सेना रमिते बन्यो- सन्तवहादुर नेपाली स्थायी समिति सदस्य क्राकपा

bimbonline बिम्ब अनलाइन
२०८२ असोज २ १२:५४ बजे
सन्तवहादुर नेपाली स्थायी समिति सदस्य

हाँकका प्रतिनिधिले क्रान्तिकारी कम्युनिष्ट पार्टीका  स्थायी समिति सदस्य सन्तवहादुर नेपाली सँग जेएनजी आन्दोलन सहित समसामयिक विषयमा लिएको अन्तवार्ताका सम्पादित अँश

गत भाद्र २३ र २४ गते “जेन्जी आन्दोलन” बाट केपी शर्मा ओलीले नेतृत्व गरेको काङग्रेस एमाले गठबन्धन सरकारको विघटन ,त्यसपछि नेपाली सेनाको नियन्त्रणमा देशको सत्ता जानु र सेना कै समन्वयमा पूर्व प्रधानन्यायधीस शुशीला कार्की प्रधानमन्त्री बन्नु–यो राजनीतिक घटनाक्रमलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?

कुनै पनि परिघटना एक्कासी घटेको हुँदैन । त्यो लामो समयको प्रयास, योजना, तयारी र अभ्यासको परिणाम हुने गर्छ । भाद्र २३ र २४ को घटना पनि २\४ दिनको तयारीबाट भएको होइन । जेन–जीको आन्दोलन भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धका विरुद्ध थियो । आम रुपमा जेनजी पुस्ताले पनि त्यही बुझेको थियो । तर जेन–जीको आन्दोलनमा केही स्वार्थी समूहले घुसपैठ गर्ने र यसलाई तोडफोड, आगजनी लुटपाट जस्तो विध्वंशात्मक कार्यतिर लैजाने तयारी गरेर बसेका थिए । त्यही पृष्ठभूमिमा भाद्र २३ को विरोध प्रदर्शनमा ओली नेतृत्वको सरकारले युवाहरुमाथि निर्मम तथा बर्बर दमन गर्यो । साँझसम्म २० जना जति युवाले शहादत प्राप्त गरे । ४०० जति घाइते भए । तर पनि सरकार संवेदनशील बनेन । जनतामा आक्रोश उत्पन्न भयो । त्यो आक्रोशलाई केही जेनजी बाहेकका अराजक तत्वले नेतृत्व गरेर निजी घर, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, अख्तियार लगायतका भवन, व्यापारिक क्षेत्रहरुमा आगजनी गरे । सेना रमिते बन्यो । प्रहरीले विद्रोहलाई रोक्न खोज्दा पनि कामयाव बन्न सकेन । विद्रोह अनियन्त्रित बन्यो । दोस्रो दिनको राती नौं बजे मात्र सेना एक्शनमा आयो ।

सेनाले विद्रोही पक्षलाई वार्तामा बोलायो । तर वास्तविक जेनजीलाई ओझेलमा पारियो र एक्कासी हामी नेपाल एनजीओका अध्यक्ष सुदन गुरुङ एक्कासी मंचमा देखा परे । उनीसित सल्लाह गरेर सेनाले पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइयो । संसद विघटन गरियो । देशमा विद्यमान कुनै पनि राजनीतिक दललाई सेनाले वार्तामा बोलाएन । यति छिटो जुन घटनाक्रम विकास भयो, त्यसका पछाडि विदेशी शक्तिहरु, खास गरेर अमेरिकी साम्राज्यवाद र भारतीय हिन्दु फासिवादी आरएसएसले धेरै पहिलेदेखि बनाएको योजना, तालिम, आर्थिक लगानी आदि भएको देखिन्छ । स्वयं सुदन गुरुङले एक जना पत्रकारसित भनेका छन् । उनको फादर सन्दुक रुइत हुन उनको गाईडेन्समा उनले काम गरेका छन् । स्मरणीय कुरा के छ भने सन्दुक रुइत बरबरा फाउण्डेशन नामक आइएनजीओका प्रमुख हुन् । उनले सुदन गुरुङको एनजीओलाई डोनेशन दिने गरेको कुरा आएको छ । अमेरिकी आइएनजिओको फण्डीङबाट संचालित संस्थाको व्यक्तिसित नेपाली सेनाले किन सल्लाह लिएर काम गरेको छ रु त्यो अहिले भन्न सकिंदैन । तैपनि राष्ट्रपति रामचन्द्र पौडेलले सेनाले राजीनामा दिन दबाब दिंदा पनि आफूले राजीनामा नदिएर विद्रोहलाई अवतरण गराउनु भएको छ, त्यो भूमिका सकारात्मक छ । देशले पुनःराजाको प्रतिगामी शासन भोग्नु परेन । तर सेना, जेनजी र राष्ट्रपतिको सहमतिमा जुन सरकार बनेको छ, त्यो राष्ट्रिय सहमतिको सरकार नभएकाले हामी समर्थन गरेका छैनौं । अहिले प्रतिगमनले पूर्णता नपाए पनि पूर्ण प्रतिगमन हुने खतरा टड्कारो छ । जनता प्रतिगमन रोक्न कति सचेत हुन्छन्, रोकिने कुरा त्यसमा भर पर्छ । संकट थपिन सक्छ । यो सरकारको बनावटलाई हेर्दा निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर अझ ठूलो प्रतिगमन रोक्न कति काम गर्ला भन्न सकिंदैन । सरकारले देशका राजनीतिक दलहरुलाई वाइपास गरेर अगाडि बढ्नु हुँदैन ।

कतिपय माक्र्सवादी रचनाहरुमा यस्ता विद्रोहका छालहरुलाई पक्रने र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने बारे उल्लेख गरिएको हुन्छ । तर नेपालमा यति ठूलो विद्रोह भड्किँदा पनि क्रान्तिकारी शक्तिहरुको भूमिका, ,तत्परता, अगुवाई केही पनि देखिएन । विद्रोहको नेतृत्व गर्ने शक्ति तयार नभइसकेर हो ?

आकस्मिक रुपमा देखिएका विद्रोहलाई क्रान्तिकारीहरुले पक्रेर अगाडि बढाउने गरेको इतिहास मलाई थाहा छैन । पेरिस कम्युनको विद्रोहमा माक्र्सको सुझाव मानिएन । ब्लांकीहरुले नेतृत्व गरेका थिए । पछि गएर विद्रोहले धक्का खायो । बंगलादेशको विद्रोह त्यस्तै भयो । श्रीलंकाको विद्रोह पनि त्यस्तै भयो । यसरी विद्रोह हुनासाथ क्रान्तिकारीहरुले नेतृत्व सम्हालि हाल्छन् र अगाडि बढाई हाल्छन् भन्ने हुँदैन । मुख्य कुरा के हो भने क्रान्तिकारीहरुले नेतृत्व गरेको अवस्थामा त्यसलाई व्यवस्था परिवर्तन कै स्थितिमा पु¥याउन सम्भव छ । अन्यथा त्यो सम्भव छैन । जहाँसम्म अहिलेको विद्रोहको प्रश्न छ, त्यसमा जनताको यो दलाल पुँजीवादी व्यवस्था र कांग्रेस, एमाले र माओवादी केन्द्रप्रतिको तीब्र असन्तुष्टी थियो । त्यो अचानक जेनजीको आन्दोलनसँगै विस्फोट भयो र रातारात त्यसलाई देशी विदेशी शक्तिहरुले अगाडि बढाउन प्रयास गरे पनि नक्कली जेनजीहरुले सम्झौता गरिहाले । त्यो विद्रोहबारे पूर्व जानकारी वास्तविक जेनजी लाई पनि थिएन । त्यसको कुनै खास टिमलाई मात्र थाहा थियो । उनीहरु भने विद्रोहलाई प्रतिगमनको दिशामा सत्ता परिवर्तनसम्म पु¥याउने पूरै योजना साथ आएका थिए र त्यो काम केही पूरा पनि गरे तर पूरै प्रतिगमन हुन सकेन । त्यसैले गर्दा यो परिवर्तनबाट जनतालाई अहिले केही मिल्नेवाला छैन । बरु संकट थपिंदै जानेछ । सबैलाई थाहा भएको कुरा हो क्रान्तिकारीहरुको अवस्था कमजोर छ । उनीहरुलाई कमजोर पार्न र दमन गर्न देशी विदेशी शक्तिहरु ठूलो कसरत गरेका छन् । हाम्रो देशको जनताको ठूलो हिस्सा पनि साम्राज्यवाद, विस्तारवादका दलाल तथा सामन्तवाद प्रति अहिले पनि परम्परागत ढंगले आस्था राख्छ । जबसम्म क्रान्तिकारी शक्तिको नेतृत्वमा जनता गोलबन्द हुँदैनन्, तबसम्म कुनै पनि प्रतिगामीद्वारा गरिने क्रान्ति वा विद्रोहले सार्थक सफलता हासिल गर्न सक्दैन । देशको वर्तमान संकट सामन्तवाद र साम्राज्यवादबाट लामो समयदेखि खडा गरिएको शोषण, दमन र हस्तक्षेपको परिणाम हो । त्यसलाई जनताले बुझ्नु पर्छ र बुझाउनु पर्छ । हाम्रो देशको समस्याको दोष कुनै नेता विशेषलाई दिएर, उसलाई हटाएर मात्र समाधान हुँदैन । शेरबहादुर र अ‍ोलीलाई मात्रै हटाएर पुग्दैन । यो दलाल पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन नै गर्नुपर्छ । जनगणतन्त्र नै ल्याउनुपर्छ । त्यसका लागि यो देशका देशभक्त , जनवादी, वामपन्थी तथा कम्युनिस्य क्रान्तिकारीहरुलाई साथ दिएर जनताले बलियो बनाउनु पर्छ ।

 शुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेपछि आगामी सरकार संसदबाट अनुमोदन भएर बन्नुपर्छ संसद विघटन गर्नु हुन्न भन्ने एकखालको धारणा देखियो र यही सरकारले संसदको चुनाव गरेर नयाँ सरकारलाई सत्ता हस्तान्त्रण गर्नु पर्छ भन्ने अर्को धारणा देखिएको छ ,यसबारेमा तपाइँको पार्टीको विचार के छ ?

जेनजी आन्दोलनपछि मात्रै कांग्रेस एमाले लगायतका आठ वटा दलहरुको संयुक्त विज्ञप्ति आएको छ । विद्रोह पछि नेताहरुलाई सेनाले सुुरक्षामा राख्यो । सेनाले विद्रोही शक्तिसित सहमति गरेर सहमति मै सरकार गठन गरेको छ । यो सबै कुरा देखेर पनि नदेखेको र बुझेर पनि नबुझेको जस्तो गरी परिवर्तन र विद्रोहलाई अस्वीकार गर्नु सही होइन । संसदलाई कायम राख्नु थियो भने हिजो सत्तापक्ष वा प्रतिपक्षका नेताहरुले जनताको आवाज सुन्नु पथ्र्यो । उनीहरु सुनेनन् । आज विद्रोह भएको छ, यद्यपि यो आंशिक मात्र हो । यो विद्रोह सत्तापक्षको निरंकुशता, भ्रष्टाचारी कमिशनखोरी, घुसखोरी, ठगी, माफियातन्त्र, आदिका कारणले उत्पन्न भएको छ । त्यसलाई ठीकसित नस्वीकार्नु अन्ततः नयाँ पुस्ताको आवाजलाई दबाउनु परिवर्तनलाई स्वीकार नगर्नु र पुरानै यथास्थितिवादी तथा सामन्ती हैकमलाई कायम राख्न खोज्नु हो । बरु अहिले नयाँ सरकार वा परिवर्तनको नाममा विदेशी शक्ति वा सामन्ती शक्तिहरुले आप्mनोस्थिति बलियो नबनाउन् भनेर परिवर्तनलाई सकारात्मक दिशामा उन्मूख गराउन जोड दिइयो भने त्यो देश र जनताको हितमा हुनेछ । त्यसकारण संसदको पुनस्र्थापनामा अल्मलिनु भन्दा सबै गणतन्त्रका पक्षधरहरु पुनः प्रतिगमन नहुने गरी संघर्षद्वारा निकास खोज्नु पर्छ ।

 क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले असार ५ गतेदेखि भ्रष्टाचार विरुद्धको अभियान शुुरु गरेकोे थियो । त्यस सम्बन्धमा अहिले के भइरहेको छ ?

हाम्रो पार्टीले २०८२ आषाढ ५ गतेदेखि एक वर्षे भ्रष्टाचार विरुद्धको अभियान शुर गरेको छ । पहिलो चरणमा देशव्यापी प्रचारप्रसार पर्चा वितरण, सभा, अन्तक्र्रिया, ज्ञापन आदि गरेका छौं । त्यसलाई हामी अगाडि बढाउने छौं । बढाइरहेका छौं । हाम्रो कार्यक्रमको सकारात्मक प्रभाव परेको छ भन्ने कुरा जेनजीले पनि भ्रष्टाचार कै विषयलाई प्रमुखताका साथ उठाएको कुराबाट पनि प्रष्ट हुन्छ । अब यो सरकारलाई पनि भ्रष्टाचारीहरुमाथि कार्वाही गर्नका लागि दबाब दिने छौं ।

 केही समय पहिले भारत भ्रमणका क्रममा चीनियाँ विदेशमन्त्री वाङ यी ले भारतीय विदेश मन्त्री यश जयशंकरसित नेपाली भूमि लिपुलेकको बाटो भएर व्यापार मार्ग खोल्ने सहमति गरेका थिए । यो राष्ट्रियताका सन्दर्भमा गम्भीर प्रश्न हो । यो समस्याको समाधान कसरी हुुनपर्छ भन्ने ठान्नुहुन्छ ?

लिपुलेकलाई भारत र चीनले व्यापारिक नाका बनाउने भनेर गरेको दुई पक्षीय सहमतिलाई हाम्रो पार्टीले विरोध गरेको छ । भारतले पहिलेदेखि नै लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भनेर दावी गरेको छ । उसले आफ्नो नक्सामा पनि त्यो सामेल गरेको छ । त्यसप्रति सरकारको पनि असहमति छ । भारतले त्यहाँबाट व्यापाििरक नाका खोल्नका लागि चीनलाई पनि सहमतिमा ल्याउनुको पछाडि आफ्नो दावीलाई बल पुराउनका लागि हो । चीनले नेपालको सार्वभौतिकता र भूअखण्डतालाई सधै सम्मान गर्ने प्रतिबद्धता जनाइसकेको छ र नेपालले पनि एक चीन नीति लिएको छ । यो सहमतिको विषयमा पनि चीनले नेपाल र भारतको समस्या भएकाले दुई देश मिलेर समस्याको समाधान गर्न प्रतिक्रिया दिएको छ । चीनसितको नेपालको सम्बन्ध मैत्रीपूर्ण रहँदै आएको पृष्ठभूमिमा चीनले कसरी अर्काको भूमिमा हस्तक्षेप गर्ने सहमति ग¥यो रु त्यो बारेमा अध्ययन गर्न जरुरी छ । यस विषयमा राज्यले दुवै देशसित कुटनीतिक पहल गरेर टुंग्याउनु पर्छ । हाम्रो पार्टीले सरकारलाई दबाब दिंदै आएको छ । आगामी दिनमा पनि आवाज उठाइरहन्छौं । हाम्रो भूभागमा दुई देश मिलेर लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिलाई कुनै हालतमा पनि स्वीकार गर्नु हुँदैन । यसलाई खारेज गर्नुपर्छ ।

 गत भाद्र २१ गतेको राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको दोस्रो भेलाबाट तपाइ दोस्रँो पटक यस मोर्चाको संयोजक बन्नुभएको छ हाँक साप्ताहिक को तर्फबाट यहाँलाई बधाँइ छ । मोर्चाको आगामी कार्यक्रमहरु के के छन ?

 राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल देशका जिम्मेवार देशभक्त, वामपन्थी तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी, संगठन, समूह र व्यक्ति व्यक्तित्वहरुको साम्राज्यवाद तथा सामन्ती प्रतिगामीहरु विरुद्ध संघर्ष गर्ने साझा मोर्चा हो । यसको गठन २०८० भाद्र १९ मा धेरै समयको प्रयास पछि भएको थियो । २०८१ भाद्र १९ मा प्रथम राष्ट्रिय भेला सम्पन्न गरेका थियौं । मोर्चाले संयोजकको जिम्मा नेकपा अध्यक्ष क। लोकनारायणलाई दिएको थियो । अहिले भाद्र २१ मा दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । त्यसले मलाई संयोजकको जिम्मा दिएको छ । यसमा भएका घटकहरुको हैसियत बराबरी छ । सबै निर्णय सहमतिका आधारमा गर्दै आएका छौं । हामी बीच सिद्धान्त, राजनीति, विचार र संगठनात्मक नीति मिल्नेहरु एकीकरण वा धु्रवीकरण हुने र एकीकरण नहुनेहरु मोर्चा मै बसेर संयुक्त संघर्ष गर्दै जाने हाम्रो शुरुदेखिको समझ्दारी हो । त्यही आधारमा केही समूहहरु पहिले एकीक्ृत भएका थिए । हालै नेकपा र अखिल नेपाल कम्युनिस्ट पार्टी बीच एकता भएको छ । हामी उहाँहरुलाई बधाई दिन चाहान्छौं । यस मोर्चामा अहिले नयाँ घटकहरु पनि थपिने क्रम जारी छ । भेला पछि हामी बैठक राख्न पाएका छैनौं । आगामी कार्यक्रम ठेगान गर्न हामी छिटै बैठक बस्ने छौं र कार्यक्रम निर्धारण गर्ने छौं ।

क्रान्तिकारी कम्युनिष्टहरुलाई ध्रुवीकृत गर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादी ,नेकपा मशाल र नेकपा बहुमतकाबीचमा पार्टी एकता गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निर्माण भया ।क्रान्तिकारी ध्रुवीकरणको सवालमा के कति सफल भएको ठान्नुहुन्छ ?

 नेकपा (मशाल), नेकपा (क्रा.मा) र नेकपा (बहुमत) ३ पार्टीहरुबीच गत २०८१ वैशाखमा एकता अधिवेशन गरेर एकीकरण गरियो र २०८१ मंसिरमा एकता महाधिवेशन गरियो । अहिले केही जबस बाहेक सबै समिति, जबसहरु एकीकृत भईसकेका छन् । हामी ३ पार्टीहरुले नेपालमा कम्युनिस्ट पार्टीहरुमा देखा परेको फुटको श्रृंखलालाई तोड्दै जाने संकल्पका साथ एकीकृत भएका हौं । हाम्रा बीच कतिपय महत्वपूर्ण सैद्धान्तिक, राजनैतिक मतभेदहरु थिए । ती सबै मतभेदहरुलाई सहमति मै टुंगो लगाएका छौं । हामी हाम्रा मतभेद सहित एकता गरेका छौं । मतभेद पार्टीभित्र चल्दै रहन्छ । एकतालाई पनि हामी बलियो बनाउँदै जान्छौं । हामी अहिले पनि माओवाद÷विचारधारा तथा जातीय पहिचान सहितको संघीयता तथा जातीय÷क्षेत्रीय स्वशासन र स्थानीय स्वायत्तताबारे आ– आफ्ना अडान कायम छन् । त्यसलाई हामी खुला रुपमा छलफल चलाउने निर्णय गरेका छौं । हामी महाधिवेशनबाट पारित कार्यदिशामा एकमत छौं । साथमा फरक विचारहरुलाई पनि सम्मान गरेका छौं । हामी अन्य क्रान्तिकारीहरुलाई पनि एकीकरणको प्रक्रियामा आउन अपील गर्दै आएका छौं ।

जहाँसम्म एकता सफल वा असफलको प्रश्न छ, “हामी चट मंगनी पट विवाह” जस्तो गरी एकता गरिएको होइन । २÷३ वर्ष औपचारिक÷अनौपचारिक छलफल गरेर एकताको निर्णय गरिएको हो । त्यसकारण एकताको सफलतामा कुनै शंका छैन । हाम्रा राम्रा पक्ष के छन् रु कमजोर पक्ष के छन् रु भन्ने बुझेका छौं र पार्टीलाई बलियो बनाउने दिशामा हाम्रो प्रयत्न भैरहेको छ ।

 पार्टीको आगामी कार्यक्रम के छ ?

विश्वमै पुँजीवाद अहिले संकटमा छ । हाम्रो देशमा पनि दलाल तथा नोकरशाही पुँजीवाद संकटको चरणबाट गुज्रिरहेको छ । यो दलाल संसदीय व्यवस्थालाई जति थाम्न खोजे पनि थामिन नसक्ने अवस्थामा पुगेको हामीले देखिरहेका छौं । यो व्यवस्था नै असफल भइसक्यो । सत्तापक्ष र मुख्य प्रतिपक्ष मिलेर सरकार चलाउनु पर्ने र अहिले जेनजी पुस्ताको विद्रोहले सरकार पतन हुनुपर्ने आदि असफलताका परिणाम हुन् । तर हाम्रो पार्टी जनस्तरमा व्यापक बलियो हुन नसक्दा विद्रोहलाई अगाडि बढाउन र नेतृत्व दिन सकेनौं । सरकार तथा संसद दुवै विघटन भए पनि समस्या समाधान भएको छैन । त्यसकारण यो देशको राष्ट्रिय स्वाीधनता, जनतन्त्र र जनजीविकाको समस्यालाई लिएर हामीले गर्र्दै आएको संघर्ष जारी छ । भ्रष्टाचार विरुद्धको संघर्ष, मिटर व्याज पीडित, सहकारी ठगी पीडित, लघुवित्त पीडित उखु उत्पादक, दुध तथा तरकारी उत्पादक किसानहरुको संघर्ष तथा भारतीय विस्तारवादद्वारा गरिएको सीमा अतिक्रमणको विरोधमा र राष्ट्रियता, सार्वभौमिकता र भूखखण्डताको पक्षमा आज पनि हाम्रो संघर्ष जारी छ । त्यसका साथै महंगी, ठगी, लुट, हत्या, बेरोजगारी, कमिशनतन्त्र, माफियातन्त्र, कुशासन, अनियमितता लगायत जनताका थुप्रै समस्याहरुको विरुद्ध पनि हामी संघर्ष गरिरहेका छौं । जहाँसम्म हाम्रो पार्टीको तात्कालिक कार्यक्रमको प्रश्न छ, छिटै बस्ने पार्टी मिटिङले नयाँ परिस्थितिको आधारमा कार्यक्रम तय गर्नेछ ।

 हाँक साप्ताहिक मार्फत थप भन्नुकेही छ कि ?

हाँक साप्ताहिकले आफ्नो स्थापनाको ४ दशक पार गरेको छ । यो अहिलेसम्म शोषित उत्पीडित वर्ग, जाति तथा महिलाको आवाज बन्दै आएको छ । व्यापक जनताको सहयोग र समर्थनबाट यहाँसम्म आइपुगेको छ । आगामी दिनमा पनि यसरी नै शोषित पीडित जनताको सेवा गर्दै अगाडि बढोस् । प्रगतिको शुभकामना ।हाँक वाट साभार


२०८२ असोज २ १२:५४ बजे

प्रतिक्रिया