जातीय संकीर्ण पृथकतावादी चिन्तनको खण्डन

bimbonline शशिधर भण्डारी
२०८१ मंसिर ८ १०:१५ बजे

यहि मंसिर १३ देखि २३ गतेसम्म क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ऐतिहासिक एकता महाधिवेशन सम्पन्न हुन गइरहेको छ । सो महाधिवेशनलाई पार्टीले व्यापक छलफल, वहश र विमर्शका साथ एउटा वैचारिक अनुसन्धानात्मक महाधिवेशनका रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । तदनुरुप पार्टीमा विभिन्न विषयमा छलफल, विमर्श र वहश अत्यन्त मित्रवत् ढंगले चलिरहेका छन् र चल्नुपर्दछ । “वादे वादे जायते तत्ववोध” भनेझैं पार्टीले अपनाएको यो प्रक्रियाले धेरै विषयमा सही निस्कर्षमा पु¥याउन मद्धत गर्नेछ । पार्टी भनेको विपरितहरु बीचको एकत्व हो । एकता महाधिवेशन पश्चात महाधिवेशनका निर्णयमा टेकेर पार्टी एक ढिक्का हुँदै अगाडि बढ्ने छ भन्ने हामीलाई विश्वास छ ।

 क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनको मस्यौदा दस्तावेजमा मैले नेपाल राष्ट्रको निर्माण तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानको परिणाम हो भन्ने विचार राखेको थिएँ । त्यसमा मैले लेखेको थिएँ–“पृथ्वीनारायण शाहपछि एकीकरण अभियानकै सिलसिलामा सन् १८१४ देखि १८१६ सम्म नेपाल र अंग्रेजका बीचमा घमासान युद्ध भयो, सुगौली सन्धि भयो, राजाहरुले अंग्रेजको खानगी खाएर बेतिया तथा बनारसमा बस्ने र देशको पोल खोल्ने काम गरे । पृथ्वीनारायण शाहकालीन सामन्तवादी युगको भारी राजा ज्ञानेन्द्रसम्मले बिसाउन चाहेनन् । देशमा हिन्दूत्व, खस भाषिक आधिपत्य कायम भयो । जात व्यवस्थाका कारण मूलतः दलित र जनजातिमाथि दमन गरियो । शाह वंशीय निरंकुश राजतन्त्रको दमनका विरुद्धमा नेपाली जनताले बलिदानीपूर्ण संङ्घर्ष गर्नुप¥यो । (राष्ट्रिय महाधिवेशनका मस्यौदा दस्तावेजहरु, पृष्ठ १८१–८२०)

कमरेड सीतारम तामाङले आफ्नो पुस्तक ‘माक्र्सवाद र नेपालमा जनजति आन्दोल’नमा लेख्नुभएको छ–“एकजना लेखकले ठिकै भनेका छन्, एक जाति एक राष्ट्रकै लक्ष्यबाट अभिप्रेरित भएर यो एकीकरणको अभियान थालिएको थियो । पृथ्वीनारायण शाहको गोर्खामात्र होइन, नयाँ जितेका इलाकाहरुका गैह्रहिन्दू जनजातिमाथि पनि हिन्दू रिती–थिति लागू गर्ने र तिनीहरुलाई हिन्दू धार्मिक कानून अन्तर्गत राख्ने नीति थियो ।”(सीताराम तामाङ, माक्र्सवाद र नेपालमा जनजाती आन्दोलन, काठमाडौः प्रगति पुस्तक सदन, वि.सं.२०५६, पृष्ठ २१)

कमरेड सीताराम तामाङ र मेरो विचारमा खास भिन्नता देखिन्न, किनभने उहाँले आफ्नो पुस्तकमा नै पृथ्वीनारायणद्वारा एकीकरण अभियान थालिएको भन्ने भनाईलाई स्वीकार्नुभएको छ । त्यसो त मेरो प्रस्तावका विरुद्धमा कमरेड सीताराम तामाङको खण्डनको त्यति वैचारिक महत्व देखिन्न । आफ्नो पुस्तकमा एकीकरण स्वीकार्ने कमरेड तामाङ आज आएर नेपाल एकीकरणको वैधानिकतामाथि प्रश्न उठाउन पुग्नु उदेक लाग्दो कुरा हो ।

 कमरेड प्रभाकिरणले नेपाल एकीकरण सम्बन्धी मेरो प्रस्तावको खण्डन गर्दै लेख्नुभएको छ–“एकीकरण हुनका लागि विगतमा एउटै राज्यहरु टुक्रिएर छरिएका राज्यहरुलाई फेरि एकै ठाउँमा ल्याउनुपथ्र्यो । वा छुट्टाछुट्टै राज्यहरु आपसमा सहमति गरी एकै ठाउँमा ल्याउनुपर्दथ्यो । तर पृथ्वीनारायणले सहमतिको आधारमा राज्यनिर्माण नगरेको कुरा तिनले फौजी रुपमा, आततायी र विभत्स ढंगले दमन गरी राज्य निर्माण गरेको कुराले स्पष्ट पार्छ ।”(विचारधारा, पृष्ठ २५)

कमरेड प्रभाकिरणको आपसमा सहमति गरेर छुट्टेका राज्यलाई मिलाउने कुरालाई मात्र एकीकरणको संज्ञा दिनसकिने भन्ने तर्कले राष्ट्र निर्माण र एकीकरण सम्बन्धी इतिहासका घटित तथ्यहरुसित मेल खाँदैन । इटली, जर्मनी लगायतका मुलुकहरुको एकीकरण पनि सहमतिमा भएको थिएन, तरवारकै बलमा भएको थियो, त्यसकारण कमरेड प्रभाकिरणको यो तर्कले मनोगतवादी दृष्टिकोणको प्रतिनिधित्व गर्दछ । माक्र्सवादी दृष्टिकोणको होइन । यो एउटा मनोगतवादी तर्क हो । 

कमरेड प्रभाकरणले सोही पेजमा मलाई ‘पृथ्वीनारायणको महिमामण्डित गर्नुभएको छ’ भनेर लेख्नुभएको छ । ऐतिहासिक भौतिवादी विश्वदृष्टिकोणका आधारमा हेर्दा कमरेड प्रभाकरणको सो आरोप मनोगत देखिन्छ । एउटा माक्र्सवादीले इतिहासको तुलनात्मक अध्ययन गर्छ र सकारात्मक कुरालाई नकारात्मक कोणबाट हेर्दैन । कार्लमक्र्सले फ्रान्सका दुईवटा राजवंशहरु लेजिटिमिन्ट र आर्लियानिष्टहरुका बीचको अन्तरलाई छुट्याएर हेरेका छन् । आर्लियानिष्टहरु पूँजीवादका पक्षपाती हुनाले सामन्तवादी निरंकुशतावादी लेजिटिमिन्टभन्दा प्रगतिशील मान्दथे । त्यस आधारमा पृथ्वीनारायाण शाह सामन्त राजा थिए । तर उनले अङ्ग्रेजी साम्राज्यवाद र मिरकासिमको मुश्लिम पल्टनसँग जुधेर भुरेटाकुरे राज्यलाई जोड्ने काम गरे । आजको नेपाल त्यसैको परिणाम भएको कारणले तुलनात्मक अध्ययनका आधारमा हेर्दा पृथ्वीनारायणको नेपाल एकीकरण अभियान त्यस युगको एक कदम प्रगतिशील काम थियो । यद्यपि उनको दमन र निरंकुशताका आयामहरु छैनन भनेको होइन । माक्र्सवादी दृष्टिकोण अनुसार सामन्तवादी युगले दास युगको तुलनामा प्रगतिशील महत्व राख्छ भने पूँजीवादले सामन्तवादी युगको तुलनामा प्रगतिशील महत्व राख्छ । त्यसो त इतिहासलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले नहेरेर अधिभूतवादी दृष्टिकोणले हेर्नुृको परिणाम पृथ्वीनारायणको एक कदम प्रगतिशील भूमीकालाई नदेख्नु हो । विद्वान कमरेड प्रभाकिरणको यस्तो परिभाषालाई देशभक्तिको गजले नाप्नसमेत कठीन हुने देखिन्छ ।

कमरेड सीताराम तामाङले इतिहासकार तुलसीराम वैद्यसमेत नेपाल एकीकरणको विपक्षमा रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै उहाँले योगी नरहरीनाथ समेतले नेपाल एकीकरण शब्दलाई अस्वीकार गरेको बताउनुभएको छ । “इतिहासकार तुलसीराम वैद्य र त्रिरत्न मानन्धरद्वारा लिखित” एउटा पुस्तकको पहिलो अध्यायमै लेखिएको छ–“पृथ्वीनारायण शाहद्वारा एकीकरण हुनुभन्दा अगाडि नेपाल ५० वटाभन्दा बढी साना–साना राज्यहरुमा विभाजित थियो ।”९तुलसीराम वैद्य, त्रिरत्न मानन्धर, आधुनिक नेपालको प्रशासनिक इतिहास, काठमाडौः नेपाल र एसीयाली अनुसन्धान केन्द्र, २०५३ पृष्ठ १० यो एउटा उदाहरणमात्र हो । योगी नरहरीनाथ नेपाल एकीकरण भन्ने शब्दसँग असहमत थिए भन्ने कुरा कसले पत्याउला ?

 कमरेड सीताराम तामाङले मेरो प्रस्तावमा उल्लेखित कान्तिपुरका राजा जयप्रकाश मल्ललाई अङ्ग्रेजहरूले सहयोग गरेका थिए भन्ने विषयको खण्डनमा लेख्नुहुन्छ–“राजा जय प्रकाश मल्लले इस्ट इन्डिया कम्पनीलाई गोर्खा आक्रमणको विरुद्ध सहयोग गर्न चिठी लेखे । इस्ट इण्डिया कम्पनीले पनि तत्काल क्याप्टेन किनलकको नेतृत्वमा १५ जनाको एक टुकडी सेना सहयोग गर्न पठाए तर यो बेलायती सेनाले काठमाडौँ नजिकको पहाडी इलाका सिन्धुलीगढी पुगेर गोरखाली सेनासँग लडाई लडेको नाटक गरेर उक्त लडाईमा बेलायती सेना हारेको, क्याप्टेन आफै घाइते भएको प्रचार गरे । यो घटना ‘म कुटेको जस्तो गर्छु त रोए जस्तो गर’ भन्ने नेपाली उखानसँग मिल्छ । फर्जी घटना घटाएर गोर्खा अत्यन्त शक्तिशाली छ । हामी केही गर्न सक्दैनौं भनी बेलायतले मल्ल राजाहरूको मनोबल गिराउने काम गरे ।” कमरेड सीतारामले यस्तो ताजुब लाग्दो तर्कको आधार जर्मनका एकजना विवादास्पद इतिहास लेखक डाक्टर बेहरको भनाइलाई आधार बनाउनुभएको छ । त्यस्ता कुरालाई आधार बनाउने हो भने त नेपाल देश र यहाँका जनतालाई कलंकित पार्न युरोप र अमेरिकन इतिहासका लेखकहरुले यस्ता कैयौं अनुकूल कुराहरू लेखेका छन् ती त एउटा मिसन अन्तर्गत लेख्ने विदेशी इतिहासको पछि लागेर कहाँ पुगिएला रु विश्वका चर्चित लेखक तथा साहित्यकारहरुले समेत कयौं भ्रामक इतिहास लेखेका छन् । नोबेल पुरस्कार विजेता कोलम्बियाली लेखक गाब्रियल गार्सिया माक्र्यूजले नेपालीहरूलाई टाउको कटुवा भन्दै तिनले प्रति सात सेकेन्डमा एउटा अर्जेन्टिनाले बन्दीको टाउको काट्छन् भनेर विवरण दिएका छन् । (डा.सुरेन्द्र के.सी., नेपालको कुटनीतिक इतिहास, काठमाडौः पैरवी प्रकाशन, वि.सं.२०६१ पृष्ठ ११४) यो विवरणलाई कति सत्य मान्ने ? इतिहास श्रृङ्खलामा यस्ता धेरै उदाहरण छन् यो एउटा उदाहरण मात्र हो । यथार्थमा सिन्धुलीगढीको घटनाका सम्बन्धमा दर्जनौँ दर्जनौं इतिहासकारहरू बालचन्द्र शर्मा, रामजी उपाध्याय खतिवडा, इतिहास शिरोमणि बाबुराम आचार्य, हिरण्यलाल श्रेष्ठ, मोदनाथ प्रश्रित, डा.तिर्थप्रसाद मिश्र, देवीप्रसाद शर्मा, डा.पेशल दाहाल, डा.सुरेन्द्र के.सी., डा.त्रिरत्न मानन्धर डाक्टर, राजाराम सुवेदी, डाक्टर पुष्पराज कँडेल, नारायणप्रसाद संग्रौला लगायत कैयौं इतिहासकारहरूका अनुसार भारतको बङ्गाल, बिहार तथा उडिसामा अंग्रेजी साम्राज्यवाद विस्तार भएपछि काठमाडौँसँग व्यापार गर्न चाहेको थियो । भारतको व्यापारमा मुसलमानको पहुँच थियो । त्यतिबेला भारतमा इसाई पादरीहरुले धर्म प्रचार मात्र नगरेर व्यापार पनि गर्दथे । पृथ्वीनारायण शाहको काठमाडौँ घेराउ र आर्थिक नाकाबन्दीका कारण काठमाडौंको अवस्था अस्तव्यस्त थियो इसाई पादरी र मुसलमान व्यापारीहरू पनि छटपटाएका थिए । कान्तिपुरका राजा जयप्रकाश मल्ल भक्तपुरका राजा र ललितपुरका राजासँग गरेको धर्मपत्रप्रति विश्वस्त थिएनन् । त्यसकारण उनी आफ्नो सुरक्षाका लागि अंग्रेजहरूको सहयोग लिने निष्कर्षमा पुगे । तदनुरुप जयप्रकाश मल्लले सन् १७६७ को सुरुमा रामदास भन्ने एउटा वैरागी र उम्दा भन्ने मुसलमानका हातमा एउटा सहयोगको माग सहितको पत्र थमाए । मार्च १७६७ मा वेतियास्थित अंग्रेज वाणिज्य दूत समक्ष पत्र पुग्यो । त्यसबेला अंग्रेज वाणिज्य दुत गोल्डिङ भन्ने व्यक्ति थिए । गोल्डिङले सो पत्र जयप्रकाश मल्ललाई सैनिक सहयोग दिन उपयुक्त हुन्छ भन्ने सुझावसहित पटना कोठीका हाकिम मिस्टर थोमस रुनबोल्टकहाँ पठाए । बाइसे चौबीसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्न थालिएको कुरा अंग्रेजलाई मन परेको थिएन । कलकत्तास्थित छानबिन समितिका अध्यक्ष बोरिलस्ट नेृतृत्वको छानबीन समितिले पृथ्वीनारायण शाहलाई काठमाडौको आर्थिक नाकाबन्दीको नीति हटाउन सल्लाह दिए । नहटाएमा जयप्रकाश मल्ललाई सहयोग गर्ने निर्णय गरेर पृथ्वीनारायणलाई एउटा पत्र पठायो । पृथ्वीनारायणले त्यसको जवाफ फर्काएनन् । त्यतिबेला अङ्गे्रजका आँखा पृथ्वीनारायण शाहको पल्टनले कब्जा गरेको क्षेत्रका बडेमानका सल्लाका बुटाहरुमा थियो । कम्पनी सरकारले जयप्रकाश मल्ललाई सहयोग गर्ने भयो । जयप्रकाश मल्लको पत्र लिएर जाने दूतहरुले गोर्खाली सेनाको शैन्यावस्थाबारे जानकारी गराएअनुसार गोर्खाका कुल ५००० सेनामध्य केबल २००० काठमाडौमा रहेका छन् । पटनादेखि पनौतिसम्मको कूल दूरी ९६ कोश भएको र उक्त दूरी एकार बिसौनीमा विभाजन गरिएको थियो ।  सेप्टेम्बर १७६७मा कप्तान किनलकको नेृृतृत्वमा पृथ्वीनारायणका सेनासँग भिड्न २४०० अङ्ग्रेजी फौज पटनाबाट जनकपुर आइपुग्यो । त्यो सेनाको लक्ष्य सिन्धुली हुँदै भक्तपुरबाट काठमाडौ छिर्ने थियो । सो सूचना पृथ्वीनारायणलाई थाहा भयो । त्यसपछि उनले विरभद्र उपाध्याय र बंशी गुरुङको नेतृत्वमा ५०० सेना, वंशराज पाण्डे र श्रीहर्ष पन्तको नेतृत्वमा ७०० सेना सिन्धुलीगढीको रक्षार्थ पठाए । हरिहरपुरबाट पनि आक्रमण हुने खतरा महसुस गरी थप ३०० सेना पठाए । १८ कम्पनीमा विभाजित कप्तान किनलक नेतृत्वको २४०० बन्दुकधारी सेना सिन्धुलीगढीबाट उकालो लागे । अंग्रेजी सेना त्यो ठाडो उकालो लागेपछि गोर्खाली सेनाले ढुङ्ग्रेबास र पौवागढीतिरबाट ढुंगामुढा र गोली बर्साउन थाल्यो । बंशी गुरुङले बछिउको गोलामा ढुंगा हानेपछि अङ्ग्रेजी सेनामाथि बछिउ पनि खनियो । गोरखाली सेना र अंग्रेज सेनाका बिचमा भएको घमासान युद्धमा अंग्रेजतर्फका १००० सैनिकको ज्यान गयो । नेपालतिरका ३०० जनाले ज्यान गुमाए । रसद पानीको अभाव र औलोका कारण अंङ्ग्रेजतर्फका थप ६०० सैनिक मरे । अक्टुबरको अन्त्यतिर कप्तान किनलक बाँकि रहेका ८०० सेनालाई लिएर बारामा गएर बसे । त्यसपछि अङ्ग्रेजी पल्टनले बारा, पर्सा र रौतहटको क्षेत्रमा कब्जा जमाई तिरो उठाएर खानथाल्यो । काठमाडौ उपत्यकामा बिजय गरिसकेपछि पृथ्वीनारायणले अङ्ग्रेजले कब्जा गरेको क्षेत्र हात पारे । कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न पट्नाबाट आएको अङ्ग्रेजी साम्राज्यवादले फेरि नेपालमाथि आक्रमण गरेन । पृथ्वीनारायणको एकीकरण अभियान अगाडि बढ्यो । यसअघि १२ जनवरी १७६३मा बंगालका नबाब मिर कासिनको सेनाले मकबानपुरमाथि आक्रमण गरेको थियो । सो शैन्य दलको नेतृत्व आर्मेनिया निवासी ग्रेगरीले गरेका थिए । गोर्खाली सेनाले त्यसको कडा प्रतिरोध गरेको थियो । डा.डिल्लीरमण रेग्मीको पुस्तक मोडर्न नेपालका अनुसार सो लडाइँमा मिर कासिनका १७०० सेना मरेका थिए भने गोर्खाली सेनातर्फ ३० जनाजतिको मात्र ज्यान गएको थियो । अङ्ग्रेजी सम्राज्यवादविरुद्धको लडाइँको इतिहासमा सिन्धुलीगढीको लडाइँको ठूलो ऐतिहासिक महत्व रहेको देखिन्छ । तर कमरेड सीताराम तामाङले त्यति ठूलो ऐतिहासिक महत्व राख्ने सिन्धुलीगढीको इतिहासलाई यति धेरै अबमूल्यन गरेर लेख्न कसरी कलम चलाउनुभयो होला ? कुनै पनि देशभक्त नेपालीले सिन्धुगढीको लडाइँलाई नाटक हो भनेर भन्न त के सोच्नसम्म सक्दैन । कमरेड सीताराम तामाङको यो लज्जाबोधक तर्कका आधारमा हेर्दा त उहाँका लागि अङ्ग्रेजी साम्राज्यवादविरुद्ध हाम्रा पूर्खाहरु लडेको नालापानीको लडाइँ, देउथलको लडाइँ, जितगढीको लडाइँ लगायत समग्र नेपाल–अङ्ग्रेज युद्ध सबै नाटक थिए । त्यो लडाइँमा बीर नेपाली सपुतहरुले देशको रक्षाका लागि बगाएको रगत बेकार देखिन्छ ?

 कमरेड सीताराम तामाङ लेख्नुहुन्छ–“बिना अध्ययन बोल्ने हक कसैलाई हुँदैन । कमरेड शशिधरलाई पनि यो भनाई लागू हुनुपर्ने हो ।”(विचारधारा, पृष्ठ ३२)

कमरेड सीताराम तामाङ नेपाली कम्युनिष्ट आन्दोलनमा लगातार क्रियाशील पठित अग्रज हुनुहुन्छ । म अनपढले उहाँलाई तिसौं वर्षदेखि एउटा अग्रज कमरेड र दाजुका रुपमा सम्मान गर्दै अएको छु । आज पनि सम्मान गर्छु । तर आफू पठित र अध्ययनशील भएको अभिामानको जगमा उभिएर नेपाल राष्ट्र निर्माण तथा नेपाल एकीकरणको वैधानिकतामाथि प्रश्न उठाउने हक कसैलाई पनि छैन । यो कुरा कमरेड सीताराममा पनि लागू हुनुपर्ने हो ।

 कमरेड सीताराम तामाङ लेख्नुहुन्छ –“श्री ३ जंगबहादुरले भारतमा सन् १८५७मा भएको सिपाही विद्रोह दबाउन अंग्रेज साम्राज्यवादलाई सैनिक सहायता गरेबापत इष्ट इण्डिया कम्पनी सरकारले उनलाई नयाँ मुलूक(बाँके, बर्दिया, कैलाली, कंचनपुर) बक्सिस दियो । यो नयाँ मुलूक जोड्ने जंगबहादुर राणा एकीकरणको नायकहरु भित्र परेनन्, पारिएन ।”

सन् १८५७मा भारतमा अङ्ग्रेजी साम्राज्यवादका विरुद्ध सिपाही विद्रोह भएको थियो । अंग्रेजको सेवामा तल्लीन रहेर राणाहरुले आफ्नो निरंकुश शासन टिकाएका थिए । अङ्ग्रेजकै सहयोग र षडयन्त्रमा कोतपर्व र भण्डारखाल पर्व भएका थिए । यस्ता पर्वहरुमार्फत राणाशासन स्थापना भएको थियो । सन् १८५७को भारतको सिपाही विद्रोह दबाउन जङ्गबहादुरले भारतमा नेपाली सेना पठाएका थिए । अङ्ग्रेजको सेवामा गएको सो सेना लखनउ लुटमा सामेल भएको थियो ।

त्यसकारण कार्लमाक्र्सले जंगबहादुरलाई अंग्रेजी साम्राज्यवादको पाल्तु कुकुर भनेका थिए । लेखक तथा राजनीतिज्ञ मोदनाथ प्रश्रितका अनुसार अंग्रेजी साम्राज्यवादको सेवक राणाशाहीको स्थापना हुनु नेपालको दुर्भाग्य थियो । त्यसको अर्थ समग्र शाहवंश नेपालको भाग्य थियो भन्न खोजेको होइन । आज नेपालको गरीबी र पछौटेपनको कारकतत्व राणाशासनमात्र नभै शाहवंशीय निरंकुश शासन पनि हो । तर पृथ्वीनारायण शाहपछिका हाम्रा वीर पूर्खाहरुले अंग्रेजी साम्राज्यवादका विरुद्ध निर्मम लडाईँ लडेका थिए । सो लडाइँमा सम्पूर्ण तह र तब्काका जनता एक ढिक्का भएका थिए । त्यो न्यायपूर्ण लडाइँ थियो । तर जंगबहादुर राणाले भारतको न्यायपूर्ण सिपाही विद्रोह दबाउन नेपाली पल्टन लखनउ लूटमा पठाउनु न्यायपूर्ण थिएन । लेनिनले न्यायपूर्ण लडाइँ र अन्यायपूर्ण लडाइँका बारेमा लामो प्रकाश पारेका छन् । त्यस्तै प्रथम र द्वीतिय विश्वयुद्धमा अङ्ग्रेजी साम्राज्यवादको पक्षमा लड्न हजारौं नेपाली युवाहरुलाई होमेर जङ्ग बहादुर र उनका सन्तानहरुले रोयल्टी बुझेका थिए । यस्ता जंगबहादुरलाई नेपाल एकीकरणको नायकभित्र नपारेकोमा कमरेड सीतारामले चिन्ता प्रकट गर्नुभएको छ । योभन्दा आश्चर्यको विषय के होला ? कमरेड सीतारामको इतिहासलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने अधिभूतबादी दृष्टिकोणका कारण उहाँ जान या अन्जान जंगबहादुर राणा र अङ्ग्रेजपरस्त धरातलमा उभिन पुग्नुभएको छ । नेपालको देशभक्तिपूर्ण आन्दोलनमा समेत लामो समयदेखि क्रियाशील कमरेड तामाङमा अहिले पछिल्लो घडीमा संकीर्ण जातीय पृथकतावादी धारणा बलियो हुँदै जानुको परिणाम नेपालको इतिहासलाई हेर्ने यस्तो एकपाखे दृष्टिकोण अगाडि आएको देखिन्छ । यो एउटा चिन्ता र आश्चर्यको विषय हो । आज हामीले मुस्ताङ र मर्चवार मेची र महाकालीको भूगोल आधुनिक नेपाल हो भनेर गर्व गर्दछौं । यो मातृभूमीमाथि विस्तारवादी शासकले सीमा मिच्दा यो भूगोलमाथि साम्राज्यवादी गिद्देदृष्टि पर्दा हामी आन्दोलित हुन्छौं । यो देश निर्माणमा पृथ्वीनारायण शाहको मात्र योगदान रहेको छैन । सबै जातजाति, धर्म, संस्कृतिका आम जनताको रगत पसीना बगेको छ । हाम्रा पूर्खाहरुको विरता र बलिदानको कारण नेपाल अंग्रेजी साम्राज्यवादको पूर्ण रुपमा गुलाम भएन । त्यसैले इतिहास एउटा सबल राष्ट्रको चिनारी हो । कमरेड सीतारामले राज्यविस्तार भन्नुहुन्छ । मैले प्रस्तावमा एकीकरण भनेको छु । कतिपय स्थानमा स्वयं क।सीतारामले नै एकीकरण भनेर स्वीकार्नुभएको छ । हाम्रो मतभेद शब्दमा होइन, इतिहासको ब्याख्या र विश्लेषणमा हो । उहाँको विश्लेषणले बरु नेपाल भन्ने देश चाहिएन, जातीय पहिचानको राज्य चहियो भन्ने कुरालाई सिद्ध गर्न खोज्छ । यो आफ्नो देशको सकारात्मक इतिहासलाइ समेत धमीरा लगाउने संकीर्ण पृथकतावादी चिन्तनप्रणाली हो, जुन घातक देखिन्छ ।




२०८१ मंसिर ८ १०:१५ बजे

प्रतिक्रिया