जिउदै मानिसलाई इट्टाभट्टामा जलाएको आरोपमा सफाई पाएका कांग्रेस नेता अफ्ताब आलमविरुद्ध एक पीडितले पत्रकार सम्मेलन नै गरेर प्रमाणको रुपमा आफूलाई नै पेश गरेका छन् ।
उच्च अदालत जनकपुर वीरगञ्ज इजलासले बम विस्फोट नै नभएको भन्दै दिएको सफाईविरुद्ध बमको क्षतिसहित उपस्थित पीडितले नै सार्वजनिक बयान दिएपछि यो विषय थप रोचक मोडमा पुगेको छ भने फैसला गर्ने न्यायाधीशको नैतिक र न्यायिक धरातल समेत थप खस्किएको छ । उच्च अदालत जनकपुर वीरगञ्ज अस्थायी इजलासका न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनले कांग्रेस नेता आफ्ताब आलमलाई जिउँदै मानिसलाई इट्टाभट्टामा जलाएर मारेको आरोपमा सफाई दिए ।
उनीहरुले सफाई दिने आधार कारणमा भनेका थिए, मानिस मरेको यथेष्ट प्रमाण पेश गर्न नसकेको, बम विस्फोट भएको भन्ने प्रमाण फेला नपरेको, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने भनि तामेलीमा राखेको जस्ता अनेक तथ्यलाई लिइएको छ भने फैसला खण्डमा भनिएको छ,’सबै प्रमाणहरुको समग्र विश्लेषणबाट वादी दावीको वारदात स्थापित हुन सकेको देखिएन ।
यसरी बम बिष्फोट र ईट्टा भट्टामा जलाई मारेको भन्ने बारदात नै स्थापित नभएको हुँदा जाहेरवाला गौरीशंकर राम र सफी अहमदको ज्यान मार्ने उद्योग तर्फको अभियोग दावी नपुग्ने र प्रतिवादी मुक्ती साहले अभियोग दावीबाट सफाई पाउने ठहर्याए फैसला सो हदसम्म मिलेकै देखियो ।’ तर यसले नै अदालतको फैसलामा ठूलो प्रश्न उब्जाएको छ । जसमा गौरीशंकर राम चमारले नै पत्रकार सम्मेलन गर्दै बम विस्फोट भएको, अफ्ताव आलम नै दोषी रहेको जिकिर सार्वजनिक रुपमा गरेका छन् ।
गौरीशंकरले यतिमात्रै भनेका छैनन्, मेरो जिन्दकी नर्क भइसक्यो । यस्तो मान्छेलाई कडाभन्दा कडा सजाय दिनुपर्छ । गौरीशंकरलाई पत्रकार सम्मेलनसम्म पुर्याएका एकजना अभियन्ताले भनिरहेका छन, अन्यायले हद नाघेपछि मैले यसको पहल गरिरहेको छु । न्याय दिलाउनका लागि गौरी शंकरलाई यहाँ उभ्याएको छु ।
अदालतले प्रमाण अभाव भनेपनि पीडितले नै सार्वजनिक रुपमै पीडा पोखेपछि के न्यायपालिकाले गरेको काम कारबाही सहि थियो ? नेता जोगाउनका लागि गरिएको आरोप लागेको यस्तो कर्मले न्याय प्रणालीमाथिको प्रश्न निरुपण हुन सक्छ ? धेरै सवालहरु जन्मिएका छन् ।
प्रतिक्रिया