मानिस प्रकृतिकै उपज हो । त्यसैले मानिसले प्रकृतिको रक्षा गर्नु उसको परम कर्तब्य हो । पुरानो शास्त्रमा भनिएको पनि छ कि ‘प्रकृति रक्षति रक्षिता’ अर्थात् प्रकृतिलाई हामीले रक्षा गर्यौं भने प्रकृतिले पनि हाम्रो रक्षा गर्दछ । मानिस र प्रकृतिको अन्तरसम्बन्ध तादाम्यता अत्यन्तै गहिरो र चीरकालिक रहेको छ । मानिस स्वयं प्रकृतिको अंश भएकोले प्रष्ट छ कि जुन जुन तत्वले प्रकृति बनेको छ त्यसको अंश पनि स्वभावतः मानिसको निर्माणमा महत्वपूर्ण र प्रमुख सहयोगी रहेको छ ।
हुन पनि प्रकृतिले जीवका लागि स्थल,जल, बन र बायुकारुपमा एउटा ब्यापक र बिस्तृत आवरण निर्माण गरेको छ । त्यसैलाई हामी ‘पर्याबरण’ अर्थात् ‘इकोसिस्टम’ भन्ने गर्दछौं । तर आज ती प्रकृति प्रदत्त जीवनदायीनी तत्वहरु – वायु, भूमि, जल र आकाश समेत प्रदुषित बनाएका कारण ती जीवन घातक बन्न पुगेका छन् । प्रकृतिलाई नष्ट गर्नेलाई के भनिएको छ भने ‘ए, कालो धुवाँ उडाउनेहरु हो जललाई जहर बनाउनेहरु हो अब कुनै बिलम्ब नगरी गम्भीररुपमा सोच, बुझ होइन भने सम्पूर्ण खेल बिग्रिने छ । यो जीवनदायिनी प्रकृति उजाड भएर जानेछ । अनि प्राणी र बनस्पति जगत धेरै पछि धकेलिने छ’ ।
प्रकृतिको सानिध्यमा नै ब्यक्तिको भित्री मन जागेर उठ्छ । यस मौनतालाई प्रकृतिका नियमले साध्नु अत्यन्तै शान्तिदायक हुनजान्छ । अनि यस अनुभूतिले मानिसको शिथिल र सामान्य बुद्धि, बिबेक, दृष्टि सबै जीवनका बारेमा उत्कृष्ट किसिमले सम्हालिन्छन् । जीवधारी कोही पनि सानो होस् या ठूलो, शान्त रहने होस् या चर्को स्वरमा कराउने सबैलाई प्रकृतिले मिलाइ मिलाइ अघि बढ्ने अवसर प्रदान गर्दछ । त्यसैले बिश्व प्रसिद्ध दार्शनिक कार्ल मार्क्सका अनन्य मित्र फेडरिख एंगेल्सले भनेका छन् — प्रकृतिका अधिशासित नियमको पालना गर, यसलाई जथाभावी दोहन नगर, अन्यथा यसले बाढी पहिरो, रोग ब्याथी र अनेक प्राकृतिक बिपत्ति ल्याएर बदला लिन्छ । यो कम मननयोग्य कुरा छैन ।
तर यो कुरालाई सही किसिमले मनन नगर्दा अहिले के चिन्ता निकै बढेको छ भने प्रकृतिसँग जोडिएर एक सन्तोषदायक जीवनको सम्भावना बढ्न सकिरहेको छैन । माटोको कटाई तथा उत्पादकताका कमीका कारणले भोक तथा पोषणको समस्या बिकराल रुप धारण गरिरहेको छ । अनि मरुभूमिकरण पनि बढिरहेको छ । यसले गर्दा बिश्वमा भोकमरी, कुपोषण र बिमारी तिनै कुरा बढिरहेको स्थिति छ ।
अनि भएको जलश्रोत नदी नाला, ताल तलैयाको संरक्षण सम्वर्धन गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । अनि यसको लागि बन र बनस्पतिहरुको संरक्षण सम्वर्ध्दन पनि आवश्यक छ । बनले नै बिश्वलाई बातानुकूलित तुल्याउँदछ । अनि जमिनका लागि आवरणको पनि काम गर्दछ । भूस्खलन रोकेर भूसंरक्षण गर्दछ । यसले जलको सञ्चयन गर्न पनि मद्दत गर्दछ । हरित ग्याँस सोस्दछ ।यसका अतिरिक्त जलवायु परिबर्तनलाई न्यून गर्न मद्दत गर्नुकासाथै बढ्दो तापमानमा पनि कमी ल्याउँदछ । सुखा, अकाल र बाढी पहिरोको बिभिषिकाबाट पनि बचाँउदछ । यी सबै महत्वलाई बुझेर नै प्राचीन ऋषिहरुले राष्ट्रको साँस्कृतिक, सौन्दर्यमूलक कार्य एबं आर्थिक बिकासमा बनको अहं भूमिकालाई मानेका थिए ।
यतिबेला संयुक्त राष्ट्र संघको प्रस्ताब २०३० को लक्ष १५ मा पनि टिकाउ बन ब्यवस्थापनका जोड दिइएको छ । गरीबी, अनिकाल, बिमारी, बेरोजगारी, बिषमता, शोषण आदिबाट मुक्ति पाउनका लागि पनि हामीले यो धर्ति र हाम्रो देशलाई हराभरा बनाउनु पर्दछ । प्रष्टै छ कि जैबिक सम्पदा कुनै पनि राष्ट्रको अत्यन्तै अनमोल धरोहर र सम्पदा हो । ‘लिभिङ्ग प्लानेट’ प्रतिबेदन २०२० का अनुसार पनि बर्ष १९७० देखि २०१६ का बीचमा लगभग ६० प्रतिशत पशुपंक्षी,जलचर तथा सर्प एबं माछाहरुको संख्यामा ठूलो कमी आएको छ ।यसको सम्वर्ध्दन गरेर नै हामीले प्रकृतिको यो धरोहरलाई फेरि पनि बचाउन सक्छौ । प्रकृतिको यो सन्तुलनलाइ निरन्तर कायम राख्न हामीले पर्याबरणका जुन गम्भीरतम समस्याहरु उत्पन्न भएका या गरिएका छन् तिनको समाधान पहिल्याउने कुराबाट मुख मोड्न र समाधानहीन छोड्न सक्तैनौ ।
आज पृथ्बीको बढ्दो तापक्रमका कारणले अनेक प्रकृतिक बिपत्तीहरु आइरहेका छन् । पृथ्बीको यो बढ्दो तापक्रमलाई रोक्नका निम्ति जीबाश्म इन्धनको कमी र २०५० सम्ममा कार्बनरहीत बिकास लक्ष अबलम्बन गर्ने,अक्षैय ऊर्जाका श्रोतहरु जस्तै सौर्य, बायु, हाइड्रोजन आदिको उपयोग गर्ने,भएका बृक्ष र बनको संरक्षण र सदुपयोग गर्ने, आगलागी हुन नदिने उपाय अपनाउने र निरन्तर बृक्षारोपण गर्ने अनि प्लास्टिक, फोहारमैला आदिको समुचित ब्यवस्थापन गरेर बातावरण स्वच्छ बनाउने जस्ता अति महत्वपूर्ण कुराहरुलाई निरन्तरता दिएमा पर्याबरण सन्तुलित गर्न ठूलो मद्दत पुग्दछ ।
आज कोभिड–१९ महामारीको बेला र त्यस पछि पनि पर्याबरणका बारेमा अझ बढी महत्वकासाथ सोच बिचार गर्नु स्वास्थ्य र पर्याबरण दुबैका लागि अति आबश्यक छ । भनिन्छ चमेराका कारण उत्पन्न यो रोग बिश्वका सबै महादेशहरुमा फैलियो । अत्यन्तै बिकसित मानिएका अमेरिकी र यूरोपेली देशहरुमा पनि यसले नाकमा प्याज हाले जस्तै स्थिति बनाइदियो । त्यस्तो बेलामा पर्याबरण संरक्षणको लागि दृढ संकल्प, संयम र सजगताकासाथ प्रस्तुत हुनु अत्यन्त जरुरी छ । अहिले कोरोना हटेर गए पनि निकट भबिष्यमा यस्तै अर्को कुनै महामारीले फेरि पिरोल्ने परिस्थिति नबनोस् भन्नेतिर ध्यान केन्द्रित हुनै पर्दछ । यसका लागि यतिबेला हामीले जंगली जनाबरसँगको दूरी पनि कायमै राख्नु पर्ने देखिन्छ । प्रकृतिलाई हरितमय तुल्याएर रमाउन सिक्नु पर्दछ । किनभने यो मानिसको जीवनको आधार, गुजारा र जीवनचर्यासँग अभिन्नरूपले जोडिएको कुरा छ । पर्याबरण बिग्रियो र बढ्यो भने त्यसले गरीबी, भोकमरी, असमानता, बेरोजगारीलाई नै अभूतपूर्बरुपमा मलजल पुग्दछ । जमिन बिग्रियो भने किसानी र किसान मेटिन्छन् । पानी भएन भने माछा र मछुवार दुबै मेटिन्छन् । नदी ताल तलैया सुके भने गाउनै मेटिन्छ । प्रदुषणले पनि माहामारीका बिरुद्ध लड्ने हाम्रो क्षमतालाई घटाएको कुरालाई गम्भीररुपमा ख्याल राख्नै पर्दछ ।
समग्रमा यी सबै कुराबाट प्रष्ट हुन्छ कि प्रकृतिको सही किसिमले संरक्षण सम्वर्ध्दनबाट नै हाम्रा धेरैजसो समस्याहरुको निराकरण हुन्छ । प्रकृति मानिससँग डराएर झुक्दैन तर मानिसले सही किसिमले श्रम गर्यो भने, उसको श्रमको जल प्रकृतिलाई चढायो भने प्रकृतिले हार्छ । त्यसैले आज यो सारा बिश्व नै प्रकृतिसँग तादात्म्यता राखेर प्रकृतिससँग सुसम्बन्ध कायम गर्न चाहन्छ । त्यसो गनुृ ठिकै हो । अमेरिका पनि यतिबेला पेरिस जलवायु सम्झौतामा पुनः फिर्ता आएको छ । बृटेन पनि जैबिक बिबिधता अभिबृद्धि गर्न सबैभन्दा अगाडि रहेको बताइदैछ । चीन पनि प्रदुषण, पर्याबरण बिनाश र प्रकृतिको निर्मम दोहनका समस्या हल गरेर जानुपर्ने कुरामा जोड दिएर ग्रीन डेभलोपमेण्ट(हरित बिकास)को कुरा लागु गरिरहेको छ । भारतपनि इण्टरनेशनल सोलार एलाएन्स मार्फत सौर्य ऊर्जा उत्पादन बढाउन बिकसित देशहरुको मद्दतमा अग्रसर देखिएको छ । संयुक्त राष्ट्र संघ पनि आफ्नो शक्तिकासाथ शतत बिकासद्वरा बिनाशकारी समस्याहरुको समाधानमा लागि परेकै देखिन्छ । त्यसैले, अन्त्यमा बिश्व प्रसिद्ध अग्रेजी साहित्यकार शेक्सपियरले लेखेको यो कुरालाई गम्भीरताकासाथ मनन गरौ कि ‘प्रकृतिको हल्का स्पर्शले बिश्वलाई एक बनाइदिन सक्छ’ । यसले पनि प्रकृतिसँग शतत तादाम्यताको नै माग गर्दछ ।
प्रतिक्रिया