आज २०८२ साल वैशाख ९, तदनुसार २२ अप्रिल २०२५, एउटा ऐतिहासिक महत्वको दिन हो । आजको ठीक ७६ वर्ष पहिले, लेनिनको 80औं जन्मदिवस (२२ अप्रिल १९४९) का दिन कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । यसरी आजको दिनले नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा समेत विशेष महत्व राख्दछ ।
नेपालमा रहेको विभिन्न कम्युनिष्ट एव वामपन्थी पार्टीहरुले पार्टी स्थापना एव लेनिनको जन्मदिनको सन्दर्भमा विचार गोष्ठी अन्तक्रिया सभा लगायतका विभिन्न कार्यक्रमको आयोजना गरेका छन।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका का.वा. महासचिव सिपि गजुरेल गौरवले आज एक वक्तव्य जारी गर्दै आजको एक ऐतिहासिक दिनको अवसरमा सम्पूर्ण पार्टी पङ्क्ति, सहिद, घाइते तथा बेपत्ता योद्धा, क्रान्तिकारी जनता र अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु सहित विश्व सर्वहारा वर्गमा हार्दिक बधाइ तथा शुुभकामना व्यक्त गरेका छन।
वक्तव्यमा अगाडी भनिएको छ आज नेपाली कम्युनिस्ट आन्दोलन ७७ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा एकता–सङ्घर्ष र रुपान्तरणको प्रक्रियाबाट नयाँ आधारमा उच्चस्तरको एकता वा फुटका विभिन्न श्रृङ्खलाहरु पार गर्दै नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ । यस बीचमा नेपालमा जनआन्दोलन, जनयुद्ध तथा विभिन्न प्रकारका जन सङ्घर्षहरु भएका छन् । सात डिभिजन जनमुक्ति सेनाको निर्माण र विशाल ग्रामीण इलाकाहरुमा जनसत्ताको अभ्यास पनि भएको छ । तर, ती सबै आज इतिहासका विषय बनेका छन् । दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा भारतीय विस्तारवादको शोषण, दमन तथा उत्पीडनबाट मुक्त हुने नेपाली जनताको सपना पुरा भएको छैन । यतिबेला प्रतिक्रान्ति हावी भएको छ । दक्षिणपन्थी संशोधनवाद नेपाली क्रान्तिको प्रमुख बाधक रहँदै आएको छ ।
नेपाली संसदमा कम्युनिस्ट नामका दक्षिणपन्थी अवसरवादीहरुको बहुमत रहँदै आएको छ । कहिले एकल त कहिले गठबन्धन गरी कथित कम्युनिस्ट पार्टीहरुले धेरै पटक नेपाल सरकारको नेतृत्व गरेका छन् । तर विडम्बना ठुला–ठुला राष्ट्रघात र जनघात तिनीहरुकै नेतृत्व वा सहयोगमा भएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई व्याख्यात्मक घोषणाको नाटक गरी संसदबाट अनुमोदन गराइएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भूभागमा भएको भारतीय अतिक्रमणका विरुद्ध अहिलेसम्म कुनै पनि सरकारले एक शव्द बोलेको छैन । जनयुद्धको जग र जनआन्दोलनका बलमा प्राप्त जनताका सिमित जनतान्त्रिक अधिकारहरु पनि क्रमशः खोसिँदै गएका छन् । देशमा भ्रष्टाचारले सीमा नाघेको छ, बेरोजगारी व्याप्त छ, महङ्गी आकाशिएको छ, आर्थिक सङ्कट गहिरिँदै गएको छ र देश युवा विहीन भएको छ । संसदवादी पार्टीका नेताहरु साम्राज्यवाद तथा विस्तारवादका दलालमा परिणत भएका छन् । घोषित पुँजीवादी पाटीहरुले मात्र होइन, कथित कम्युनिस्ट पार्टीहरुले समेत नवउदारवादको सिरानी हालेर नेपालको अर्थतन्त्रलाई साम्राज्यवादको पोल्टामा सुम्पिएका छन् । सिमित दलालहरु मोटाइरहेका छन्, देश दिन प्रतिदिन कङ्गाल र पराधीन हुँदै गएको छ । यो नेपालको प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्थाको चरित्र र संसदवादी पार्टीहरु असफल हुनुको परिणाम हो ।
सत्ता, व्यवस्था र संसदवादी पार्टीहरु असफल भएपछि नेपाली जनताले राजनीतिक विकल्प खोजिरहेको आजको सङ्कटपूर्ण अवस्थामा प्रतिगामी शक्तिहरुले जनतालाई भ्रम दिई टाउको उठाउने कोशिस गरेका छन् । तर, यो उनीहरुको दिवास्वप्ना मात्र हो । इतिहासको पाङ्ग्रा सधैं अगाडि बढ्छ, पछाडि कहिल्यै फर्कंदैन । यो इतिहासको नियम हो । विद्यमान सङ्कटपूर्ण स्थितिको समाधान प्रतिगमन वा यथास्थिति दुवै होइन, अग्रगमन तथा आमूल परिवर्तन हो; अर्थात् सङ्घीय जनगणतन्त्र नेपालको स्थापना हो । यसका लागि प्रतिगामीहरुको उक्साहट र यथास्थितिवादीहरुले छरेको भ्रमबाट मुक्त भई अगाडि बढ्नु अहिलेको अनिवार्य आवश्यकता हो । यस प्रकारको अग्रगमनको नेतृत्व अरु कुनै पार्टीबाट संभव छैन; माक्र्सवाद–लेनिनवाद–माओवादद्वारा निर्देशित सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्दछ ।
पार्टी स्थापना दिवसको विशेष सन्दर्भमा हाम्रो पार्टी नेपालको कम्युनिस्ट आन्दोलनमा गहिरोगरी जरा गाडेर बसेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध निर्मम विचारधारात्मक तथा राजनैतिक सङ्घर्ष चलाई त्यसलाई परास्त गर्न, सच्चा कम्युनिस्टअरु एकताबद्ध भई बलियो केन्द्र निर्माण गर्न र नयाँ जनवादी क्रान्तिको खुडकिलो पार गरी वैज्ञानिक समाजवादको दिशामा दृढतापूर्वक अगाडि बढन हार्दिक आह्वान गरिएको छ ।
प्रतिक्रिया