क्षेत्रमा सांस्कृतिक जागरण ल्याउन मद्दत गरेको बताउनुभयो । नगर क्षेत्रमा रहेका प्रत्येक थारू गाउँमा अचेल सखिया, मघौटालगायतका नाच हुने गरेको उहाँको भनाइ छ ।   गोरखापत्र अनलाइन


२०८२ पुष २९ ०७:१६ बजे

प्रतिक्रिया