बाढीपहिरोले जताततै सखाप, गतिहीन सरकार

bimbonline बिम्ब अनलाइन
२०८१ असोज १३ ०८:१६ बजे

काठमाडौं । उच्च वर्षाको प्रक्षेपण गर्दै मौसम पुर्वानुमान महाशाखाले पूर्वतयारीका लागि एक साता पहिले नै अपिल गर्यो । वर्षा अत्यधिक हुने र त्यसबाट बाढी पहिरो र डुबानको समस्या हुने भन्दै महाशाखाले सचेत गराएपनि सरकारले पूर्वतयारी स्वरुप खास केही गरेन । जसका कारण वर्षापछिको बाढी, पहिरो र डुबानले देश नै अस्तव्यस्त बन्न पुगेको छ । 

मौसम पुर्वानुमान महाशाखाले एकहप्तासम्मकै मौसमको विवरण दिन्छ । मौसमको स्थिति कस्तो रहन्छ ? वर्षाको सम्भावना के छ ? वर्षा कस्तो हुनसक्छ भन्ने पूर्वानुमान दिने महाशाखाले सचेतता अपाउन समेत अपिल गर्दै आएको थियो । प्राकृतिक विपत्ति आउन सक्छ है भन्ने विभागको सूचनामा सरकारले खास ख्याल गरेन । जसका कारण दर्जनौं सर्वसाधारणले ज्यान गुमाएका छन् भने केहि वेपत्ता छन् । ठूलो मात्रामा धनजनको क्षति समेत भएको छ ।

प्रधानमन्त्रीको विदेश यात्रा

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जम्बो भ्रमण टोली लिएर अमेरिकामा छन् । औपचारिक कार्यक्रम सकिएपनि उनीहरु घुमाघाम, अवलोकन गरेर समय व्यतित गरेका छन् । उता उनीहरु भ्रमणमा व्यस्त रहँदा यता मुलुकमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले दैनिकी नै तहसनहस पारिदिएको छ । तर, उनी फेसबुकमार्फत निर्देशन दिदै बसिरहेका छन् । सरकारले मौसम पूर्वानुमान महाशाखालाई मात्रै विश्वास गरेर पूर्वतयारी गरेको हुन्थ्यो भने यो स्थिति पक्कै आउदैन थियो । 

उद्दारको पर्खाईमा बसेकाहरु आँखै अघि बग्नेदेखि गुहार माग्नेलाई समेत राज्यले कुनै सेवा दिन सकेन् । यस्तोमा आकस्मिक बैठक बस्दै सरकारले आफ्नो धिमे गतिमाथि जन आक्रोश थप बढाउने काम गरिरहेको छ । 

सरकारको गैरजिम्मेवारपूर्ण जवाफ

ललितपुरको  नख्खु खोलामा शनिबार चारजनाले आफुलाई बचाउन गुहार मागे । उनीहरुले गुहार मागेपनि उद्दार हुनै सकेन् । सरकारको फितलो तयारी र ढिलासुस्तीको सिकार बनेका चारजनामध्ये तीन जनाको उद्दार भइसकेको छ । उनीहरुलाई चणिकलाल तामाङले बाढीमा हेलिएर उद्दार गरे । दुईजनाको उद्दार चणिकलालले गरे भने एकजना आफै पौडिएर आएको बताइएको छ । तर, गृहमन्त्रीले उनीहरुको स्थिति नै नबुझी कम भिजिबिलिटीका कारण हेलिकप्टर उडाउन सकिएन भन्दै निम्छरो जवाफसहित वेपत्ता भएको सूचना प्रवाह   गरिदिए । 

गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दिएको यस्तो अभिव्यक्तिले जनस्तरमा आक्रोश बढेको छ । सरकारले उद्दारमा गरेको बिलम्ब र ढिलासुस्तीको सिकार बन्न पुगेका सर्वसाधारणमाथि राज्यको जिम्मेवारी के रु प्रश्न उठेको छ । अहिलेका सबै परिस्थिति हेर्दा दुई तिहाईको सरकार बनेर सबै काम ठिकठाक गर्ने दाबीले अब सरकारलाई नै पिरोल्ने पक्का छ ।

प्राकृति विपत्ति र सरकारको भूमिका

प्राकृतिक विपत्तिसँग लड्न पूर्वतयारी चाहिन्छ । आकस्मिकबाहेक उद्दार तथा राहतमा तीब्रता आवश्यक पर्छ । सरकारले नागरिकप्रति बहन गर्ने जिम्मेवारी प्रमुख विषय पनि हो । तर, देशभर विभिन्न नदी तथा खोलाको भंगालोमा फसेका नागरिकको उद्दार गर्न समेत हेलिकप्टर मगाउन पत्राचार गर्नुपर्ने जस्ता लम्बेतान प्रक्रियाका कारण समेत नागरिकले अनाहकमा ज्यान गुमाइरहेका छन् । 

शुक्रबारदेखि परिरहेको वर्षाले पूर्वी नेपालका विभिन्न जिल्ला हुँदै काठमाडौंमा ठूलो क्षति पुर्याएको छ । यस्तै लुम्बिनी, गण्डकी, कर्णाली हुँदै सुदूरपश्चिममा समेत वर्षाले वितण्डा मच्चाएपनि सरकारले काठमाडौं मै उद्दारको कामलाई तीब्रता दिन नसक्दा बाहिरका जनताला आक्रोश पोख्न थालेका छन् । सरकारी संयन्त्रमाथिको प्रश्न सरकारको कार्यशैलीले समेत उठाएको छ । 



२०८१ असोज १३ ०८:१६ बजे

प्रतिक्रिया