घण्टी पार्टी विकल्प वा भ्रष्ट व्यवस्थाको नयाँ सदस्य ?

रास्वपा भ्रष्ट संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्था ल्याउन स्थापना भएको पार्टी नभएर भ्रष्ट व्यवस्था भित्रीको नयाँ सदस्य मात्र हो । नयाँ सदस्यले केही समय भ्रष्ट व्यवस्थाका नियमहरु , विधानहरु , कानुनहरु बुझ्न समय लाग्ने हुन्छ । क्रमशः नियमहरु बुझ्दै जान्छन र चुरीफुरी बन्द हुनेछ ।

bimbonline दिपक पौडेल
२०८२ साउन २९ १०:३४ बजे
दिपक पौडेल

 जेल मानिसलाई सुधार गर्नको निम्ति निर्माण गरिएको हो । जेलको वातावरण दोषीलाई , अपराधीलाई , हत्यारालाई सुधार गर्ने प्रकारको हुन पर्दछ ।  जेल भित्रको सुविधा  देशको अवस्थामा भर पर्दछ । आर्थिक रुपले सम्पन्न मुलुकमा जेल भित्रको सुविधा पनि राम्रो हुन्छ भने आर्थिक रुपले विपन्न मुलुकमा जेलको सुविधा राम्रो हुँदैन । नेपालमा जेलक‍ो अवस्था दयनीय रहेको कुरा बेलाबेलामा समाचार माध्यममा आउने गर्दथ्यो । देशका अधिकांश जेलमा क्षमताभन्दा वढी कैदी राखिएको छ । कैदीहरुको संख्या बढेर हो वा जेलको क्षमता कम भएर हो ? यो छुट्टै वहसको विषय बन्न सक्दछ । हामीले अस्पतालमा अनुगमन गरियो भने अस्पतालको क्षमता भन्दा बढी संख्यामा बिरामीहरु राखिएको पाइन्छ । सार्वजनिक यातायातको अनुगमन गरियो भने क्षमता भन्दा बढी यात्री रहेको पाउन सक्छौं । सडकमा क्षमता भन्दा बढी लोड भएका गाडी गुडिरहेको देख्न सकिन्छ । यसरी प्रायः सबै क्षेत्रमा नियमन गर्नुपर्ने अवस्था देखिन्छ ।  नेपालको कानुनले कसुरका आधारमा सबैलाई समान  सजायको व्यवस्था गरेको छ । पहुँच र पावरको आधारमा सजायमा कम  वढी भयो भने समानताको सिदान्त विपरित भएको बुझ्न पर्दछ ।  हामीले  दलाल व्यवस्था भित्र निष्पक्षताको आशा गर्नु बेकारको कुरा हुनेछ ।

संसदीय   दलाल व्यवस्थाले भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्दैन । दलाल संसदीय व्यवस्था भ्रष्टाचारको जगमा नै अडिएको हुन्छ  । अहिले भ्रष्टाचार नभएको कुनै क्षेत्र देखिन्न । दलाल व्यवस्थाका मुख्य संचालकहरु नै सयौं भ्रष्टाचारका काण्डमा मुछिएका समाचारहरु प्राप्त भएका हुन्छन् ।  संस्थागत भ्रष्टाचार व्यापक छ । हामीले थाहा नपाएका भ्रष्टाचारका काण्डहरु कति हो कति छन्  । पुर्व मन्त्रीहरु खुमबहादुर खड्का , चिरञ्जीवी वाग्ले , विजय कुमार गच्छदार , टोपबहादुर रायमाझी लगायत भ्रष्टाचार गरेर जेल गएका थिए र छन् । बालकृष्ण खाँण  , माधवकुमार नेपाल लगायत धरौटीमा रिहा भएकाछन् , उनीहरूको विषयमा  अदालतमा अनुसन्धान भइरहेको छ ।  रवि लामिछानेलाई थुनामा राखेर  छानबिन गरिरहेको छ , दोषी ठहरिए दोष अनुसारको सजाय हुनेछ । दलाल व्यवस्था भित्र दलाल व्यवस्थाका संरक्षकहरु किन र कसरी जेल जानुपर्यो ? आफ्ना संरक्षकको रक्षा गर्न  किन सकेन ? प्रश्न उठ्न सक्दछ । कांग्रेस , एमाले , माओवादी , रास्वपा लगायतका संसदवादी पार्टीहरु दलाल व्यवस्थाका आर्थिक कारोबारका केन्द्रहरु हुन् । जस्तैः आर्थिक कारोबार गर्ने बैंकहरु विभिन्न नाममा खोलीएका छन् ।बैंकको मुल सिद्धान्त एउटै हुन्छ । माथि उल्लेखित पार्टीहरुको मुल उद्देश्य दलाल व्यवस्थाको रक्षा नै हो । आर्थिक कारोबारमा आएको गडबडीले उनीहरू फुट्ने गर्दछन् । भ्रष्टाचार  छताछुल्ल भएपछि त्यसलाई नियन्त्रण होइन  , व्यवस्थापन गर्न केही एजेन्टहरुलाई जेल पठाउने गरिन्छ । अहिले भएको त्यो बाहेक केही होइन ।

कांग्रेस , एमाले , माओवादी लगायतका पार्टी नेतृत्व भ्रष्टाचारमा मुछिदा कार्यकर्ताले स्वभाविक रुपमा लिएको देखिन्छ । उनीहरूमा भ्रष्टाचार सम्बन्धि लामो अभ्यास र अनुभव रहेको छ । रास्वपा भ्रष्ट संसदीय व्यवस्थाको विकल्पमा  नयाँ व्यवस्था ल्याउन स्थापना भएको पार्टी नभएर भ्रष्ट व्यवस्था भित्रीको नयाँ सदस्य मात्र हो । नयाँ सदस्यले केही समय भ्रष्ट व्यवस्थाका नियमहरु , विधानहरु , कानुनहरु बुझ्न समय लाग्ने हुन्छ । क्रमशः नियमहरु बुझ्दै जान्छन र चुरीफुरी बन्द हुनेछ । रवि लामिछानेले सहकारी ठगीमा कहीँ कतै नजोडिएको दावी गर्दै आएका थिए , अहिले आफ्नो भागमा पर्ने विगो बराबरको रकम बैंक ज्ञारेन्टी राखेर थुनामुक्त गर्न अदालत समक्ष निवेदन गरेका रहेछन् । अदालतले छानबिन कार्य पूरा नभए सम्म विगो कति हो थाहा नहुने भएको हुनाले त्यस्तो गर्न नमिल्ने बताएको छ । बर्तमान भ्रष्ट व्यवस्था स्विकार गरेको रास्वपाका नेता कार्यकर्ताले अदालतको निर्णयको प्रतीक्षा समेत गर्न सकेको देखिन्न ।   एकातिर अदालत बर्तमान सरकार संचालन गर्ने पार्टीबाट प्रभावित भएको बताउने गर्दछन् , अर्कोतिर अदालत प्रभावित पार्ने गतिविधि गर्दछन् । यो रास्वपाको अपरिपक्वता बाहेक केही होइन ।

अहिले सहकारी ठगीको मुद्दामा ५०० भन्दा बढी व्यक्ति  जेलमा रहेको बताइएको छ । रवि  लामीछाने वाहेकका अरुको स्थित के छ ?  जनतालाई कुनै जानकारी छैन । उनीहरूलाई कस्तोमा राखिएको छ ? कोठामा एसी , पंखा  छ वा छैन ? शौचालयको ढोका छ वा छैन ? पत्रिका पढ्न पाए वा पाएनन् ? मानवअधिकार कर्मीले भेटे वा भेटेनन् ? उनीहरूलाई प्रतिशोध भएको छ  वा भएको छैन ? कतै चर्चा भएको जानकारी छैन । रुपन्देही जिल्लामा रहेको जेलको क्षमता २५० जनाको रहेकोमा अहिले करिब ७०० जना राखिएको बताइएको छ । रविलाई छोडेर अरुको अवस्था के छ ? संचार माध्यममा आएको देखिन्न । यसले  वर्गीय व्यवस्थामा जेलमा समेत वर्गीय व्यवहारको अपेक्षा गरेको प्रष्ट बुझ्न सकिन्छ 

रवी लामिछाने सहकारी ठगी हुन् वा होइनन् ? अदालतले छानबिन गरेपछि फैसला गर्ला । हामीले अपेक्षा गरौं उनले अदालतवाट सफाइ पाउनेछन् । उनी दोषी ठहरभए भने कानुन अनुसार सजाय पाउन पर्दछ । रास्वपाका नेता कार्यकर्तामा यतिसम्म धैर्यता हुनपर्दछ । नेतृत्वलाई देबत्वकरण गरेर संसदीय पार्टीलाई पनि सहीसंग संचालन गर्न सकिन्न । खराबीलाई त्याग्ने हिम्मत राख्न पर्दछ ।  अहिले केही मानिसहरु राजनीतिक पार्टीको गलत क्रियाकलापका कारण विकल्प खोजेको पक्कै हो   तर , सही विकल्प के हो ? अलमलिएको अवस्था छ । कतिपय मानिसहरु रविको वाककलावाट संमोहित भएको देखिन्छ । अवचेतन मनलाई आकर्षण गर्ने कलालाई संमोहन कला भनिन्छ । रविको वाककलावाट प्रभावित भएकाहरुलाई रविले जे बोलेपनि राम्रो लाग्ने , जे भनेपनि पत्याइहाल्ने हुन्छ । यो एक प्रकारको रोग नै हो । यो रोग लागेका मानिसहरुमा जोसंग संमोहित भएको हो , उसको आलोचना गर्दा आत्तिने , रिसाउने , प्रतिकार गरिहाल्ने , ऊ बाहेक कसैलाई नदेख्ने प्रकारका लक्षण देखा पर्दछ । हामीले नेतृत्वलाई द्वन्दात्मक तरिकाले बुझ्न पर्दछ । नेतृत्व पनि मानिस हो , उसका पनि कमजोरी हुनसक्छ भन्ने बुझाइले निराश बन्नु पर्दैन ।  नेतृत्वलाई सुधार गर्नसकिने अवस्था सम्म सुधार गर्न प्रयत्न गर्नुपर्दछ । सुधार गर्नसक्ने अवस्था रहेन भने नेतृत्वको विकल्प खोज्नु पर्दछ र पार्टीलाई जोगाउन पर्दछ । नेतृत्वसंग सतीजने कमजोरी गर्नुहुदैन  ।

नेपालमा टिकटको शुरूवात संगै टिकटके मानसिकताको विकास भएको छ । टिकटके मानसिकताले पूरा पाठको अध्ययन र पूरा समाचार हेर्न र पढ्न  प्रतिबन्ध लगाउँछ । समाचारको शिर्षक हेरेर  वा सुनेर धारणा बनाउने बानीमा विकास हुदैजान्छ । अहिले धेरै ब्यक्तिहरुको अवस्था यस्तै देखिन्छ । समाचारको सत्यतामा खोज नगरिकन धारणा बनाउने  , टिकटकले काटेर राखेका सामग्रीको अगाडि के छ , पछाडि के छ ? परिस्थिति के हो र?  सबै कुराहरुको आकलन नगरी हो हो । यो हो । भनेर समाजलाई भ्रमित समेत पारिएको हुन्छ । संचार माध्यममा आएका विषय सत्यको नजिक छ वा छैन विचार पुर्याउन पर्दछ ।

अन्त्यमा विकल्प यो भ्रष्ट व्यवस्था भित्र खोज्ने होइन  ,  यो व्यवस्था भित्र खोजीने विकल्प एक भ्रष्टको विकल्प अर्को भ्रष्ट नै  हो । जनताको असन्तुष्टि र आधारभूत समस्या सम्बोधन यो व्यवस्थाले गर्न सक्दैन । हामीले दलाल व्यवस्था संग संघर्ष गर्दै जनवादी ( पुँजीवादी ) व्यवस्था स्थापना गर्ने बाटो रोज्नु पर्दछ । दलाल संगको सहकार्यले भ्रष्ट दलाल संसदीय व्यवस्था नै कायम राख्न बल पुग्दछ । दलाल व्यवस्थाको जुनियर पट्नरलाई विकल्प देख्नु ठुलो कमजोरी हुनेछ ।

(लेखक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक  पिविएम हुनुहुन्छ)

        

            

             


२०८२ साउन २९ १०:३४ बजे

प्रतिक्रिया