क्रान्तिकारीहरु विचको एकताको महत्व

क्रान्तिकारी पार्टीभित्र कैयौं इमान्दार कम्युनिस्टहरुले कुनै खास परिस्थितिमा अगाडि बढ्ने बेलामा अलमलमा पर्छन् । समग्र र अंशको द्वन्द्वात्मक सम्बन्धलाई उनीहरु बुझ्न सक्दैनन् । बुझ्न प्रयत्न गरे पनि उनीहरु निर्णय गर्न सक्दैनन् । त्यसबाट संशोधनवादीहरु फाइदा उठाउने मौका पाउँछन् ।

bimbonline सन्तवहादुर नेपाली
२०८१ ज्येष्ठ ३ १२:२४ बजे
सन्तवहादुर नेपाली

नेपालको कम्युनिष्ट आन्दोलन एकता र फुटबाट अगाडि बढ्दै आएको छ । जुन बेला एकता हुने गरेको छ, त्यसले क्रान्तिकारीहरु तथा आम नागरिकहरुलाई उत्साहित बनाएको छ र जुन बेला फुट विभाजन भएको छ, त्यतिबेला त्यसले जनतालाई निराश बनाएको छ । पूर्व मालेले एकताको प्रक्रियालाई अगाडि बढायो, त्यतिबेला धेरै पार्टीहरु एकता प्रक्रियामा आएका थिए र त्यसले विशाल पार्टी बनाउनमा सहयोग पनि पुग्यो । तर नेतृत्वले पुँजीवादी बाटो समाते पछि कम्युनिस्ट आन्दोलनले धोका खायो । नेकपा (माओवादी)ले सशस्त्र संघर्षको बाटो समातेपछि, यद्यपि त्यो उग्र“वामपन्थी” कार्य थियो, त्यतिबेला पनि क्रान्तिकारीहरुको ठूलो पंक्ति त्यसमा एकाकार हुँदै गयो । तर नेतृत्वले दक्षिणपन्थी आत्मसमर्पणवादी नीति अपनाए पछि विशाल पार्टी पनि एक रहन सकेन । पार्टी अनेकौं टुक्रामा विभाजित भयो । क्रान्तिकारीहरु अलग हुँदै गए पनि संसदवादीहरु त्यसमा सामेल हुँदै जाँदा त्यो पार्टी दलाल पुँजीवादी संसदीय सरकारको नेतृत्व गर्ने हैसियतमा पुगेको छ । यसरी नयाँ जनवाद तथा समाजवादको लक्ष्यमा पुग्ने उद्देश्यले एकता गर्ने र ठूलो पार्टी बनाउने, अनि ठूलो पार्टी बनाएपछि संसदवादमा पतन हुने यो नेपाली कम्युनिस्ट आन्दोलनको नकारात्मक इतिहास बन्न पुग्यो ।

यो नकारात्मक इतिहासभित्र पनि सकारात्मक पक्षहरु प्रबल रुपमा विद्यमान रहँदै आए । जसको कारणले नेतृत्वले पार्टीलाई संशोधनवादी दिशामा लगे पनि हजारौं कार्यकर्ताहरु क्रान्तिकारी आन्दोलनको पक्षमा समर्पित रहँदै आए । आज संशोधनवादी पार्टीहरु प्रति आफ्नो समर्थन छोडेर बसेका हजारौं कार्यकर्ताहरु क्रान्तिकारी विकल्पको खोजीमा रहेको अवस्था छ । संशोधनवाद बाहिरबाट जति बलियो देखिए पनि अन्तर्यमा उ कमजोर र असहाय छ । त्यसकारण क्रान्तिकारी शक्तिहरुको एकता प्रक्रिया अब अगाडि बढ्न शुरु भएको छ । केही समय अगाडिदेखि नेकपा (माओवादी) बाट अलग भएका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) सँग मसाल सँग विद्रोह गरेको नेकपा (मशाल) को वार्ता शुरु भएको थियो । यी तीनवटै पार्टी आफ्नो मूल पार्टी संशोधनवादमा पतन भएपछि विद्रोह गरेर पुनर्गठन गरिएका पार्टी हुन् । यदि संसदवादमा रमाउन चाहेको भए तीनवटै पार्टीलाई त्यो अवसर प्राप्त पनि हुन्थ्यो । तर त्यसो नगरेर नेतृत्वले कम्युनिस्ट आन्दोलनलाई धोका दिए पनि भावी कम्युनिस्ट समाज निर्माणको गन्तव्यमा पुग्ने लक्ष्य बोकेका पार्टीहरु विद्रोह गरी अलग रहेर निरन्तर क्रान्तिकारी आन्दोलनको पक्षमा काम गर्दै आए । यी तीनवटै पार्टी क्रान्तिकारी विचारमा एक ठाउँमा भएका कारण गत मई दिवसका दिन ऐतिहासिक पार्टी एकता भएको छ ।

यो एकताको विषयमा धेरै कोणबाट धेरै कुराहरु आएका छन् । क्रान्तिकारी पंक्तिमा खुशीयाली छाएको छ, त्यसले उत्साहित बनाएको छ भने संशोधनवादीहरु आज दुःखी भएका छन् । उनीहरु क्रान्तिकारीहरुको एकतालाई अवमूल्यन गर्ने, होच्याउने र भ्रम पार्ने कामहरु गरिररहेका छन् । कतिपय अवस्थामा संशोधनवादीहरु निकृष्ट र निम्न दर्जाका तर्कहरुले क्रान्तिकारी पंक्तिलाई पनि असर पुर्याउने काम गरेको छ । त्यसले गर्दा क्रान्तिकारी पंक्तिभित्र पनि नकारात्मक भाव उत्पन्न हुन पुगेको छ । यसलाई हामी स्वभाविक रुपमा लिनु पर्छ । विगत ७५ वर्षको इतिहासमा संशोधनवादीहरु आफ्नो लक्ष्यमा सफल हुनुका पछाडि उनीहरुको सही कार्यदिशाका कारणले होइन, गलत र पुँजीवादी कार्यदिशा भए पनि त्यसमा क्रान्तिकारीहरुलाई भ्रम दिएर आफ्नो लाइनमा हिंडाउनमा प्राप्त गरेको सफलताका कारणले हो । नेपालको मात्र के कुरा गरौं र ? हाम्रो त पिछडिएको उत्पादन प्रणालीका कारण हाम्रो मानसिकतामा त्यसको प्रभाव पर्ने नै भयो । रुस र चीन जस्ता देशहरुमा , जहाँ लेनिन, स्टालिन र माओद्वारा प्रशिक्षित कम्युनिस्टहरु पनि खु्रश्चेव र देङ सिआयो पिङ जस्ता संशोधनवादीहरुले भ्रममा पारेर तमाम क्रान्तिकारीहरुलाई आफ्नो पंक्तिमा ल्याउन सफल भए । कम्युनिष्ट आन्दोलनलाई समस्या पुँजीवादीहरुबाट मात्र होइन, स्वयं पार्टीभित्रका सीधा सादा इमान्दार कम्युनिस्टहरुबाट पनि बढी पर्ने गरेको छ ।क्रान्तिकारी पार्टीभित्र कैयौं इमान्दार कम्युनिस्टहरुले कुनै खास परिस्थितिमा अगाडि बढ्ने बेलामा अलमलमा पर्छन् । समग्र र अंशको द्वन्द्वात्मक सम्बन्धलाई उनीहरु बुझ्न सक्दैनन् । बुझ्न प्रयत्न गरे पनि उनीहरु निर्णय गर्न सक्दैनन् । त्यसबाट संशोधनवादीहरु फाइदा उठाउने मौका पाउँछन् ।

सबैलाई थाहा भएको कुरा हो कि आज पनि हाम्रो देश अर्धसामन्ती तथा अर्धऔपनिवेशिक विशेषता सहितको नवऔपनिवेशिक अवस्थामा छ । यो अवस्थालाई परिवर्तन गर्ने क्रान्तिकारी शक्ति भनेको सर्वहारावर्गको पार्टी नै हो । सर्वहारा वर्ग नै यस्तो क्रान्तिकारी शक्ति हो, जसले साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवादका विरुद्ध धावा बोल्न सक्छ । किनकि उसँग शोषित उत्पीडित जनताको अपार समर्थन प्राप्त रहेको हुन्छ । तर आज राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सर्वहारा क्रान्तिकारीहरुका लागि विषम परिस्थिति कायम छ । क्रान्तिका लागि वस्तुगत आधार तयार भए पनि आत्मगत अवस्था कमजोर छ । आत्मगत अवस्थालाई मजबुत बनाउनका लागि क्रान्तिकारीहरुबीच पहिलो कुरो सिद्धान्त र विचारमा बहस, छलफल र समानता र दोस्रोमा सिद्धान्त र विचारमा समानता देखिए पछि पार्टीहरुको सांगठनिक एकीकरण तथा ध्रुवीकारण । एउटा देशमा एउटा मात्र सर्वहारावर्गको पार्टी रहन्छ । कुनै कारणले वा व्यवहारिक कारणले अलग अलग रहनु, त्यो संयोगको कुरो हो । होइन भने ढिलो वा चाडो एकीकृत हुनु आवश्यक छ । यसरी क्रान्तिकारीहरुको एकता आजको ऐतिहासिक आवश्यकता हो । त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर पहिले क्रान्तिकारी माओवादी र बहुमत, त्यसपछि अहिले मशाल समेत एकीकृत भएर क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बनेको छ । संशोधनवादी पार्टीहरु जति बलियो बन्न खोजे पनि उनीहरुको आपसी पुँजीवादी स्वार्थका कारण त्यो एकता वा मोर्चा निर्वाचनसम्मका लागि मात्र हो, क्रान्तिकारी परिवर्तनका लागि होइन । तर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता माक्र्सवाद, लेनिनवाद माओवाद÷माओविचारधाराको बलियो जगमा उभिएको छ । जसको उद्देश्य निर्वाचनबाट सत्ता हासिल गर्र्नु होइन, वर्गसंघर्षबाट शोषित उत्पीडित वर्गलाई सत्ताको मालिक बनाउनु हो । त्यसकारण संशोधनवादीहरुको एकता र क्रान्तिकारीहरुको एकतामा ठूलो अन्तर छ । त्यो अन्तरलाई एउटा सर्वहारा दृष्टिकोण भएकाले मात्र चिन्न सक्छ । सामान्य र छिपछिपे ज्ञानले चिन्न सक्दैन । पुँजीवादी दृष्टिकोणले त झन चिन्नै सक्दैन । उनीहरु त त्यसतो एकतालाई ध्वंश पार्न नै खोजिरहेका हुन्छन् ।

अहिले दुई पार्टीहरु बीच एकता भएको छ । यो एकता अन्तिम होइन । किनकि हामी भन्दै आएका छौं, छरिएर रहेका तमाम कम्युनिस्ट क्रान्तिकारीहरु अब एकीकृत र धु्रवीकृत हुनुपर्छ । अन्य संशोधनवादी पार्टीभित्रका क्रान्तिकारीहरु तथा ती पार्टीहरुबाट विद्रोह गरेर अलगै समूहहरु बनाएर बसेका ग्रुपहरु सबै यो मूल धारमा समाहित हुन आवश्यक छ । अब देशका राजनीतिक दलहरु प्रतिक्रियावादी, पुँजीवादी र क्रान्तिकारी ३ वटा राजनीतिक धारमा रहेका छन् । यी बाहेक अन्य कुनै धार रहे पनि त्यो टिक्न सक्दैन । त्यसकारण भ्रम र अलमलमा परेका क्रान्तिकारी छ । ढिलो चाँडो एकीकरण प्रक्रिया आउन जरुरी छ । एक्लै साना साना ग्रुप बनाएर क्रान्तिलाई अगाडि बनाउन सकिंदैन । सबै क्रान्तिकारीहरुले सोच्नु पर्ने बेला आएको छ ।

(लेखक- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सह- सँयोजक हुनुहुन्छ)


२०८१ ज्येष्ठ ३ १२:२४ बजे

प्रतिक्रिया