क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सहसंयोजक का. कंचनले २०८१ श्रावण १ गते एक प्रेस वक्तव्य जारी गरेर “आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएको” बताउनु भएको छ । यसै वर्षको प्रारम्भमा वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच पार्टी एकता भएको थियो । २०८० वैशाख १७ गते क्रान्तिकारी माओवादी र बहुमतबीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी बनेको थियो । मशालसित पार्टी एकता गरेको ७५ दिन र क्रान्तिकारी माओवादीसित गरेको ४४० दिनमा “पार्टी एकता असफल” किन भयो ? यो कुरा अहिले पार्टीभित्र मात्र होइन, बाहिर पनि एउटा चिन्ताको विषय बनेको छ । के नेपालका कम्युनिस्टहरु फुट मात्रै जान्दछन ? एकता गर्न जान्दैनन् ? हामी पार्टी एकता गर्ने बेलामा कम्युनिस्टहरुको फुट प्रवृत्तिको अन्त गर्दै एकताको थालनी भएको र देशका तमाम कम्युनिस्टहरुलाई एकताको मूल प्रवाहमा सामेल गर्दै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता प्रकट गरेका थियौं । त्यो प्रतिबद्धता हाम्रो मनोगत कुरा थिएन, देशको आवश्यकता थियो ।
प्रेस वक्तव्यमा भनिएको छ, “दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौं प्रयत्नहरुको बाबजुद हामी सफल हुन सकेनौं । अतः समय र विषयको संवेदनशीलतालाई मध्येनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं ।” वक्तव्यको निष्कर्षमा भनिएको छ, “ हाम्रो गहिरो विश्लेषण र दृढ विश्वास यो हो कि आजको क्रान्तिको सही कार्यदिशा वैज्ञानिक समाजवाद नै हो ।” त्यसकारण “सबै क्रान्तिकारी, देशभक्त, जनपक्षीय शक्तिहरुलाई” “आगामी दिनहरुमा नेपाली समाजले माग गरेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने अभियानमा दृढतापूर्वक अगाडि बढ्न” अपिल गरिएको छ । यसले के बताउँछ भने उहाँ अब वैज्ञानिक समाजवादबारे पार्टीभित्र बहस चलाउन चाहनुहुन्न । क. कंचनको पूर्व बहुमत पक्षको कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति थियो । तर उहाँ नयाँ जनवादी क्रान्तिको खुडकिलो पार गरेर वैज्ञानिक समाजवादी क्रान्तिमा जाने कार्यदिशामा सहमति गरेर एकतामा आउनु भएको हो । पार्टीमा केन्द्रीय संगठन समितिको दोस्रो बैठकले विचारको बहसबारे निर्णय गरेको छ । त्यो बहस खुल्नका लागि तोकिएको मिति आउँदैछ । तर क. कंचनले भन्नुभएको छ, “बहसलाई अनुसन्धानमूलक र रुपान्तरणकारी बनाउने हाम्रो प्रयासमा अवरोधहरु शुरु भए । ” केन्द्रीय संगठन समितिको बैठकपछि क. किरणद्वारा जारी वक्तव्य सल्लाह नै नगरी लेखिएको भन्दै अगाडि भनिएको छ, “बहसको यो समग्र प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यक्त हुँदै आएको अवरोधजन्य कार्यशैलीको निरन्तरता हो ।” जहाँसम्म वैचारिक बहसको प्रश्न छ, त्यसलाई असारमा सम्पन्न बैठकमा हामी सबैले खुला गरेका थियौं । त्यो भन्दा अगाडि बहस कहाँ भयो ? कहिले भयो ? हामीलाई थाहा छैन । व्यक्तिगत रुपमा भएको विचार विमर्सलाई बहस मानिदैन । हामीले त हाम्रा असहमतिहरु केन्द्रीय बैठकमा राखेका मात्र हों । बहस त अब गर्ने हो । निश्चित रुपमा गर्ने छौ। क. कंचनले बैठकको प्रेस वक्तव्यमा नै दुई समानान्तर प्रस्ताव आएको उल्लेख गर्नुपर्ने सुझाउनु भएको थियो । वक्तव्य मै लेख्नु भएको छ, “उक्त पत्रमा (बैठकको प्रेस वक्तव्यमा) कि दुवै समानान्तर दस्तावेज उल्लेख गर्नुपथ्र्यो कि दुवै उल्लेख गर्नु हुन्थ्यो भन्ने टिप्पणी सहित केन्द्रीय समितिमा प्रस्तावित समानान्तर दस्तावेज (वैज्ञानिक समाजवादको) बारे उल्लेख गरेर नयाँ वक्तव्य जारी गर्नुपर्ने सुझाइएको थियो ।”
बैठकको प्रेस वक्तव्य पूर्व तीन पार्टी एकताको सहमति र स्पीरिट अनुसार भएको हुनाले त्यसलाई परिवर्तन गरेर “नयाँ वक्तव्य” जारी गर्न नपर्ने कार्यसम्पादन मण्डलको ठहर भएपछि क. कंचन “पार्टी एकता असफल भएको” घोषणा गर्नुभयो । उहाँले त्यो माग राख्ने स्वतन्त्रता छ र हुनेछ । त्यसलाई कार्यालय, केन्द्रीय समिति वा त्यो भन्दा माथि महाधिवेशनमा समेत उठाउन सक्नुहुन्छ । त्यो जनवादी अधिकार रहँदारहँदै उहाँले विद्रोहको बाटो नै किन समाउनु भयो ? त्यो भविष्यमा स्पष्ट हुँदै जाला ।
क. कंचनले अहिले उठाएको विषयबारे प्रेस वक्तव्यमा लेख्नु भएको छ “केन्द्रीय समितिको बैठक समापनपछि पार्टी संयोजक क. किरणको हस्तक्षरमा असार १८ गतेको मितिमा असार १९ गते वक्तव्य सार्वजनिक भयो । वक्तव्यको बुँदा नं. ५ मा “केन्द्रीय संगठन समितिको बैठकमा माक्र्सवाद, लेनिनवाद–माओवाद÷विचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्बन गरेको हाम्रो पार्टीको एकता महाधिवेशनलाई सफलतापूर्वक तथा शानदार रुपमा सम्पन्न गर्नका लागि विशेष जोड दिइएको छ ।” भन्दै अगाडि लेख्नु भएको छ, “तर त्यो वक्तव्यमा उल्लेख गरे झैं त्यो पथ‘प्रदर्शक सिद्धान्त’ भइसकेको थिएन । बहसका लागि भने सहमतिको महत्वपूर्ण विषय थियो ।” र त्यसपछि लेख्नु भएको छ “कुनै पनि बैठकमा सहमतिमा वक्तव्यको भाषाले भने झैं नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशा अवलम्वन गरेको या निर्णय गरेको छैन ।”
उहाँको भनाई अनुसार माओविचारधारा पनि बहसको विषय बनाइएको हो पथप्रदर्शन सिद्धान्त बनाएको होइन र नयाँ जनवाद हुँदै समाजवादमा जाने कुरा पनि बहसको मात्र विषय बनाइएको थियो, राजनीतिक कार्यदिशा बनाइएको थिएन । विवादको चुरो कुरा यही हो । वास्ताविकता त यो हो कि महाधिवेशनसम्म पूर्व तीन पार्टीबीच भएको सहमति नै हाम्रो आधार हो । महाधिवेशनले जे नीति पारित गर्छ त्यसका आधार आगामी कार्य अगाडि बढ्छ । तर अहिले नै कार्यालयले सबैका नीतिहरु राखेर वक्तव्य दिने कुरा सान्दर्भिक हुँदैन ।
हामी तीन पार्टीमा माओको विचारलाई सार्वभौम मान्ने कुरामा सहमति थियो । माओवाद र विचारधारा पदावलीका बारेमा महाधिवेशन सम्म पार्टीभित्र र बाहिर छलफल गर्न सकिने तथा महाधिवेशनमा टुंगो नलागेमा महाधिवेशन पछि पनि बहस गर्न सकिने सहमति भएको थियो । त्यसकारण क. माओका विचारलाई पथप्रदर्शक सिद्धान्त नमान्ने भन्ने प्रश्नै उठ्दैन । यदि माओका विचारलाई पथप्रदर्शक सिद्धान्त नमान्ने हो भने अहिले हाम्रो पार्टीको पथप्रदर्शक सिद्धान्त के हो ? त्यसबारे एकताको सहमतिमा केही भनिएको छैन । त्यसकारण क.किरणले वक्तव्यमा जे उल्लेख गर्नु भएको छ, त्यो सहमति कै स्पीरिट अनुसार लेख्नु भएको छ । दोस्रो कुरा, नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने भन्ने विषय पनि हामी तीन पार्टीको सहमति नै हो । त्यो नै महाधिवेशनसम्मका लागि राजनीतिक कार्यदिशा हो । यो कुरा सत्य हो कि पूर्व नेकपा (बहुमत) ले अहिलेको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवादलाई मान्दछ । अरु दुई पार्टीहरु पूर्व क्रा.मा. र पूर्व मशालले अहिलेको राजनीतिक कार्यदिशा नयाँ जनवादलाई मान्दछन् । तर दुवै पार्टीले वैज्ञानिक समाजवादलाई नयाँ जनवादको खुडकिलो पछिको कार्यक्रम मान्दछन् । अहिलेलाई नयाँ जनवादको खुडकिलो पार गरेपछि वैज्ञानिक समाजवाद तीनवटै पार्टीको रणनीतिक लक्ष्य हो । दुई पार्टले अवलम्वन गरेको यो नीतिको पछाडि थुप्रै कारणहरु छन् । मुख्यतः समाजवादी क्रान्तिका लागि पूर्वाधार तयार भएको छैन । त्यो पूर्वाधार भनेको राष्ट्रिय पुँजीको विकास हो । त्यसको लागि पुँजीवादी क्रान्ति सम्पन्न भएको छैन । पुँजीवादी क्रान्ति सम्पन्न नभएको हुँदा अहिले नयाँ जनवादी क्रान्तिकालमा राष्ट्रिय पुँजीपतिवर्ग समेत जनवादी क्रान्तिको लागि मित्रशक्ति बन्दछ । तर राष्ट्रिय पुँजीपतिवर्गको राजनीतिक शक्ति धेरै कमजोर छ । त्यो वर्ग बाहेक धनी किसान, व्यापारी उद्योगी, मजदुर सबै तह र तप्काका उत्पीडित जनता जनवादी क्रान्तिमा हिस्सा लिन्छन् । नयाँ जनवादी क्रान्ति भनेको नयाँ प्रकारको पुँजीवादी क्रान्ति हो । जसको नेतृत्व सर्वहारावर्गले गरेको हुन्छ । अहिलेको पुँजीवाद त दलाल तथा नोकरशाही पुँजीवाद हो । भारत त्यति ठूलो पुँजीवादी देश छ । त्यहाँको कम्युनिस्ट पार्टीले भारतमा राष्ट्रिय पुँजीवादको विकास नभएको र त्यहाँको पुँजीवाद साम्राज्यवादीहरुबाट आश्रित भएको हुँदा अहिले जनवादी क्रान्ति को कार्यदिशा अवलम्वन गरेको छ । त्यसकारण हामी बीच रहेका यी मान्यतालाई केन्द्रीय समितिमा टुंग्याउन सक्दैनौं । त्यसैले नै हामी गम्भीर बहस गर्ने भनेका छौं । एकले अर्कोको विचार तुरुन्त स्वीकार गरिदिने हो भने त बहस तथा महाधिवेशनको आवश्यकता नै किन पथ्र्यो र ?
क. कंचनले बहसबारे भन्नु भएको छ, “हामीले आफैलाई नढाँटेर भन्ने हो भने यो बेला रुपान्तरण र बहसको प्रमुख आवश्यकता तल्ला निकायमा नभएर माथिल्लो निकायमा र प्रमुख नेतृत्व तह मै हो ।” उहाँले बैठकमा पनि त्यही कुराको जिकिर गर्नु भएको थियो । यदि “माथिल्लो निकायमा र प्रमुख नेतृत्व तहमा” बहस गर्नुपर्ने हो भने हामीले महाधिवेशनसम्म फोरम चलाएर छलफल गर्ने निर्णय किन गर्नु पथ्र्यो र ? यसले दुईवटा कुरा बताउँछ, प्रथम, नेतृत्वलाई प्राधिकार बनाउन खोजेको देखिन्छ, द्वितीय, तल्लो समितिका कार्यकर्ताहरु बहस गर्ने हैसियत राख्दैनन् भन्ने सोंच राखेको देखिन्छ । प्रकारान्तरले कार्यकर्ता तथा महाधिवेशनका प्रतिनिधिहरुको अवमूल्यन गरेको देखिन्छ । कम्युनिस्ट पार्टीमा महाधिवेशन पार्टीको सर्वोच्च अंग मानिन्छ । केन्द्रीय समिति महाधिवेशनको मातहत हुन्छ । त्यही भएर हाम्रो विचारहरुको बहस राखेपछि महाधिवेशनले जे जनादेश दिन्छ, त्यसलाई सर्वोपरी मानेर आगामी महाधिवेशनसम्म जानुपर्छ । अपवादको रुपमा कहिलेकाही महाधिवेशनले गलत नीति पनि पारित गर्छ त्यो अवस्थामा त्यसको विरोध गर्दै पार्टीभित्र महाधिवेशनको निर्णयलाई मानेर जानु पर्छ । त्यसकारण क. कंचन महाधिवेशनसम्म आफ्नो मतको पक्षमा बहस चलाएर जाने धैर्यता राख्नु पथ्र्यो ।
हामी तीन पार्टीमा विवाद अहिले देखिएको होइन, एकतापूर्व नै हाम्रा मतभेद विद्यमान थिए र मतभेद सहित एकता गरेका हौं । हामी कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ प्रयोग गरेका छौं । त्यो के हो भने विवादको बीचमा पनि एकता गरेर जान सकिन्छ र विवादहरुलाई बहसद्वारा हल गर्न सकिन्छ । हामी मूल कार्यदिशामा समान धारणा देखिएपछि एकता गरेका हौं । पार्टी स्वयं विपरीत तत्वको एकता हो । पार्टीभित्र उत्पन्न मतभेदहरु हल गर्ने विधिहरु लेनिनवादी संगठनात्मक पद्धति छ, जो वैज्ञानिक छ । त्यही विधिलाई पक्रेर मतभेद हल गर्दै जान आवश्यक छ । त्यसको अतिरिक्त हाम्रा केही अन्तरिम कालका लागि पनि हामीले सहमतीय आधारमा विधि निर्माण गरेका छौं । ती सबैका आधारमा पार्टीको कार्यलाई अगाडि बढाउनु पर्नेमा थोरै मतभेद भएपछि तुरुन्तै निराश हुने र पलायन हुने जुन स्वभाव देखियो, त्यसले नेपालको कम्युनिष्ट आन्दोलनप्रति झन वितृष्णा उत्पन्न हुन सक्छ । त्यसैले हाम्रा मतभेदहरु संचालन गर्दा भावना र प्रतिशोधलाई होइन, पार्टी एकता र देशको क्रान्तिकारी आन्दोलनको विकासलाई केन्द्र मानेर नै गर्नुपर्छ
अन्तमा क. कंचनले विचार जे राखेको भए पनि त्यसप्रति हामीले विस्तृत टिप्पणी गदैनौं । त्यसबारे बहस खुलेपछि छलफल गर्ने छौं । यहाँ अस्वभाविक लागेको कुरा के हो भने पार्टी एकताको यो महाअभियानबाट उहाँ किन अलग्गिनु खोज्नु भएको छ ? उहाँले सबैलाई वैज्ञानिक समाजवादी क्रान्ति गर्ने अभियान” मा लाग्न अपील पनि गर्नु भएको छ र “नयाँ आधारमा नयाँ एकता” गर्ने पनि भन्नुभएको छ । नयाँ एकता कसैसँग गरियो भने पनि त्यहाँ पनि विवाद त हुन्छ नै । त्यसरी भाग्दै जाँदा कहाँ पुगिएला ? त्यसकारण हाम्रो अनुरोध के हो भने उहाँले जुन एकताबाट अलग भएको घोषणा गर्नु भएको छ, त्यसको लागि उपयुक्त तर्क र कारण दिन सक्नु भएको छैन । उहाँको भन्दा त पूर्व मशालका झन धेरै र गम्भीर प्रकृतिका मतभेदहरु छन् । के पूर्व मशाल पनि एकताबाट भाग्ने ? पूर्व क्रान्तिकारी माओवादीका पनि पूर्व मशाल र पूर्व बहुमतसित मतभेद छन् । के उहाँहरु पनि भाग्ने ? यदि हामी साँचो अर्थमा माक्र्सवादी–लेनिनवादी विचार बोकेका कम्युनिस्ट हौं भने र हामी जनताप्रति जवाफदेही भएको ठान्दछौं भने हामी कोही पनि भाग्न मिल्दैन । त्यसले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्नेछ । त्यसको परिणाम यो हुनेछ कि प्रतिक्रियावादी तथा संशोधनवादीहरु फाइदा पुग्नेछ । त्यसकारण हाम्रो आग्रह यो छ कि पार्टीभित्र वैज्ञानिक समाजवाद मात्र होइन, धेरै फरक विचारहरु छन्, ती मतहरुबारे बहस र छलफललाई घनीभूत पार्दै पार्टी एकतालाई बलियो बनाउँ । त्यही नै नेपाली जनताको माग तथा आवश्यकता पनि हो ।
प्रतिक्रिया