क्रान्तिकारी कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रम र कार्यदिशा

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ३० १२:१८ बजे

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता अधिवेशन वाट पारित  पार्टीको निति तथा कार्यक्रम र कार्यदिशा- नेपाल अहिले सामाजिक तथा आर्थिक रुपमा अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती विशेषता सहित नव–औपनिवेशिक अवस्थामा रहेको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा क्षेत्रीय विविधताले युक्त मुलुक हो । नेपाली समाज विविध वर्ण तथा जात र वर्गहरुमा विभाजित रहिआएको छ । वर्गीय दृष्टिकोण अनुसार नेपाली क्रान्तिको मुख्य दुश्मन नोकरशाही पुँजीवाद तथा सामन्तवाद सहितको दलाल पुँजीवाद रहेको छ । मजदूर, किसान, सुकुम्बासी, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्तमान क्रान्तिका मित्र शक्ति हुन् । सर्वहारावर्ग क्रान्तिको नेतृत्वदायी, सबैभन्दा क्रान्तिकारी तथा निर्णायक शक्ति हो । बाह्यरुपमा साम्राज्यवाद \ विस्तारवाद क्रान्तिका दुश्मन हुन् भने विश्व सर्वहारा वर्ग तथा श्रमिक जनसमुदाय क्रान्तिका मित्र शक्ति हुन् ।

 माथि उल्लेख गरिए अनुसारका सामाजिक तथा आर्थिक विशेषता र अन्तर्विरोधहरूमा आधारित रहिआएको वर्तमान नेपालका सन्दर्भमा हाम्रो पार्टीको आम कार्यक्रम नयाँ जनवाद हो, आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो, अन्तिम लक्ष्य तथा अभीष्ट साम्यवाद हो । यसप्रकारका कार्यक्रमहरुको प्राप्तिका लागि परिस्थिति अनुसार विभिन्न नीति, रणनीति तथा कार्यनीति अवलम्बन गर्दै जानुपर्दछ । सर्वहारा वर्गको नेतृत्व र समग्र उत्पीडित जनसमुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नु हाम्रो अहिलेको रणनीति हो । वर्तमान अवस्थामा नेपाली क्रान्तिकारी कम्युनिस्टहरूको राजनीतिक कार्यदिशाको पहिलो खुड्किलोमा जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी क्रान्ति पार गर्दै वैज्ञानिक समाजवादमा पुग्नु हुनेछ ।

सामान्यतः विश्वव्यापी तथा विशेषतः नेपाली समाजको अर्थ–सामाजिक अवस्थालाई ध्यानमा राखेर राज्यसत्ता सम्बन्धी बल प्रयोगको सार्वभौम माक्र्सवादी मान्यतालाई आत्मसात गर्दै सशस्त्र सङ्घर्षद्वारा राज्यसत्ता कब्जा गर्ने दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोहका आधारभूत मान्यताहरुलाई नेपाली विशेषतामा एकअर्काको परिपूरक बनाएर परिचालन गर्नु नेपाली सर्वहारा सैन्य कार्यदिशाको मुख्य रणनीति हुनेछ । यो रणनीतिलाई लागु गर्न उपयुक्त कार्यनीतिहरुको विकास गर्दै जनसङ्घर्ष, जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको श्रृङ्खला अन्तर्गत शुरुदेखि नै क्रान्तिकारी पार्टी, क्रान्तिकारी जनाधार र क्रान्तिकारी सेना निर्माणको कामलाई सचेत र योजनाबद्ध रुपमा लागु गर्नु नेपाली सैन्य कार्यदिशाको सार हो । 

नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगर्ने बित्तिकै हामी वैज्ञानिक समाजवादमा प्रदेश गर्ने छौं । सर्वहारा वर्गको नेतृत्व र सर्वहारावर्गकै अधिनायकत्वको स्थापना गर्नु नै वैज्ञानिक समाजवादको मूल रणनीति हो । सर्वहारा अधिनायकत्व स्थापना गरे पश्चात् समाजवादी सार्वजनिक स्वामित्वमा आधारित उत्पादन सम्बन्धको निर्माण तथा विकास गरिने छ । समाजवादको अवधिमा वर्ग, वर्गसंघर्ष, वर्गीय अन्तर्विरोध र समाजवादी बाटो तथा पँुजीवादी बाटोका बीच दीर्घकालीन सङ्घर्र्ष चल्नेछ । सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सैद्धान्तिक मान्यता र तदनुसार व्यवहारमा संलग्न रही महान सर्वहारा सांस्कृतिक क्रान्तिका बीचबाट वर्गसङ्घर्ष र वर्गीय अन्तर्विरोधहरूको समाधान गर्दै साम्यवाद तर्फ अगाडि बढ्नु नै हाम्रो लक्ष्य हो । 


२०८१ वैशाख ३० १२:१८ बजे

प्रतिक्रिया